शुक्रबार, चैत १६, २०८०

एनआरएनए फ्रान्सको वार्षिक साधारण सभाबाट विधान संशोधन, सबै नेपाली समेटिने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २२ गते २१:२५

गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको वार्षिक साधारण सभाले सर्वसम्मतिमा आफ्नो विधान संशोधन गरेको छ ।

आइतवार भएको सभाले सर्वसम्मतिमा विधानका बिभिन्न बुँदा संशोधन गरेको हो । यस अघि लामो समयदेखि फ्रान्समा बसोबास गर्दै आएका नेपालीहरु विधानकै जटिल र साँघुरो प्रावधानका कारण समेटिन नसकेको गुनासो गर्दै आएका थिए । त्यस्ता जतिलताहरुलाई चिर्नकोलागि केकस्ता बुँदाहरु थपघट, परिमार्जन र संशोधन गर्नुपर्ने हो त्यसमा सुझाव दिन एनआरएनए फ्रान्सले एक उच्चस्तरिय विधान संशोधन कमिटि बनाएको थियो ।

विधान संशोधन समितिले करिब चार महिना लगाएर विधानका धाराहरु अध्ययन गरी विभिन्न धाराहरु थपघट, संशोधन गर्दै संघसमक्ष बुझाएको थियो ।

उक्त विधानलाई समितिको तर्फबाट वार्षिक साधारण सभामा प्रस्तुत गरिएको थियो । ति संशोधित र परिमार्जित बुँदामाथि सभाका सदस्यहरु बिभिन्न प्रश्न उठाएका थिए । ति प्रश्नको जवाफ दिएपछि संशोधित विधनालाई पास गर्ने कि नगर्ने भन्दै संघका महासचिव कमलबिक्रम केसीले प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा उक्त संशोधित विधानलाई हलले तालि बजाउँदै सर्वसम्मतिमा पास गरेको हो ।

संवन्धित : सबै नेपालीलाई समेट्ने गरि एनआरएनए फ्रान्सको विधान संशोधन प्रस्ताव, झण्डै दर्जन संस्थाको सहमति

नेपालीहरु बिभिन्न समयमा अनेक प्रशासनिक र कागजी अप्ठेराका कारण नेपालको परिचय अनुसार यहाँ नाम, थर, ठेगाना र परिचय बदलिएपनि ति खासमा नेपाली हुनाले तिनलाई समेट्ने खालको विधान हुनुपर्ने माग गर्दै आएका थिए । आम नेपालीहरुको माग, भावना र ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनएको मुल नारालाई ध्यान दिएर विधान संशोधन गरिएको हो ।

संशोधित विधान अनुसार अब फ्रान्समा बस्ने नेपाली मुलका नेपाली र नेपालीहरु एनआरएनए फ्रान्सको सदस्य बन्न सक्ने छन् ।

संशोधित बिधानको सबैभन्दा महत्वपूर्ण पक्ष के छ भने सदस्य बन्नकालागि अब फ्रान्समा दर्ता भएको नेपाली संस्था, कुनैपनि पन्जिक्रित सदस्य वा कार्यसमितिको कुनै ब्यक्तिले ‘म फलानो ब्यक्तिलाई चिन्दछु, फलानो ब्यक्ति नेपाली मूलको वा नेपाली भएको सिफारिस गर्दछु’ भन्ने एक आबेदन भरेपछि उक्त सिफारिसका आधारमा एनआरएनए फ्रान्सले सदस्यता दिन सक्ने छ । यसरि सिफारिस लिंदा नेपाली वा नेपाली मूलको हो भन्ने प्रमाण कुनैपनि संघसंस्थाले राख्न भने पाउने छैनन् । नेपालीहरुका प्रशासनिक कागजपत्र वा पूर्व परिचय कसैलेपनि दुरुपयोग गर्न नपाओस् भनि यो नेपाली मूलको हो वा नेपाली भएको प्रमाण राख्न नपाउने प्रावधान गरिएको विधान संशोधन समितिले उल्लेख गरेको छ ।

फ्रान्समा बसोबास गरेको प्रमाणित गर्न सरकारी परिचयपत्र, फ्रान्स सरकारले मान्यता दिएको कुनैपनि प्रशासकिय कागजपत्र, कुनैपनि बिल (धारापानी, टेलिफोन, ईन्टरनेट, बिजुली, सार्वजनिक यातायात, बैंक खाता र अन्य प्रमाणलाई मान्यता दिईने सजिलो प्रावधान राखिएको छ । य अघि प्रमाण बुझाउनुपर्ने प्रावधान जटिल थियो ।

त्यसैगरि विधानमा तीन उपाध्यक्ष (एक महिला उपाध्यक्ष) सहित कुनैपनि पदमा निर्वाचित हुँदा निर्वाचित उपाध्यक्षमध्ये जसले निर्वाचनबाट बढी मत ल्याउँछ त्यो उपाध्यक्षनै बरियताक्रममा बरिष्ठ मानिने संशोधित विधानमा छ ।

विधानले कार्यसमितिको थ्रेसहोल्डपनि किटान गरेको छ । ठूलो कार्यसमिति हुँदा कुनैपनि बैठकमा कुनै विषयमाथि निर्णय गर्नुपर्दा कार्यसमितिका पदाधिकारिहरुको बहुमत पुर्‍याउनकालागि कार्य समिति ११ जनाको हुनुपर्ने उल्लेख छ । यस अघि २१ जनासम्मको थियो ।

कुनैपनि संघसंस्था, राजनितिक दल, समुहले संस्था कब्जा गर्ने उद्देश्यले निर्वाचनमा महँगो उमेदवारी दस्तुर रखेर संस्था कुनै निहित स्वार्थका आधारमा कब्जा गर्न नसकुन् भनि उमेदवारीको दस्तुरको हदपनि तोकिदिएको छ । अबदेखि उमेदवारी दस्तुर बढीमा एक हजार युरोभन्दा तोक्न पाइने छैन । अध्यक्षकै उमेदवारी एक हजार बढाउन नपाइने भएपछि अन्य पदहरुमा कम दस्तुर लाग्ने छ र मोटो धनराशी खर्च गर्न नसक्ने तर नेत्रित्व क्षमता भएकाहरुपनि अब एनआरएनएको नेत्रित्वमा आउन पाउने बाटो संशोधित बिधानले खोलिदिएको छ ।

नेपाली दुतावास पेरिसका राजदूत दिपक अधिकारीले एनआरएनए नेपाल सरकारले पहिचान गरेको, सरकारकै एक हिस्सा भएकाले सँगै काम गर्न र सहयोग गर्न पाउन्नु खुशिको कुरो रहेको बताए । एनआरएनए फ्रान्सको वार्षिक साधारण सभामा प्रमुख अतिथिका तर्फबाट बोल्दै उनले संस्थाको भविष्यको सुखद कामनापनि गरे ।

अधिकारीले फ्रान्समा जतिपनि नेपाली छन् दुतावास ति नेपालीको अभिभावक भएकाले सधैं सहयोग गर्दै आएको र सहयोग हुनेमा आस्वस्तसमेत पारे ।

विधान सर्वसम्मतिले पास गरिसकेपछि फ्रान्समा लामो समयदेखि नेपालीहरुलाई समेट्न नसकेको र एनआरएनए फ्रान्सको नयाँ नेत्रित्वले त्यस समस्यालाई समाधान गर्न चाहे बमोजिम सफल भएको भन्दै एनआरएनए फ्रान्सकि अध्यक्ष गिता थापाले खुशि ब्यक्त गरिन् ।

उनले भनिन् “नेपालीको नोट चल्ने । साथ चल्ने, दुख र असजिलो, गाह्रोसाह्रो पर्दा सबै सहयोग चल्ने तर संस्थामा सदस्यता र आबद्दता किन नचल्ने ? किन आफूले चाहेका ब्यक्तिले सदस्यता पाउने तर उहि खालको हैशियतका अन्य नेपालीले नपाउने ? यो पक्षधरता, यो समस्यालाई हामीले समाधान गर्न खोजेका थियौं । हामीले त्यो गर्‍यौं । एनआरएनए बल्ल सबैको साझा संस्था बनेको छ । यो अभियानमा साथ दिएकामा सबैलाई धन्यावाद ।”

विधानमा संशोधित केहि बुँदा हेर्नुस्

६. नेपाली मुलका बिदेशी नागरिकले दफा नंबर ५।५ मा भनेबमोजिम कुनैबेला नेपाली नागरिक भएको प्रमाण, निज आफैं उपस्थित भएर, फ्रान्समा कार्यरत कुनै पनि दर्ता भएको सामाजिक सस्था (राजनितिक बाहेक) अथवा पंजीकृत सदस्य अथवा रा। स। प। फ्रान्स कार्यसमिति को रोहवरमा, गैर आवासीय नेपाली संघ् राष्ट्रिय समन्वय परिषदको प्रतिनिधिलाई प्रस्तुत गर्नुपर्ने छ । त्यसो गर्न नसकेमा एनआरएनए फ्रान्सको पन्जिक्रित सदस्यले एनआरएनए कार्ड (एनआरएनए फ्रान्सको परिचय पत्र) अनुसारको आफ्नो परिचय पत्र खुलाएर सिफारिस गर्न सक्ने छ । त्यस्तो प्रमाणको आधारमा, अनुसूची नं: १ मा भएको फारम भरेर राष्ट्रिय समन्वय परिषद, फ्रान्सलाई संघको सदस्यताको लागि निबेदन दिनुपर्ने छ ।

५.७ अन्यत्र जे लेखेपनि राष्ट्रिय समन्वय परिषद फ्रान्सको सन्दर्भमा कुनै ब्यक्ति कुनैबेला नेपाली नागरिक भई पछि सार्क संगठनमा पर्ने देशको नागरिकता प्राप्त गरी हाल फ्रान्समा कुनै पेशा, रोजगारि वा ब्यवशाय गरी स्थायी बसोवास गर्ने नेपाली भाषीले अन्य सबै प्रावधान पुरा गरि अनुसूची नं: १ अनुसार प्रमाणित गरेमा उक्त ब्यक्तिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, फ्रान्सको पन्जिक्रित सदस्यत बन्न सक्ने छ ।

५.८ गैर आवासीय नेपाली संघ, फ्रान्सको सदस्यता एक पटक प्राप्त गरिसकेको ब्यक्तिले आफ्नो सदस्यता नविकरण गर्न वा पुन प्राप्त गर्न पहिले प्राप्त गरेको सदस्यताको प्रमाण पेश गरेमा त्यस्तो ब्यक्तिलाई सदस्यता अनिवार्यरुपमा दिनुपर्ने छ । यदि सदस्यता शुल्क नतिरेको बाहेक अन्य कारणले अस्विकार गरिएमा राष्ट्रिय समन्वय परिषदले प्रमाणसहित अस्विकार भएको चित्तबुझ्दो कारण दिनुपर्ने छ ।

६.६ संस्थापक सदस्य :

यो संस्था स्थापनाकालागि शुरुदेखिनै महत्वपूर्ण भूमिका खेलेका, संस्थालाई फ्रान्समा जन्मदिने ब्यक्तिहरु यो संस्थाका संस्थापक सदस्य हुन् । हरिहर अर्याल (संस्थापक अध्यक्ष), पेम्वा शेर्पा, अशोक कुमार उपाध्याय, बिनोद कुमार शर्मा, अनुराधा पौडेल, कृष्ण प्रसाद अधिकारी, मैया (जिता) कटुवाल, कविन्द्र कायस्थ, काजी शेर्पा, मुकुन्द अमात्य र शोभा चन्द एनआरएनए फ्रान्सका संस्थापक हुन् ।

