शुक्रबार, चैत १६, २०८०

ब्रेक्जिट-समर्थक मालिकहरुको गुनासो- ‘विदेशी कामदारहरूको अभावले बेलायतको अर्थतन्त्र अपांग बन्दै’

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक २४ गते १९:२६

युरोपेली युनियन (ईयु) बाट बेलायतको बहिर्गमनलाई समर्थन गर्ने बेलायती ब्यापारीहरुपनि पछुताउन थालेका छन् । एक प्रमुख बेलायती व्यापारीले ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्र अपांग बन्दै गएको बताएका छन् ।

उनले श्रम अभाव विरुद्ध लड्न विदेशी कामदारहरूलाई देशमा प्रवेश गर्न सजिलो बनाउन सरकारलाई आग्रह गरेका छन् ।

“अध्यागमनको सन्दर्भमा यो निश्चित रूपमा मैले चाहेको ब्रेक्जिट होइन” नेक्स्ट रिटेल चेनका प्रमुख लर्ड साइमन वोल्फसनले भने।

आप्रवासनलाई यस्तो तरिकाले नियन्त्रण गर्न आवश्यक छ कि यसले अर्थतन्त्रलाई अपंग बनाउनुको सट्टा फाइदा पुर्‍याउँछ” उनले बीबीसीसितको अन्तर्वार्तामा भने।

“हामीले यस देशमा खेतमा सडेको बाली भित्र्याउन आउने कामदारहरु पर्खेर बसेको देख्नुपरेको छ । ति आउन पाएनन् भने त्यो खेतमै सडेर जाने छ र हाम्रा गोदामहरु खालि हुने छन् । कामकालागि लामबद्द भएका श्रमिकहरुलाई भित्र जान दिइरहेका छैनौं। हामीले आर्थिक रूपमा उत्पादक प्रवास निति अपनाउनुपर्छ” लर्ड वोल्फसनले भने ।

नयाँ ब्रेक्जिट नियमहरू २०२१ को सुरुमा लागू भएदेखि ईयु नागरिकहरूलाई अब बेलायतमा बस्न र काम गर्ने स्वतन्त्रता छैन । बरु दक्ष कामदार आकर्षित गर्न नयाँ बिन्दुमा आधारित अध्यागमन प्रणाली लागू गरिएको छ । त्यसकोलागिपनि प्रशासनिक झमेला धेरै छन् ।

बेलायतको बेरोजगारी सन् १९७४ पछि सबैभन्दा कम दरमा रहेको भर्खरको आधिकारिक तथ्याङ्कले देखाउँछ जबकि रोजगारी रिक्तता वा आवश्यक कामदार पूर्ति गर्नुपर्ने संख्याहरू ऐतिहासिक रूपमा उच्च स्तरमा छन् ।

“बेलायतमा बिदेशी कामदार नभैनहुने क्षेत्र छन् । त्यसमा धेरै पद रिक्त छन् । यो धेरै मुद्रास्फीति निम्त्याउने चीजहरू मध्ये एक हो” लर्ड वोल्फसनले थपे।

ब्रेक्जिटले गर्दा आतिथ्य, खेती र यातायात लगायतका विभिन्न क्षेत्रहरूमा बेलायतमा दीर्घकालीन श्रम अभाव स्रिजना गराइदिएको छ ।

अक्सफोर्ड युनिभर्सिटीको माइग्रेसन अब्जर्भेटरीले अगस्टमा प्रकाशित गरेको अध्ययनले बेलायतको आप्रवासन नीतिले श्रम अभावमा योगदान पुर्‍याउने धेरै कारकहरूमध्ये एक रहेको प्रमाण दिएको छ ।

सन् २०२१ मा काम र अन्य कारणले ईयु सदस्य राष्ट्रहरूबाट मानिसहरूलाई जारी गरिएको भिसाको संख्या नयाँ ब्रेक्जिट नियम अघि ४३ हजार थियो ।

कोरोना भाइरस महामारी अघि छ वर्षको हिसाब गर्दा लगभग ३५ हजार आठ सय ३३ कामदार आउने गरेका थिए । तर कोरोनाकाल पछि त्यो घटेर १९ हजार एक सय ६६ जना भएको छ ।

प्रतिवेदनले बेलायतको श्रम बजारमा रहेको खाडललाई सम्बोधन गर्न कम पारिश्रमिक दिईने कामका लागि भिसा योग्यता विस्तार गर्न सिफारिस गरेको छ ।

आफ्नो अन्तर्वार्तामा लर्ड वोल्फसनले अन्तर्राष्ट्रिय स्तरमा श्रम बजार खोल्न पनि आह्वान गरेका छन् । तर विदेशी कामदारहरूलाई रोजगारी दिने फर्महरूलाई प्राथमिकताका रूपमा स्वदेशी रोजगारदाता स्थानिय संस्थाबाटै कामदार भर्ना गर्न पाउनुपर्ने नियम बनाउनुपर्ने बताएका छन् । त्यसो गर्दा कामदारमाथि कर लगाउन सहज हुने उनको भनाई छ ।

“हामी सबै यो ब्रेक्जिट तर्कमा अड्किएका छौं । हामीले यो याद राख्नुपर्छ कि ब्रेक्सिट पछि बेलायत कस्तो देखिन्छ भन्ने ब्रेक्जिटको पक्षमा मत दिनेहरुको मात्रै कुरा होइन, तिनलाई मात्रै संरक्षण गर्ने कुरो होइन । त्यो हामी सबैले निर्णय गर्ने कुरा हो” उनले भने “जब तपाईले बेलायतमा धेरैजसो मानिसहरूलाई हेर्नुहुन्छ, मलाई लाग्छ कि तिनीहरू अध्यागमनको लागि धेरै व्यावहारिक भएको मानिरहेका छन् । हो अध्यागमनलाई नियन्त्रण गर्नुहोस् जहाँ यसले समाजलाई हानि पुर्‍याउँछ । तर योगदान गर्न सक्ने मानिसहरूलाई खुला रुपमा आउन दिनुहोस्।”

बेलायती सरकारले आफ्नो ब्रेक्जिट प्रतिज्ञामा बेलायतको सिमानाको नियन्त्रण लिने बताएको छ र विदेशी कामदारहरूले अझै पनि दक्ष भिसा मार्ग वा मौसमी कृषि योजना मार्फत प्रवेश गर्न सक्छन् भन्ने उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक