सोमबार, मंसिर १९, २०७९

छठ: जीवन उर्जाको पर्व

बिम्मी कालिन्दी शर्मा२०७९ कार्तिक ९ गते १०:२८

सूर्य प्रत्यक्ष देखिने लौकिक देव हुन् । सूर्यको राप र तापले नै यो सम्पूर्ण सृष्टि चलायमान छ । यो धरामा उब्जिने सबै खाद्य पदार्थ र वनस्पति सूर्यद्वारा नै पोषित छन् । जस्तै नास्तिकले पनि सूर्यको रापताप र महत्वलाई नकार्न सक्दैन । पृथ्वीमा पानी र आकाशमा सूर्य रहुन्जेल जनजीवनको अस्तित्व छ । यही अस्तित्व र एक अर्कासँग गाँसिएको सहजीवनको वास्तविकतालाई ह्रदयगंम गरेर जसबाट यो धरा पोषित भैरहेको छ उसलाई सम्मान गर्नु नै छठ पर्वको विशेषता हो ।

छठ पर्वकै लागि भनेर सबै नदी र तालतलैया सफा गरिन्छ । छठ पर्व ग्रामीण जीवनमा एकछिन खुशीले रमाउन दिने सदभावको लोकपर्व हो । जसले एक अर्काको खेतमा उत्पादन भएका वस्तुहरुलाई सरसापट र बेचबिखन गरेर गाउँको मुहारमा हाँसो थपिदिने पर्व हो छठ । चाहे त्यो मूला, केरा, बोडी या सुतनी नै किन नहोस् । अरुबेला अनावश्यक ठानिएको वस्तुले पनि छठ पर्वमा महत्व पाउँदछ । जातपातको “महाव्याधि” बाट माथि उठेर सहभाव र सदभावको जुन सन्देश छठ पर्वले दिन्छ । त्यो नै अद्वितीय छ ।

कथित चमार जातिले बनाएको डाला, नाङ्लो, सुपली र ढक्की आदि छठमा नभइ नहुने सामान हुन् । छठको दिन यिनै कथित चमार जातिले पनि व्रत गरी आफ्नो गच्छे अनुसार खर्च गरेर त्यही घाटमा अर्ध्य दिन्छन् जुन घाटमा ठूला जाति भनिएकाहरुले पनि अर्ध्य दिराखेका हुन्छन् । लोककथामा बाघ र बाख्रीले एउटै घाटमा पानी पिएको दृश्य छठको दिन सजीव हुन पुग्छ । जब एउटै घाटबाट धनी, गरीब र उचनीचको भावनालाई पन्छाएर सबै व्रतालुहरु एकैपल्ट सूर्यदेवलाई अर्ध्य दिन आफ्नो हात उठाउँछन् । त्योबेला समय रोकिएको भान हुन्छ । लाग्छ, यो दृश्य भन्दा सुन्दर दृश्य संसारमा अरु कुनै छैन । रौ ठाडा हुन लाग्छन् । आँखा खुशीको आँसुले हर्षले गदगद हुँदै भरिन थाल्छ । यो दृश्य निर्निमेष हेरिरहौं झैं लाग्छ ।

ओरालो लागेको व्यक्तिलाई हेप्ने हाम्रो जस्तो अहंकारी समाजका लागि छठले ठूलो शिक्षा दिन्छ जब अस्ताचलगामी सूर्यलाई अर्ध्य दिएर जीव र जीवनलाई चलायमान बनाउने उनको सत्कार्यका लागि धन्यवाद दिइन्छ । यसले के बताउँछ भने आज कोही दिनहीन छ भन्दैमा त्यसलाई हेला नगर । आज साँझ अस्ताएर भोलि बिहान उदाउने सूर्य झैं भोलि उ पनि बलियो हुनेछ । त्यसैले सृष्टिमा हरेक प्राणीको महत्व छ । कसैलाई नखसाउ । न रुवाउ । छठी देवीको मूर्ति या ढिस्को बनाएर पूजा गरिए पनि यो वास्तवमा सूर्य उपासना कै पर्व हो ।

खेतिपाति सकिएर सुस्ताइ रहेका किसानहरु यही छठ पर्वको बहानामा एक अर्कासँग जोडिन्छन् र आफ्नो दुखसुख मात्र हैन आफुसँग भएका सामग्रीहरु पनि साटासाट गरेर छठ मनाउँछन् । र यो लोक पर्वलाई थप सार्थक बनाउँछन् । माटोका भाँडा बनाउने कुम्हारले घैंटा, हात्ती र ढकना नबनाइ दिए, दलित भनी कहलिएका चमारले बाँसका सामान नबनाइदिने हो भने यो पर्व हराएर जानेछ र सूर्य बिनाको अँध्यारो रात झैं हुनेछ । त्यसैले, त सृष्टिमा हरेक जातिको महत्व छ । अझ मुसलमानले पनि यो छठ पर्व उतिकै भक्तिभावले गरेर यसको गरीमालाई झन बढाउने काम गरेका छन् ।

दशैँ सकिने बित्तिकै गाउँघरमा बज्न शुरु हुने छठी मैयाका गीतले कान मात्र हैन ह्रदय नै पुलकित हुन्छ । गर्मी सकिनै आँटेको र जाडोको प्रवेशसँगै घामको राप मृदुल लाग्ने कार्तिक महिना वास्तव मै गजब छ जहाँ सूर्यदेव मलीन भएर र दिन छोटो गराए व्रतालुहरुसँग होस्टेमा हैँसे गरि रहे झैं लाग्छ ।

मधेशी ग्रामीण समाजमा माईत आएकी छोरी घर फर्किने दिन पनि छठको भोलिपल्ट नै हुन्छ । यो दिन शुभ साइत मानिने र कोसेलीका लागि छठको ठेकुवा जस्तो अरु कुनै शुद्ध र मीठो पकवान नहुने भएकोले पनि छठको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिई छठीमाईको पूजा गरेर बिदा गरे झैं छोरीको ‘गौना’ गरेर बिदा गरिन्छ । त्यो दिन छठ घाटमात्र हैन कतिपय घर पनि छोरीको बिदाईका कारणले शून्य हुन पुग्दछ ।

त्यसैले ग्राम्यतालाई अहिले पनि आफ्नो आँचलमा समेटेर राखेको छठपर्वमा मधेशको त्यो अलौकिक सुगन्ध रचे बसेको छ जसले यो पर्वलाई लोकपर्व बनाउँदछ । स्थानीय स्तरमा उत्पादन भएका रैथाने चिजवीज प्रयोग गरेर मनाईने भएकोले नै छठ पर्वको महिमा स्तुत्य छ । सूर्य र पृथ्वीको सम्बन्ध रहुन्जेल यी दुईको बिचमा वास गर्ने मानिस नामका जीवले यो धराको सौन्दर्यलाई सार्थक पार्न र मानवता नबिटुलियोस् भन्नकालागि यो छठ पर्व मनाइरहने छन् र मनाइनु पर्छ ।

तपाइँको प्रतिक्रिया