शुक्रबार, वैशाख १४, २०८१

युक्रेनलाई २०२३ को बजेटमा ३८ अर्ब डलरको अन्तर, कसले तिर्ने ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक २९ गते ०:५५

रुसको युद्धले युक्रेनको सार्वजनिक कोषलाई तहसनहस पारेको छ । देशलाई निरन्तर घाटाको खाडल गहिरो पारेको पार्‍यै छ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आर्थिक सहयोगको याचना गरेको गर्‍यै छन् तर उनले मागेजति सहयोग पाएका छैनन् । युक्रेनको अर्थतन्त्रलाई चलायमान राख्न तत्काल विदेशी सहयोग चाहिएको छ ।

रुसी सेनाले मच्चाएको व्यापक विनाशले ब्यापक नहसनहस, ब्रेन ड्रेन, बढ्दो बेरोजगारी, बढ्दो मुद्रास्फीति र निर्यातमा ठूलो गिरावट ल्याएको छ । राजस्व र कर आम्दानीमा अर्बौंको ह्रास ल्याएको छ ।

विश्व बैंकको प्रारम्भिक पूर्वानुमान जसले युक्रेनको कुल गार्हस्थ उत्पादनको ३५ प्रतिशत संकुचन हुने भविष्यवाणी गरेको थियो । युक्रेनका मुख्य पूर्वाधारहरू रुसका निरन्तर आक्रमणको परिणाम स्वरूप ध्वस्त भएका छन् ।

युक्रेनले अब २०२३ को बजेटकालागि राजस्वको स्रोतहरू खोज्दै छ जसमा ३८ अर्ब डलर (३६ अर्ब ९० करोड युरो) घाटा समावेश छ।

यो कोषले स्वास्थ्य सेवा र शिक्षा जस्ता आधारभूत सेवाहरू युद्धको चपेटामा परेको बेला नागरिकहरूलाई उपलब्ध गराइरहने कुरा सुनिश्चित गर्ला भन्ने आशा गरिन्छ । ऊर्जा आपूर्ति खरिद र क्षतिग्रस्त विद्युत प्रणालीको मर्मत खर्च जोड्दा अझै बढ्ने निस्चित देखिन्छ ।

“युक्रेनको लागि यो एक दिगो रकम हो । ३८ अर्ब डलर घाटा । शिक्षकहरूको तलब, डाक्टर, सामाजिक लाभ, पेन्सन, आवश्यक कोषको रकम हो” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत महिना बर्लिनमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधनमा भनेका थिए ।

तर विश्वव्यापी मन्दीको बीचमा, कुन देशले यस्तो मोटो रकम फटाफट झिकेर देला ? युक्रेनी र युक्रेनका पक्षधरहरुको आँखा पश्चिमी सहयोगीहरूतिर फर्केका छन् जसले बारम्बार युक्रेनलाई “जति समय लाग्छ” सहयोग र समर्थन गर्ने वाचा गर्न तयार रहेको बताउँदै आएका छन् । खास गरेर भन्नुपर्दा त्यसमा युरोपेली संघ र संयुक्त राज्य अमेरिका हुन् ।

युरोपेली संघको राजधानी ब्रसेल्सले २०२३ को अवधिमा १८ अर्ब युरो सम्मको वित्तीय सहायता वितरण गर्ने मस्यौदा प्रस्तुत गरिसकेको छ जुन प्रति महिना एक अर्ब ५० करोड युरो हुनेछ।

यो एक खालको आर्थिक सहयोग प्याकेज हो जुन अझै स्वीकृतिको लागि विचाराधीन छ । अनुकूल सर्तहरू सहित दीर्घकालीन ऋणको रूपमा युक्रेनलाई दिईने भनिएको छ । यो ऋण युक्रेनलाई २०३३ सम्म भुक्तानी गर्न भनिने छैन र ब्याज दरहरू सदस्य राष्ट्रहरूले बहन गर्नेछन् ।

अमेरिकाले ईयुले जसरिनै समान मासिक रकम प्रदान गर्ने योजना बनाएको छ । तर ऋणको रुपमा नभएर अनुदानको रूपमा । त्यसले युक्रेनको आर्थिक बोझ कम गर्न मद्दत गर्ने छ ।

सँगै मिलेर ईयु र अमेरिकाले युक्रेनको विशाल बजेटको महत्त्वपूर्ण भाग पूर्ति गर्न सक्छन् । तर त्यो बजेट पूर्ण रूपमा बहन गर्न, घाटा पूर्ति गर्न संभव हुने छैन, सधैंकालागि त झनै संभव छैन ।

अन्य पश्चिमी देशहरू, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक जस्ता वित्तीय संस्थाहरूले युक्रेनको पूनर्निर्माण, बजेट घाटा, आर्थिक विकास र ऋण तथा अनुदान प्रयासमा योगदान गर्ने अपेक्षा गरिएको छ। आईएमएफले पहिले युक्रेनको वित्तीय आवश्यकता प्रति महिना तीन देखि चार अर्ब डलरको बीचमा हुने अनुमान गरेको थियो।
आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले चेतावनी दिएकी छिन्, “युद्धको विकासको आधारमा सामाजिक र पूर्वाधार आवश्यकताहरूले यस दायराभन्दा बाहिरको वित्तिय आवश्यकतालाई धकेल्न सक्ने सम्भावनामा हामी सबै विश्वस्त हुनुपर्दछ।”

तथापि, पश्चिमी सहायता प्राय राजनीतिक सहमतिमा निर्भर छ, जुन आगामी मन्दीले तनावमा पार्ने छ। युक्रेनलाई सहयोग गर्ने मामिलामा पस्चिमी देशहरु एक देखिएका त छन् । तर ईयुमा भने यो विषयमा विवाद रहँदै आएको छ । ईयुका केहि देशले आपत्ती जनाउँदै आएका छन् ।

सदस्य राष्ट्रहरू बीचको असहमतिले ईयु २०२२ मा युक्रेनलाई दिने वाचा गरेको ९ अर्ब युरो आंशिक रूपमा असफल जस्तै भएको छ । त्यस्तै हंगेरीले अर्को वर्षको १८ अर्ब युरो प्याकेजको विरोध गरेको छ।

तपाइँको प्रतिक्रिया