शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा पशु दुर्व्यवहारको अनुसन्धान गर्न प्रहरीको छुट्टै शाखा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक १८ गते १७:०४

बाहिरबाट झट्ट हेर्दा कुकुर, बिरालालाई चाटेको, च्यापेको, गाडीको अघिल्लो सिटमा राखेको, डुलाउन र घुमाउन लगेको देखिन्छ । नुहाईदिने, छुट्टीमा लैजाने गरेकोपनि निकै देखिन्छ । अर्थात् मान्छेका बालबच्चालाई भन्दा बढी माया गरेको देखिन्छ । तर त्यो हामीले देखेको जस्तै माया साँच्चिनै गर्छन् त ? अर्थात् माया गरेको जस्तो जति देखिन्छ के ति सबैले साँच्चिनै माया गरेका हुन्छन् ? अध्ययन रिपोर्टले त्यसलाई खण्डन गर्छ ।

शारीरिक हिंसा, खराब जीउने अवस्था, विषाक्तता । २८ अक्टोबर, २०२२ मा फ्रान्सको गृह मन्त्रालयले प्रकाशित गरेको एक अध्ययन अनुसार, २०१६ देखि २०२१ को बीचमा घरपालुवा जनावरहरूको आक्रमणको संख्या ३० प्रतिशतले बढेको छ।

२०१६-२०२१ को बीचमा यी आक्रमणहरूबाट सबैभन्दा बढी प्रभावित कुकुरहरू ४६ प्रतिशतले पिडित छन् । त्यसपछि बिरालाहरू ३३ प्रतिशतले पिडित छन् ।

मानव आक्रमण र दूर्ब्यवहारबाट पिडित अन्यमा खरायो, लोखर्के, चरा, गिनिपिग लगायत अन्य मुसाहरू, गाईवस्तु, सुँगुर, घोडा, गधा लगायत अन्य केहि छन् ।

सिमित समयसम्म पाल्ने तर केहि समयपछि झर्कोपर्को मान्ने, बेलामा हेरचाह नगर्ने घटना प्रशस्तै छन् । कतिपयले पारिवारिक संवन्ध बिच्छेद वा बसाइसराई गर्नुपर्दापनि जनावरलाई उचित हेरचाह नगर्ने वा कतै लगेर छोडिदिने गर्छन् । कतिपय ब्यक्तिले भने छुट्टी मनाउन जाँदा आफू बसेको भन्दा अन्यत्रै लगेर अलपत्र छोडिदिने गरेका छन् ।

यसरि अलपत्र पारिएका कुकुर र बिरालालाई धर्मपुत्र धर्मपुत्री स्विकारेझैं अभिभावकत्व लिईदिन प्रस्ताव गर्ने संघसंस्था छन् । नगरपालिकालेपनि गर्छ । तर अलपत्र पारिएका घरपालुवा जनावरको तुलनामा अभिभावकत्व लिनेको संख्या भने निकै कम छ ।

यो बढ्दो प्रकोपको बिरूद्ध लड्न गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारि गर्दै १५ प्रहरी र नगरप्रहरी अन्वेषकहरू मिलेर पशु दुर्व्यवहारको अनुसन्धान डिभिजन गठन गर्ने घोषणा गरेको छ । यसलाई वातावरण र जनस्वास्थ्य (ओक्लास्प) को क्षति विरुद्धको लडाईको रुपमा केन्द्रीय कार्यालयमा रिपोर्ट गरिने छ।

तपाइँको प्रतिक्रिया

फेसबुक