शुक्रबार, वैशाख १४, २०८१

‘तलब कि द्वन्द्व’ भन्दै स्पेनमा हजारौं मजदुरद्वारा प्रदर्शन

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १७ गते २३:३२

फोटो स्रोत- आनादोलु एजेन्सी

स्पेनमा ‘तलब बढाउने वा द्वन्द गर्ने’ छनौट गर्न भन्दै बिहिवार हजारौं मजदुरहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले उच्च ज्याला र थप अधिकारको माग गरेका हुन् ।

‘तलब वा द्वन्द्व’ लेखिएका ब्यानर बोकेर त्यहि नाराका साथ बिहीबार स्पेनको राजधानी म्याड्रिडमा हजारौं ट्रेड युनियन सदस्यहरूले र्‍याली निकालेका हुन् ।

कामदारहरूले स्पेनको सरकार र व्यवसायी नेत्रित्वले व्यापक मुद्रास्फीतिको प्रतिक्रियास्वरूप न्यूनतम तलब मासिक १,००० युरो भन्दा माथि बढाउन माग गरेका छन् ।

“हामी ज्याला बराबर होस् र मजदुर वर्गको आवाज अलि बढी होस् भन्ने चाहन्छौं,” प्रदर्शनमा भाग लिएकाहरुले भनेका छन् “सत्य के भने हरेक क्षेत्रमा मुद्रास्फीतिले थिचेको छ र सबै उत्पादनहरूमा मूल्य वृद्धि गरिएको छ । त्यो अनुसारको तलब बढ्नुपर्छ ।”

युनियनहरूको बलियो उपस्थिति भएका क्षेत्रहरूमा मात्रै नभएर देशलाई अप्ठेरो पार्ने मुद्रास्फीतिको आधारमा सबैतिर, सबै मजदूर, श्रमिकको तलब वृद्धि माग युनियनहरुको छ ।

“आज दुर्भाग्यवश हामीले जुन तलब पाइरहेका छौं मुद्रस्फिति र अन्य अन्य महँगीको परिस्थितिका कारणले हाम्रो आधारभूत आवश्यकताहरू कभर गर्दैन” अभियन्ता कार्मेनले फ्रंस २४ लाई बताए “त्यसैले हामी यहाँ आएका छौं । हामी तलब वृद्धि र सम्मानजनक अधिकारको कार्यान्वयनको दाबी गरिरहेका छौं ।”

क्याथोलिक परोपकारी संस्था क्यारिटासले बिहीबार निकालेको एक रिपोर्ट अनुसार १० मध्ये तीन स्पेनी परिवारहरूसँग सम्मानित तरिकाले जीवन गुजार्न आर्थिक स्रोतहरू छैनन् ।

स्पेनको मुद्रास्फीति दर गत जुलाईमा लगभग ११ प्रतिशत पुगेको थियो जुन दर गत अक्टोबरमा ७ दशमलव ३ प्रतिशतमा झर्‍यो ।

रोजगारदाता संघले सरकार र ट्रेड युनियनहरूसँग वृद्धिको वार्ता गरिरहेको मेडियाहरुले उल्लेख गरेका छन् । तर सरकार र रोजगारदाताको संगठनले मुद्रास्फिति अनुसार कामको ज्याला र सुविधा बढाउन अस्विकार गरेको मजदुर युनियनहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया