सोमबार, मंसिर १९, २०७९

पटाक्षेप

ईशा शाह२०७९ कार्तिक १३ गते ९:००

(अघिल्लो अर्थात् छैठौं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ईशा शाह

“के भयो ?” स्वातीले स्कुटरको आवाज सुनेपछि दौडिंदै बाहिर आएर परिवेशलाई सोधिन् ।
“लौ तिमी कलेज गईनौ ?” जवाफ दिनुको साटो परिवेशले स्कुटर रोक्दै सोधे ।
“जान सकिनँ, भन्नु न के भयो ?”
“के हुनु ? केही पनि भएको छैन ।”
“अनि बुवा ?”
“त्यहिं कुरेर बसिरहनु भएको छ ।”
“अनि उहाँलाई पनि …….!”
“कस्तो हुनुहुन्छ उहाँ थाहा छ तिमीलाई र पनि तिमी मलाई कराउँछौ । माहौल बिग्रिंदै गयो र म हिंडे । भोकले मर्न लागेको छु खाना पस्क” परिवेशले स्कुटरमा स्ट्याण्ड लगाएर ओर्लिदै भने र कोठा भित्र पसे ।

“नुहाउनुहोस् है” स्वातीले बाहिरै उभिएर कराईन् ।
“छोएको छैन नुहाउन किन पर्यो ?” भन्दै परिवेश भुत्भुताए ।

“दाजी ……. !” भन्दै प्रमेश कोठा भित्र पसे ।
“के हो आज तिमीहरु कोही पनि ……!”
“भाउजू पिरिएर…… !”
“खाना खायौ ?”
“अँ हँ ! परिमितलाई स्कुल पुर्याएँ त्यसपछि अरु त …..!”
“होईन के हुँदैछ यो घरमा ? न खाना न अफिस यसरी कसरी हुन्छ ?”
“जे भए पनि शमी यो घरको एउटा हिस्सा थिई दाजी, कुकुर बिरालो मरे त पीर गर्छन् त्यसैले ….. !” भन्दै प्रमेश कोठाबाट निस्किए ।

“भाई सुन त” परिवेशले प्रमेशलाई बोलाए ।
“हजुर” प्रमेशले ढोकामा उभिएर भने ।
“बुवाले बारीको कोठा खाली गर्न भन्नु भएकोछ । यसो मान्छे खोजेर सफा गर्न लगाउ ।”
“किन दाजी ?”
“बुवाले शमीको मृत्यु पश्चात त्यहाँ उनीहरु बस्ने वातावरण हुन्न त्यसैले भन्दै हुनुहुन्थ्यो । मैले मुमालाई सोध्नुपर्छ भन्दा हकार्नु भयो” परिवेशले भने ।
“कुरा ठिकै त हो नि !” स्वातीले प्रमेशको पछाडी उभिएर भनिन् ।
“अँ तिमीलाई त ठिक होला तर त्यसको दूरगामी असरको बारेमा सोच्न पर्छ कि पर्दैन ?”

“पर्छ, तर त्यो भनेको भोलिको कुरा हो । खोई त बाबु म भित्र जान्छु” स्वातीले भनिन् ।
“ए हस् भाउजू” भन्दै प्रमेश ढोकाको छेउतिर उभिए ।

“किन मेरो कुरा कोही बुझ्दैनन् भन्या ?” भन्दै परिवेश कराए ।
“के बुझ्नपर्यो भन्नुहोस् त ?” स्वातीले सोधिन् ।
“तिनीहरु भनेको हाम्रो लागि घाँडो हुन्” परिवेशले रिसाउँदै भने ।
“होलान्, तर बिकल्प नभएपछि असरल्ल छोड्न पनि त भएन नि !” स्वातीले भनिन् ।
“जान्छन् गाउँ, बस्छन् उतै ।”
“माटो खाएर बाँच्छन् कि ढुंगा ?”
“ त्यो उनीहरुको कुरा हो ।”
“कति स्वार्थी भएको हजुर ?” भन्दै स्वाती रोईन् ।
“तिम्रो आँसुले म पग्लिन्नँ स्वाती, तिमी र बुवा मिलेर थाहा छैन के गर्न खोज्दै हो यो घरमा मैले कुरा बुझिरहेको छैन ।”

“मान्छे भएपछि मान्छेको थान्कोमा बस्न खोज्नु हुँदैछ बुबा, उहाँलाई हजुरले अन्यथा नसोच्नु होस् त्यति भए पुग्छ” भन्दै स्वाती बिछ्यौनामा घोप्टिएर रुन थालिन् । प्रमेश अमिलो मुख बनाएर आफ्नो कोठातिर लागे ।

क्रमश :

तपाइँको प्रतिक्रिया