शनिबार, मंसिर १०, २०७९

लघु कथा: चुनाव

रामचन्द्र सापकोटा२०७९ मंसिर १ गते १६:११

रामचन्द्र सापकोटा

भनिन्छ, युवा परिवर्तनका सम्वाहक हुन् । चाहे जुन सुकै देश होस् वा समयको कुनै कालखण्ड । देशलाई नयाँ मोड दिनसक्ने भनेकै युवा हुन । युवाको जोश र बुढापाकाहरुको होशले युगान्तकारी परिवर्तन हुने गर्दछ। युवा भनेका अलि आलाकाँचा पनि हुने गर्दछन्। उनीहरूलाई सही निर्देशन गर्ने जिम्मा बुढा-पाकाहरुको हुनु पर्दछ। किनभने बुढा-पाकाहरु अनुभवले खारिएका हुन्छन्। राजनीतिमा दुवै एक अर्काका पुलिन्दा हुन। एक बेगर अर्कोको अस्तित्व: अलिक गारो हुन्छ।

अब कुरा गरौं २०७४ ताकाको संघीय चुनावको। प्राय: गाउँमा निकै कम देखिने नेता ज्यूको यतिबेला उपस्थिति निकै बाक्लो हुन थालेको छ। सायद चुनावी माहोलले गर्दा होला। उनी जहाँ जान परे पनि विनयलाई अघि लगाई हिँड्थे।

विनय गाउँमा चल्दो-फूर्दो युवक थियो। केटाहरुको ग्याङ्ग ठूलै थियो उसको। नेताज्यूले विनय-विनय भनि रहँदा ऊ पनि फुरुङ्ग हुन्थ्यो। नेताज्यूले अराएको काम मुखबाट फुत्कन नपाउँदै उसले फत्ते गरि हाल्थ्यो। त्यति बेला मानौं उ नेताज्यूको पर्छाई नै जस्तो थियो। ऊ भने पछि नेता ज्यू पनि ढुक्क हुन्थे। आखिर नेता ज्यूले टिकट ल्याइछाडे।

चुनावमा नेता ज्युको जीत भयो। विनयको भुइँमा खुट्टा नै थिएन। उसलाई लागेको थियो कि यो चुनाव उसले नै जित्यो। केही दिनको विजय रेली पछि नेता जि शहर पसे । विनय आफ्नै पुरानै काम धन्धामा फर्कियो। सबै कुरा उही पहिला झै सामान्य हुँदै गयो।

‘नेता ज्यूले चुनाव जितेको मैले गर्दा हो’ भनेर बेला बेलामा साथीभाइलाई विनयले फुर्ती लगाउँथ्यो। चुनाव जितेको केही वर्षसम्म नेताज्यूसँग कहिलेकाहिँ फोन सम्पर्क हुन्थ्यो। आजकल त त्यो पनि हुन छाड्यो। पैले गाउँमा नेता ज्यू आउँदा त विनयलाई भेट्थे । आजकल त त्यो पनि हरायो। एउटा सानो कामले उसले नेता ज्यूलाई भेट्न खोजेको, त्यै पनि सकेन। विनयलाई यावत यी कुरा सम्झेर करेलाको रस पिए झै तितो लाग्थ्यो र भन्ने गर्थ्यो.. साला ! यस्तै रैछ !…

अब फेरि चुनाव आउन केही दिन बाँकी छ। विनयको फोनमा घण्टी बज्छ। तिनै नेता ज्यूको कल हुन्छ। विनयले फोन उठाउँछ र भन्छ। “हेल्लो हजुर…. भै हाल्छ नि…..”

तपाइँको प्रतिक्रिया