९.८ संघको नाममा बैंक वा अन्य बित्तिय संस्थाहरुमा खाताहरु खोल्न सकिने छ र कोषाध्यक्ष वा अध्यक्ष वा महासचिव मध्ये दुई जनाको सयुक्त हस्ताक्षरद्वारा संचालन हनेछ । यस अघि कोषाध्यक्षको सहि अनिवार्य हुनुपर्ने प्रावधान थियो । तर कुनै अकरणबस कोषाध्यक्ष अनुपस्थित हुँदा संस्थाको आर्थिक कारोवार रोकिनुपर्ने अवस्था आ उनेहुँदा यसलाई परिमार्जन गरिएको हो ।

दफा १० : कार्यकारी समिति – राष्ट्रिय समन्वय परिषद (क)

१०.१ यो संघको उद्देश्यहरु कार्यान्वयन गर्ने काम महाधिवेशनबाट प्रत्येक दुई वर्षको लागि कार्यकारी समिति कति संख्याको हुने भन्ने निर्णय संघको पन्जिकृत सदस्य संख्याका आधारमा हुने छ । राष्ट्रिय समन्वय परिषदको पदाधिकारी तथा सदस्यको संख्या संवन्धि थ्रेसहोल्डको विधि अपनाईने छ । सदस्य संख्याको आधारमा २०० पन्जिक्रित सदस्य बराबर ११ जना, २०० भन्दा बढी पन्जिक्रित सदस्य भएमा हरेक १०० जनापिच्छे दुई सदस्य थपिने छ । तर ७०० भन्दा माथि पन्जिक्रित सदस्य भएमा भने २१ जना मात्र हुने छन् ।

१०.२ राष्ट्रिय समन्वय परिषदको गठन देहाए अनुसारको हुनेछ ।

अध्यक्ष-१, उपाध्यक्ष-२, महिला उपाध्यक्ष-१ । त्यसैगरि, महासचिव -१, सचिव -१, कोषाध्यक्ष-१ र आवश्यक ठानिएमा प्रवक्ता (मनोनित)- १ हुने छ । त्यस्तै, सह-कोषाध्यक्ष-१, महिला संयोजक -१, युवा संयोजक -१ र सदस्यहरु पदमुक्त हुने कार्यसमितिले निर्णय गरेअनुसारको संख्या नयाँ कार्यसमितिबाट दुई सदस्य घटाएर (२ सदस्य मनोनितको लागि राख्ने) तोकिने छन् ।

११.८ राष्ट्रिय समन्वय परिषदले संघका संस्थापक सदस्यहरु एवं पूर्व पदाधिकारीहरु र संघको हितको लागि योगदान दिएका व्यक्ति मध्येबाट योग्यता पुगेका व्यक्तिलाई प्रमुख संरक्षक, संरक्षक र प्रमुख सल्लाहकारमा मनोनित गर्नुपर्ने छ। संरक्षक परिषद र सल्लाहकार समितिका ब्यक्तिहरु एन। आर। एन। ए। फ्रान्सको पन्जिकित सदस्य हुनुपर्ने छ ।

१२.५ कुनैपनि पदाधिकारी वा सदस्य बिनासूचना लगातार तीन वटा बैठकमा भाग नलिएमा स्वत: राजिनामा गरे सरह भइ पद मुक्त हुनेछ ।

१२.७ गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य वा पदाधिकारी गैर आवासीय नेपाली संघ, फ्रान्सको पन्जिक्रित सदस्य रहेको अवस्थामा उक्त ब्यक्तिलाई कार्य समितिको हरेक बैठकमा आमन्त्रण गर्नुपर्ने छ । तर त्यस्ता ब्यक्तिको मताधिकार भने हुने छैन ।

१३.७ आवश्यक ठानेमा अध्यक्षले एक जना प्रवक्ता र कार्य समितिको सिफारिसमा अध्यक्षले २ जना कार्यकारी सदस्य दफा नंवर १०।२ बमोजिम मनोनित गर्न सक्ने छन् । प्रवक्ता नियुक्ति गर्न कार्य समितिले आवश्यक ठानेमा निर्वाचित पदाधिकारी वा सदस्य वा मनोनित सदस्यमध्येबाट छान्नुपर्ने छ ।

