आइतबार, जेठ २८, २०८०

कथा : प्रेमाको प्रेम

रामचन्द्र सापकोटा२०७९ मंसिर १० गते ६:३५

रामचन्द्र सापकोटा

‘मेरी उनी’ भन्न सायद मैले हक गुमाई सकेको थिएँ । त्यतिबेलाको घटना अझै मेरो मानसपटलबाट लुप्त हुनसकेको छैन । आजकल सम्झँदा पनि एकादेशको कथा झैं लाग्न थालेको छ। त्यतिखेरको मेरो एक सानो भुलले हाम्रो राधाकृष्णको झैं जोडी जम्न सकेन।

एकदिनको कुरा हो। म कक्षा ७ मा पढ्दै थिएँ । दोश्रो घण्टी पछिको पढाई सकिएको थियो। म दाहिने तिरको दोस्रो बेञ्चको छेउमा बसेको थिएँ। यसो पछाडि फर्केर हेरेको देब्रे तिरको तेस्रो बेन्चको कुनाबाट कसैले एकोहोरो मलाई नै हेरिरहे झैं लाग्यो। मलाई हल्का लाज लाग्यो।

एक छिन पछि यसो हेरेको मलाई नै हेरिरहेकि थिई। मैले उक्त घटनालाई हल्का रुपमा लिएँ। मलाई रमाइलो लाग्न थाल्यो। के गरौं कसो गरौं झैं भयो। अनि पछाडि फर्केर देब्रे आँखा झिमक्याई दिएँ र मुस्कुराउँदै उसैलाई हेरिदिएँ । त्यसपछि मेरीबास्सै ! उ त आफैं अगाडिको टेबलमा घोप्टो परेर डाँको छोडेरै रुन थाली। सबै साथीहरु के भो भन्दै साउती गर्न थाले। म त एक छिन अत्तालिएँ । बास्तविकता के हो म र उ बाहेक अरुलाई केहि थाहा थिएन। कस्तो नमज्जा लाग्यो। मैले फोकटमा त्यसो गरेछु झैं लाग्यो।

केहि बेर पछि सर आउनु भयो। सरले ‘के भयो ? भनेर’ सोध्नु भयो। उसले ‘बेसरी पेट दुःखेको छ’ भन्ने जवाफ दिई। अब भने म ढुक्क भएँ। म कति स्वार्थी रहेछु। बच्चा देखी सँगै एउटै कक्षामा पढेको सँगीको मन दुखाएँ । मेरो मन कुँढियो। मैले ठुलै गल्ती गरे झैं लाग्यो। उनको नजरमा म अपराधी हो झैं लाग्न थाल्यो। त्यसपछि म कहिल्यै उसको नजिक पर्ने हिम्मत पनि गर्न सकिन। उसले पनि मलाई देखेर पनि नदेखे झैं गर्न थाली।

धेरै वर्ष पछिको कुरा हो। एक दिन नारायणघाटको भाटभटेनी सुपरमार्केटमा सामान किन्न गएको थिएँ। भित्र ट्रलीमा सामान राखेर अगाडि बढिरहेको थिएँ। पर कुनाबाट एक महिलाले हात हल्लाउदै मलाई नै इशारा गरेको पाएँ। को रैछ त ! मैले चिन्न सकिन।

नजिकै गएँ । त्यहि उनी रहिछन । कस्तो परिवर्तन भएकि ! पुक्क मोटी उनी अहिले कस्तो स्लिम भएकि । कपाल ब्वाईजकट काटेकी। अनुहार हल्का पहिले भन्दा कालो भएर होला सायद अली बढ़ी नै पाउडर लगाएकी। हाँस्दै उनले हात अगाडि बढाउदै सोधिन् “सन्चै हुनुहुन्छ ? मलाई चिन्नू भयो ?”

मैले हल्का नाक खुम्च्याउँदै “तिमी प्रेमा हैन? कस्तो परिवर्तन भएकी” भनें र हात मिलाएँ ।

उनी मुसुमुसु हाँसिरहिन। उनले थोरै समयमा मलाई धेरै कुराहरु सोधिन। आफ्नो बारेमा पनि धेरै कुरा बताइन् । मेरो मनमा उनीमा केहि अभाव, केहि अपूर्ण, के नमिलेको जस्तो लागिरहेको थियो । तर दिमागले ठ्याक्कै यही हो भनेर पत्ता लगाउन सकिरहेको थिएन। कताकता मन खिन्न भैरहेको थियो। यसरी धेरै समय पछि पुरानो साथी एक्कासि भेटदा अनौठो पनि लागिरहेको थियो। एक छिनको भलाकुसारी पछि हामी बिदा भयौं।

एकदिनको कुरा थियो। एकाबिहानै मोबाइलकाे फेसबुकमा मेरा औंलाहरु डुलिरहेका थिए। फेसबुकमा भएको एउटा फोटोले मेरो मुटुमा नमज्जाले चिमट्यो। पिडाले मेरो आँखाबाट अश्रुधारा बहन थाले। औंलाहरु रोकिए । एकोहोरो उनीलाई नै मोबाइलमा घोरिएर हेरि रहें। अनि मोबाइल टेबलमा हुर्याउँदै नजिकैको पलङ्गमा गएर बर्लङ्ग पल्टिएँ र आँखा बन्द गरी उनलाई सम्झि रहें। आखिर यो इहलोक छोडेर जाने खासै उमेर पनि त भएको छैन। के भएको हो जान्ने इच्छा लाग्यो र त्यतीबेलाका क्लासमेटहरुलाई फोन लगाउन थालें।

नेपालमा प्रेमील जोडीले माया-प्रेम गर्ने तरिका राणाकालीन बेलाको थाहा भएन । गणतन्त्र कालीनको भन्नै परेन। बहुदल कालीनको हाम्रो बेला परेन । सायद हाम्रो मायाको टुसा पंचायतकालीन बेलाको थियो। त्यतिबेलाको मायाप्रेमको साटासाट अलि फरक तरिकाबाट नै हुन्थ्यो। इशारामा धेरै कुराहरु हुन्थे। सायद त्यहि इशारामा उसले मलाई आफ्नो माया जँचाउन चाहन्थिन। म धेरै उत्ताउलो भएर हाम्रो मायाप्रेमको टुस ज्यांगिन नपाई भाँचियो।

उसले मलाई औधि माया गर्दि रहिछ। पछि सबैकुरा बिग्रेपछि थाहा पाउँदा सारै नराम्रो लाग्यो। यो मन त त्यतिखेर झन छिया-छिया पर्यो जतिबेला उसले कसैसँग बिहे नै नगरी बसेकि थिई भन्ने तथ्य थाहा पाएँ ।

तपाइँको प्रतिक्रिया

फेसबुक