बिहीबार, वैशाख १३, २०८१

विश्वकप बारे कतारको आलोचनामा युरोपको दोहोरो मापदण्ड : फिफा अध्यक्ष

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ३ गते २१:५९

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकप आयोजक कतारका युरोपेली आलोचकहरूलाई दोहोरो मापदण्ड अपनाएको आरोप लागएका छन् । उनले विश्वकप आयोजक कतारका आलोचकहरुलाई निशाना बनाउँदै अरब मुलुकमा दोहोरो नैतिक मापदण्ड नपनाउन सुझाव दिए ।

इन्फान्टिनोले कतारले आफ्नो घरेलु प्रतियोगिता सुरु गर्ने पूर्वसन्ध्यामा युरोपका समस्याहरू सूचीबद्ध गर्दै युरोपेली आलोचकमाथि खनिएका हुन् । मानव अधिकार हनन्, स्टेडियम र पूर्वाधार निर्माण गर्ने आप्रवासी कामदारहरूको व्यवहारमा इमिरेट्सको रेकर्डको आलोचनाले वर्षौंदेखि ब्यापकता पाइरहेको छ ।

“हामी युरोपेलीहरूले विगत ३,००० वर्षदेखि के गर्दै आएका छौं त्यो हेर्नुपर्छ । हामीले मानिसहरूलाई नैतिक पाठ दिन सुरु गर्नु अघि हामीले अर्को ३,००० वर्षसम्म माफी माग्नुपर्छ,” इन्फान्टिनोले सयौं अन्तर्राष्ट्रिय मिडियाका माझ भने।

उनले कतार र राजधानी दोहा अहिलेसम्मकै उत्कृष्ट विश्वकप आयोजना गर्न तयार रहेको बताए ।

“आज म आफूलाई कतारी महसुस गर्छु” इन्फान्टिनोले भने “आज म अरब महसुस गर्छु। आज म अफ्रिकी महसुस गर्छु। आज म समलिङ्गी महसुस गर्छु। आज म एक प्रवासी कामदार महसुस गर्छु ।”

इन्फान्टिनोले आलोचनालाई ‘धम्की र भेदभावसँग सम्बन्धित’ भने । उनले स्विजरल्याण्डमा काम गर्न गएका इटालियन आमाबाबुको बच्चाको रूपमा अनुभव गरेको बताए ।

उनले युरोपेली राष्ट्रहरूले अहिले त्यहाँ काम गर्न चाहने आप्रवासीहरूका लागि आफ्नो सिमाना बन्द गरेको बताए । “जबकि कतारले भारत, बंगलादेश र अन्य दक्षिणपूर्वी एसियाली राष्ट्रहरूका कामदारहरूलाई कानूनी माध्यम मार्फत अवसर प्रदान गरेको छ” उनले भने ।

“कतारको विश्वकप स्टेडियमहरू निर्माण गर्ने आप्रवासी कामदारहरूले प्रायः कठोर परिस्थितिहरूमा लामो घण्टा काम गरेका थिए । उनीहरूमाथि भेदभाव, ज्याला ठगी र अन्य दुर्व्यवहारको शिकार भएका कारण उनीहरूका रोजगारदाताहरूले जवाफदेहिता अपनाएनन्, बेवास्ता गरे” लन्डनस्थित अधिकार समूह इक्विडमले यस महिना जारी गरेको ७५ पृष्ठको प्रतिवेदनमा भनेको छ ।

ठूलो अन्तर्राष्ट्रिय छानबिनको अधीनमा रहेर कतारले हालका वर्षहरूमा धेरै श्रम सुधारहरू लागू गरेको छ जसको इक्विडम र अन्य अधिकार समूहहरूले प्रशंसा गरेका छन्। तर अधिकारवादीहरु दुर्व्यवहार अझै व्यापक रहेको र कामदारहरूसँग समाधानका लागि थोरै उपायहरू रहेको बताउँछन् ।

फिफा अध्यक्षले पश्चिमी मिडियाबाट कतारको आलोचनाको बारेमा भने “विगत केही महिनाहरूमा मेडियामा जे राखिएको छ त्यो एकदमै अविश्वसनीय छ।”

तपाइँको प्रतिक्रिया