सोमबार, मंसिर १९, २०७९

त्रासदीपूर्ण ति दिनहरु

रामचन्द्र सापकोटा२०७९ मंसिर १ गते १६:००

रामचन्द्र सापकोटा

२०७८ असोज २९ गते ।

जिन्दगीमा धेरै पटक माथिङ्गल हल्लियो होला । तर यो पटकको अनुभूति भने बेग्लै खालको थियो । बेलुका साँझपख ६ बजेको हुँदो हो । मोबाइलमा एउटा म्यासेज आयो। त्यो पढ्दा, मेरो छातीलाई २० किलोको ढकले थिचेर मुटु फुत्त निस्केर घाँटीमा अड्के जस्तो भयो। बोल्ती नै बन्द भयो। रिँगटा लागे जस्तो पनि भयो । ज्यान थरर काँपे झैं भयो। उकुस मुकुस भयो । के गरौं कसो गरौं भयो । श्रीमतीलाई २, ३ पटक बोलाएँ । उनले सुनिनन् । सायद कतै काममा ब्यस्त थिइन् ।

यो कुरा अरु कसलाई सुनाउँ ? केटकेटी सानै छन्। मन अत्तालियो । अब के गरु ? असामान्जस्यमा परें। आज भन्दा १०, ११ महिना चीनको बुहानबाट फैलिएको भाइरस हेर्दा हेर्दै घर भित्र पस्यो । विश्वास नै लागेन। मनमनै फेरि पिसि आर चेक गर्ने निर्णय गर्दै आमालाई लिएर चितवन हस्पिटल तिर कुदेँ। पुन: पि सि आर चेक गरिसकेपछि घरमा आएर आमा र श्रीमतीलाई माथिको कोठामा आइसोलेसनमा बस्नुपर्ने भयो । रिपोर्ट बिग्रियो भनी बल्ल सुनाएँ । आमा भर्याङ नेर भित्ताको आडेस लागेर सुस्केरा हाल्दै उभिनुभयो। ठुलीआमा पनि घरमै हुनुहुन्थ्यो। सबै जना आत्तिन लागे।

मैले सबैलाई सम्झाउँदै भनें- नात्तिनु । यस्तो बेलामा धैर्यले काम लिनु पर्छ। केही हुँदैन । आज चार दिन भैसकेको छ। अहिलेसम्म कुनै लक्षण देखिएको छैन। आमा र म सँगै बस्छौं। हामी घरको माथिल्लो कोठामा गयौं। मेरो अझ सम्म रिपोर्ट आएको थिएन।
——————
असोज ३० गते

आज बिहानै वडाध्यक्षलाई फोन गरेर सम्पूर्ण कुरा बताएँ। उहाँले पनि घरमै आइसोलेसनमा बस्दा उपयुक्त हुने सल्लाह दिनुभयो। अनि केही बेरमा मेरो पनि रिपोर्ट आयो। रिपोर्ट पोजेटिभ नै आयो। त्यसपछि केही साथीभाई र आफन्तलाई फोन गरेर सबै कुरा बताएँ । आजको दिन पनि हामी आमा छोरालाई कुनै लक्षण देखिएको छैन। सारो गारो केही भएको छैन। हामीले कुनै लक्षण देखिएर, अप्ठ्यारो भएर पि सि आर जाँच गराएका थिएनौं।

करिब एक वर्ष जति हुनलाग्यो, आमालाई महिनाको २,३ पटक उपचारका लागि अस्पताल लगिराख्नु पर्दछ। उहाँ दीर्घ रोगबाट पीडित हुनुहुन्छ। यस पटक पनि आमालाई नियमित जाँचको लागि भरतपुर सेन्ट्रल अस्पतालमा गएका थियौं। डाक्टरको सल्लाह बमोजिम रगत परीक्षण गराउँदा रगतमा होमोग्लोबिनको मात्रा कम देखिएकाले आमालाई रगत चढाउनुपर्ने भयो। “बिरामी र कुरुवाको पिसि आर रिपोर्ट ल्याएर आउनु, अनि भर्ना गरौंला” डाक्टरले भनेका थिए । त्यसैअका लागि चितवन अस्पतालमामा गत २६ गते पि सि आर जाँच गराएका थियौं।

रिपोर्ट पोजेटिभ आएकाले मैले डाक्टरलाई फोन गरेर सबै कुरा भनें। उहाँले केही औषधि खान सुझाव दिनु भयो। शंकर भाईलाई फोन गरेर उक्त औषधि ल्याउन लगाएँ। आजभोलि उक्त औषधि नियमित सेवन गरिरहेका छौं।

——————

आज कार्तिक १ गते

आज बिहानै ५ बजे आँखा खुलेको थियो। सौचालय कार्य समाप्त पछि एक गिलास तातो पानी पिएँ। आमाले पनि पिउनु भयो। शंकर भाइलाई तातोपानीको बाफ लिने भाँडो (इलेक्ट्रिक स्टीम भापोराईज्ड) किन्न पठाएँ जुन औषधि पसलहरुमा ७, ८ सय रुपैयाँमा किन्न पाइँदो रहेछ।

त्यसपछि साथीभाई र इष्ट मित्रका ‘गेट वेल सुन’ लेखिएका मेसेज र फोनहरु आईरहेका थिए। सायद त्यही कामनाले काम गर्यो होला। आज आमाको रिपोर्ट राम्रो आयो। मन अति खुसी भयो। सबैलाई फोन मार्फत जानकारी दिएँ र म पनि आफ्नो पि सि आर जाँच गर्न सि एम सी हस्पिटल तिर कुदें । आज दिनभर पनि मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन । बरु समयको सदुपयोग गर्दै विकुपाको सम्बन्धहरु किताबमा घोत्लिन थाले।

——————

कार्तिक २ गते ।

आजको दिन पनि उही हिजो अस्ति जस्तै नियमित रहयो। दिनभर रामलाल जोशीको ऐना पढेर बसें। बेलुका तिर मेरो पनि पिसि आर रिपोर्ट राम्रो आयो। मन खुसीले चङ्गा भयो। मलाई लाग्थ्यो, यो माहामारीको कहर एक दिन हरेकको घरमा अवश्य आइपुग्नेछ। सोही अनुसारको सावधानी र उक्त परिस्थितिसँग लड्न तयारी अवस्थामा रहेको हुनाले त्यति पीडा र जटिलता हुन पाएन।

जिन्दगीमा अर्को पाठ पनि सिकियो। को आफ्नो को पराई । केही राम्रैसँग बुझियो। यतिबेला सहानुभूतिका थपथपि भन्दा उचित मार्ग निर्देशको जरुरी थियो। आफूले जस्तो जानिएको थियो सोही अनुरूप अहिलेको समस्यालाई किनारा लगाइयो। यही नै ठूलो कुरा हो जस्तो लाग्छ। आगे श्रीरामजी कि मर्जी….

तपाइँको प्रतिक्रिया