सोमबार, मंसिर १९, २०७९

यसकारण रविको उदय

शशि ढकाल / कोपनहेगन, डेनमार्क२०७९ मंसिर ८ गते १२:१२

पुराना राजनैतिक पार्टीको राजनैतिक (अनैतिक) संस्कारबाट वाक्क दिक्क नेपाली समाज अब नागरिक हस्तक्षेप मार्फतनै राजनिती परिवर्तन गर्ने सोचमा पुगेको छ । हिजो क्रान्तिको लागि युवाहरु उचालेर आन्दोलन गरेको पुस्ताले राजनितीलाइ सेवा भन्दा पेशा मान्दै राजनीतिनै कमाउने र आम्दानि गर्ने माध्यम बनाएपछि विभिन्न पेशामा आफ्नो दरिलो उपस्थिती जनाएका युबाहरु आज आफ्नो पेशालाई केहि क्षण थाति राख्दै राजनितीमा हस्तक्षेप गर्न आइपुगे । त्यसैको दरिलो प्रमाण हुन् रवि लामिछाने ।

यो निर्वाचनमा रवि लामिछानेको दरिलो उपस्थिति भनेको राजनीतिक दलका नेताहरूसँगको वितृष्णा मात्रै कारक तत्व मान्नु गलत हुने छ । प्रजातन्त्र जनताद्वारा, जनताकालागि भनिन्छ । यस पद्दतीमा जनताले आफ्नो गुनासो सुनुवाई हुने अपेक्षा राखेका हुन्छन । तर जनताले विश्वास गर्ने नेता, कर्मचारी, न्यायालय, प्रहरी राज्यका सबै निकाय निकम्बा हुनेगरी राजनैतिक भर्ती केन्द्र बन्न थाले पछि रवि लामिछाने एउटा टेलिभिजन प्रस्तोताका रूपमा यी र यस्ता बिकृती बिरुद्ध चिच्याइचिच्याइ बोल्न थाले । मर्का परेका मानिसको कुरा टेलिभिजनबाट प्रत्यक्ष सुन्ने र त्यससँग सम्बन्धित अधिकारिहरुको प्रतिक्रिया अपराधीलाई केरकार पारेजसरि टेलिभिजनमा नै प्रत्यक्ष प्रसारण गर्ने उनको शैलीले जनमानसमा जुन प्रभाव पर्यो त्यसैको बलमा उनि राजनीतिमा होमिए । जनता न्याय नपाउने कुराबाट दिक्क भईसकेको बेलामा भुइमान्छेको कुरा उनले राष्ट्रिय टेलिभिजन मार्फत नै बोलिदिए । त्यसपछि यहाँका जनताले मुलुकको नेता, अदालत, प्रहरी प्रशासन भन्दा एउटा टेलिभिजन पत्रकारप्रति जुन विश्वास देखायो त्यो नै चुनाब मार्फत मतमा बदलियो ।

रविले त्यस्तो ठूलो गरेको केहि होइन । समाज बदलेकापनि होइनन् । तर एउटा पत्रकार भएर पनि आफैं एक्सनमा आए । उनले फिल्मी शैलिमा नेता, अदालत, प्रहरी, अख्तियार सबै बने । राज्य मुकदर्शक भईरहेका बेला उनले हस्तक्षेप गरे । उनको बुताले जे सक्थ्यो त्यो गरे जुन राज्यले गर्नुपर्थ्यो तर गरिरहेको थिएन । जनता अन्याय र अत्याचारमाथि राज्यले जुन हस्तक्षेप चारहेका थिए, जुन न्याय मागिरहेका थिए त्यसैलाई रविले चपक्क समाते ।

उनैले वैदेशिक रोजगारमा अन्यायमा परेकाको उद्दार राज्यको दायित्व थियो । राज्यले नागरिकबाट अनेक शिर्षकमा दाम असुलेरपनि बैदेशिक रोजगारका क्रममा अन्यायमा परेकालाई गरेन । गरिरहेको थिएन । तर जनताबाट केहि नलिकनैपनि सित्तैमा रविले धेरैलाई उद्दार गरे । दलल र मानवतस्करको जालोमा भित्रै पसेर सानै भएपनि धावा बोले जसले भूकम्पको ठूलै झड्का दियो । भ्रष्ट्राचार गर्नेलाई कार्वाही गर्नैपर्ने बाधयता स्रिजना गरिदिए । यसरी रवि सर्वसाधारणको नजरमा प्रहरी, अख्तियार, न्यायलय बन्न पुगे ।

यसै सिलसिलामा उनले एउटा टेलिभिजन नै स्थापना गरे र त्यसैको कार्यकर्ममा जुटिरहे । यता गत स्थानीय निर्वाचनमा बालेन, हर्क साङपाङ र गोपाल जस्ता स्वतन्त्र ब्यक्तिहरु राजनीतिमा दलाल वर्गको उपस्थितिलाई निरुत्साहित गर्न उभिएकै थिए । र राजनीतिक दलसँगको जनताको वितृष्णालाइ उजागर गर्दै राजधानी जस्तो महत्वपूर्ण ठाउँमा उदाए ।

रवि लामिछाने केहि अघिसम्म भन्दै थिए ‘मेरो कर्म टेलिभिजन हो । यसमा बसेर नै मैले देशको लागि सक्दो योगदान दिने हो । जो जहाँ छ त्यहीँबाट देशको लागि इमान्दारीका साथ सहि कर्म गरौं । उनले त्यसो भन्दै बिकृतिको बिरुद्ध चिच्याईरहे । तर उनको चिच्याहटलाइ सरकारमा पुग्ने हरेकले नजरअन्दाज गरिरहे ।

बरु उनलाई विभिन्न विवादमा फसाउने काम जतातैबाट भईरह्यो । उनको यो पत्रकारिता मुलधारका पत्रकार भनिने केहीलाई निकै बिझायो पनि । उनीहरुले यसमा पत्रकारिताको नैतिक मूल्य मान्यता खोजेर चुनौती नै दिए । उनी गुप्त क्यामेरा बोकेर अनेकौं स्ट्रिंगअपरेसनमा सामेल भए । ट्याक्सी ड्राइभर बनेर अनावस्यक टोल उठाउनेको स्ट्रिंग अपरेसन गरे भने शिक्षक बाटै लुटिएकी चेलीलाई स्ट्रिंग अपरेसन मार्फत नै न्याय दिलाउन सफल भए । यसले जनतामा आशा, भरोसा र विश्वाश जगायो ।

गत स्थानीय चुनाबमा परिवर्तनको नारा दिदै पत्रकारितामा होमिइरहेका उनि राजधानीमा स्वतन्त्रबाट बालेन साहले मेयरको उमेद्वारी दिइ सफलता हासिल गरेपछि हौसिए । त्यसपछि सायद अब युवाले राजनीतिमा हस्तक्षेप गर्नुपर्ने निस्कर्ष निकाले। र संसदीय निर्वाचनको केहीअघि मात्रै आफ्नो अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे । उनले पार्टी गठन गरेको केहि समयमा नै सो पार्टीले देशैभर एक प्रकारको हलचल मच्चायो । हालको संसदीय चुनाबमा अप्रत्यासित भोट समेत पायो ।

जनता पुराना दल र बुढा नेताको बिकल्प खोजिरहेका थिए । यो चुनावले दिएका अत्यन्तै सकारात्मक पक्ष भनेको युवाहरुको दरिलो हस्तक्षेप नै हो चाहे डँडेल्धुराबाट बर्तमान प्रधानमन्त्रीका बिरुद्ध युबा इन्जिनियर सागर ढकालको उमेद्वारी होस् वा काठमाण्डौंबाट ओनसारी घर्ती मगर बिरुद्ध सोबिता कार्कीको विजय । वा ललितपुरमा बर्तमान मन्त्रि पम्फा भुसाल विरुद्ध डा तोसिमा कार्कीको विजय नै । यसले पैसा र बाहुबलको राजनीतिक अभ्यासलाई अस्वीकार गदै उम्मेदवार छनोटको निश्चित मापदण्ड तोक्न बाध्य बनाएको छ ।

केहि न केहिका नेतालाइ राजनेता, महान नेता वा कुनै दिने पद नभए बरिस्ठ नेता भनिंदै छ । अनेक सम्वोधनले उँचो पारिँदै छ । भान्छाबाट बाथरुम समेत अरुले समातेर लगिदिनु पर्ने नेताहरु आफ्ना केहि लम्पट कार्यकर्ताहरुको घेरामा बसेर उनीहरुकै कुरा सुन्दै त्यसैको आधारमा जनताको अवमूल्यन गरिरहेका थिए । उनीहरुले यो नागरिक हस्तक्षेप अर्थात सिटिजन्स इन्टरभेन्सनको अर्थ कहिले बुझ्ने ? अझै पनि “हामीले राम्रो पकड बनाएका छौं, हजुर ढुक्क हुनुहोस । अलि खर्चको ब्यबस्था चाहिँ भए हुने” भन्ने लम्पट कार्यकर्ताको माझमा दिउँसो साँझ ठेकदार, दलालहरुसँग रात्रि भोज गर्ने नेताहरु अब पाखा लाग्ने छन् आगामी ५ वर्ष भित्र । हो, यो हो सिटिजन्स इन्टरभेन्सन भनेको जसको सुरुवात बालेन र हर्क साङपाङहरुले गरेका थिए रविले आकार दिँदै छन् ।

तपाइँको प्रतिक्रिया