शुक्रबार, वैशाख ७, २०८१

नेदरल्याण्ड्सले आफ्नो देशका अवैध चिनियाँ प्रहरी स्टेशन बन्द गर्न दियो आदेश

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १६ गते २२:२६

Photo source -bolnews.com

नेदरल्याण्ड्सले चीनले आफ्नो देशमा स्थापना गरेका दुई अवैध प्रहरी स्टेशन बन्द गर्न आदेश दिएको छ ।

मिडिया रिपोर्टहरूलाई उल्लेख गर्दै फ्रंस २४ न्युजको समाचार अनुसार बेइजिङले असन्तुष्टहरूलाई निगरानी गर्न २०१८ देखि नेदरल्याण्ड्सको एम्स्टर्डम र रोटरडममा पोस्टहरू सञ्चालन गर्दै आएको छ ।

चीनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

प्रहरी स्टेशनहरूले मान्यता प्राप्त कूटनीतिक सेवाहरू प्रस्ताव गर्नुको सट्टा राजनीतिक विरोधीहरूलाई मौन बनाउन पूर्व सैन्य र गुप्तचर अधिकारीहरू प्रयोग गरेको गैरसरकारी संस्थाहरूले दाबी गरेका छन् ।

“हामीले चिनियाँ राजदूतलाई चिनियाँ सरकारको तर्फबाट नेदरल्यान्ड्समा काम गर्ने तथाकथित प्रहरी सेवा स्टेशनहरूको बारेमा पूर्ण स्पष्टीकरण मागेका छौं” डच विदेशमन्त्री वोप्के होइक्स्ट्राले ट्विटरमा लेखेका छन् ।

“यसका लागि नेदरल्यान्ड्सबाट कुनै अनुमति मागेको छैन । मन्त्रालयले राजदूतलाई स्टेशनहरू तुरुन्तै बन्द गर्न जानकारी गराएको छ” उनले थपे।

संवन्धित : नेदरल्याण्डमा चीनका दुई ‘गोप्य प्रहरी स्टेशन’ सञ्चालनमा !

“यसका अतिरिक्त, नेदरल्याण्ड आफैले पनि स्टेशनहरूको वास्तविक गतिविधिहरू पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।”

अवैध प्रहरी स्टेशनहरूको दाबी “पूर्ण रूपमा झुटो” भन्दै बेइजिङले आरोपहरू अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मामिलाका प्रवक्ता वाङ वेनबिनले गत हप्ता भनेका थिए “चिनियाँ सार्वजनिक सुरक्षा स्टेशनहरू अन्तर्राष्ट्रिय कानूनको कडाईका साथ पालना गर्छन् र अन्य देशहरूको न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्छन्।”

मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार बेइजिङमा नियमित ब्रीफिङमा भनेका थिए “तपाईंले उल्लेख गर्नुभएका संस्थाहरू प्रहरी स्टेशन वा प्रहरी सेवा केन्द्रहरू होइनन्।”

“उनीहरूको गतिविधिहरू स्थानीय चिनियाँ नागरिकहरूलाई सहयोग गर्ने हो जसले ड्राइभर इजाजतपत्र नवीकरणको लागि अनलाइन आवेदन दिन आवश्यक छ र स्थल ब्यवस्थापन गरेर शारीरिक परीक्षण सेवाहरूसँग सम्बन्धित गतिविधिहरू गर्ने हुन्” प्रवक्ता झाओको भनाईलाई फ्रंस २४ ले उल्लेख गरेको छ ।

सेप्टेम्बरमा, स्पेनी एनजीओ सेफगार्ड डिफेन्डर्सले फ्रान्स, इटाली, पोर्चुगल र स्पेनलगायत युरोपेली देशहरूमा कम्तीमा ३६ चिनियाँ प्रहरी स्टेशनहरू स्थापना गरिएको रिपोर्ट गरेको थियो ।

आर टि एल न्युज र खोज पत्रकारिता प्लेटफर्म ‘फलो द मनी’ द्वारा गरिएको नयाँ अनुसन्धानले यी दुई पोस्टहरू नेदरल्याण्डमा सञ्चालन भएको पुष्टि गरेको थियो ।

आरटीएलका अनुसार एम्स्टर्डमको एउटा प्रहरी स्टेशन पूर्वी चिनियाँ क्षेत्र लिशुईको प्रहरीले खोलेको थियो र रोटरडममा अर्को स्टेशन फुझाउ शहरले सञ्चालन गरेको छ ।

जर्मनी, आयरल्याण्ड र स्पेनका अधिकारीहरूले पनि कथित चिनियाँ प्रहरी स्टेशनहरूबारे अनुसन्धान थालेका छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक