बिहीबार, वैशाख १३, २०८१

छैनन् पुराना दलका चुनावी अभियानमा कार्यकर्ता, स्वतन्त्रहरुको आकर्षण बढ्दो

नेपालप्लस संवाददाता / नवलपुर२०७९ कार्तिक २१ गते २२:०६

फोटो साभार- गोरखापत्र

संघिय र प्रदेश चुनाव अब संघारमै छ । सबै पार्टीका नेताहरु चुनावी जित आफ्नो पोल्टामा पार्न अन्तिम कसरतमा जुटेका छन । खल्तिमा चुनावी घोषणापत्र र आफूले गरे नगरेका कामको फेहरिस्त बोकेर उम्मेद्वार र नेताहरु आ-आफ्नो गाउँ र क्षेत्रमा पसेका छन । तर अजिवको कुरा के छ भने अहिलेको चुनावी माहौलमा जनता माझ कुनै उत्साह छैन । अझ भनौं पार्टीका कार्यकर्ताहरु आफैं पनि मुर्झाएका छन । सबैखाले ठूला पार्टीका कार्यकर्तामा उस्तै तरिकाले सुस्ताएका छन । बरु नयाँँ र स्वतन्त्र उम्मेद्वारका पछाडि भने जनता देखिन्छन ।

चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका रवी लामिछानेको रौनक भने छुट्टै छ । उनका पछाडि जनताको आकर्षण दिन प्रतिदिन बढ्दो छ । यो क्षेत्रमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल उम्मेद्वार छन । तथापी यि दुबै उम्मेद्वारका पछाडी न त ति पार्टीका कार्यकर्ताहरुको रुची देखिएको छ न मतदाताको ।

रवी लामिछनेको प्रचार प्रसारमा लागेका एक जना पूर्व शिक्षक टिकाराम पौडेलले नेपालप्लससँग भने- रवी लामिछने कुनै नेता होइनन । तर देशका लागि केही गर्न सक्ने युवा जाँगर हो । त्यसैले यो जाँगर खेरफाल्नु देशको लागि हानिकारक हुन्छ ।

पौडेल नेपाली कांग्रेसका कृयाशिल सदस्य हुन । कृयाशिल सदस्यता खोसिंदैन ? हाम्रो जिज्ञासामा उनले भने- मलाई नेपाली कांग्रेसको सदस्यता भन्दा बढी यो गाउँ ठाउँको मायाँ छ । हामीलाई हाम्रो गाउँ देख्न सक्ने मान्छेको आवश्यकता छ । नेपाली कांग्रेसका नेताहरु अन्धा भएका छन ।

पार्टीका कार्यकर्ताहरु नै चलायमान नभएपछी वा अर्कै पार्टीको प्रचार प्रसारमा लागे पछी देशका ठूला भनिएका दुई पार्टीहरु नेपाली कांग्रेस र एमालेलाई निकै सास्ती परेको चितवनका स्थानियहरु बताउँछन । नेपाली कांग्रेसका उम्मेद्वार उमेश श्रेष्ठले सम्बोधन गर्ने एउटा सभामा दुई दर्जन कम मानिसहरु मात्र उपस्थित हुनुले पनि जनताको निरासा कहाँसम्म चुलिएको छ भन्ने कुरा देखिएको छ ।

चितवनकै अर्को महत्वपूर्ण मानिएको क्षेत्र नम्बर ३ मा पनि अवस्था उस्तै छ । यस क्षेत्रमा नेपाली कांग्र्स र एमालेका उम्मेद्वारहरु छैनन । नेपाली कांग्रेसले गठवन्धन उम्मेद्वार माओवादीका डा. भोजराज अधिकारीलाई समर्थन गरेको छ भने एमालेले नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेद्वार बनेका केन्द्रिय सदस्य दिनेश कोइरालालाई समर्थन गरेको छ । नेपाली कांग्रेसको समर्थन भए पनि कांग्रेसका कार्यकर्ताहरु गठवन्धन उम्मेद्वारको पछी देखिएका छैनन । गठवन्धन उम्मेद्वारको तुलनामा कोइराला अघि देखिएका छन ।

चितवन कांग्रेसका स्थानिय कार्यकर्ताहरु गठवन्धनको चुनावी अभियानमा छैनन । पुराना नेता कृष्णलाल सापकोटाको समर्थन कोइरालालाई भएको हुनाले पनि उनको पछाडि केही कार्यकर्ताहरु त छन । तर सालाखाला सबैको चुनावी अभियान कमजोर छ । किनभने चुनावमा जनताको सहभागिता उत्साहजनक हुनुपर्ने थियो । तर पार्टीहरुका पछिल्ला गतिविधिहरुले चुनावी माहौल निरासामा बद्लिएको देखिन्छ ।

अर्को महत्वपूर्ण कुरा के छ भने ठूला पार्टीहरुले उम्मेद्वार चयन गर्दा जनतामा भिजेको ब्यक्ति भन्दा पनि आफ्ना नजिकका तर जनता माझ विश्वास गुमाउँदै गएकाहरुलाई रोजे पछी यस्तो अवस्था आएको कतिपयको भनाई छ ।

अझ कुनै बेला नेपाली कांग्रेसको सुरक्षित ठाउँँ रहेको नवलपुर क्षेत्र नम्बर १ मा अनौठो लाग्ने गरी चुनावी गतिविधी शुन्य भएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका शशांक कोइराला संघिय सांसदका लागि उम्मेद्वार छन । उनले यसै क्षेत्रबाट ३ पटक चुनाव जितिसकेका छन । यो उनको चौथो पटक हो । नेपाली कांग्रेसको आधार क्षेत्रका रुपमा चिनिएको यस क्षेत्रमा अहिलेको जस्तो रौनक विहिन चुनाव कहिल्यै नदेखिएको स्थानियहरु बताउँछन ।

