सोमबार, मंसिर १९, २०७९

विश्व कप : कर्म, दोष, र गलत चेतना

ईश्वर पाठक२०७९ कार्तिक ३० गते ११:३५

फुटबल-ले, कुनै न कुनै रूपमा, विश्वभरका मानिसहरूलाई एक निश्चित समयको लागि भए पनि एकसाथ ल्याउँछ। यही कारण म दाबी गर्न चाहन्छु, फुटबलले एक प्रकारको सामाजिक उत्तरदायित्व वहन गर्दछ। कोहीले भन्न सक्छन-म यो साँच्चै विश्वास गर्न पनि चाहन्छु- यो खेल विचारधारा भन्दा बाहिर छ । के हो त ? तर सत्य आर्कै छ। पहिला विचारधारा भनेको के बुझौं ।

विचारधारा भनेको मानिसहरूमा झूटा विचारहरू लाध्ने प्रवचनहरूको श्रृंखला हो। जब मानिसहरूले यी झूटा विचारहरू बारम्बार सुन्छन्, तिनीहरूले संसारको बारेमा, यसले कसरी काम गर्दछ, र यसमा तिनीहरूको स्थानको बारेमा “झूटा चेतना” (false consciousness) विकास गर्दछन। यो विश्वकपले पनि झुटो चेतना जगाउनेबाहेक केही गरेको छैन।

पहिलो नजरमा, स्टेडियम, पूर्वाधारहरु र अन्य वाचाहरूको हिसाबले के हासिल भएको छ, पत्याउन नसकिने देखिनसक्छ । तर यो सब कुन मूल्यमा ?

२० लाख भन्दा बढी आप्रवासी कामदारहरू त्यहाँ पूर्वाधार, निर्माण, सेवा र स्टेडियम र प्रतियोगिताका लागि अन्य सुविधाहरूमा काम गर्छन्। श्रमिक आप्रवासीहरू मुख्यतया एसिया र अफ्रिकाका गरिब देशहरूबाट आउँछन्। तसर्थ, नेपालबाट पनि । उनीहरू ऋणमा कतार पुग्छन् । तिनीहरू त्यहाँ श्रम गर्न जान्छन्, तर यो गलत सुरुवात बन्छ।

कतारले काफाला प्रणाली, पारित गर्‍यो। यो प्रणालीले रोजगारदाताहरूलाई अत्यधिक शक्ति दिन्छ। रोजगारदाताको आफ्नो विदेशी कामदारमाथि धेरै अधिकार भएकाले शोषण र श्रम दुर्व्यवहार व्याप्त हुने गर्दछ। जब एक कामदारले गुनासो गर्दछ । उदाहरणका लागि उसले तलब नपाएको कारण, लामो समय काम गरेको कारण, उसको राहदानी जफत गरिएको बारे वा खराब परिस्थितिमा बाँच्नु परेको बारे, ऊसँग वास्तवमा उत्पीडित हुनुको विकल्प केहि हुँदैन । परिस्थितिलाई चुनौती दिने लगभग कुनै अवसर हुँदैन।आप्रवासी कामदारहरूलाई ट्रेड युनियनमा सामेल हुन वा गठन गर्न अनुमति छैन।

यहि स्टेडियम र अन्य पूर्वाधारहरु निर्माण गर्ने क्रममा ६५०० बिदेशि कामदारहरुको मृत्यु भएको छ । कतारस्थित नेपाली दुतावासको तथ्याड़क अनुसार १६४१ नेपालिहरुको मृत्यु भएको छ (दर्ता नभएका पनि पक्कै होलान)। नेपाली कामदारहरू मध्ये लगभग ५० % मृत्यु प्राकृतिक रूपमा वर्गीकृत गरिएको छ, जुन सामान्यतया पोस्टमार्टम बिना गरिन्छ।

