शनिबार, मंसिर १०, २०७९

एनआरएनए : बाहिर हेर्दा तलाउ जस्तो शान्त, भित्रभित्रै निर्वाचनको चहलपहल

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक १४ गते २३:२९

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अब अर्को निर्वाचन आउन एक वर्ष भन्दा कम छ । अहिले बाहिरबाट झट्ट हेर्दा संघमा खासै हलचल, सक्रियता केहि देखिन्नन । शान्त देखिन्छ । अर्थात् एनआरएनए नामको एक विशाल पोखरी बाहिरबाट हेर्दा शान्त छ । छैन हलचल । भद्र र स्थिर देखिन्छ । तर पोखरीको बाहिरी सतह जति शान्त छ यसको भित्रि भागमा भने भयंकर बाढी र पहिरो छ । अर्थात् बाढी र पहिरोले ल्याउने आवाज । गड्याङ र गुडुङ गर्दै यता र उति ठोक्किंदै जाने पथ्थर, ढुंगा र मुढाको भयंकर मिश्रित आवाज जस्तो ।

केन्द्रिय समितिका लागि भित्रभित्रै अब कसले नेत्रित्व लिने भन्ने विषयमा आकांक्षीहरु लाग्ने, नाम प्रस्ताब गर्ने, प्यानल वा समुह बनाउने खेलो भयंकरसित चलिरहेको छ ।

एनआरएनएको नेतृत्वमा यसैपनि शुरु शुरुमा अलि पछिल्ला पदको उति चर्चा हुन्न । खास चर्चा अध्यक्ष वा संघ हाँक्ने मुलीकै हुन्छ । त्यहि मुलीको वरिपरि अन्य मुन्तिरका अन्य पदवाला हुन्छन् । यि पदमापनि अध्यक्ष पदको खाँबोलाई चारतिरबाट पर्खाल चाहियो । ति पर्खाल मध्ये महासचिव र कोषाध्यक्षनै हुन् । त्यसपछि उपाध्यक्ष, सचिव हुँदै अन्य केन्द्रिय पदाधिकारी र क्षेत्रिय संयोजकहरु पर्छन् ।

त्यो भन्दापनि अझ बढी महत्वपूर्ण अर्को पक्ष छ, पहिलो निर्वाचनकालागि लगानी गर्ने रकम । त्योभन्दा अझ महत्वपूर्ण पक्षपनि छ-राजनितिक दल र नेताको समर्थन । त्यसैले अबको निर्वाचनमापनि यहि प्रमुख तीन कुरालेनै प्रभुत्व र नेतृत्व जमाउने छन् ।

यि सबै पक्षलाई हेर्दा कसले लेला त नेतृत्व ? प्रश्न जटिल, गम्भिर र रहस्यमयपनि लाग्छ । अध्यक्षका दाबेदारहरुमा हालसम्म सक्रिय बनेकामा अमेरिकाका सुनील शाह छन् ।

त्यसो त, अध्यक्षको दाबेदार उनीभन्दा पहिले उपाध्यक्ष महेश श्रेष्ठ हुन् । त्यसपछि मध्यपूर्वका आर के शर्माले अध्यक्षको उमेदवारीका लागि भित्रि चुनावी अभियान शुरु गरिसकेका छन् । अमेरिकाकै डा. केशव पौडेलले पनि अध्यक्षमै उमेदवारी दिने चर्चा छ । तर प्वाक्क बोलिसकेकोपनि सुनिएको छैन । पौडेलले कूल आचार्यको पक्कापक्की सहमति नभै बोल्दैनन् पनि । आचार्यले कसलाई समर्थन गर्ने हुन्, अन्तिम सम्म को प्राथमिकतामा पर्छ अहिलेनै भन्न सकिने अवस्थापनि छैन ।

उता अष्ट्रेलियाका धर्मराज अधिकारीपनि अध्यक्ष पदको आकांक्षी देखिएको चर्चा छ । उनलेनै खुलेर भने बताएका छैनन् । डा. बद्रि केसी फेरि अध्यक्ष बन्ने स्थितिमा भने उनी पछि हट्ने चर्चा सुनिएको छ ।

अध्यक्षको प्रत्यासीका रुपमा हालसम्म खुलेर बताउनेमा सुनील साह, महेश श्रेष्ठ र राजेन्द्र शर्मानै हुन् ।

समय अझै बाँकि रहेकाले अन्तिमसम्म को को हुन्छन् प्रत्यासी भन्न सकिन्न । अध्यक्षका दाबेदार कृत्रिम रुपमापनि देखिन्छन् । केहिले अध्यक्षमा दाबी गरी अर्को कसैसित पैसो खाएर समर्थन दिने र आफूले अलि तल्लो पदमा बस्नेपनि हुन्छ । कतिपयले भोट गनेर ‘मेरा यति भोट छन् त्यसैले यो पद चाहिन्छ’ पनि भनेर मोलमोलाई गर्छन् । राजनितिक दलले कसलाई समर्थन गर्छ । कुन नेतालाई कत्रो बिटो हात पर्छ त्यसैले झनै पार्टीका तर्फबाट उमेदवार को बन्ने भन्ने निस्चित गरिदिन्छ ।

तर राजनितिक समर्थन वा पार्टी र नेता नधाईकनै स्वतन्त्र ढंगले अध्यक्षमा उमेदवारी दिनुपर्छ भनेर स्वतन्त्रबाट दबाब आउनेमा डा. हेमराज शर्मा छन् । ‘हेम राज अध्यक्ष हुने र उनले चाहेको टिम आउने हो भने एनआरएन सुध्रिन्छ’ भन्ने केहि केन्द्रिय समितिकै पदाधिकारीपनि छन् । नेतृत्वबाट बाहिर रहेका धेरैको भनाईपनि छ । एनआरएनएको ईतिहास र बर्तमान, विधिविधानसमेतमा सबैभन्दा जानकार मानिने शर्माले भने मुख खोलेका छैनन् । उनलाई यो प्रश्न गर्दा ‘अहिले किन हतार ? बोल्ने बेलै भएको छैन’ भन्ने जवाफ दिन्छन् ।

हाल सतहमा देखिएका अध्यक्षका प्रत्यासीहरुमा सुनील शाह हाल कोषाध्यक्ष छन् र उनले अहिले कोषाध्यक्षको पद राम्रोसित बहन गरिरहेको, एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा राम्रोसित सम्पन्न गरेको र एनआरएनए अनलाईन मतदानकालागि ठूलो काम गरेको, अमेरिका विश्वकै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद रहेकाले मतदातापनि बढी रहेको दाबी साहको रहने गरेको छ । उनले आफूलाई सबैलाई मिलाएर लैजाने, राजनितिक तहमा चासो नराख्ने भन्ने दाबिपनि गर्दै आएका छन् ।

अर्कोतर्फ महेश श्रेष्ठ कोषाध्यक्ष रहँदा अघिल्लो कोषाध्यक्षले पास गराउन नसकेको आर्थिक दस्तावेज पास गरेर देखाएको, गत महाधिवेशनमा संस्था करिब करिब दुई चिरानै हुनलाग्दा नेपालका राजनितिक दल, नेता, एनआरएनए बरिष्ठ अभियन्ता र मनमुटवकर्ता सबैलाई समेटेर संस्था एक गराई बचाउन सफल भएको, करिब पाँच करोड घाटामा पुगेको एनआरएनए केन्द्रलाई सबै भरपर्ताल गराएर दुई करोड नाफामा पुर्‍याउन सफल भएको, एनआरएनएमा आर्थिक पद्दतिको संस्थागत विकास गरेको । उनका यस्ता तर्क र सकात्मक पक्ष रहेका छन् । गत महाधिवेशनमा तीन पक्षलाई मिलाउन खेलेको महेशको भूमिकालाई पूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले निकै प्रशंसा गरेका थिए । एयोपनि उनकालागि चुनावी प्रतिस्पर्धामा बलियो अंक हो ।

मध्यपूर्वका राजेन्द्र शर्माको त्यस्तो बलियो भूमिका सार्वजनिक भएको देखिन्न । मध्यपूर्वमा धेरै मजदूर, श्रमिक रहेकाले त्यहाँको मत धेरै रहेको, मध्यपूर्वमा धेरै समस्या रहेकाले त्यहिंका प्रतिनिधिले जिते त्यहाँका समस्या बुझ्न र समाधान गर्न सकिने र नेकपा माओवादीको पार्टिगत तरिकाले समर्थन रहेको । उनका तर्क यिनै देखिन्छन् । उनी गत महाधिवेशनमा शुरुमा बद्रि केसीको समुहमा थिए । पछि नेकपा माओवादी केन्द्रले कांग्रेससित मिलेर सरकार बनाएकाले नेपालको गठबन्धन सरकारकै पक्षमा लाग्न क्याम्प परिवर्तन गर्नुपर्ने भन्दै पछि राजेन्द्र शर्मा र लोक प्रसाद दहाल कुल आचार्य पक्षमा गएका थिए ।

त्यसो त, अध्यक्षका प्रत्याशी मध्ये अझ सबैभन्दा माथिल्लो तहका प्रत्याशी अहिलेका तीन अध्यक्ष मध्येका डा. बद्रि केसीनै हुन् । विशेष परिस्थिति र गत महाधिवेशनमा बखेडानै बखेडाका कारण खुम्चिएर सर्वसम्मत अध्यक्ष बन्न पुगेका केसी फेरिपनि सर्वसम्मत अध्यक्ष बन्ने दमित आकांक्षा लिएर बसेका छन् ।

पहिले उमेदवारी दिएजति तीनै जना अध्यक्ष बने । त्योपनि सर्वसम्मतनै थियो । तर अबको सर्वसम्मत भने सबैले “एक कार्यकाल तपाई सर्वसम्मत अध्यक्ष बन्नुस्” भनेर छोडिदिए वा सर्वसम्मतीमा अध्यक्ष बन्न दिए एकल अध्यक्ष बन्ने र संस्थालाई हाँकेर देखाउने इच्क्षा राखेका छन् । एक कार्यकाल अध्यक्ष बनेकाले उनमा फेरि निर्वाचनमै भिडेर अध्यक्षमा जाने आकांक्षा भने देखिएको छैन ।

केसीले आफ्ना निकटसित हल्का, मन्द मन्द पारामा छुस्स सुनाउने र एनआरएनएका अभियन्तासितको अनौपचारिक छलफलमा संकेत गर्ने गरेपनि हाकाहाकी त्यो आकांक्षा प्रस्फुटन गरिहालेका भने छैनन् । त्यसैले उनी चुनावी अभियानमै भने लागेका छैनन् । बरु अघिल्लो कार्य समितिले निर्वाचन गराउन नसकेको भन्दै आफूले भने जसरिपनि निर्वाचन गराएरै छाड्ने तयारिमा बढी लागेको बताइन्छ ।

अर्को तर्फ डा. हेमराज शर्मापनि यदि बद्रि केसी फेरि अध्यक्ष हुने हो भने उनका पक्षमा उभिने आँकलन गरिएको छ । केहि साता अघि एनआरएनएको बिधान संशोधन भएको छ । उक्त संशोधन अनुसार वरिष्ठ उपाध्यक्ष पद स्रिजना गरिएको छ । यदि डा. हेमराज शर्माले डा.  बद्रि केसी वा महेश श्रेष्ठलाई छोडेमा उनलाई त्यहि वरिष्ठ उपाध्यक्षमा राखिने संभावना धेरैले औंल्याएका छन् ।

एनआरएनएको आन्तरिक र बाह्य बनावट, बिभिन्न पार्टीको प्रभाव र एनआरएनएमा ति पार्टीका कुन कुन नेताले कस्तो खेल खेल्छन्, कुन देशको एनआरएनएको हालत कस्तो छ र कुन अभियन्ता कस्तो छ भन्नेसम्मको मनोबिज्ञान र यथार्थता कण्ठै भएका डा. शर्मालाई तयारिको हतारोपनि खासै गर्नु नपरेर होला । उनी यस अघिल्ला निर्वाचनमा पनि उमेदवारीमा हतारिने गरेका थिएनन् ।

नेतृत्व कसको अघुवाईमा भन्ने मूल प्रश्न त हो नै । उसको समुहमा कस्ता ब्यक्ति अन्य पदमा पुग्छन् भन्ने प्रश्नपनि उत्तिकै महत्वपूर्ण हुन्छ । अध्यक्ष पछिका पदहरुमा युवा संयोजक रोशन थापा, मध्यपूर्वका युवासंयोजक राज रेग्मी, महासचिव गौरिराज जोशी, जापानका ओम गुरुङ, युकेका रामशरण सिंखडा, मलेशियाका खगेन्द्र न्यौपाने, हङकङकि राधिका गुरुङ, बेल्जियमका शिव कुमार बरुवाल, जापानका भुषण घिमिरे, अमेरिकाका कृष्ण लामिछाने लगायतका केहि ब्यक्तिको पहुँच र प्रभावलेपनि काम गर्छ ।

निर्वाचनमा पार्टी, नेता र एनआरएनएमा प्रभाव सबैको खाँचो पर्छ । तर कतिपय ब्यक्तिहरु यस्ता हुन्छन् जसको निकै राम्रो सिप, बौद्दिक, तार्किक र कुनै न कुनै क्षेत्रमा छबी उज्यालो हुँदा धेरैलाई प्रभाव पार्छ । यसले नेतृत्वकर्तालाई संस्था हाँक्न सहज बनाउँछ भने स्वतन्त्र गैर आवासीय नेपाली र त्यस बाहिरको सार्वजनिक मैदानमा पहुँच र विश्वाश बढाइदिन्छ ।

नेतृत्वकालागि भित्रभित्रै तयारि गर्नेहरुले मूलरुपमा यसमा अहिलेनै पद भागबण्डा शुरु गरिनसकेको भएपनि आन्तरिक तयारिका रुपमा नामहरु प्रस्ताव गर्ने, समुह कसरि बनाउने, कस्तो बनाउने, कुन कुन देशमा को छ प्रभावकारि आदि बुझ्ने र हिसाबकिताब गर्ने काम शुरु गर्न लागेका छन् ।

तर निर्वाचन हो । यसमा राजनितिक दल र नेता, परराष्ट्रमन्त्री, प्रधानमन्त्री र प्रधानमन्त्रीकि पत्निसमेतले परराष्ट्र मन्त्रालय, पार्टी र आफ्ना भगिनि संगठन मार्फत चाल्ने रणनितिले एनआरएनएको महाधिवेशन, निर्वाचन र उमेदवारहरुपनि रातारात, हप्तै पिच्छे बदलिरहन सक्छन् । नेपालमा कसको सरकार बन्छ भन्ने त लगभग झन मूल सरोकारनै रहने छ ।

तपाइँको प्रतिक्रिया