२०४८ सालको संसदिय एक खालको उल्लासयुक्त थियो । त्यसपछिका धेरै निर्वाचनहरु आशाले भरिएका पर्व जस्ता थिए । कांग्रेसका कार्यकर्ताहरु मात्र होइन चुनावी प्रचारमा जनता आफैं होमिन्थे । घर घरमा नेपाली कांग्रेसका झन्डाहरु हुन्थे । कताकती देखिने एमालेका झन्डा नगण्य थिए । यस्तो धेरै वर्ष चल्यो । शशांकको दोस्रो कार्यकालसम्म चल्यो । बीपीको छोरो भएको कारणले मात्र होइन उनको विद्दताका कारणले पनि कोइरालासँग समुन्नत नवलपुरको आशा गर्ने जनताको भिड ठूलै थियो । तर चुनाव जितेर गए पछी उनी कहिल्यै जिल्लामा देखिएनन् ।

२०७४ को चुनावमा उनी तेस्रो पटका उम्मेद्वार बनेर जिल्लामा आए । अनगिन्ती बाचा गरे । त्यो बेलापनि जनता छक्किए । यसपटक उनी चौथो कार्यकालका लागि उम्मेद्वार बनेर आएका छन । उनिसँग केही मान्छेहरुको एउटा सानो झुण्ड छ । जुन झुण्ड शशांक जस्तै छ जसले जनताको कुरो बुझेको छैन । तीन तीन पटक शशांकलाई जिताएर पठाउने ति छोडिएका कार्यकर्ताको मनको आवाज सुनेको छैन । यदि शशांक कोइरालालाई अनुहारहरु याद रहन्छन भने पछिल्ला चुनावहरुमा उनलाई जिताउन पसिना बगाउने धेरै कार्यकर्ताहरु यसपालिको उनको चुनावी अभियानमा छैनन र कहिल्यै हुने पनि छैनन । किनभने शशांकले आफ्नै कार्यकर्ताहरुलाई छक्याएका छन, जनतालाई ढाँटेका छन ।

कुनै ब्यक्तिले आफूले प्रतिनिधित्व गरेको क्षेत्रका लागि पन्ध्र पन्ध्र वर्ष सम्म केहि नगर्नु भनेको अपवाद हो । कोइरालाले उनका धेरै चुनावी अभियानमा निकै धेरै वाचा गरेका थिए र अहिलेको चुनावमा पनि उनै वाचाहरुलाई दोहर्‍याएका छन जसले उनकै पार्टीका कार्यकर्ता तथा जनतामा समेत निरासा छाएको छ ।

अझ गत वर्ष भएको नेपाली कांग्रेसको महाधिवेशनमा शेखर कोइरालालाई हराउनका लागि उनले खेलेको भूमिकाले पनि धेरै कार्यकर्ताहरु चुनावी अभियानमा लाग्ने पक्षमा छैनन । शशांकले सभापतिका उम्मेद्वार रहेका शेखर कोइरालाई हराउनका लागि शेरबहादुर देउवासँग साँठगाँठ गरेका थिए ।

धेरै कार्यकर्ताहरुलाई अझै पनि के लाग्दछ भने शेखरलाई हराउने मुख्य भूमिकामा यिनै शशांक थिए । यदि शेखर कोइराला नेपाली कांग्रेसको सभापति बनेको भए नेपाली कांग्रेस यस्तो दुरुह अवस्थामा पुग्ने थिएन । यहाँँका एकजना पुराना नेता भन्छन- आफ्नै परिवारको ब्यक्तिलाई धोका दिन सक्ने ब्यक्तिले देश र जनतका लागि केही गर्छ भनेर हामीले विश्वास गर्न खोज्नु दिवा सपना मात्र हो । यदि बीपीको छोरो भएकै कारणले उनलाई अझै पनि विश्वास गर्छ भने त्यसमा पुनर्विचार गर्न म सबैलाई आग्रह गर्छु ।”

केहि समय अघि कोइरालाले आफ्नो पछिल्लो चुनावी अभियानका क्रममा ६ करोड रुपैयाँ खर्च भएको र यसपालीको चुनावमा त्यो भन्दा बढी रकम खर्च हुने बताउँदै भनेका थिए- “यदि १० करोड कसैले खर्च गर्न सक्छ भने म चुनाव लड्दिन ।”

उनको त्यो अभिब्यक्तिले धेरैलाई आक्रोशित बनाएको थियो । अझ खास गरेर यस क्षेत्रका कांग्रेस कार्यकर्ताहरु झनै रुष्ट भएका थिए । कोइरालासँग अझै पनि धेरैको प्रश्न उहि छ- त्यति धेरै पैसा शशांक कोइरालासँग कहाँबाट आयो र त्यो रकम कहाँँ केका लागि खर्च भयो ?

यसको जवाफ न त कार्यकर्ताले पाएका छन न मतदाताले । तर पनि प्रश्न सकिएको छैन । उनी यस क्षेत्रमा रहुन्जेल कार्यकर्ता र मतदाता दुबैले सोधीरहने छन । यस्ता दर्जनौं प्रश्नहरु जुन चुनावी अभियान सकिए पनि कहिल्यै सकिने छैनन् । सम्भवत कोइराला आफैंले जवाफ नदिएसम्म ।

तपाइँको प्रतिक्रिया