सोमबार, मंसिर १९, २०७९

हामीले नै सिकाउन सकेनौं कि ?

शशि ढकाल / डेनमार्क२०७९ कार्तिक २६ गते २३:३३

यो लेख मसँग डेनमार्कका एकजना नेता हुन् खोजेका तर नभएका भाइले गरेको आक्रोशमा आधारित छ । भाइको आक्रोश पछि मैले नचाहँदा नचाहँदै पनि अलि कडा यो लेख लेख्न बाध्य भएँ । भाई यती भए पुग्छ कि अरु कडा लेखम ?

यसपाली डेनमार्क र नेपालको केहि महत्व पूर्ण चिजहरु सँगैसँगै पर्न गए । एउटा चाडबाड र अर्को चुनाब । चुनाबको कुरा गर्दा यहाँ चुनाब भएको करिब ५ घन्टामा सम्पूर्ण नतिजा आइसकेको थियो । चुनाब बारे पछिनै कुरा गरुँला । चाडबाडको चाहि निकै घोचिरहेको विषय भएर अहिलनै कुरा गर्न मन लाग्यो ।

खासमा मैले गर्न खोजेको चाहिं हाम्रो भैली देउसी र यता तिरको हलोवीन पर्वको हो । तिहार नेपालीहरूको महान पर्ब हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो ।

अब अलिकति भैली देउसी र यता तिरको हलोवीनको पौराणिक सुनिआएको र सुनिएको कुरा तिर जाम ।

म बस्ने डेनमार्कको कोपनहेगनको एउटा क्षेत्रमा सँगै रहेका दुइ कोलनीमा गरेर नेपालीका करिब ५० अपार्टमेन्ट छन् । करिब तीन सय नेपाली बस्ने यस ठाउँमा जताततै नेपाली ठोक्किन्छन् । भैलो देउसिमा मेरो अपार्टमेन्टमा कोहि बालबच्चा आएनन । तर हलोवीनमा त नेपालीका बच्चाहरुको कति हो कति समुहका समुह आए ।

देउसी र भैलोको प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथन अनुसार बलिराजा दानी थिए । दानवराज बलीले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमीनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकाले तेस्रो पाइलामा आफ्नो शीर दिएका थिए ।

त्यसबेला विष्णुले ‘देऊ शीर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीरेको गाथा चलेको संस्कृतिबिद्हरूको भनाई छ । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलीलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएको कथन छ ।

लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छन् । भोलीपल्ट गोरु-गोवर्धन पूजा गरेपछी देउसी खेल्ने किशोरहरु देउसी गीत गाएर रमाइलो गर्छन । बुढापाकाहरु पुरानो भाकाले देउसी भट्याउँछन् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ-आफ्नै भाकाले देउसी भैलो खेल्छ्न् ।

किशोरीहरुले भैलो खेल्नेमा समुहमा मिलेर गाउने हो जसमा भैलिनी आईन आँगन, बढारी कुडारी राखन । हे औंसीको बारो, गाई तिहारो भैलो … बाट सुरु गरिन्छ भने किशोरहरुले खेल्ने देउसिमा एकजनाले, भन भन मेरा भाइ हो भन्ने अनि अरुले- देउसीरे भनेर सुरुगर्ने चलन छ ।

हलोवीन चाहिं परम्परागत रुपमै फर्सीलाई कलात्मक तरिकाले बिचमा विभिन्न आकृतिको जस्तै आँखा, मुख, नाक आकारको प्वाल पारि मान्छेको मुकुट जस्तो बनाइ त्यस भित्र बत्ति बाल्ने चलन पाइन्छ ।

हलोवीन मनाउन मानिसहरुले आफुलाई भुत जस्तै सिंगार्छ्न । अनी डरलाग्दो, लुगाहरु लगाएर रातमा यो पर्ब मनाउन निस्कछन । यो क्रिस्चियनहरुको बालीनाली काट्ने अन्तिम दिनमा मनाइने लोकप्रिय पर्व हो ।

आजकल चलेको मिल्दो जुल्दो के देखियो भने दुबैमा अर्थात् हाम्रो भैली देउसी र यता तिरको हलोवीन पर्वमा पनि घरको ढोका ढोकामा गएर माग्ने नै देखियो । देउसी भैलोमा श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै घरभेटीलाई आशिर्वाद दिन्छन् । देउसी र भैलिनीहरूले दिएको आशिर्वाद लाग्छ भन्ने धार्मिक मान्यता छ । यसमा सबैले परम्परागत भेषभूषा लगाएर स्वरमा स्वर मिलाउँदै खेल्ने गर्दछन् । हलोवीनमा पनि बच्चाहरु आफुलाई भुत जस्तै सिंगार्दै डरलाग्दो, लुगाहरु लगाएर रातमा यो पर्ब मनाउन घरको ढोका ढोकामा गएर माग्ने नै देखियो । यसमा पनि ट्रिक अर ट्रिट अनि डेनिसमा स्लिक एलर बेलेल भन्दै चकलेट, क्यान्डी माग्ने गर्छन ।

