बिहीबार, वैशाख १३, २०८१

रसिया र युक्रेनद्वारा बन्दी साटासाट : शान्तिवार्ताको संकेत ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ मंसिर ९ गते ०:५५

बिहिवार नोभेम्बर २४, २०२२ मा जापोरोजिया क्षेत्रमा सटासाट पछि युक्रेनी युद्ध बन्दीहरू फोटो खिचाउँदै । फोटो- प्रेस सर्भिस अफ युक्रेन्स मिलिटरी इन्टेलिजेन्स रोटर्स मार्फत्

ब्यापकरुपमा युद्द चर्किरहेका बेला अकस्मात रुस र युक्रेनले एक अर्काको देशबाट बिहिवार बन्दी साटासाट गरेका छन् ।

दुबै देशले युद्धका कैदीहरूको शृङ्खलामा पछिल्लो कार्य भन्दै ५० जनाका दरले बन्दी साटासाट गरेका हुन् ।

रुस र युक्रेनका अधिकारीहरूले भनेका छन्, “रसिया र युक्रेनले युद्धको आदानप्रदानको शृङ्खलामा दुवै पक्षले ५० जनालाई एक अर्को देशलाई हस्तान्तरण गरेका छन् ।”

रुसको रक्षा मन्त्रालयले युक्रेनले पक्राउ गरेका ५० रुसी सैनिकलाई रिहा गरेको जनाएको छ ।

युक्रेनी राष्ट्रपति प्रशासनका प्रमुख एन्ड्री येर्माकले टेलिग्राममा भनेका छन् “युक्रेनले ४८ सैनिक र दुई अधिकारीहरू प्राप्त गरेको छ जसमा जलसेवा, स्थल सेना, सीमा रक्षक र क्षेत्रीय रक्षाका सदस्यहरू छन्।”

“हामीले मारिउपोलका १९ रक्षकहरू … साथै चोर्नोबिल आणविक उर्जा केन्द्रबाट १५ जना (युद्धका) बन्दीहरू र ज्मीनी टापुबाट सात जनालाई फिर्ता ल्याउन सफल भएका छौं” येर्माकले भनेका छन् ।

“रुस र युक्रेनले बिहीबार एक अर्कालाई ५० जना युद्धबन्दी हस्तान्तरण गर्नेछन्” भन्ने सन्देश युक्रेनको डोनेट्स्क क्षेत्रका रुस समर्थित प्रशासक डेनिस पुशिलिनले टेलिग्राम सन्देश सेवामा बिहान करिब ११ बजेतिर भनेका थिए । त्यसपछि यो खबरले धेरैलाई हर्षित बनाएको थियो ।

बन्दी साटासाट गर्ने बिहिवारको यो घटनाले रुस-युक्रेनबिच शान्ति वार्ता हुनसक्ने अड्कलहरु काटिएको छ । युरोपका केहि मेडियाले यसलाई शान्तिवार्ताको प्रयास र केहिले शान्तिवार्ता भित्रभित्रै भैरहेको संकेतका रुपमा ब्याख्या गरेका छन् ।

करिब दुई साता अघि युक्रेनका राष्ट्रपती भोलोदोमिर जेलेन्स्कीले युरोपेली राष्ट्रप्रमुखहरुलाई यहि वर्षको अन्त्यसम्म युद्द समाप्त गरिदिन आग्रह गरेको समाचार बाहिरिएको थियो ।

त्यसपछि रुसी राष्ट्रपती भ्लादिमिर पुटीनले शान्तिवार्ताका लागि राष्ट्रपती जेलेन्स्कीले राजिनामा दिनुपर्ने माग अगाडि सारेको समाचारपनि सार्वजनिक भएको थियो ।

फ्रान्सेली मेडियाहरुले फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले भ्लादिमिर पुटीनसित वार्ता जारि राखेको बताउँदै आएका छन् ।

थाईल्याण्डको राजधानी बैंककमा गत साता सम्पन्न २१ औं एसिया-प्रशान्त आर्थिक सहयोग (एपिईसी) शिखर सम्मेलनमा भाग लिन पुगेका बेलापनि रुस-युक्रेन शान्ति वार्ता हुनुपर्ने दोहोर्‍याएका थिए । सो अवशरमा माख्रोंले सो सम्मेलनबाट फर्किएलगत्तै आफूले रुसी राष्ट्रपती पुटीनसित वार्ता गर्ने बताएका थिए ।

इन्डोनेसियामा सम्पन्न जी–२० समूहका नेताहरूको शिखर सम्मेलनको क्रममापनि रुस-युक्रेन बार्ता हुनुपर्ने र युद्द टुंग्याउनुपर्ने मुख्य विषय उठेको थियो । सो सम्मेलनमा फ्रान्सेली राष्ट्रपती माख्रोंले चीनीया राष्ट्रपती सि जिनपिङलाई रुस-युक्रेनबिच वार्ता र युद्द टुंग्याउन सहयोगको प्रस्ताव गरेका थिए ।

रुसले कब्जामा लिएको खेरसन क्षेत्रबाट आफ्ना सेनाहरु अघिल्लो साताबाट अकस्मात हटाएदेखिनै भित्रभित्रै रुस-युक्रेन शान्ति वार्ताको संभावनालाई औंल्याइएको छ ।

मेडियाहरुले आँकलन र संभावनाका संकेतहरु भन्दै उल्लेख गरेपनि शान्ति वार्ता हुनलागेको हो भन्नेमा किटानीकासाथ कुनै पनि देशका राष्ट्रप्रमुख वा औपचारिक निकायबाट भने पुष्टि गर्न सकेका छैनन् ।

रुसी क्षेप्यास्त्र प्रहारले देशभर ऊर्जा पूर्वाधार ध्वस्त पारेपछि युक्रेनी ऊर्जाकर्मीहरू ऊर्जा पुनर्स्थापना गर्न दौडिरहेको र लाखौंलाई विद्युतविहीन बनाएको बेला बन्दी मुक्त गर्ने घटना भएको हो ।

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले रुसलाई “जाडो यामलाई हतियारका रुपमा प्रयोग गरेको आरोप लगाएकि थिईन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आतंकको सूत्र भन्दै रुस विरुद्ध संयुक्त राष्ट्र संघले तत्काल कारबाही गर्न यसै साता आह्वान गरेका थिए ।

तपाइँको प्रतिक्रिया