शुक्रबार, वैशाख ७, २०८१

सुशेका सुस्केराहरु

अनुराधा पौडेल२०७९ मंसिर ४ गते १:४६

Image- © Benoît Renevey / naturecommunication.ch

अनुराधा पौडेल

पाथ्रिकको घरबाट भिरालो सडक हुँदै हामी तल मोतानी फ्रे इभरदोँ  (Montagny-près-Yverdon)  भन्ने सानो शहर तिर झर्यौ जहाँ द्रुत गतिको राजमार्ग भेटिन्थ्यो । आँखा अगाडि ठीँग उभिएको सुशे (Le suchet) पर्वत देखियो । फेरी उतै जाउँ जाउँ भयो । किनभने पोहोर हामी यो पर्वतको शिखर पुगेका थियौँ । दलाइ लामाले कतै भनेका छन्, ‘वर्षमा एकपटक कहिल्यै नपुगेको ठाउँमा जानुपर्छ ।’ यसो भन्नुको मतलब नयाँ ठाउँले नयाँ कुरा सिकाउँछ भन्ने नै हो ।

कति मोहक थियो त्यो क्षण । पाथ्रिकले हामीलाई सुशेको ख्यातिप्राप्त रेष्टुरेन्टमा लगेका थिए र हाम्रा निम्ति पुरै एकदिन खर्च गरेका थिए । दिउँसोको खानपिन गरेर हामी माथि टुप्पोमा उक्लेका थियौँ । घुमेर हेर्दा क्षितिजमा जति हेरेपनि नसकिने र आँखा नदुख्ने दृष्य थिए । क्षितिज छेक्ने केहि थिएन । आम्मा नि ! हातमा लिइएको तासको खेलको पत्ता जस्ता हरिया र सेता पहाडहरु !

सुशेको उचाइ जम्मा एक हजार पाँच शय ८८ मिटर मात्र छ । नेपालमा यति उचाइ हुनु कुनै अनौठो होइन । किनभने नेपालमा यस्ता पहाडी इलाका धेरे छन् । समस्या नेपालमा यो छ कि पदयात्रा रोमान्चक हुन्छ भनि थोरैले मात्र जानेका छन् । युरोपमा पदयात्रा एक चलनको रुपमा स्थापित छ । पदयात्रा गर्ने भएरै होला फ्रान्सेली भाषामा एक भनाइ छ « Prendre de la hauteur » अर्थात (उचाइ लेउ) उन्नत र उच्च सोचाइ लेउ । किनभने माथि आकासबाट देखिने दृश्य फरक हुन्छ अर्थात माथि रहेपछि कुनैपनि कुरालाई अर्को नजरले देख्न सकिन्छ ।

फ्रान्स र स्विजरल्यान्डको सीमामा पर्छन् सुशे पर्वतका जराहरु । यसको टुप्पोनेरको भाग भने स्विजरल्यान्डमा पर्छ । यहाँ पुग्ने अनेकौँ पदमार्गहरु रहेछन् । फ्रान्स तर्फ जुनी अँ दु (Jougne en Doubs) बाट आठ घन्टाको पदयात्रा बढी चिनिएको रहेछ । स्विजरल्यान्ड तर्फबाट पनि थुप्रै मार्गहरु रहेछन् तर हामीहरु भिलार बुर्क्याँमा भएकोले भुतावफ हुँदै सिक्स फोन्तेनबाट (Six Fontaines) उकालो लागियो । शुरुमा पक्कि कच्ची हुँदै घुमाउरो र साँघुरो सडकमा गाडि मोड्दै मोड्दै पाथ्रिकले हामीलाई माथि लगे । खेतियोग्य जमिन, जंगल, चट्टान ठाडा भिराला र चरिचरन देखिँदै गयो । मानिसहरु नअलमलिउन् भनेर ठाउँ ठाउँमा चट्टानहरु खोपिएको थियो र तिनमा चिन्ह लगाइएको थियो । यसैगरी दिशा निर्देश गर्ने पहेँला बोर्डहरु पनि भेटिए । लौरोको सहायताले हिँडिरहेका प्रशस्त पैदल यात्रीहरु देखियो । भो (Vaud) क्यान्टोनको रान्स अन्तर्गत यसको शिखर जुरा पर्वत सृखलाका ४५ महत्वपूर्ण दृश्यवलोकन गर्ने पहाडि टाकुराहरु मध्ये एक हो ।

हुन पनि हामीहरु झर्दा हाम्रा अघि र पछि अरु पनि गाडिहरु थिए र फेदिमा आइपुग्ने बेला उकालो लाग्ने गाडिहरुसँग हाम्रो जम्काभेट भएको थियो । मानिसहरुको पहाडी बाटोमा मिलेर यात्रा गर्ने र अरुलाई पनि बिचार गर्ने उच्चकोटीको यो चेतना देखेर म नतमस्तक भएँ ।

हामीहरु १४८९ मीटर अग्लो र भिरालो जमीनमा रहेको शाले दु सुशे «chalet du Suchet »  भन्ने रात बस्न र खानपिन गर्न पनि पाइने रेष्टुरेन्टको पार्किङमा रोकियौँ । पाथ्रिकले भनेका थिए, ‘यहाँ आउने बेला मानिसहरुको धेरै आवत जावत नहुने समय छान्नु पर्छ किनभने बाटो एकातर्फ साँघुरो र कच्ची छ । दुइवटा गाडिको क्रस भयो भने माथि उक्लने र तल झर्ने दुवैलाई गाह्रो हुन्छ ।’ हुनपनि हामीहरु मध्यान्ह अगावै उक्लिरहेका थियौँ र साँझ पर्ने बेला झरेका थियौँ । पाथ्रिकका अनुसार लामा रात हुने गर्मीका दिनहरुमा मानिसहरु बेलुकाको सूर्यास्तको हेर्न काम सकिएपछि सपरिवार आउने या साथीहरुसँग आउने चलन हुन्छ रे । उनले हामीलाई बेलैमा झरौँ भने ।

हुन पनि हामीहरु झर्दा हाम्रा अघि र पछि अरु पनि गाडिहरु थिए र फेदिमा आइपुग्ने बेला उकालो लाग्ने गाडिहरुसँग हाम्रो जम्काभेट भएको थियो । मानिसहरुको पहाडी बाटोमा मिलेर यात्रा गर्ने र अरुलाई पनि बिचार गर्ने उच्चकोटीको यो चेतना देखेर म नतमस्तक भएँ ।

सुशेको यो रेष्टुरेन्ट मे देखि अक्टोबर महिनासम्म खुला हुने रहेछ । बाँकी समय हिँउ पर्ने र वर्षादको सिजन हुने भएकोले यो पहाडको एकमात्र रेष्टुरेन्ट बन्द हुँदो रहेछ । गाइको टाउकोको सेतो चिन्ह भएको रातो झन्डा फिरफीर गरिरहेने यो रेष्टुरेन्टमा स्थानिय चिजका परिकारहरु पाइने रहेछन् । यसको वार्दलीमा बसेर खाना खानेको भिड बाक्लो हुनेरहेछ ।

पोखराको सराङकोट उक्लिएको जस्तो भान पर्ने यो ठाउँमा हामीले जडिबुटी मिसिएको बास्नादार पग्लिएको चिज र आलुको परिकार माग्यौँ । मानिसको बाक्लो भिडमा हामीले कुर्नै पर्यो । हाम्रो खाना आइपुग्दा भने जडिबुटी मिसिएको नभै सादा पग्लिएको चिज आइपुग्यो । पग्लिएको चिजमा राम्रोसँग पाकेको आलु र रोटीका टुक्राहरु चिजसँग बेर्दै खाँदै गयौँ । हामीलाई लाग्यो, पग्लिएको चिजको पुछारमा जडिबुटी भेटिनेछ तर भेटिएन ।

एक राम्रो यात्रीको म यहाँ नै जान्छु र यही नै देख्छु भन्ने हुँदैन ।

खाना ल्याइदिने महिला बेयरालाई भनौँ कि नभनौँ जस्तो लागेको थियो । तर फ्रान्सेली भाषामा « Entre la poire et le fromage » » भन्ने उक्ति छ । यसको अर्थ खुसीसाथ खाना खाएपछि खुलेर कुरा गर भनेजस्तै हो ।

कुरा गरेपछि थाह भयो, हाम्रो खाना अर्को टेबुलमा र अर्कोको खाना हाम्रो टेबुलमा आएछ । हाम्रो खाना खाने पल्लो टेबुल र उनीहरुको खाना खाने हाम्रो टेबुलका एक दर्जन आँखाहरु जुधे र हाँसो चल्यो । जडिबुटी मिसिएको पग्लिएको चिज चाख्न नपाइपनि हामीले त्यहाँको स्विस चिजको परिकार अत्यन्त स्वादिलो पायौँ । मेनु धेरै ठूलो थिएन । स्थानिय वाइनसँग बफाएको बँदेलको मासुका ससाना टुक्राहरु, सलाद या जडिबुटीमा मिसाएको चिज, रोटी र आलु नै मुख्य परिकार रहेछ । यो खाना स्विजरल्यान्डको विशेषता पनि हो । हामीले खाएको सादा चिजको परिकार स्वादिलो थियो । पाथ्रिकले हामीलाई पहाडका टाकुरामा चरेका गाइहरुका दुध र चिज मिठो हुन्छ भने।

खाना खाइरहँदा रेष्टुरेन्टको वातारणमा स्वतन्त्रता र स्वछन्दता अनि हँसिमजाकको हावा वहिरहेको अनुभव भयो । कोही लौरी टेक्दै, कोहि गाडिमा धमाधम आइरहेका छन् । कोही प्याराग्लाइडिङ गरिरहेका छन् । कोही गाइ धपाइरहेका छन् । कोही वल्लो डाँडाबाट उक्लिरहेका, कोही झरिरहेका । सबैको एक बिसौनी घर जस्तो त्यो रेष्टुरेन्ट। त्यसमा पनि गाइहरुका घन्टीका रालोहरुले बिभिन्न स्वर उरालिरहेका । तल फाँट खुलेको माथि आकाश !

खाना खाएपछि हाम्रो जोडी माथि टुप्पो तिर लाग्यो । उ त्यहि त्रिकोण परेको ठाउँ नै यसको चुचुरा हो भनेका थिए पाथ्रिकले । तलबाट हेर्दा १५ मिनेटमा पुगिएला जस्तो थियो तर माथि जान त गाह्रै पो रहेछ त, ठाडै भएकोले ।

जुराका शिखरहरु रोमान्चकताका प्रतिक हुन् भने यसको पाउका फाँटहरु सृंगारहरु हुन् । शोभा हुन् ।

बाटोमा स्थानिय गोठालासँग संवाद गरेँ । उनका अनुसार मे देखि अक्टोबरसम्म तल बेसीको फाराममा रहेका गाइहरु यहाँको पखेरामा ल्याएर छाडिन्छ रे । दुधालु गाइहरु भए तलै फाराममै राख्ने र स्याहार्ने र दुहुने रहेछन् । ति बकेर्ना भएपछि दुध कम हुन थालेपछि बाच्छा बाच्छी सहित माथि ल्याउने चलन छ रे । माथि बस्नेले अलि अलि दुहुन मन लागे दुह्यो नत्र बाच्छा बाच्छीले नै थुन तान्ने रहेछन् । भर्खर गर्भवती भएका र अलि बृद्दा भएका अनि बहरहरु पनि माथि नै छाडिने रहेछ । यसरी चरेका बहरहरुको मासु महँगो र स्वस्थ हुन्छ भनेर उनले जानकारी दिए।

माथि चरन फराकिलो भएपनि त्यस्तो साँघुरो बाटो गाइ कसरी आइपुग्छन् भनेर सोध्दा थाह भयो, गाइ ओसार्ने ट्रकहरुले बिस्तार बिस्तार ल्याउँछन् रे । र यसको लागि सरकारको अनुदान मिल्छ भन्ने सुनाए । यसरी छाडिएका गाइहरु आफैँ चर्ने र आफैँ भकारोमा जाने रहेछन् । गाइ गोठालाले बेला बेलामा पानी पुगे नपुगेको, केहि गरी घाँस पुगे नपुगेको हेर्ने, बाच्छा बाच्छिहरु कतै अड्किए भने तिनलाई निकाल्ने रहेछन् । गाइहरु मनलाग्दो तरिकाले नहिँडुन् भनेर बिजुलीका तारको बार लगाइएको हुने रहेछ । जुन गाइ तार काटेर बाहिर जान खोज्छ उसलाई हल्का बिजुली झड्का लाग्दोरहेछ ।  उच्च भूभागमा पानीको अभाव हुने भएकोले जाडो यामको हिउँ र पानी संकलनका लागि ट्यांकी बनाइएको हुने रहेछ ।

