शनिबार, मंसिर १०, २०७९

पटाक्षेप

ईशा शाह२०७९ मंसिर ३ गते १२:५३

(अघिल्लो अर्थात् सातौं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ईशा शाह

“ए मुमा पो हुनुहुँदो रहेछ ! लाश पोस्टमार्टमको लागि पुलिसले लिएर गयो रे ! सामान र विक्रम दाईको परिवारलाई लिन आउ भनेर बुवाले भन्नु भएको छ । दाजीलाई भनुँ कि के गरौं ?” प्रमेशले सामान मिलाउँदै गरेको प्रमदासँग सोधे ।

“खोई भोक लाग्यो भन्दै थियो के जान्छ होला र त्यो ?”

“भोक त मुमा मलाई पनि ……!

“जाउ न त राइस कुकर अन गर र दाललाई सानो बनाएर ग्याँसमा बसालेर आउ ।”

“अनि तरकारी ?”

“परिमित आउने बेला भयो, फकाएर भाउजूलाई एकथोक तरकारी पकाउन भन ।”

“भाउजू रुँदै हुनुहुन्छ ।”

“पुग्यो अब रुन, जाउ गएर भन ।”

“मलाई भाउजूको अवस्था देखेर टिठ लाग्दैछ मुमा त्यसैले ……!”

“त्यही त साह्रै पिरिई, हुन त पिरिनु पनि स्वभाविक नै हो, उमेरमा शमी सानी भए पनि उनीहरु दुईजना साथी जस्ता थिए ।”

“त्यस्तो भए त भाउजूलाई उसको अवस्थाको बारेमा केही न केही जानकारी त हुनु पर्थ्यो नि ! कतै त्यही कारण भाउजूको अवस्था यस्तो भएको त होईन ?”

“पाएकी त थिईन् होला नि ! तर त्यसरी …. ! नासै भयो, सुमित्राको हालत के भएको होला ““ भन्दै प्रमदा सुँकसुकाँउन थालिन् ।

“फेरि शुरु भयो, हजुर यो सामानहरु के गर्न लागेको ?” प्रमेशले कुरा अन्तै मोड्न खोज्दै प्रमदालाई सोधे ।

“सुमित्राहरु आउने भनेका छन् त्यसैले ….!”

“यि सामानहरु आज यसै होस्, अहिले तिनीहरुले यो कोठामा पकाएर खाने होईन केही होईन । त्यसैले हजुर उठ्नुहोस् र मैले ल्याएका मान्छेले पल्लो कोठा सफा गरेर रंग लगाउँछन् । हजुर अह्राई पह्राई गरेर आउनुहोस् म चाहिँ ….! “

“त्यो काम त तिमीले भन्दा पनि हुन्थ्यो होला नि !”

“अँ हुन्छ नि ! कुरा गरेको सुन्दा पनि …..!”

“किन के भयो ?” प्रमदाले उठ्दै सोधिन् ।

“हजुरले अह्राए जस्तो कहाँ हुन्छ भन्या ? अहिले फेरि कतै केही भयो भने प्रमेशको काम भनेर ….! ए अँ साँच्ची बुवाले लामखुट्टे मार्ने औषधी छरेर मात्रै रंग लगाउनु भन्नु भएको छ” प्रमेशले भने ।

“मेटासिडले त कोठा गन्हाउँछ, अहिले औषधी छरेर कसरी बस्न सक्छन् तिनीहरु ?”

“रंग लगाईसकेपछि झ्याल ढोका खोलेर फ्यान खोलिदिएपछि गन्ध जाला नि मुमा, त्यति नगरे त मकैबारीको लामखुट्टेले टोकेर तिनिहरु यहाँ बस्नै सक्दैनन् नि !”

“त्यो पनि हो । तर साना भुराहरु छन्, गन्हाएर राती सुत्न गाह्रो होला कि भनेर हो ।”

“त्यसो भए के गर्ने त ?”

“लौ के गर्ने हो गर, म त …….!” भन्दै कोठाको ढोकामा ताल्चा मारेर प्रमदा अर्को कोठातिर पसिन् ।

काम गर्ने मान्छेहरु भूईं बढार्दै थिए । उनलाई देखेपछि उनीहरु गर्दागर्दैको काम छोडेर अडिए ।

क्रमश :

तपाइँको प्रतिक्रिया