अब चाहि अलिकति चुभेको कुरा । फेसबुकमा संसारभर नेपाली बच्चाहरु भुत जस्तै बनेर घरघरमा गएको, हलोवीन मान्न हिंडेको फोटोहरु अभिभावकहरुले फेसबुकमा सगौरब हाल्नु भएको छ । तर देउसी भैलोमा हाम्रोमा दोस्रो पुस्ताका केटाकेटीहरुलाई जानकारी गराइएको वा यसमा सग्लन गराइएको निकै कम देखिएको छ । हुनत त्यसताकाका अनलाइनहरु चाहार्दा देउसी र भैलोले घन्कियो पेरिस, कोपनहेगनमा देउसी भैलो वा न्युयोर्क- सिडनि, अनि टोकियो वा दोहामा देउसी-भैलो खेलियो भन्ने समाचार नआएका हैनन् । तर हामीले यी परम्परा बिदेसमा नै जन्मे हुर्केका दोस्रो पुस्तामा हस्तान्तरण गर्न सकौंला त ?

सबै नेपालीलाइ समेटेको, समेट्ने भनिएको एनआरएन अन्तररास्ट्रिय कमिटिको मुल उद्देश्यनै नेपालको कला, संस्कृति, परम्परा तथा चाडबाडहरु दोस्रो पुस्तालाई सिकाउन, हस्तान्तरण गर्न कमिटि नै छ । र विभिन्न देशमा त्यसका राष्ट्रिय मुल कमिटिको उद्देश्य पनि यहि हो । यिनीहरुले यसपटक दशैँ, तिहार र छठ, लोसार, म्हपूजा जस्ता पर्वको लागि के गरे त ?

अब अन्य देशको कुरा नगरेर डेनमार्क को कुरा गरुँ है त ? म गाडीमा नै थिएँ । एकजना अभियन्ता भाइ जो यहाँका नेता पनि हुन्, एनआरएन डेनमार्कमा पनि उनको राम्रो पहुँच छ । उनी मोबाइल चलाउँदै बाटोमा हिंडिरहेका थिए । मैले गाडी साइड लगाएर बोलाएँ । उनी गाडीको अघिल्लो सिटमा बस्दै बेल्ट बाने । मैले गाडी अगाडी बढाएँ ।

उनी बम्कन थालिहाले “तपाई के हेरिरहनु भएको छ दाइ ? यसपटक एनआरएन डेनमार्कको चाला के हो ? न दशैँ मनायो न तिहार । हामीलाई त टुहुरो नै बनायो नि। जुठो, सूतक त परेको छैन नि एनआरएनमा ? ल बिगतमा कोरोना काल भनियो चुप लागियो । अहिले किन यो यती निस्क्रिय ? तपाइले केहि भन्नु पर्दैन ? केहि लेख्नु पर्दैन ? चुनाबताका मात्र सक्रिय भएर हुन्छ ? चुनाबमा मात्र तात्ने अरुबेला चुप ?

मलाई बोल्नै दिएनन् । एकोहोरो फलाकिरहे । कति आक्रोश हो ? अनि चुनाबताका मेरो अभियान नो नट अगेन इन डेनमार्क एनआरएनमा पार्टीगत राजनैतिक झोले हरु जस्ता लेख -सुझाबहरुलाई बिरोध गर्दै झगडा नै गरेका थियौ त भन्न मन थियो नि ! तर के गर्नु भाइको ओर्लने ठाउँ आयो । ‘यतै साइड लगाउनु त’ भने । रिसाएर ‘तपाई चुप बसेको ठिक भएन’ भन्दै बाइ पनि नभनी गए ।

हामीले नि सिकाउन सकेनौं कि ? म बस्ने डेनमार्कको कोपनहेगनको एउटा क्षेत्रमा सँगै रहेका दुइ कोलनीमा गरेर नेपालीका करिब ५० अपार्टमेन्ट छन् । करिब तीन सय नेपाली बस्ने यस ठाउँमा जताततै नेपाली ठोक्किनछन् । भैलो देउसिमा मेरो अपार्टमेन्टमा कोहि बालबच्चा आएनन । तर हलोवीनमा त नेपालीका बच्चाहरुको कति हो कति समुहका समुह आए । मैले घरमा चकलेट तथा क्यान्डी नराखेकोले मलाई कम्ति अप्ठयारो परेन । तर मैले उनीहरुलाई स्याउ, केरा, सुन्तला जस्ता फलफुल टन्नै दिएर पठाएँ । त्यसै दिन मेरो दिमाग चकराएको हो । यिनै बच्चाहरुलाई भैली देउसी सिकाउँदै हाम्रै अपार्टमेन्टहरुमा डुलाउँदै भैली देउसो मनाउन सकिंदैन ?

डेनमार्कमा मनाइएको भनिएको देउसी भैलोलाइ केहि संघ संस्था छोडेर प्राय राजनैतिक संगठनहरुले फण्डको जोरजाम गर्ने उदेश्यबाट मात्र प्रेरित भएको देखियो । यसमा परम्परा र संकृति भन्दा पनि बिकृतिको पारा बढी देखियो ।

डेनमार्कको एनआरएनको सिंगो कमिटिका कोहि पनि पदाधिकारीहरु यसपाली दशैँ तिहारमा नेपाल गएनन् । सायद अर्को वर्ष नेपालमा हुने एनआरएनको चुनावलाई बिदा साँचेर राखेका होलान् । यस पटक सबै पधाधिकारी डेनमार्कमा नै भएको बेलामा यसले किन कुनै कार्यक्रम गर्न सकिराखेको छैन त ?

ब्यक्ति वा डेनमार्कका अन्य संघ संस्थाले यस गर्मीयाममा भरपुर कार्यक्रम दिए र सफल बनाए । डेनमार्कमा एनआरएन नै नरहेको जस्तो देखिएपछि एनआरएन डेनमार्कले समर सकिए पछिको जाडो चिसोदिनमा हाफ म्याराथुनको आयोजना गर्यो । न्यून उपस्थिति रहेको सो कार्यक्रमम, अति भद्रगोल र कमजोर व्यवस्थापनको सिकार बन्यो । करिब ३ घण्टा चिसोमा कुराएर ढिलो सुरु गरिएको उक्त कार्यक्रम यति भद्रगोल बन्यो कि एनआरएनका पधाधिकारी र स्वयमसेवकहरुलाई म्याराथुन कसरी गर्ने ? कति दौडाउने भन्ने समेत थाहा रहेन छ । उनीहरुले एउटै म्याराथुन दौडिएका कसैलाई ६ किमी दौडाए भने कसैलाई ९ किमी दौडाए । निकै गलफत्ती गरेपछि उनीहरुले बल्ल बल्ल आफूबाट भुल भएको माने । नत्र धेरै दौडेर के भो त ? भन्ने गरे । न कता दौडिने भन्ने छ, न कति दौडने भन्ने छ । खेलको एउटा नियम हुन्छ नि ! उहि ढिलो आउने राजदुत बोलायो, जनता कुरायो, कार्यक्रम भद्रगोल ।

किन यस्तो हुन्छ त ?

डेनमार्कको सन्दर्भमा कुरा गर्दा जनसम्पर्क समितिको चुनाब हारेपछि हारेको गुटका नेताले जेएसएसको अर्को गुटलाई कुनै हस्तक्षेप नगर्ने सर्त सहित डेनमार्क एनआरएनका सभापति बनेका वर्तमान सभापति पुरै नेपालको गन्दा राजनीतिमा लिप्त छन् । डेनमार्कमा सक्रीय हुँदै नेपालको नेताको चाकरी गरेपछि भोलि नेपाल गए भने पद किन्न सकिने उनको विश्वास छ । कतिपय व्यक्तिगत कुराकानीमा उनले यो कुरा ब्यक्त गरेका छन् ।

डेनमार्कको पीआर र पासपोर्टको लाइनमा बसेका उनी आजकल दैनिक म पार्टीको सिपाही हुँ, पार्टीको निर्देशन अनुसार गठबन्धनका उमेदवारलाई भोट गर्नु हाम्रो कर्तब्य हो जस्ता फरमान जारि गर्दै दैनिक जस्तो फेसबुकमा पोस्ट गर्छन ।

त्यसमाथि डेनमार्कको बर्तमान नियम कानुनले उनले आफ्नो र परिवारको भिसा जोगाउन पनि दुइ शिफ्ट काम गर्नुपर्ने बाध्यता छ । अनि कसरि हुन्छ सामाजिक काम ? त्यसमाथि नेपाल देखि आउने नेताहरुको चाकरी र चाप्लुसीमा समय दिनुपर्यो । करिब ५००० नेपाली बस्ने डेनमार्कमा उनको कार्यकालमा डेनमार्कका नेपाली एनआरएनको संख्या घटेर ४०० जति मात्र छ ।

सामाजिक काम गर्छु भनेर मात्र हुन्न । काम गर्न सक्षम र समय दिन सक्ने समेत हुनु पर्यो नि । हैन र भाई ? के अब पनि तिमी, तिमि जस्ताले पार्टीकै झोला बोकेर डेनमार्कको नेपाली समाजमा राजनीति गर्ने हो भने के को परम्परा ? के को नेपाली समाज ? उही तिमीहरुको अपवित्र गठबन्धन समाज मात्र हुन्छ । नेता आए खादा मालाको कार्यक्रम नत्र सधै जुठो सुतक । केको रमझम, के को भेटघाट ?

तपाइँको प्रतिक्रिया