ससाना बुट्यानमा फुलेका हिमाली फूल, चराहरु र किराहरु हेर्दै शिखरमा पुग्यौँ । शिखर पुगेपछि भने एक अलौकिक दृश्य देखियो । तीन सय ६० डिग्रीको कोणमा । जता घुमे पनि छेकिने र छेक्ने दृश्य केहि बाँकी थिएन । थियो त सबै कुरा हामी भन्दा मुन्तिर ! हामीले त्यहाँबाट एगुइ द बोल्म (Aiguilles de Baulmes),  दँ द भोलियोँ (Dent de Vaulion), ला दोल (La Dôle), र शास्सरोँ (Chasseron) का चुचुराहरु देख्यौँ । । जुन चुचुराहरु सुशे भन्दा अग्ला त थिए तर टाढा भएकोले हाम्रै धारमा देखिन्थे ।

शास्सरोँ को फेदी तिर पर्छ जेनेभा शहर । आँखा अगाडि भने युरोपको अग्लो हिमाल मोँ ब्लँ दिउसोको घाममा चम्करहेको थियो । तल नुशातेल ताल, यसको नजिक रहेको मर्टन ताल र जेनेभा लेक अर्थात लेमन तालको एक खण्ड पनि हामीले देख्यौँ । हामीहरु यति भाग्यमानी थियौं कि पानी परेपछिको दोस्रो या तेस्रो दिन माथि उक्लन पाएका थियौं । यो बाहेक फ्रान्स तर्फ निकै हरियो वन र ताल देखियो । संभवत त्यो ताल सँ पोँ (Lac Point-Saint ) थियो कि !

हामीले अरु ससाना फ्रान्सेली शहरहरु पनि देख्यौँ । तर ति के थिए चिन्न सकेनौँ । संभवत त्यहाँबाट पोँतालिए या मेताबफ या फ्रुज भन्ने शहरहरु देखिदोँ हो तर हामीलाई चिनाइदिने कोही भएन । फेसन डिजाइनरले फेसन डिजाइन निकाले जस्ता किसिम किसिमका भूनोट र बस्तीहरु देखियो ।

जुरासीक कालको चुनढुंगा र त्यसका पहाडमाथि अवस्थित यसको बनौट जुरा पर्वत सृङ्खलाहरुका अरु पर्वतहरु जस्तै रहेछ । जुरा पर्वतको विशेषता भनेको वर्षातको पानी सोस्ने क्षमता मात्र होइन पानी भण्डार गर्ने क्षमता बलियो हुन्छ । मुल फुटेर बग्ने पानीको गुणस्तर पनि राम्रो हुने । ताल तलैया र हरियाली पनि प्रशस्त हुन्छ । जसले गर्दा खेतीपाती गर्दा पानीको अभाव नहुने रहेछ । यो सृंखलाका बारेमा धेरै डकुमेन्ट्रीहरु देखिन्छ फ्रान्समा । यसको भूगोल र बनौट हेरेपछि मलाइ यसका काँठमा सदियौँ देखि मानिसहरु बस्नुको कारण बुझे जस्तो लाग्यो । त्यो के भने पानीको अभाव नहुने । खेती हुने ।

जुराका शिखरहरु रोमान्चकताका प्रतिक हुन् भने यसको पाउका फाँटहरु सृंगारहरु हुन् । शोभा हुन् ।

नेपालका पहाडी शिखरहरु जुराको भन्दा फरक छन् जस्तो लाग्छ । भिराला जग्गाहरुमा खेतिपाती हुन्छ तर वर्षातको पानी जोगाउने उपायहरु प्रयोगमा छैनन । पानी नभएपछि एक याम बाहेक खेती हुँदैन र गरिवी व्याप्त छ । पहाडि शिखरहरु काला चट्टान र ठाडा पहराहरुले बनेका छन् र पहाडमा वर्षातमा धेरे पहिरो जान्छ ।

त्यो रोमान्चक यात्रा संझँदै मैले द्रुत राजमार्गमा गाडी हुलेँ । भनाइ नै छ नि “एक राम्रो यात्रीको म यहाँ नै जान्छु र यही नै देख्छु भन्ने हुँदैन ।” जान खोजेको त “ब्लाटेन” हो, तर यहि बाटो छिचोल्दा सुशेलाई बिर्सन सकिएन ।

राजमार्ग छिरेपछि भने मलाइ स्विजरल्यान्डको द्रुत राजमार्ग प्रयोग गरेवपातको स्टिकर किन्नु थियो । हामी तेल भर्ने र चिया पिउने ठाउँमा रोकियौँ जहाँ हामीले स्विस चीजहरु पनि बेच्न राखेको देख्यौँ ।

क्रमश :

(दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

तपाइँको प्रतिक्रिया

फेसबुक