शुक्रबार, वैशाख १४, २०८१

ग्रह बचाउन जैविक विविधता लक्ष्यहरू पुरा गर्नुपर्ने विज्ञहरूद्वारा जलवायु सम्मेलनमा सुझाव

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ मंसिर २ गते १८:१३

जलवायु संकटको एक तिहाइ समाधान प्रकृतिको संरक्षण र बचावटबाट गर्न सकिने भन्दै विशेषज्ञहरुले जलवायु सम्मेलनमा जोड दिएका छन् ।

जैविक विविधता संरक्षणवादी, कार्यकर्ता र आदिवासी नेताहरूले जलवायु परिवर्तनको सबैभन्दा हानिकारक प्रभावहरूबाट बच्नकोलागि प्रकृतिको संरक्षण गर्न महत्त्वपूर्ण आवश्यकतालाई रेखांकित गरेका थिए । त्यसपछि बिहीबार कोप २७ जलवायु शिखर सम्मेलनमा जैविक विविधताले अग्रस्थान लिएको थियो ।

“जलवायु संकटको एक तिहाइ समाधान प्रकृतिको संरक्षण, संवर्धन र बचाउबाट गर्न सकिन्छ” प्रकृतिका लागि गैरसरकारी संस्था क्याम्पेनका निर्देशक ब्रायन ओडोनेलले इजिप्टको शर्म अल शेखमा रेडियो फ्रंस इन्टरनेशनललाई भने ।

उनले सन् २०३० सम्ममा विश्वको कम्तिमा ३० प्रतिशत जमिन र महासागरको रक्षा गर्ने विश्वव्यापी प्रयासको नेतृत्व गर्दै छन् । त्यो जि ७ राष्ट्रहरुद्वारा अनुमोदन गरिएको लक्ष्य हो । त्यसमा आदिवासी अधिकार र नेतृत्वको सम्मान गर्ने पक्षलाई प्राथमिकतामा राखिएको छ ।

यो लक्ष्यले जलवायु परिवर्तनलाई ३७ प्रतिशतसम्म न्यूनीकरण गर्न मद्दत गर्ने मात्र नभै यसले लचिलोपन र अनुकूलनलाई पनि बलियो बनाउने भनाई विज्ञहरुको छ ।

क्यानडाको मोन्ट्रियलमा अर्को महिना हुने कोप १५ जैविक विविधता शिखर सम्मेलनको अगाडि तथाकथित ३०x३० लक्ष्य (२०३० सम्म विश्वको ३० प्रतिशत स्थलीय र समुद्री बासस्थानको संरक्षण गर्ने लक्ष्यलाई ३० x ३० भन्ने गरिन्छ) को लागि अगाडि बढाउने वा साकार पार्ने गति, प्रकृतिका लागि अभियान र नेसनल जियोग्राफिक सोसाइटीका विज्ञहरूले जैविक विविधतालाई जलवायु एजेन्डाको केन्द्रीय भाग बनाउन आवश्यक पर्ने चेतावनी दिए।

“कोप १५ सबैभन्दा महत्त्वपूर्ण प्रकृति शिखर सम्मेलन हो जुन हामीले एक दशक भन्दा बढीमा गरेका छौं” ओ’डोनेलले घटनाको बारेमा बताएका छन् ।

“वास्तवमा विश्वले विगतमा तय गरेका धेरैजसो प्रकृति संरक्षणका लक्ष्यहरू प्राप्त गर्न असफल भएका छन् । त्यसैले यो समय विश्वको लागि एकजुट हुने, महत्वाकांक्षा थप्ने, नयाँ वित्तीय स्रोतहरू थप्ने र हामीसँग प्रकृतिको लागि साहसी विश्वव्यापी सम्झौता भएको सुनिश्चित गर्ने समय हो ।”

मोन्ट्रियलमा देशहरूले विश्वव्यापी जैविक विविधता ढाँचा विकास गर्न खोज्नेछन् । प्रकृतिलाई कसरी संरक्षण गर्ने भन्ने रणनीतिक योजनापनि प्रस्तुत गर्ने छन् ।

नेताहरु अनुपस्थित

शर्म अल शेखमा जलवायु वार्तामा ९० भन्दा बढी राष्ट्र प्रमुखहरू उपस्थित भए पनि अहिलेसम्म कुनै पनि राष्ट्र प्रमुखलाई मोन्ट्रियलमा आमन्त्रित गरिएको छैन ।

“यो धेरै चिन्ताजनक छ” ओ’डोनेल भन्छन् “जैवविविधताको कार्यविना हामी जलवायु संकट समाधान गर्न सक्दैनौं ।”

“मोन्ट्रियल सफलता भविष्यका पुस्ताहरूका लागि महत्त्वपूर्ण छ। त्यहाँ राज्यका प्रमुखहरू बिना यसले सम्झौताको सम्भावनालाई धेरै चुनौतीपूर्ण बनाउँछ । ”

तपाइँको प्रतिक्रिया