बिहीबार, वैशाख १३, २०८१

कथा : प्रेम नबुझि पाको भएको ऊ

नेपाल प्लस२०७९ कार्तिक २० गते ६:०५

(२०७९ भदौ २३ गते नेपालप्लसमा प्रकाशित ‘भोटेकोशीको गहिराई जस्तै एउटा अपवित्र प्रेमको गठबन्धन’ कथा पढे पछि एक महिलाले आफु सो कथाको पात्र भएकोले यो प्रतिक्रिया प्रकाशित गरिदिन अनुरोध गर्दै यो कथा पठाउनु भएको छ । उक्त कथालाई सामान्य सुद्दासुद्दी मात्रै हेरेर यहाँ जस्ताको तस्तै रखिएको छ । भोटेकोशीको गहिराई जस्तै एउटा अपवित्र प्रेमको गठबन्धन पढ्न यहाँ क्लिक गर्नुहोला)

कला-साची आर्ट

एअरपोर्टको सबै प्रक्रिया सकेर म कतार एअरवेजकोविमानमा बसें । पहिलो पटक विदेश जान लागेको । उत्साह, उमंग, पढने चाहना, करियर बनाउने चाहना सबै एकै पटक मनमा आयो । चिम्म आँखा चिम्ले । शंकरदेवबाट ब्याचलर पढाई सकिएपछि बिजिनेस म्यानेजमेन्टको मास्टर डिग्री गर्न म स्विडेन जाँदै थिएँ । दोहा मेरो ट्रान्जिट, डेनमार्कको कोपनहेगनसम्म पुगे पछि सोहि एअरपोर्टमा मलाई स्विडेन लाने गाडी होस्टल ब्यबस्थापनले पठाई दिने व्यवस्था मिलाएपछि मात्रै मैले काठमाडौँ छोडेको थिएँ । मैले स्विडेनको लुन युनिभरसिटिमा छात्रवृत्ति पाएको थिएँ , बस्ने होस्टल सहित । तर अन्य खर्च म आफैले व्यहोर्ने सर्तमा ।

यात्रा सामान्यनै बित्यो। म कोपनहेगन ओर्लें । बाहिर आउँदा एउटा केटा मेरो नामको प्लेकार्ड बोकेर उभिरहेको थियो । एकछिन टक्क अडिएँ । तारा बराल, मन ढुक्क फुल्यो । विदेश आउने मेरो आफ्नै निर्णय थियो । एक प्रकारले गर्ब पनि महसुस गरिरहेको थिएँ । युरोपमा मेरो नामको कार्ड बोकेर कोहि उभिएको छ । एकछिन हेरें । मजा आइरह्यो । एकछिनसम्म मज्जा लिइ रहें । उभिएर हेरिरहें । एअरपोर्ट भिडभाड नै थियो । भिडमै उभिएर मज्जा लिइरहें । एकछिन पछि उसको आगाडी जाँदै भनें – हाइ आइ एम तारा बराल फ्रम नेपाल । सामान्य परिचय पछि उसले मेरो सुटकेस गुडाउन लाग्यो । म आफ्नो हाते झोला बोकेर उसको पछि पछि लागें ।

अब हामी बिएमडब्लुको कालो सेडान ठुलो कारमा थियौं । मैले सोधें, कति समय लाग्छ होला ? युनिभर्सिटी पुग्न ? उसले आफुलाई होस्टल मात्र थाहा भएको । त्यहाँ पुग्न डेढ घण्टा जति लाग्ने बतायो । हामी बिशाल समुद्र तर्दै थियौं । स्विडेन – डेनमार्क जोड्ने बिशाल पुलबाट ।

दुई देशलाई जोड्ने यो सुन्दर पुल र पानीमुनि बनाइएको यसको केहि अनौठो सुरुङबारे मलाइ मेरा चालक साथीले बताए । उनको भनाइ अनुसार यो पुलले स्वीडेनको माल्मो सहरलाई डेनमार्कको राजधानी कोपेनहेगनसँग जोड्छ । यस पुलमा बनेको सुरुङ हेर्न हजारौं पर्यटक वर्षेनी यहाँ आउने गरेका छन् । समुन्द्रमाथि बनेको यो पुल तलबाट सुरुङ हो, जुन केही टाढा गएपछि समुन्द्रमा मिसिन्छ । ओरसुन्ड ब्रिज नामको यो अचम्मको पुल पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । १९९५ मा निर्माण सुरु भएर १ जुलाई २००० मा यातायातको लागी खोलिएको यो पुलमा ड्राइभिङको मजा नै अर्कै छ।

उ मुसुक्क हाँस्यो । एकछिन टक्क अडियो र फेरी भन्न सुरु गर्यो । यो पुल कृत्रिम टापुमा ८ किलोमिटर फैलिएको छ । पुल मुनिको सुरुङ करिब ४ किलोमिटर लामो छ, जुन एउटा टापुसँग जोडिएको छ । फोटोहरु लिनुस न । यो त् एतिहासिक कुरा हो नि हैन र ? उसले मलाई भन्यो । मैले गाडीबाट नै पुलका केहि फोटोहरु खिचें । हामी सुरुङ भित्र छिर्यौ । इन्जिनियरिङको अनुपम उदाहरण बनेको ७ दशमलव ८ किलोमिटर लामो यो पुल डबल ट्रयाक हो, जसको एक भाग रेल र अर्को मोटरबाटो का लागि हो । यो अचम्मको पुललाई ड्रोग्डेन टनेल पनि भनिन्छ ।

पुलको पार पछि हामी स्विडेन आइपुग्यौं । यहाँ टोल तिर्नु पर्ने रहेछ । उसले हाम्रो कारलाई वाईफाई साइन भएको सडक तिर लग्यो । त्यहाँ क्याश, कार्ड, लेखिएका सडक पनि थिए । उसको भनाइमा उसको नम्बरप्लेट क्यामेराले रिड गरेर उसले डाउनलोड गरेको यापले उसको बैंक मार्फत पैसा तान्छ रे । प्रविधिको गज्जबकोको नमुना हेरें मैले । कहिलेकाहिं यहाँ इमिग्रेसन फेस गर्नुपर्छ । साधारणतया कुनै चेक हुँदैन उसले भन्यो । हामी चेकिङ्गमा परेनौं । गफिंदै हामी आगाडी बढ्यौं । अब होस्टेलको रिसेप्सनमा पुर्याएपछि उसले भन्यो -हस मेरो जिम्मेवारी यहाँसम्म मात्र हो । म जाउँ है ! तपाइको स्वीडेन बसाई रमाइलो, आनन्ददायक होस् ।

मैले धन्यबाद भनें । उ हिंड्यो । होस्टलको रिसेप्सनमा लाइन नै थियो । केहि प्रकिया पुरागरे पछि मैले कोठाको साँचो पाएँ । साँचो के भन्ने यसलाइ … यउटा चिप पाएँ जुन ढोकाको ह्यानडिलमा छुवाएपछि ढोका खुल्छ रे ।

होस्टल अपार्टमेन्ट सिस्टमको रहेछ । ५ कोठाको यस अपार्टमेन्टमा हरेक कोठामा अटयाच बाथरुम थिए । कोठा सारै सानो । एउटा दराज, एउटा सानो र्याक, एउटा टेबल अनि एउटा खाट । यत्ति । पक्का बिधार्थी नै भएको महसुस आउने कोठा थियो । एउटा साझा हल र साझा भान्छा । नजिकै एउटा डिपार्टमेन्टल स्टोर, अनि विभिन्न देशका साथीहरु जसमा ५ जना नै केटी थिए । चिन, केन्या, पाकिस्तान र नाइजेरिया सहित म ।

दिनहरु सामान्यनै चल्दै थिए । कलेज जाउ, असाइनमेन्टहरु गर, पकाउ खाउ, अनि यस्सो पार्टटाइम कामको खोजि । नेपाली बोल्न नापाउँदा चाहिं नियास्रो लागिरहेको थियो । त्यस्तैमा युरोपको नेपाली समाज लाइ फेसबुक मार्फत चिनजान गर्ने, युरोपबाट निस्कने नेपाली अनलाइनहरु चाहर्ने यस्तै गर्थे समय हुँदा । एकदिन यस्तैमा कसैले नेपालप्लस भन्ने पत्रिकामा छापिएको ‘भोटेकोशीको गहिराई जस्तै एउटा अपवित्र प्रेमको गठबन्धन ! को स्टोरी सेयर गरेछ । मैले पढें । एकतर्फी रुपमा लेखिएको त्यस कथामा लेखक पुरै भावनामा बगेको देखें ।

हुन त मैले यो सब बिर्सिसकेको थिएँ । तर यो कथा पढेपछि ममा अचम्मको छटपटी भैरह्यो । कसरी मानिस आफ्नो व्यक्तिगत जिन्दगि यसरी अनलाइनहरुमा छताछुल्ल गर्न सक्छ ? त्यसमाथि उनले लेखेको एउटा अंशले मेरो माथिन्गल हल्लाई रह्यो “उनको एउटा चुम्बन मेरो संसार ध्वस्त बनाउने औजार हुनसक्छ ।”

मानिसको संसार यती कमजोर धागोमा टिकेको हुन्छ ? अनि….. अनि एउटा चुम्बन पनि संसार ध्वस्त बनाउने औजार हुनसक्छ ? अब मैले त्यस कथामा नलेखिएका पाटाहरु पनि यही अनलाइनमा लेख्ने विचार गरें । लेख्न बसें ।

मेरो नाम तारा हो । तारा बराल। शंकरदेव क्याम्पस पासआउट । अलिकति मेरो परिचय दिउँ है ! हुन त म परिचय नै पत्रिकामा छाप्नु पर्ने । आफ्नो कुरा राख्नु पर्ने मान्छे त होइन । तर कोहि कसैले मेरो र मसँग भएका व्यक्तिगत कुराहरु पत्रिका मार्फत नै सांकेतिक रुपमा एकपक्षिय भएर सार्बजनिक गरिदिए पछि सोको तथ्य, सत्य, बोल्न र भन्न म यहाँ उपस्थित भएकी हुँ ।

म एक्काइसौँ शताब्दीको स्वतन्त्र, भद्र, सभ्य र आफ्नै खुट्टामा उभिएकी स्वाभिमानी नारी हुँ । बिहेसिहे हाम्रो प्राथमिकतामा पर्दै पर्दैन । हाम्रो प्राथमिकता भनेको हाम्रो करियर हो । र फुर्सद् निकालेर भए पनि जिन्दगीको पूरापूर उपभोग गर्ने हो । पढदा म टप फ़ाइवमै पर्ने बिद्यार्थी हुँ । स्कुले जिबन देखिनै घर छिमेकका बच्चाहरु ट्युसन पढाएर आफ्नो खर्च टार्थें । कलेज जिबनमा अलि अलि हावा जस्तो, अन्याय बिरुद्ध बोल्ने, यता उता हुन नदिने र आफ्नो हकको आगाडी लड्ने हुँदा म कलेज को स्टार नै थिएँ । त्यसैले मेरो स्टार बराल उप नाम पनि रहन गयो ।

यहाँ तपाईहरुलाई बताइदिउँकि मलाई तारा बराल भन्दा खासै कसैले चिन्दैनन् । तर स्टार बराल भने पछि पुतलीसडक तिर मेरो बोलि बिक्छ । त्यो एरियाको म लगभग डन टाईपकै ब्यक्ति हुँ । तर राम्रो कामको लागि, फेरी हप्ता सप्ता उठाउने भन्नु होला नि ! त्यो हैन । बिधार्थी र बोल्न नसक्नेको लागि, दिन दुखीको लागि । भन्नुस न स्टार डन । फेसबुक र इन्स्ट्रामा मेरो स्टार बराल नै प्रोफाइल छ । कलेजको बिधार्थी युनियनमा म चुनाब त उठ्दिनथें तर मैले जे भन्यो त्यहि हुन्थ्यो । अहिलेलाइ मेरो परिचय यत्ति मात्रै ।

हुन त यो शशि ढकाल उर्फ युरोप निवासिले सो कथामा मेरो परिचय त खुलाउनु भएको छैन तापनि सबै कुरालेखे पछि नाम मात्रै गोप्य राखेर उहाँले मेरो सम्मान गर्नु भएको होला । तर मैले यो कथा पढे पछि आफूलाई पुरै नंग्याएको पाएँ र प्रतिक्रिया स्वरुप यो लेख्न बाध्य भएँ । मैले स्कुलमा नै पढेको थिएँ- न्युटनको थर्ड ल, याक्सन एण्ड रियाक्सन आर अल्वेज इक्येल एंड अपोजिट । सो एकतर्फी किन ? ईक्वेल पनि हुनुपर्यो अनि अपोजिट पनि, प्रकृतिको नियम नै त्यस्तै छ ।

हो त्यसदिन हामी भोटेकोशिमा बन्जी गरेर फर्के पछिको उहाँको कुरा त सुन्नु भो । मेरो चाहिं सुन्नु भएको छैन । श्री शशि ढकाललाइ कोटेश्वोर छोडे पछि म बौद्ध स्थित भेगान रेस्टुरेन्टमा गएँ । यो मेरो फेबरेट ठाउँ हो । अक्सर केहि लेख्न वा नयाँ कुरा सोच्न परे म दिनभर यहि रेस्टुरेन्टमा बिताउँछु । यो अलि अलि रिसोर्ट टाईपकै छ । सारै आनन्द आउँछ मलाइ यो ठाउँमा आएपछि । त्यहींबाट मैले तीन महिना ब्रेक लिएको मेरो ब्वाई फ्रेन्डलाइ कल गरें । केहीबेरमा उ बुके सहित उपस्थित भयो । रोमान्टिक र नसालु अन्दाजमा उसले मेरो अगाडि घुँडा मारेर फ्लिमी आन्दाजमा मलाई प्रस्ताब गर्यो । भनुँ सरप्राइज दियो जसको लागि म तयार थिइन …….म उसँग ब्रेकअप गर्न त्यहाँ आएको थिएँ । म अब आफ्नो क्यारियरमा फोकस हुन चाहन्थें । तर उसको त्यो अन्दाज, त्यो बिहेको प्रपोजले मलाइ सप्राइज भएको थियो ।

मैले बुके लिएँ । तानेर उसलाई अंकमाल गर्दै भनें “यति चाँडै ? यो तीनमहिना बिछोड हुँदा निकै सम्झियौ कि क्या हो ? ठिकै छ मेरो निर्णय म आज राती तिमीलाई बताउने छु ।”

हामीले कफी मगायौं उ क्यापचिनोको पारखी हो । म अमेरिकानो पिउँथे आज उसकै लागि मैले पनि क्यापचिनो नै अर्डर गरें ।
अरे क्यापचिनो तिमि त…..

उ केहि भन्दै थियो मैले बिचैमा काटेर बोलें “आजको दिन तिम्रो लागि, तिम्रो रुचि मेरो रुची, जस्ट फर टुडे ओके ?”

साँझ सम्म हामी रमाइला कुरा गर्दै त्यहिं बस्यौं। मैले उसको हात समाएँ र भनें “अब हामीले ब्रेकअप गर्नुपर्छ अनि।” अनिरुध्र थियो उसको नाम म अनि भन्थें उसलाई । म अब मेरो क्यारियरमा फोकस गर्न चाहन्छु, मेरो ब्याचलर सकिएपछि म अरु केही एक्सट्रा गर्छु, सारो मिहेनत गर्ने केहि । त्यसैले म सिंगल हुन चाहन्छु, म कुनै रिलेसनमा बस्न चाहन्न । त्यसकारण आजको यो साँझ तिम्रो र मेरो अहिलेको लागि अन्तिम साँझ हो ।

