सोमबार, माघ २३, २०७९

मध्यरातमा रोमियोको त्यो उपद्रो

ददि सापकोटा२०७९ मंसिर ११ गते ६:२२

‘ओे बत्ती निभा ।’ अकस्मात बत्तीहरु झ्यापझुप निभे । एक बजेसम्म हाँस्दै रमाउँदै तास खेलिरहेका माहुतेहरु बत्ती झ्याप झुप पारेर खासखुस गर्न लागे ।

राम नारायणले सुस्त सुस्त पाईला चालेर बिस्तारै ढोका खोले । वरिपरि काठका किलामा लस्करै बाँधिएका हात्तीहरु नियाले । किनभने यो हात्तीसारमै केहि न केहि अनौठो भैरहेको थियो । कुनैपनि हात्तीको क्रियाकलाप सामान्य थिएन । कुनैले खुट्टो मुढामा धसारिरहेका । कुनैले सुँढ हल्लाएका । कुनै स्वाँस्वाँ र फ्वाँ फ्वाँ गर्दै । कुनैको कान फटफटी फट्कारिएका । के भयो के भयो । अचम्मै देखियो ।

केहि माहुतेहरुले यसो सलाई कोरे । लालटीन बालेर हेरे । छेउको महेन्द्रगज हात्तीको लिंग छाताको बिंड जसरि घुम्रिएको थियो । तर लौका जसरि तुर्लुंगै झुण्ड्याउने सौराहागजपनि थियो । माहुतेहरुले खुब नियाले । चन्द्रमाको रात जुन टह टह लागेपनि जंगलको छेउमा छ हात्तीसार । वरिपरिका रुखका छायाँले चन्द्रमाको प्रकाशलाई बाटै रोकिदिन्छन् ।  जुन झलमल्ल हुन दिंदैनन् ।

तैपनि वरिपरिका सबै हात्ती नियाले राम नारायणले । माहुतेहरुले भित्ताको चरचरबाट आँखा बाहिर डुलाउन खोजे । अलिअलि छिरेको प्रकाशबाट बाहिर केहि देखिन्छ की ! कुनै पोथी असाध्यै खुशि भए जस्ता । खासमा पोथीजति खुशि देखिएका । भालेहरु कुनैमा तनाब देखिएको । खुट्टामा बाँधिएको सिक्रिनै चुँडाल्न खोजे जस्ता । कुनै त्यत्तिकै ताउर माउर गरिरहेका । रिसाएका, झोक्किएका । सिक्रि बाँधेको मुढो ढाल्न खोजेजस्ता । दाह्रा देखाउँदै गरेका । कोहि कुचुक्क परेर ज्यान खुम्च्याएका, डरले ।

मनबिर माहुतेले महेन्द्रगज भालेलाइ हेरे । किनभने हात्तीसारमा सबैभन्दा आतंक गर्ने, हरामी,बलवान भाले यहि हो । पोथीहरुको छनौटमापनि पर्ने यहाँको दादा । राजा महेन्द्रको नामबाट राखिएकाले ऊ महेन्द्रजस्तै शक्तिशाली ठान्ने आफूलाई । उसले लिंग फुलाएको थियो । तडकभडक गरिरहेको थियो । सबैभन्दा बैंशले उन्मुक्त यहि थियो । र सबैभन्दा तनाबमा यहि देखियो । शरिर उसले पिङ झैं मच्चाएको थियो ।

‘मनबिर दैला भित्र पसे । साथीहरु सुर्ति माड्दै बसिरहेका थिए । रातको एक बजे । उनले भने ‘जंगली भाले आए जस्तो छ ।’

‘हो ? अब त्यो सालेले के के उपद्रो गर्ने हो उफ् ।’

‘ऐश्वर्याकली त मख्ख परेकि छे । जंगलतिर मुख फर्काएर टाउको हल्लाईराखेकि छे । ऊ फेरि भालेहरुको लागि रानी ऐश्वर्यानै हो । असाध्यै राम्री । भर्खरकी । पोटिली । ‘

‘हो र ? अब पाउने भयो भनेर हो । बहुत सेक्सी छे यार त्यो पोथी त’ रामजनमले सुनाए ।

‘त्यो महेन्द्रगज फेरि लास्टै रिसाएको छ । आज महेन्द्रगज र रोमियोको पर्छ जस्तो छ । सालाले रिसमा हाम्रो घर त भत्काउँदैन ?’

