बिहीबार, चैत १५, २०८०

समग्र युरो क्षेत्रनै मन्दीतर्फ जाँदै

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २५ गते २२:२२

समग्रमा यूरोजोन र अधिकांश युरोपेली युनियनका देशहरू सन् २०२२ को अन्तिम चौमासिकमा आर्थिक मन्दीमा जाने चेतावनी युरोपेली आयोगले दिएको छ ।

आयोगको शरद याममा सार्वजनिक गरिने आर्थिक पूर्वानुमान रिपोर्टका अनुसार युरोजोनकै आर्थिक अवस्था उल्लेखनीय रूपमा बिग्रिएको छ । त्यसैले युरोपेली देशहरुको अर्थिक स्तर दुई चौथाई संकुचनमा जाँदैछ ।

युरोपेली अर्थव्यवस्था आयुक्त पाओलो जेन्टिलोनीले शुक्रवार पत्रकार सम्मेलनमा बताए अनुसार ईयु कार्यकारीले जुलाई देखि यसको मुद्रास्फीति प्रक्षेपण परिमार्जन गर्रेको छ । ईयुको अर्थब्यवस्था आयुक्तले मूल्यहरू वर्षको अन्त्यमा चरम हुने भविष्यवाणी समेत गरेका छन् । र ति मूल्यहरु बढेर २०२३ मा उच्च रहने छन् ।

“मुद्रास्फीति २०२२ को लागि युरोपेली युनियनमा औसत नौ दशमलव तीन प्रतिशत र यूरोजोनमा साँढे आठ प्रतिशत हुनेछ” ब्रसेल्सस्थित युरोपेली आर्थिक आयोगले भनेको छ ।
युद्धको भौगोलिक निकटता रहनु र रुसबाट ग्यास आयातमा भारी निर्भरताका कारण ईयुको उन्नत अर्थतन्त्रलाई सबैभन्दा बढी मार परेको हो । तिनै दुई प्रमुख कारणले युरोपेली युनियनमा मूल्यहरु उच्चस्तरमा बढेका हुन्” युरोपेली आयोगले भनेको छ ।

ऊर्जा सङ्कटले घरपरिवारको क्रयशक्तिमा ह्रास र उत्पादनमा भार परेको भनाईपनि ईयुको छ ।

मूल्यहरू सन् २०२३ मा घट्ने अपेक्षा गरिएको छ । तर मुद्रास्फीति भने ईयुमा ७ प्रतिशत र यूरोजोनमा ६ दशमलव १ प्रतिशत रहने भविष्यवाणी गरिएको छ । आर्थिक आयोगले सन् २०२४ मा ईयुमा ३ प्रतिशत र यूरोजोनमा दुई दशमलव ६ प्रतिशत रहने भविष्यवाणी गरेको छ ।

युरोपेली संघको पूर्वानुमान युक्रेनमा युद्ध र अन्य भूराजनीतिक तनाव सामान्य बन्ने वा नबढ्ने र रसिया विरुद्ध प्रतिबन्धहरू यथावत रहने धारणामा आधारित रहेर बनेको थियो । तर जेन्टिलोनीले भने यसै अपनाइएको वा योजनाबद्ध गरिएको वित्तीय ऊर्जा उपायहरू उहि रहन सक्ने निस्चित नभएको र तिनको प्रभावले ऊर्जाको मूल्य बढ्न जाँदा मुद्रास्फीतिको पूर्वानुमान अनिश्चित हुने बताएका छन् ।

सन् २०२२ मा औसत मुद्रास्फीति बाल्टिक देशहरुमा सबैभन्दा उच्चतम थियो। यो वर्षको अन्त्यसम्ममा इस्टोनियामा १९ दशमलव ३ प्रतिशत, लिथुआनियामा १८ दशमलव ९ प्रतिशत र लातभियामा १६ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ ।

युरोपेली केन्द्रीय बैंकले बढ्दो मूल्यलाई सम्बोधन गर्न यस वर्ष तीन पटक ब्याज दर बढाएको छ। यो ब्याजदर बढाउने क्रम जारि राख्नसक्ने अर्थशास्त्रीहरुले औंल्याएका छन् । बैंकले ब्याज दर वृद्धि जारी राखेमा वाणिज्य बैंकहरूलाई असर गर्ने र त्यसले गर्दा धितो र क्रेडिट कार्डहरू महँगो हुने बताएका छन् ।

युरोस्टाटको तथ्यांक अनुसार यूरोजोनमा मुद्रास्फीति अक्टोबरमा १० दशमलव ७ प्रतिशत पुगेको छ ।

यो वृद्धि ऊर्जा मूल्यहरु वृद्धिका कारण भएको थियो जुन यूरोस्ट्याटले गत वर्षको सोही महिनाको तुलनामा ४१ दशमलव ९ प्रतिशतले बढी भएको अनुमान गरेको थियो।

मुद्रास्फीति उच्च भएसँगै खाध्यान्न र अन्य दैनिक उपभोग्य वस्तुको मूल्य चर्कोसित बढेको भन्दै सोहि अनुपातमा ज्याला बढाउनुपर्ने मागसहित ईटाली, स्पेन, पोर्चुगल, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम लगायतका दर्जनौं मुलुकमा हडताल र प्रदर्शनीहरु भएका छन् ।

युरो जोनमा १९ राष्ट्रहरु मात्रै छन् जसले युरोपेली युनियनको साझा अर्थपद्दती र युरो मुद्रा अपनाउँछन् । युरोपेली युनियनमा भने २७ राष्ट्र छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक