शनिबार, वैशाख १५, २०८१

नेदरल्याण्डमा चीनका दुई ‘गोप्य प्रहरी स्टेशन’ सञ्चालनमा !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक ९ गते १८:३६

Photo source -bolnews.com

डच परराष्ट्र मन्त्रालयले चीनले असन्तुष्टहरूलाई निगरानी गर्न नेदरल्यान्ड्समा दुई अवैध प्रहरी स्टेशन स्थापना गरेको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ ।

डच मिडिया रिपोर्टहरू अनुसार दुई चिनियाँ पोस्टहरू २०१८ देखि एम्स्टर्डम र रोटरडममा कार्यरत छन्।

ति प्रहरी स्टेशनहरूले चिनियाँ नागरिकहरूलाई कूटनीतिक सहयोग प्रस्ताव गरेको दावी गरेको छ तर डच सरकारमा दर्ता नगरिएको उल्लेख छ ।

गैरसरकारी संस्थाहरूले दावी गरे अनुसार सुविधाहरू वास्तवमा बेइजिङले विदेशमा राजनीतिक विपक्षी र असन्तुष्टहरूलाई निगरानी गर्न र राजनितिक बिरोधीहरुलाई चुपचाप पार्न प्रयोग गरेको छ । त्यसमा पूर्व सैन्य र गुप्तचर अधिकारीहरूलाई कर्मचारीको रूपमा प्रयोग गरिएको छ ।

चीनको सरकारले भने ति रिपोर्टहरू “पूर्ण रूपमा गलत” भएको बताएको छ।

मन्त्रालयका प्रवक्ता म्याक्सिम होभेनक्याम्पले एएफपीलाई भने “नेदरल्याण्डका न्याय र विदेश मामिलाका मन्त्रीहरूले प्रतिवेदनलाई ध्यान दिएका छन् र यो विषयलाई गम्भीरताका साथ लिएका छन् ।”

“परराष्ट्र मन्त्रालयले हाल तथाकथित प्रहरी स्टेशनहरूको गतिविधिको अनुसन्धान गरिरहेको छ। हामीले यसबारे थप स्पष्टता आएपछि उपयुक्त कदम चाल्ने छौं।”

सेप्टेम्बरमा स्पेनी मानव अधिकार संगठन सेफगार्ड डिफेन्डर्सले युरोपमा कम्तिमा ३६ चिनियाँ प्रहरी स्टेशन स्थापना गरिएको रिपोर्ट गरेको थियो ।

आरटिएल न्युज र खोज पत्रकारिता प्लेटफर्म ‘फलो द मनी’ द्वारा बुधबार एक ताजा अनुसन्धान प्रकाशित गरिएको छ।

चिनियाँ परराष्ट्र मामिलाका प्रवक्ता वाङ वेनबिनले “स्टेसनहरूले चिनियाँ नागरिकहरूलाई उनीहरूको ड्राइभिङ इजाजतपत्र नवीकरण गर्न वा उनीहरूको नागरिक स्थितिमा परिवर्तनहरू रिपोर्ट गर्न मद्दत गर्ने” बताएको भन्दै युरोन्युजले उल्लेख गरेको छ ।

“कोरोनाभाइरस महामारीको प्रभावका कारण, धेरै विदेशी चिनियाँ नागरिकहरू ड्राइभर लाइसेन्स नवीकरण र अन्य सेवाहरूको लागि आवेदन दिन चीन फर्कन असमर्थ छन्” उनले बुधबार पत्रकारहरूलाई भने ।

“चिनियाँ सार्वजनिक सुरक्षा स्टेशनहरूले कानून बमोजिम विभिन्न अन्तर्राष्ट्रिय आपराधिक गतिविधिहरूमा दृढतापूर्वक नियन्त्रण गर्दछ, अन्तर्राष्ट्रिय कानूनको कडाईका साथ पालना गर्दछ र अन्य देशहरूको न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दछ” उनको थप भनाई थियो ।

कूटनीतिक सेवाहरू सामान्यतया अन्तर्राष्ट्रिय भियना कन्भेन्सन अन्तर्गत मान्यता प्राप्त दूतावास वा वाणिज्य दूतावासहरूद्वारा गरिन्छन् जसमा चीन र नेदरल्यान्ड सहित १०० भन्दा बढी देशहरूले हस्ताक्षर गरेका छन् ।

तपाइँको प्रतिक्रिया