सांकेतिक फोटो । स्रोत-लोजिक श्रेष्ठ

‘त्यसले जंगलीसित कहाँ सक्छ ? साला यहाँ सबै लुतुरेको अगाडि बलियो, शान देखाएको । जंगली भालेसित त जोरि खोज्यो भने त्यसको दाह्रासाह्र भत्याङभुतुङ बनाइदिन्छ यार’ सत्यनारायणले सुस्तरी भने ।

‘बड्याम्म’ रुख ढलेको आवाज आयो ।

सत्यनारायणले भने ‘साला रोमियो आइपुग्यो यार । नजिकै आइपुग्यो । कुन कुन पोथी कस्तो छ । कुन कुन भालेले के कस्तो चालामाला देखाउँछ भनेर संकेत गर्न त्यो हाँगा झारेको, रुख ढालेको हो ।’

रोमियो झाडीबाट फुत्त निस्कियो । चन्द्रमाको उज्यालोमा उसको अजंगको शरिर झन अजंग देखियो । माउतेहरु सल्बलाए जसरि पोथीहरु सल्बलाउन थाले । पोथीहरु कोहि डरले सल्बलाएका थिए । कोहि बलियो भालेसित यौन तृप्ती पुरा गर्ने तिर्खा मेटाउने लोभले  मस्किएजस्ता थिए।

माहुतेहरुको सल्बलाहट भने फरक थियो । ‘अब यो सालेले कहाँ कहाँ उपद्रो मच्चाउँछ’ सत्यनारायण तर्सिए ।

‘ओे केटा हो, यो रक्सीजति सबै माटोमुनि लुका । त्यो घौरा ताप्न बनाएको खाडल छ नी हो त्यसमा हाल, तु गैहाल, छिटो गर’ माहुतेका मुली सोमनारायणले निर्देशन दिए ।

‘केटाहरुले भकाभक बोत्तलका, सुराईका, घ्याम्पोमा राखेका रक्सी खाडलभित्र कोचारे । माटोले पुरे । बाहिरबाट घौराको खरानी छर्किए ।

‘सर सक्यो’ सत्यनारायणले रिपोर्ट गरे ।

‘ल ठिक छ उसो भए । नत्र त यार यो साला हात्तीको जात हरामी हुन्छ । पुरै घरै फोरिदिन बेर लाउँदैन रक्सीको बासनाले ।’

‘ओहो त्यस्तो खान्छ है रक्सी ?’ ठिगुनाले जिज्ञासा राखे ।

‘खुब मन पराउँछ हात्तीले रक्सी । खान्छ अनि मात्छ । मातेपछि झगडिया मान्छे जस्तै हो । साला निहुँ मात्रै खोज्छ । त्यसमा होस् हुन्न, बल हुन्छ । बल धेरै भएपछि होशोस् मतलव गर्दैन । बल धेरै होस गुम भएपछि के हुन्छ ? सबै भत्काउँछ । सबैलाई पिट्दै जान्छ । रक्सी खाएको मान्छे के हुन्छ ? भएरभरको बल निकाल्छ, झगडा गर्छ, हात्तीपनि त्यस्तै हो ।’

‘हेर हेर हेर’ ठगुनाले आँखा सन्काए । रोमियो हात्तीसारमा आइपुग्यो ।

माहुतेका मुली सोमनारायणले सबैलाई निर्देशन दिए ‘कोहि बाहिर ननिस्किनु । कोहि नखोक्नु । कोहि कराउने, चिच्याउने नगर्नु । उसको काम गर्छ जान्छ ।’

‘उसको काम ? के काम सर’ ठगुनालाई के थाह जंगली हात्ती के काम गर्न रातको १ बजे आउँछ । दुई दिनका पाहुना त हुन् उनी ।

‘ओए यो मु…….. लाटो छ । साला तेरो स्वास्नी छ भने १ बजे राती किन उठ्छस् ? त्यो हाथी स्वास्नी खोज्न आएछ । सबै सुत्ने, सबै शान्त हुने समय कुर्‍यो । १ बज्यो, अब मेरो सबकुछ चल्छ भन्ने ठान्यो, आयो तरुनीलाई खोज्न । त्यो देउतीकलीलाईनै ताक्छ सिधा। त्यो ठिटी छ, बहुत योङ छ, त्यहि मन पराउँछ त्यसले ।’

‘ठगुना जिब्रो पिलित्त निकाल्दै अलि पर गए ।’

‘ठगुना आज तिम्ले रामरमिता हेर्न पाउँछ, राम्रोसित हेर। यो देख्ने मान्छेहरु सिधै स्वर्ग जान पाउँछ । गणेश भगवानलेपनि सेक्स गरेको हेर्न पाउने । भगवानको लाइभ सेक्स देख्न पाउने कोहि छ ? साला भगवान भनेर ढुंगालाई दर्शन गर्न त कति पर जानुपर्छ । यो त गणेश भगवानको लाईभ सेक्स हो । अनि यो देख्ने मान्छी सिधै स्वर्ग जाँदैन त ? हाहाहाहा । तेरोपनि तग्दिर त सिधै स्वर्गे जाने लेख्या रैछ हाहाहा ।’

‘सरले मलाई जिस्काउनुभएछ, म त मर्छ कि क्याहो सर हाँसेरै’ ठगुनाले विश्वाश गरेनन् ।

‘अरे ठगुना, एकछिन पख । सबकुछ हुन्छ । भगवानको सेक्स हुन्छ भनेर को पत्याउने ? साला कोहि पत्याउँदैन । जब भगवानको देख्छ नी, तब त सबै सेन्टिफ्ल्याट बनिहाल्छ हाहाहा ।’

रोमियो सुस्त सुस्त पाईला चाल्दै हात्तीसारको ढोकामा केहिबेर उभियो । उसले हेर्‍यो सबैको चर्तिकला । त्यहाँका भाले पोथी सबैको क्रियाकलाप हेर्न, बुझ्न ऊ केहिबेर उभिएको थियो ।

सबै ठिक थिए । दुई पात्रमाथि उसले विशेष किसिमले नियाल्यो । एउटा तरुनी ऐश्वर्यकली खुब चमकधमक गरेकि थिई । गोडा फट्टाए जस्तो । तुरुक्क तुरुक्कपनि पार्दै थिई । दाम्लो चुँडालेर अघि बढौंला जस्तो हाउभाउपनि थियो । अलिकति कामवाशना छरी । त्यो रोमियोसम्म पुग्यो । खासमा रोमियोलाई संकेत पठाएकि थिई । अब रोमियोलाई कसैसित जबर्जस्ति गर्न परेन । पगाल्न र पगार्नपनि परेन । झगडा नगरि शिकार मिल्यो । रोमियो ढुक्क भयो । फटाफट आयो ।

पहिले आएर ऐश्वर्यकलीको शरिरमा सुँड च्वास्स छोयो । सुँडले वरिपरि मुसारमुसुर पार्‍यो । उसको सुँडले शरिरका सबै अंगप्रत्यंगमा सुस्तसुस्तरी स्पर्ष गरे । टाउको लगेर ऐश्वर्यकलीको टाउकामा जोड्यो । सुँढ जोडे । नाक नाक ठोंसे । ऐश्वर्यकलीको आवाज मिहिन, कोमल भए । एकैछिनमा रोमियो र ऐश्वर्यकलीले शरिर साटे । यौन साटे । एक अर्काको रहर जति थियो साटासाट गरे ।

महेन्द्रगज छड्के आँखाले हेरिरहेको छ । ठाडा कानले सुनिरहेकै छ। उसले त्यो सहन सकेकै छैन । रोमियोलाई निकै धम्कीको संकेत गर्‍यो । दिनभरि आफ्नो हात्तीसारमा बसेकि ऐश्वर्यकलीलाई उसले एकैछिनमा पन्जामा पारेको, उसको शरिरमा मनपरि खेलेको के सहन्थ्यो । उसले फाँ फुँ गर्‍यो । ताउरमाउर देखायो । म नै सबैभन्दा ठूलो । सबैको हर्ताकर्ता झैं शान देखाउँदै थियो । सिक्रि बाँधेको किलो उखलौंला झैं गर्दै थियो । स्वाँफ्वाँ उसको अचाक्ली चढेको थियो । ऊ यो हात्तीसारकै पहलमान नै हो । के कम छ ऊ ? उसले कहाँ कम ठान्छ ? यो संसारका सबैभन्दा बलियो, जवान, सेक्सी मै हुँ भन्ने महेन्द्रगज नाथे झुलुक्क झुल्किएको रोमियोसित के डराउँथ्यो ।

रोमियो झन जंगलको राजा । बिशाल बथान छोडेर एक्लै हिंडेको । उसको बथानमा रहेकि नाईके पोथीको खटनपटन उसलाई मन नपरेर हिंडेको । ‘तिम्रा नियम, परिधि, खटनपटनमा बस्दिन, ईस्स्स्’ भन्दै चुनौति दिएर एक्लै हिंडेको रोमियो ।

महेन्द्रगज सिक्रिमा बाँधिएको । रोमियो खुला आकाशमा स्वतन्त्र । महेन्द्रगज आर्काले अड्कलेर दिएको खान्किमा बसेको । रोमियो वनमा जति मन लाग्छ छानी छानी खाएर बाँचेको । महेन्द्रगज उस्तै परे कुहिएको दाना र सडेको सखरमा टारेको । रोमियो जंगलका खनिजले, प्रकृतीले जति खाउ भनेर दिएको विशाल प्राकृतिक भकारीबाट छानीछानी पोशिलो खाएको । रोमियोले ठान्यो ‘साला यस्ता लुते मसित ताउर माउर ? मसित कर्के आँखा ? मेरो बिरुद्द स्वाँफ्वाँ । मसित लड्न घाँटी तिनिक्क ?’

रोमियो महेन्द्रगज बाँधिएको ठाउँतिर गयो । टाउको जुधायो । महेन्द्रगजलाई सुँडले हान्यो । उसले दाह्राले अर्को एक थप्पड टाउकैमा लगायो । महेन्द्रगजलेपनि मुकाबिला गर्न खोजेकै हो । त्यसपछि रोमियोले उसको सुँड समात्यो । झडमका झडम हिर्कायो । महेन्द्रगज पुर्लुङ्गै भुइँमा लड्यो । उठ्दा उठ्दैको महेन्द्रगजलाई सुँड, दाह्रा, खुट्टाले हानेर उठ्नै दिएन । चिर्रिएर करायो महेन्द्रगज । उसले अरु हात्तीसित हार गुहार माग्यो  ‘आओ मलाई बचाओ, योसित लडौं, सामुहिक मुकाविला गरौं’  । निकै करायो । तर रोमियोको दादागिरी, बल, मूर्खता देखेर सबै त्राहिमाम थिए । मार्ला कि भन्ने डरले कुथुर थिए । रोमियो बिरुद्द कुनैले केहि संकेत गरेनन् ।

रोमियो लसक्क लसक्क लस्किँदै फेरि ऐश्वर्यकली भएको ठाउँमा आयो । ‘देख्यौ ? साला जोरि खोज्छ । सक्छ म सित ?’

सिमसारसितको संसर्गबाट जन्मिएको फुचुने त्यहिं खेलिरहेको थियो । उसलाई न रोमियो सितको डर, न गजाधर । सबैको प्रिय, सबैले माया गर्थे । सबैको काखमा लुटपुटिने त्यो बालकलाई रोमियोलेपनि केहि गरेन । यता र उति खेल्दाखेल्दै ऐश्वर्यकलीको काँध मुसार्न पुगेको थियो बच्चो ।

ऐश्वर्यकलीले बच्चोलाई चाट्दै संकेत गरेकि थिई ‘आज नयाँ पाहुना आउनुभाको छ ।’

रोमियोले ऐश्वर्यकलीलाई सोध्यो ‘माया लाग्छ ?’

‘बच्चा हो, हेर कति क्युट छ, अति माया लाग्छ ।’

रोमियोले मसक्क गर्दै भन्यो ‘हेर अब १८ महिनामा यस्तै चुलबुले बाबु दिन्छु मैले  तिमीलाईपनि।’

ऐश्वर्यकली खुसीले रमरम बनी । उसले सुँड दिई, उसले सुँड जुधायो । रिमरिम उज्यालो हुनलागेको थियो ।’अब भोलि साँझ फेरि भेटम्ला है ?’ रोमियो बाटो लाग्यो ।

(ददि सापकोटा लेखक र पत्रकार हुन् । जिवजन्तु र प्रकृतीका बारेमा उनको पुस्तक वनको वैभव गत साल प्रकाशित छ । अघिल्ला अनुभव पढ्न यहाँ क्लिक गर्नुहोस )

तपाइँको प्रतिक्रिया

फेसबुक