शुक्रबार, वैशाख १४, २०८१

भोट हाल्न जाने मतदाताहरुले पारिश्रमिक किन नपाउने ?

सरोज बराल / ईनरुवा२०७९ कार्तिक ३० गते ०:०३

चुनाव नजिक नजिक आउँदैछ । खासैगरी कसैसँग राम्ररी चुनावको बारेमा गफ गर्न पाइएको छैन । तर पनि भेट भएकाहरुसँग गफ गर्दा “भोट कसलाई दिने हौ यो पटक ?” भनेर गफ झिक्ने गर्दछुन् । यसरी गफ शुरु गरेपछि विभिन्न प्रकारको जवाफ आउने गर्दछ । त्यसमध्ये प्रायजसो सुनिने गरेको जवाफ भन्दा पनि प्रतिप्रश्नहरु आउने गर्दछन् ।

प्रायजसो प्रतिप्रश्न हुने गर्दछन्: १. किन दिनु भोट ? २. भोट दिएर नेताले त कुर्सी र पद पाउँछन्, हामी जनताले के पाउँछौ ? ३. आफ्नो भएभरको काम लथालिङ्ग छाडेर जानुपर्छ । यसरी समय खेर फाल्नुभन्दा बरु आफ्नै काम गरेर बस्नुपर्ला । तिनीहरूले आफ्नो गर्जो टार्ने होइनन् । किन भोट हाल्न जानु र ?

यस्ता विभिन्न प्रश्नहरु तेर्सिंदै गर्दा, आफ्नो र देशको नेतृत्व गर्ने व्यक्ति छान्नलाई भोट दिनुपर्छ भनेपनि “आफ्नो सम्पुर्ण काम छाडेर, घण्टौं लाइनमा बसेर, घामपानी सहेर भोट खसाल्न बस्नुपर्छ । झगडा होला र आफू त्यो चपेटामा परिने हो कि भन्ने डर राखेर जानुपर्छ । घरको काम लथालिङ्ग हुन्छ । आफ्नो गर्जो भोट हालेर टर्दैन । नेताले पद पाउँछन्, मन्त्री बन्छन् । उनीहरुका लागि आफ्नो कामधन्दा छाडेर किन जानु ? आ….जान्न भोट दिन्न कसैलाई ।” भन्नेलाई त्यसो भन्नु हुँदैन भन्ने गरेको छु । तर यस्ता प्रश्नहरुले मथिङ्गल झस्किने गर्दछ ।

जब आफू एक्लै हुन्छु, तब मलाई पनि यस्तै प्रश्नहरुले झकझक्याउने गर्दछ । वास्तवमा ठिक हो नि ? बिनसित्तिमा भोट हाल्न गएर एकदिन सित्तैमा समय किन खेर फाल्नु ? यो त अनुत्पादक क्षेत्रमा समय खर्चेर बिताउनु मात्रै हो ।

भोट खसाल्न घण्टौं बिताउने समयमा पसलेले आफ्नो पसलमा बसेर ब्यापर गरेमा २/४ हजार कमाइ होला । किसानले दुई चारवटा बिरुवा रोप्न सके केही समयपछि कुनै फल लाग्ला । आफ्नो खेतवारीमा घेराबेरा गरेमा, गोडमेल गरेमा आफूलाई नै केही फाइदा होला । ज्यालादारी काम गर्नेहरु ज्यालामा काम गर्न गएवापत भरे साँझमा आफ्ना नानीहरुका लागि खानेकुरा लिएर जान पाउला ।

निर्वाचनमा खटिने कर्मचारीहरु बिना पारिश्रमिक जाँदैनन् । त्यसदिन सुरक्षाको लागि खटिने प्रहरीहरुलाई पनि भत्ताको व्यवस्था हुन्छ । त्यतिले नपुगेर एक दिनको लागि खटिने म्यादी प्रहरीहरु पनि दुई महिनाको पारिश्रमिक पाएर खटिएका हुन्छन् । जब सबैले पारिश्रमिक पाउने हो भने ५ वर्षसम्म संसदको सदस्य बनाएर मन्त्री, प्रधानमन्त्री समेत बन्नका लागि चुनिनेहरुको लागि सित्तैमा दिनभरि लाइनमा उभिएर भोट किन हाल्नु ? भोट हाल्न जाने मतदाताहरुले पारिश्रमिक किन नपाउने ?

मतदाताहरु बिना पारिश्रमिक दिनभर लाइनमा उभिएर भोट हाल्न बस्नुपर्ने किन ? भोट दिएवापत मतदाताले वास्तवमा के पाउँछन् ? यसरी किन भोट दिने भन्ने मानिसहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । त्यसैले गर्दा निर्वाचनमा खस्ने मत प्रतिशत घट्ने र नखस्ने मत प्रतिशत बढ्दो छ ।

हुन त यसरी खस्ने मत प्रतिशत घट्नु र नखस्ने मत प्रतिशत बढ्नुमा वैदेशिक रोजगारी पनि एउटा कारण होला । बेलाबखत बहिस्कारवादीहरु पनि सानो कारण बन्लान् । ६५ प्रतिशत मत परेको अवस्थामा बहिष्कारवादीहरु ३५ प्रतिशतले बहिष्कार गरे नि भन्दै रमाउलान् । तर बहिष्कार कै कारण पनि निर्वाचन घटेको चाहिं कम हुन्छ । अचेल ठुलो संख्यामा चुनावमा सहभागी नहुनेहरु वास्तवमा “भोट दिएर हामीले के पाउँछौं र ? आफ्नो काम छाडेर किन भोट हाल्न लाइन लागेर समय खेर फाल्नु ?” भन्नेहरुले गर्दा नै हो र उनीहरुको यो भनाइ र सोचाइ गलत पनि छैन ।

चुनावमा चुनिएर जानेले त पाँच वर्षसम्म महिनै पिच्छे पारिश्रमिक पाउँछ । उनीहरुले जनताको लागि फाइदा हुने कुनै नियम कानुन यो ३०/३५ वर्षसम्म बनाएका छैनन् । एकअर्काको विरोध गर्ने सत्तापक्ष र प्रतिपक्षहरु पनि उनीहरुको सेवा र सुविधा बढाउनु परेमा तुरुन्तै एकजुट हुन्छन् । उनीहरु सत्तापक्ष र प्रतिपक्षमा बाँडिने भनेको जनताको सेवा सुविधाको लागि मात्र हो । यदि त्यस्तै नहुँदो हो त निर्वाचनमा बढिभन्दा बढि सहभागिताको लागि के नियम बनाए त यी दलहरुले ?

वास्तवमा बढिभन्दा बढि जनसहभागिता निर्वाचनमा होस् भन्ने लाग्थ्यो दलहरुलाई भने चुनावमा भोट दिन जानेहरुलाई पनि पारिश्रमिक दिने व्यवस्था गरिने थियो । यसका लागि चुनावका लागि मत माग्न आउने प्रत्येक उम्मेदवारहरुसँग चुनावमा “हामी भोट दिन आउँछौं, हाम्रो पारिश्रमिकको व्यवस्था गर ।” भन्नुपर्ने अवस्था आएको छ । हामीले आफ्नो काम छाडेर भोट दिन गएवापत पारिश्रमिक पाउनै पर्छ ।

एउटा लेखकले आफ्नो लेख प्रकाशन गर्न दिएवापत पारिश्रमिक पाउँछ । एउटा नेता अन्तरवार्ता दिएवापत पारिश्रमिक पाउँछ । गायकले गीत गाएवापत पारिश्रमिक पाउँछ । कसैले कुनै काम निशुल्क गर्दैन भने मतदाताले मतदान गरेवापत कमसेकम एकदिनको पारिश्रमिक किन नपाउने ?

यदि मतदाताले मतदान गर्न गएवापत मतदान अधिकृतको हातबाट तुरुन्तै पारिश्रमिक पाउने हो भने निर्वाचनमा सहभागी हुने मतदाताको संख्या अवस्य बढ्ने थियो । मतदातालाई पारिश्रमिक दिने व्यवस्था गरिए नेपाल यस्तो व्यवस्था गर्ने विश्व मै पहिलो हुने थियो ? मतदातालाई पारिश्रमिक दिनुपर्छ कि पर्दैन होला ? यदि पर्दैन भने किन भोट खसाल्न जाने ? यदि पर्छ भने यसको व्यवस्था अर्को चुनाव भन्दा पहिले गर्लान् त ?

यो पटक त चुनावमा भोट दिन जानुपर्ला र जान्छु पनि । तर पारिश्रमिकको व्यवस्था भएन भने अर्कोपटक देखि म पनि भोट खसाल्न जान्छु कि जान्न । भन्न सकिएन ।

तपाइँको प्रतिक्रिया