म आकाशबाट खसेझैं भएको थिएँ । तापनि मैले मुटुमाथि ढुंगा राख्दै प्रतिशोध लिएको थिएँ एऊटा पुरुषसँग । उ निर्दोष थियो । तर मलाई प्रतिशोध लिनु थियो एउटा पुरुषसँग । चाहे जो होस् एउटा पुरुषले मलाई अपमान गरेको थियो । करिब ५ महिना मसँगै बिताएर अचानक के गर्यो गर्यो मलाई नै थाहा भएन । मैले भयङ्कर अपमान महसुस गरेकी थिएँ । सो को बदला मैले पनि पुरुषसँगै लिएँ । यहाँको पिरमा वा मर्कामा भन्ने भन्दा पनि अपमान र स्वाभिमान मात्र थियो न्युटनको ल जस्तो ।

उ केहि नबोली हेरेको हेर्यै भयो । म बाइ भन्दै चुप चाप उठेर हिडीदिएँ र आफ्नो करियर तिर फोकस गर्न लागें । जसको प्रमाण आज म यहाँ स्वीडेनमा स्कलरशिप सहित मास्टर गर्दै छु ।

तर एउटा लेख —– कथाले मलाई बिचलित बनायो । भोटेकोशीको कथामा भनिए अनुसारनै हाम्रो भेट मेरो एउटा अनुसन्धानको सिलसिलामा साइग्रेसको कार्यक्रममा भएको हो । त्यसदिन पछि हाम्रो भेट केहिदिन बिराएर हुन थाल्यो । उनि बस्ने कोटेश्वोर म बस्ने मिनभवन । बागमतीको किनार रेस्टुरेन्ट र क्याफेहरुको हब । उनी कोटेश्वोरबाट झर्ने म मिनभवनबाट आउने । बस ! मिटिंग पोइन्ट बागमतीको करिडोर ।

विचार, तर्कहरु मिल्दै गए । राजनैतिक चेतना पनि उस्तै । अनि दुवै जना स्वन्त्रतताको पक्षपाति । म खुलेर जिउनु पर्ने मान्छे ।

कत्ति कुराहरु त तिमीसँगै हिंड्दा पनि तिमीले पत्तो पायनौ , जस्तै कि त्यस रात कुलेखानीमा — तिमीले लेखेका छौ नि ‘त्यस दिन हामीले खुलेर ड्रिंक्स गर्यौं । हुक्का तान्यौं । सँगैसँगै नाच्यौं पनि । बिहानीपख हामी हाम्रो आआफ्नो टेन्टमा गयौं । जिन्दगिको रमाइलो नै यही हो कि ?’

यो अर्ध सत्य हो । सत्य त के हो भने त्यस रात हामीले खुलेर ड्रिंक्स गर्यौं । हुक्का तान्यौं । सँगैसँगै नाच्यौं पनि । हामी संगै नाचिरहेका एउटा समुहका ३ जना केटी र एक जना केटा जसलाई तिमीले अचम्मका साथ हेरिरहेका थियौ नि जोसँग हाम्रो मध्यरातमा मदिराको तालमा मित्रता भएको थियो । उनीहरुले अफर गरेको ड्रिंक हामीहरुले र हामीहरुले अफर गरेको ड्रिंक उनीहरुले सजिलै स्वीकार गरेका थिए । मानौं एकै रातमा हामीहरु चिर परिचित मित्र जस्ता भएका थियौं । उनिहरुको अफरमा तिमीले र मैले स्वाट स्वाट पारेर कति टकिला सट हानेका थियौं कुनै लेखाजोखा नै छैन । जसको कारण तिमी मात्तिएर अलि अगाडी नै टेन्टमा गयौ । अनि ति केटीहरुहरु पनि बाइ भन्दै टेन्टतिर लागेका थिए । स्टेजमा त्यो केटा र म मात्र हाँसीहाँसी, मस्किमस्कि नाचीरहेका थियौं ।

उसले मेरो कानमै आएर भन्यो ‘म संग गोटी छ तान्ने हो । हँ हो र…………! ?’ मैले आश्चर्य ब्यक्त गरेको थिएँ । त्यसपछि हामीसँगै स्टेज छोडेर केहि तल रुखको फेदमा बसेर नसाले भरेको एउटै चुरोट तानेका थियौं । उसले मलाई गाँजा भनेर सो चुरोट पियाएको थियो । तर म सियोर छु त्यो गाँजा मात्र थिएन त्यो कालो पदार्थ नै थियो । अर्थात् त्यो चरेस मिसाइएको चुरोट रहेछ । मलाई सारै मज्जा आइरहेको थियो । एक दम स्वन्तन्त्र, एकदम उडुँ उडुँ लाग्ने हल्का भैरहेको थियो । मैले संसार भुलिसकेको थिएँ । मलाई अरु पनि तानुँ तानुँ लाग्यो । अर्को छैन ? मैले सोधें । उसले ‘हुन्न बढी हुन्छ’ भन्दै मलाई तानेर टेबलमा ल्याएर बसायो । त्यसपछि हुक्का तान्दै उसले घडी हेर्यो र भन्यो “जाउँ अब सुत्न….., रात पनि धेरै बितिसक्यो । भोलि उठेर धेरै घुम्नु छ ।” मैले नसालु आँखाले उसलाई हेरें।

‘के हेरेको…. जाउँ अब टेन्ट तिर …..’ उसले भन्यो ।

‘कसको टेन्टमा …… ?’

‘तिम्रोमा वा मेरो मा —-?’ मैले सोधें ।
एकछिन अचम्मसित मलाई हेर्यो— र भन्यो ‘मेरोमा हुन्न, मेरो गर्लफ्रेन्ड सुतिरहेकी छ ।’

‘उसो भए मेरोमा जाम’ मैले भनें ।

हामी एकार्काको हात समाएर दुवै जना मेरो टेन्टमा गयौं ।

राति कतिबेला उसले मेरो टेन्ट छोडेछ मलाई पत्तो भएन । बिहान पुन मैले उसलाई ब्रेक फास्ट टेबुलमा देखें । न उ बोल्यो न म बोलें । रातको रमझम बिहान भुलियो ।

मैले माथिनै भनेनि म एक्काइसौँ शताब्दीको स्वतन्त्र, भद्र, सभ्य र आफ्नै खुट्टामा उभिएकी स्वाभिमानी नारी हुँ । मलाई मेरो स्वतन्त्रता अतिनै प्यारो छ । जसको म भरपुर उपयोग गर्न चाहन्छु, मेरो इच्छाले । मलाई थाहा छ यार कति बेला के गर्ने ? कतिबेला बहत्तर घन्टे चक्की खाने । कति बेला के गर्दा राम्रो, के गर्दा नराम्रो । पढ्ने बेलामा पढ्नुपर्छ अनि ह्यंग आउट पनि मस्ती सहित खुलेर गर्नुपर्छ । मलाई थाहा छ मेरो यौवन ढकमक्क फुलेको छ । चञ्चल छु, सुन्दर छु, स्वच्छन्दअनि निष्कपट छु । युबा युवती प्रेम गरेको भनिरहेका छन् । बिहेमा गएर प्रेम टुंग्याईरहेका छन् । सन्तान जन्माइरहेका छन् समय नै नआई । अनि जिन्दगीभर पछुताइरहेका छन् । वाहियात छन् मान्छेहरू।

आकाशबाट जून टिपेर ल्याउने बाचा गर्न थाल्छन् । सातजन्म सँगै बस्ने बाचा गर्छन् । झुटका खेतिवालाहरु । झूटहरू । प्रेम भन्दा अर्को कुनै ठूलो झूट अरू केही हुन्छ जीवनमा ? अहिलेको युगमा स्वतन्त्रता सबैभन्दा ठूलो कुरा हो । अनि करियर हो । धनी र करियरवाला केटो खोजेर हिंड्नु । उसँगै बिहे गर्नु मेरो प्राथमिकता हुँदै होइन । म मेरै खुट्टामा दह्रोसँग उभिनु नै मेरो जीवनको उदेश्य हो भन्ने ठान्छु ।

मसँग त्यत्रो समय बिताउँदा तिमीले मलाई नचिनेको देखेर तिमी त संसारनै नबुझी पाको भएछौ भन्ने लाग्यो । तिमीले मसँग तिम्रो मनमा उठेको प्रेम बारे कुरा गर्यौ ? अहँ गरेनौ नि त ! म त युरोप बसेको तिमी सबै संसार बुझेका छौ भन्ने सोचेको थिएँ ।

तिमीले लेखेका छौ नि एउटी केटिसँग महिनौं घुम्नु । सँगै खानपिन गर्नु । अनि बिचार आदानप्रदान हुनु । कुराहरु मिल्नु, भेटघाटमा आनन्द महसुस हुनु, के हो यो ? यो क्षणिक आकर्षण हो वा प्रेमसम्मको यात्रानै हो ? मलाइ बुझाइ दिने कसले ? मलाई सोधेको भए म एक मिनेटमा नै यस्तो कुरा बुझाईदिन्थें नि त ।

खैर कुरा धेरै लामो गरेर फाइदा छैन, तर कसैको प्राइभेसी यसरी छताछुल्ल पार्ने अधिकार पनि तिमीलाई छैन । पुरुष भएकोमा यति दम्भी पनि नहोउ । अब तिमीले यसरी नारीको स्वतन्त्रताको कथालाइ आख्यान बनाएर फुल बुट्टा भर्नु पर्दैन, …….

उ आफ्नो कुरा भन्न आफै सक्षम छे । रह्यो बिहेको लागि भर्जिनिटीको कुरा । किन चाहियो भर्जिन बिहे गर्न ? के नारीले मात्र भर्जिन हुनुपर्ने ? नरले भर्जिन हुन नपर्ने ?

त्यसैले मैले तिमीलाई भनेनी तिमीले मलाई बुझ्न नै सकेनौ । आजकलका नारीहरुलाई बुझ्न नै सकेनौ । तिमी कोपनहेगन फर्कने कुरा गरेको भए म हाँसी हाँसी तिमीलाई एअरपोर्ट पुर्याउन आउँथे । भोटेकोशीमा तिमीले म कम्फर्ट छैन भनेको भए म तिमीलाई बलात्कार त गर्दिन थिएँ होला नि ।

युरोप आएको छु । बस्ने ठाउँ एक डेढ घन्टाको फरकमा छ । फेस बुकमा युरोपकै कयौं तिम्रा र मेरा साझा मित्र भैसके । तिम्रो फेसबुकमा कथा सेयर गर्दै, तिमीले सेलीब्रेटि जेल गएको प्रसंग राख्दै कुनै एउटा परिवार बिग्रनबाट जोगियो भने मेरो लेखनिले सार्थकता पाउँछ भनेका रहेछौ । त्यो तिम्रो निजि विचार हो । मलाइ केहि भन्नु छैन । हांी नजिकै छौं । कहिँ न कहिँ त भेट होला । के तिमी मलाई अब फेस गर्न सक्छौ ?

(तपाईहरुकापनि अप्रकाशित कथा, रोचक अनुभव र अनुभूति, स्वदेश वा बिदेशका अनुभव र भोगाई, नेपाली समुदायका उन्नति र प्रेरक प्रसंगहरु, संघर्ष र प्रगतिका कहानीहरु छन् भने नेपालप्लसलाई पठाउनुहोला। आफ्नो परिचय र संपर्क खुलाउनुहोला, थप जानकारि लिनुपर्ने अवस्थामा सम्पर्ककालागि । ईमेल[email protected])

तपाइँको प्रतिक्रिया