दफा १४ उपाध्यक्ष:

१४.१ उपाध्यक्षहरुको बरियताक्रमको सबन्धमा : खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित भएर आउनुभएका दुई जना उपाध्यक्षहरु मध्ये निर्वाचनमा जसले बढी मताधिकार प्राप्त गरेको छ उसैलाई बरिष्ठ उपाध्यक्ष मानिने छ । सर्व सम्मत वा मनोनयनद्वारा निर्वाचित अवस्थामा भने निजले संघमा पुर्याएको योगदान, संस्थामा निभाएको पदिय जिम्मेवारी, संस्थामा काम गरेको कार्यकालको आधारमा बरिस्ठ उपाध्यक्षको कार्यसमितिको पूर्ण बैठकले चयन गर्ने छ।

१४.२ संघको बिधान वा कार्यकारी समितिले अन्यथा निर्णय गरेबाहेक सामान्य अवस्थामा अध्यक्षको अनुपस्थितिमा वा पद रिक्त भएको अवस्थामा अध्यक्षको सम्पूर्ण अधिकार, कर्तव्य, काम तथा दायित्व वरिस्ठ उपाध्यक्षले ग्रहण गर्नेछन् ।

दफा १९: प्रवक्ता

१९.१ कार्य समितिले आवश्यक ठानेमा कार्य समितिबाट एकजना प्रवक्ता मनोनित गर्न सक्ने छ। प्रवक्ता पदाधिकारी पद हुनेछ ।

२१.५ सोह्र वर्ष देखि २३ वर्ष सम्मका दोस्रो वा तेस्रो पुस्तालाई समेट्दै एनआरएनए एनसिसी फ्रान्स जुनियर परिषद खडा गर्न सकिने छ । यस्तो परिषदमा पाँच देखि ११ जनासम्मको समिति बनाईने छ । तिनलाई एनआरएनए र नेपालसित जोड्ने हरेक कार्यक्रम सञ्चालन गर्ने जिम्मा युवा संयोजकको रहने छ ।

दफा २३: संरक्षक वा संरक्षक परिषद

२३.१ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स वा अन्तर्राष्ट्रिय समन्वय परिषदमा संग्लग्न भइ संघको अभियानमा महत्वपूर्ण योगदान दिइसकेका र नेपाली समुदायमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका प्रतिभाशाली ब्यक्तिहरु मध्ये बढीमा पाँच (५) व्यक्तिहरुलाई कार्यसमितिले संरक्षकमा मनोनय गर्नेछ । प्रमुख संरक्षककालागि कार्य समितिको बहुमतले ब्यक्तिको राष्ट्रिय समन्वय परिषदमा योगदान हेरी निर्णय गर्ने छ ।

दफा २४: सल्लाहकार समिति

२४.१ संघको विश्वव्यापी अभियानमा तथा राष्ट्रिय समन्वय परिषदको कार्य समितिमा महत्त्वपूर्ण योगदान गरिसकेको, नेपालीलाई सहयोग र प्रवर्धन गर्न चाहने पब्जिकृत सदस्यहरु मध्ये बढीमा ११ जनालाई चालु कार्यसमितिले मनोनय गर्न सक्नेछ । निजहरुको शिप क्षमता र अनुभवलाई संघको हितमा लगाउने यो सल्लाहकार समितिको उद्देश्य हुनेछ ।

२९.११ एनआरएनए फ्रान्सको निर्वाचनका लागि कुनै पनि पदमा उमेदवारी दिनको लागि उमेदवारी शुल्क तोक्दा एक हजार युरोभन्दा बढी तोक्न पाइने छैन ।

दफा ३२: अनुशासन समिति

३२.१ कार्य समितिले आवश्यक ठानेमा एक अनुशासन समिति गठन गर्नसक्ने छ । यसमा संस्थापक, संरक्षक परिषद, सल्लाहकार समिति र पञ्जिक्रित सदस्यहरु मध्येबाट एक एक जनालाई अनिवार्यरुपमा छनौट गरी पाँच सदस्यिय समिति गठन गरिने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक