मंगलबार, चैत ६, २०८०

पटाक्षेप

ईशा शाह२०७९ मंसिर १७ गते ४:४७

(अघिल्लो अर्थात् आठौं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ईशा शाह

गाडी आएर चोकमा रोकिएको आवाज आएपछि अविजितले झोक्रिएर बसेको विक्रमसँग भने, “गाडी आयो विक्रम अब जाने तयारी गर ।”
“जाने र काजी ? पहिला पनि …..!”
“त्यो कुरा बिर्स अब, मैले सकेको व्यवस्थापन गरेकै हुँ, यहाँ तिमी बसे पनि सुमित्रा र केटाकेटी बस्न सक्दैनन् त्यसैले अहिले खुरुक्क हिंड ।”
“यत्रो सामान भर्खरै कसरी ?”
“कसले यो सबै लाने भनेको छ ? चाहिने सामान मात्रै लिएर जाने ।”
“सामान त सबै चाहिने नै होला नि काजी !” विक्रमले भने ।
“यि थोत्रा मोत्रा सामानको के काम र तिमी चाहिन्छ भन्दैछौ ?” अविजितले कोठाको चारैतिर हेर्दै विक्रमसँग सोधे ।
“नयाँ किन्न नसकेपछि पुरानो फालेर के गर्नु काजी ?” विक्रमले बिस्तारै प्रश्न गरे ।
“फालिदेउ, फालेपछि नयाँ आउँछ । अब तिमी तिम्रो खुट्टा लगाएर उठेर बाहिर गएर बस, केटाहरुले सामान हाल्छन् तिमीले हेर्नु, सुमित्रा, अब झोक्राएर बसेर केही हुन्न आउ र विक्रमको खुट्टा लगाउन मद्दत गर” भन्दै अविजित कोठाबाट बाहिर निस्किए ।

बाहिर गाडी छेउ लगाएर रोकेर ओर्लिंदै गरेको प्रमेशले अविजलाई भने “फरक पर्दैन, यहाँ कत्रो नास भएको छ, यो असरल्ल छोडेर त्यसै आउन मनले मानेन र मैले त …. !”

“कहाँ त्यसो भनेर हुन्छ ?”
“नभनेर के गर्नु त ? बिहान उसै दौडिन पर्यो, दौडेर पनि केही गर्न सकिएन, कसरी सम्झियौ मेरो औषधी ? बोकेर ल्याएका छौ कि के ?”

“छ नि ! कुन कुन खाने थाहा भएन त्यसैले मैले त सबै बोकेर ल्याएँ” भन्दै ज्याकेटको खल्तिबाट औषधी झिक्न खोज्दै प्रमेशले भने ।

“अहिले होस्, यिनीहरुलाई पठाउँ अनि …..! जाउ भित्र गएर सामान मिलाउन सघाउ ।”

“केटाहरु छन् तिनले मिलाउँछन् म त जान्नँ भित्र” भन्दै प्रमेश अलि पर भएको ढुंगा माथि गएर बसे ।

अविजितले उनको अवस्था बुझेर उनलाई केही भनेनन् बरु उनी पनि प्रमेश बसेको ढुंगाको अर्को छेउमा गएर बसे । दुवैजना दिक्क मान्दै थिए । विक्रम कृत्रिम खुट्टा लगाएर बाहिर निस्किए । उनको अघिअघि उनका जुम्ल्याहा छोराछोरी थिए । तिनीहरुलाई हेर्दै प्रमेशले सोधे,“यिनीहरु पनि भोकै छन् कि के ?”

“खोई कुन्नी ? अघिसम्म सुमित्रा यिनीहरुलाई च्यापेर रुँदै थिई त्यसैले केही खाए जस्तो लागेन” अविजितले भने ।

“त्यसो भए यिनीहरुलाई लिएर हामी जाउँ, कतै राम्रो ठाउँमा बसेर हजुर पनि केही खानु र यिनीहरुलाई पनि केही खुवाउँ” प्रमेशले उठ्न खोज्दै भने ।

“जाने र ? जाने हो भने जाउ सुमित्रालाई हामी जान्छौं भनेर आउ”

“मैले अघिनै हजुरलाई म भित्र जान्नँ भनेको होईन ? भन्दा भन्दै पनि हजुर फेरि मलाई …..! विक्रम दाई हामी संयम र साक्षीलाई लिएर जान्छौं, तपाईं सामान र भाउजूलाई लिएर आउनुहोस् है ?” प्रमेशले भने ।

“हुन्छ काजी” विक्रमले अविजितलाई हेर्दै भने ।

“नचाहिने सामान लिएर नआउनु है विक्रम, समीको सामान त बिल्कुलै नल्याउनु, ल्यायौ भने म र परिवेश भएर छानी छानी फाल्छौं” अविजितले बसेको ठाउँबाट उठ्दै भने ।

“उसको सामान त ल्याउँदैनौं काजी ।”
“त्यसो भए हामी जाउँ त ?”
“हुन्छ काजी”

“ए आओ तिमीहरु, ठूलो घर जाने अब हामीसँग” प्रमेशले बसेको ठाउँबाट उठेर संयमलाई समाउन हात लम्काउँदै भने ।

“परिमित दाई भएको ठाउँमा हो ?” संयमले सोध्यो ।

“हो, आउ”
“म नि जाने” भन्दै साक्षी प्रमेशको हात समाउन दौडेर आई पुगी ।
“लौ विक्रम हामी लाग्यौं, तिमीहरु राम्ररी आउनु” भन्दै अविजित संयम र साक्षीलाई लिएर अघि लाग्दै गरेको प्रमेशको पछाडी लागे ।

तपाइँको प्रतिक्रिया

फेसबुक