सोमबार, माघ २३, २०७९

घण्टी बज्नुको तात्पर्य

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ मंसिर ९ गते २०:३५

अपत्यारिलो ढंगले संसदिय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ । नेकपा एमालेबाट फुटेर गएको समाजवादी र जसपा भन्दापनि उसको मत अगाडि देखिएपछि राजनितिक धरातलमा एक खालको भूकम्पनै ल्याइदिएको छ । कहिल्यै चर्चामा नदेखिएको, राष्ट्रिय राजनितिमा सहभागि नभएको र निर्वाचनको अनुभवसमेत नभएको यो पार्टी कसरि एक्कासि लगभग चौथो राष्ट्रिय दल बनाउने हैशियतमा पुग्यो ? केहिले यसलाई लोकप्रियताको मत भनेका छन् । के राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रियताकै धरातलमा मत पाएको हो त ? वा पुराना राष्ट्रिय पार्टीहरुको अलोकप्रियता र असन्तुष्टीको मत पाएको हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत राजनितिक यथार्थताको धरातलमा तौलिएर हेर्दा कसैगरिपनि लोकप्रियताको जगमा उभिएको देखिन्न । हुन त यसका समर्थकहरुलाई यो नपच्न सक्छ । नपच्नु एउटा पाटो हो । तर यथार्थता के हो भने यो पार्टी लोकप्रिय हुने आधार, ईतिहास र धरातलनै छैन । किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जनजिवनमा सकारात्मक परिवर्तन हुनेगरि केहि काम गरेकै थिएन, छैन ।

संसदिय निर्वाचन घोषणा भएकोपनि निकै समयपछि निर्वाचन आयोगमा नयाँ दलका रुपमा दर्ता यो पार्टीले बिगतमा जनताको आम जनजिवनमा सकारात्मक परिवर्तन ल्याउनेगरि केहि काम गरेको हुनेनै भएन । तर यो पार्टीका अध्यक्ष रवी लामिछानेले एकल प्रयासमा टेलिभिजन मार्फत सामाजिक परिवर्तन खासगरि दुखी, हेपिएका, र अझ खासमा ठगिएका नेपालीको आवाज बोले । त्यहि आवाजलाई लोकप्रिय उनको आफ्नै सञ्चार माध्यमले नगदि गर्न सफलपनि भयो ।

रवी लामिछानेले जस्तै जनताको सरोकारका विषय उठाउने, समाजसेवा गर्ने र जनताको आवाज बोक्ने अरु कोहि नभएकै भने होइनन् । तर तिनले रवीलेझै राष्ट्रिय सञ्चार माध्यममा स्थान पाएनन् । रवीले पाए । उनी एक सञ्चारकर्मी भएकाले यस्ता घटनालाई कसरि उजागर गर्नुपर्छ भन्ने ज्ञान र पहुँचपनि उनीसित थियो । अक्किल, सिप र आँटपनि थियो । अ मेरिका छोडेर नेपाल फर्किएकाले केहि गर्नै पर्ने चुनौतिपनि थियो । त्यो लोकप्रियतालाई रवीले चलाखिपूर्ण किसिमले उपयोग गर्न सफल भए । त्यो चुनौतिपनि मोल्न तयार भए ।

यसको अझ महत्वपूर्ण पाटो के हो भने लगभग तीन दशकभन्दापनि अझै लामो समयदेखि देशमा पटक पटक सरकार बनाएका राष्ट्रिय दलहरुको असक्षमता र निरिहता। राष्ट्रिय दलहरुले ब्यवस्था त जनताको बलमा बदले । तर जनतालाई ब्यवस्था र सरकार बदल्दा दिएका आश्वाशन कुनैपनि पुरा गर्न सक्षम देखिएनन् । जनतालाई निराश बनाए । राष्ट्रिय पार्टीहरु जसरि हुन्छ सरकार गिराउने र एक पछि अर्को नयाँ नयाँ दलसित समिकरण गर्दै सरकार बनाउँदै गरे । जनताका दैनिक जिवनका सरोकार सधैं कुल्चने प्रयास गरे । जनचासोका विषय गौण र सत्तामा पुग्ने ध्येय प्रमुख बन्दै गयो । हो यहि निराशाले घेरिएका जनातले ‘आखिर गर्ने कसैले होइन, हेरौं नत एक पटक’ भनेर घण्टी बजाएका हुन् ।