विश्व कप का दासहरु र कर्म, र झूटा चेतना

बेल्जियमको एउटा ‘विश्व कपका दासहरु ‘ नामक न्युज रिपोर्टले नेपालको सम्बन्धमा यस विषयलाई कभर गरेको थियो। म त्यो रिपोटको एउटा सन्दर्भ जोड्छु। छोराको कतारमा मृत्यु हुन्छ, बाबाले सबै गुमाएको बताउँछन र कतारलाई दोषी ठान्नुहुन्छ कि भनेर सोध्दा, “यो नियति हो, हामिले केही गर्न सकिन्न। भगवानले चाहेको यही हो।”

कथनकर्ताले थप्छिन: अधिकांश नेपालीहरू धर्म मान्छन्, तिनीहरू कर्ममा विश्वास गर्छन्।

यो वास्तविकता दमनकारीको नारेटिफ (narrative) पछाडि लुकेको विचारधाराको परिणाम हो। झूटा चेतनाको सिर्जना गरिन्छ जसकारण जो मानिसहरू अनिवार्य रूपमा दास भए, दमनकारी विरुद्ध आवाज उठाउन सक्दैनन, किनकि उनीहरूलाई भनिएको छ, परमेश्वरले तिनीहरूलाई यहि भाग्य रोजेका छन।

मौनता

ती कामदारहरूलाई पठाउने देश, नेपालमा छाएको क्रूर मौनताले रिस उठाउने, र बिचलित पार्ने स्थिति छ। सरकार पनि यसबारे बोल्दैन । न त वास्तवमा मजदुरको पक्षमा उभिनुपर्ने दलहरू। केवल हिंसात्मक मौनता। कतिपयले भनेको पनि सुन्छु, हाम्रो पार्टी वा एक व्यक्ति बोल्दैमा के परिवर्तन हुने हो ? यस्तो धनी देश विरुद्ध नेपाल सरकारले के गर्न सक्छ ? र यो अहिले मात्र हुनुपर्छ, जबकि यो उत्पिडन दशकौंदेखि चलिरहेको छ।

तपाईं ती सबै कामदारहरूको लागि आवाज बन्न सक्नुहुन्छ। र भविष्यका कामदारहरूको लागि पनि। यो बाध्यकारी वास्तविकताको कारण हो।
रेमिट्यान्स आम्दानीमा धेरै निर्भर राष्ट्र भएकाले नेपाल दास बनेको छ । हाम्रो देशको कुल ग्राहस्थ उत्पादनको झन्डै एक चौथाइ रेमिट्यान्सले ओगटेको छ । आर्थिक वर्ष २०७५/७६ मा रेमिट्यान्स आम्दानी नेपालको कुल गार्हस्थ्य उत्पादनको २५.४० प्रतिशत थियो । यस्तो अवस्थामा सरकार मौन बन्नु बाध्यता हुन सक्छ, तर सहि हुन सक्दैन। तपाईं दमन विरुद्ध लड्न सक्नुहुन्छ र सत्य रोज्न सक्नुहुन्छ।

विश्वकप र गिल्ट

बहिष्कार गर्न पनि मनले नमान्ला। ति विशाल स्टेडियमहरूमा खेलहरु हेर्दा, यि कुरा मनन गर्नु होला। परको देशलाई समर्थन गर्दा, ति मरेका मजदुरहरुलाइ नभुल्नु होला। अलिकति गिल्ट भावना (दोषी भएको वा अपराध गरेको जस्तो भावना) बिना हामी कसरी विश्वकप हेर्न सक्छौं ?

मात्र यदि उसले कुनै न कुनै रूपमा बिर्सन सक्षम भए – प्रतीकात्मक दक्षतालाई (the symbolic) निलम्बन गर्न सम्भब भए मात्र. यो बिर्सिनुले फेटिसिजमलाई (fetishism) संकेत गर्दछ: “मलाई यो थाहा छ, तर म जान्न चाहन्न कि मलाई थाहा छ, त्यसैले मलाई थाहा छैन।” मलाई यो थाहा छ, तर म यो ज्ञानको नतिजालाई पूर्णतया मान्न अस्वीकार गर्छु, ताकि म यो थाहा छैन जस्तो गरी अभिनय गर्न सकूँ।”

(स्रोत-पाठकको फेसबुक)

तपाइँको प्रतिक्रिया