घण्टी बज्नुको अर्थ यो राष्ट्रिय राजनिति बुझेको, राष्ट्रिय मुद्दा र सरोकारमा धार स्पष्ठ र उसका नितिहरु स्पष्ठ भएरपनि होइन । यो मत राष्ट्रिय राजनिति बुझेकाकोपनि होइन । किनभने स्वतन्त्र राष्ट्रिय पार्टीले धर्म निरपेक्षता वा हिन्दू राष्ट्र, राजन्तन्त्र वा संघिय गणतन्त्र लगायतका विषयमा स्पष्ठ पारेको पनि छैन । त्यसैले यो पार्टीले ति विषयमा कुन धार समात्छ भन्ने अझै प्रष्ट छैन । जनताले यसमा खासै सरोकारपनि दिएनन् । त्यो किनभने गणतन्त्र, संघियता आएपनि नेता, तिनका आफन्त, हुनेखाने वर्ग र सत्तामा राइँदलो गर्नेकालागि मात्रै हुने रहेछ भन्ने बुझे । राष्ट्रिय दत र नेताले ब्यवहारमै जनतासमक्ष यहि सिद्द गरे । त्यसैले जनताले राष्ट्रिय मुद्दा भन्दा आफ्ना बोली, आफ्ना सरोकारका विषय र समाजमा सानोतिनो भएपनि परिवर्तनको नारा कसले बोकेको छ भन्ने आँखाले हेरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सबैभन्दा ठूलो मत त गठबन्धन गरेका पाँच दल, राप्रपा र एमालेको असन्तुष्टी बिचको हो । त्यसलाई यसरि सजिलोसित बुझ्न सकिन्छ-

-एमालेले वामपन्थि दल फुटायो त्यसलाई दिन्न- घण्टी

-बामपन्थीलाई लखेटेर राप्रपासित मिल्ने ? त्यसलाई त दिन्न-घण्टी

-कांग्रेसले भन्दैमा म कसरि माओवादीलाई भोट दिउँ- घण्टी

-हिजो हामीलाई सबैभन्दा बढी दुख कांग्रेसले दिएको हो कसरि कांग्रेसलाई दिने? दिन्न- घण्टी

-राजतन्त्र त कुनै हालतमा ल्याउनै हुन्न, कसरि राजतन्त्रका पक्षधरलाई भोट दिने ?-घण्टी

-वाम गठबन्धन तोडेर कांग्रेससित मिल्ने माओवादी त हुँदैहुन्न- घण्टी

-यो समाजवादी दल नेकपा एमालेबाट छुट्टिएर कांग्रेससित पो मिलेको छ कसरि पत्याउने ?- घण्टी

-माधव नेपाल पद नपाएर हिँडेका हुन्- घण्टी

समग्रमा भन्नुपर्दा प्रमुख राजनितिक दलभित्र एकता गर्न नहुने कार्यकर्ता र असन्तुष्ट जनताको मत ‘बरु घण्टीलाई दिन्छु’ भन्दै परेको हो । त्यसैले यो असन्तुष्टीको मत हो । बिचार, द्रिष्टिकोण, आचरण, राजनितिक दस्ताबेल कहिँकतै मेल नखाने दलबिच गठबन्धन गर्दा ति पार्टीका कार्यकर्तालेपनि ईतर पार्टीलाई मत दिन चाहेनन् र तिनले घण्टी बजाए ।

त्यसो त, घण्टी बज्नुको अर्को कारणपनि छ । अमेरिकाको पासपोर्ट त्यागेर नेपाली राजनितिमा होमिएका रवी लामेछानेलाई जसरि राष्ट्रिय दलहरुले दुख दिने, हतोत्साहि बनाउने र निर्वाचनका क्रममा हातपातको प्रयास गरे । त्यसलेपनि आम मतदातामा आक्रोश स्रिजना गरिदियो । जनताकालागि केहि गर्छु भनेर उत्रिएको एक युवामाथि पार्टीका कार्यकर्ता र नेता किन यति धेरै खनिएका छन् ? जनताले हरेक घटना नियालीरहेकै हुन्छन् । मिलेर भागवण्डा गर्ने र सत्तामा फेरिपनि लुट मच्चाउनकालागि राजनितिमा कसैलाई प्रवेश गर्न नदिने षडयन्त्र चालेका हुन् भन्ने मनशाय जनतामा पर्‍यो । यो ३० वर्षमा नेता र अहिलेका राष्ट्रिय दल मिलेर जति अन्याय, अत्याचार गरे, जुन लुट मच्चाए, संसदिय ब्यवस्थालाई जति बदनाम गरे त्यो हदको काम त लामिछानेले गरेका छैनन् । तैपनि किन उनीबिरुद्दनै खनिए नेता ? तिनका कार्यकर्ता ? जनतामा यो भावनाको विकासनै राष्ट्रिय पार्टीहरुले गरिदिए । अर्थात् रवीलाई लोकप्रिय बनाउने कामनै दल, नेता र कार्यकर्ताले गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मतदातामा बढी युवायुवतीहरुको आकर्षणपनि अलि बढी देखिन्छ । यो राष्ट्रिय दलहरुले देश निर्माण गर्ने युवा वर्गलाई दिएको निराशाको परिणामपनि हो । युवाहरु देशको वर्तमान देखेर आजित छन् । भविष्य देखेर चिन्तित छन् । अमेरिका जस्तो सबैको आकर्षणको देश छोडेर नेपाल बनाउँछु भन्दै आएको युवा नेताले केहि गर्ला, युवा भएकाले युवाहरुको मनशाय बुझ्ला भन्ने बिश्वाशपनि धेरैमा देखिन्छ । हाम्रै राष्ट्रिय पार्टीहरुको कमजोरीको परिणाम हो ।

देशको संभवत सबैभन्दा ठूलो समस्या भ्रस्टाचारनै हो । भ्रष्टाचारले गाँजेको मुलुकमा विकसित देशको नागरिकता त्यागेर आउने ब्यक्तिले पक्कै भ्रष्टाचार गर्दैन । पैसानै कमाउने भए ऊ अमेरिकानै बस्दो हो । भ्रस्टाचार मात्रै नगरेपनि मुलुक अगाडि बढ्छ भन्ने बुझाईपनि धेरैको देखिन्छ ।

ठूला महँगा हलहरु लिने, महँगा होटेलमा भोज र सभा गर्ने पारा रवीले निकालेनन् । उनी गाउँमै गएर सामान्य ढंगले कार्यक्रम गरिरहेका छन् । चुनावी सभा तडकभड हुने गरेको छैन। चन्दा असुलीको धन्दामा हात हालेका छैनन् । यस्ता सानातिना लाग्ने तर जनतालाई छुने ब्यवहारलेपनि रवीको घण्टी धेरैलाई आकर्षण बन्यो ।

घण्टीले पाएको मत भनेको निकै ठूलो भेल र बाढीले धकेल्दै ल्याएर किनारमा पल्टिएका मान्छा जस्तै हुन् । रवी दक्ष मछुवार होइनन् । उनले किनारमा पल्टिएका माछा कुशलतापूर्वक छोपेका हुन् । भेल गैसकेपछि किनारमा माछा रहने छैनन् । त्यसपछि नदीको गहिरासम्म पुगेर कसरि माछा मार्न सकिन्छ भन्ने चुनौतिको घण्टी अहिलेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीतिरै बजाईरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक