सोमबार, माघ २३, २०७९

केही चित्र तेराखका !

युवराज नयाँघरे२०७९ मंसिर १७ गते ५:०८

लेखक युवराज नयाँघरे

तेराख अर्थात् तेराख ! काठमाडौंको गन्जागोलमै तेराखसँग भेट भएको थियो । उनले मलाई भेट्ने बित्तिकै ‘म तेराख, चिन्नु भो ?’ भनेका थिए । त्यसो त केहीअघि नै डा। गोविन्दराज भट्टराईले तेराखको एउटा ग्रन्थ मलाई उपहारस्वरुप दिएका थिए । त्यसबाटै म तेराख अर्थात् तेजराज खतिवडालाई राम्रै चिन्ने भइसकेको थिएँ ।

२०३६ को आसपासतिर म एक साँझ हँडिया बुधबारेमा बास बस्न पुगेको थिएँ । एक जना साथीको आफन्त इरौँटारमा बितेको हुनाले तिनको खबर पुर्‍याउन साथीका साथमा खाममा बाँधिएको सेतो धागो सहितको चिठी लिएर म त्यता गएको थिएँ । बाटोमा एक जनाले तेराखबारे बताएका थिए । त्यो बेला शिक्षक तेराखको बयान निकै राम्रोसँग मैले सुन्न पाएको थिएँ ।

त्यसपछि मैले तेराखलाई पूर्ण रुपमा साहित्यकारको परिचय र नाउँले चिन्ने अवसर प्राप्त गरेँ । मसँग सशरीर भेटघाट हुँदा तेराख स्थापित लेखक भइसकेका थिए । उनका कथा, उपन्यासले राम्रै रुपमा नेपाली साहित्यको सेवा, सम्बद्र्धन र सक्रियताका लागि गतिशील पाइला चालेको मैले भेटिसकेको थिएँ ।

धेरै वर्षपछि बागबजारस्थित रत्न पुस्तक भण्डारमा उनीसँग सशरीर भेट भयो । हामी निकैबेर नजिकैको कफी पसलमा गएर कालो चिया खाँदै गफियौँ । उनले मलाई ‘सर्बजा’ नाम गरेको एउटा असाध्यै मोटो उपन्यास थमाएर छुट्ने बेलामा भने– ‘एक हप्तापछि यसको प्रतिक्रिया म तपाईंबाट पाउने छु है ।’

उनले दिएको गृहकार्य गर्न मैले त्यसै बेलुकी थालेँ । तर दुर्भाग्यवश पहिलो पानापछि नै मैले किताब अगाडि बढाउन सकिनँ । त्यो त्यत्तिकै थन्किरह्यो । उनीसँग एक हप्ता होइन, निकै हप्ताहरु भेटघाट गरिनँ मैले । उनी भेटिइहाल्छन् कि भनेर थोरै म झस्केर बागबजारतिर गए पनि भेटघाट भने भएन ।

झन्डै दुई वर्षपछि उनीसँग त्यही ठाउँमा त्यसै गरी भेटघाट भयो । हामी चिया खान भनेर त्यही होटलमा गयौँ । भेट्नासाथ उनले त्यही प्रश्न राखिहाले– ‘कस्तो रहेछ उपन्यास ?’

मैले उनलाई इमानदारीपूर्वक जवाफ दिएँ– ‘मैले त पढ्नै सकिनँ !’

मैले आफूलाई किताबभित्र रहेका प्राविधिक समस्याहरु देखाएर अनुच्छेद नभएका, लामा–लामा वाक्यहरु भएका, विविध चिन्ह र संकेतहरु नभएका साथै संवाद नभएका कृतिहरुका समस्याहरुबारे बताएँ । उनले कृतिको सुरुदेखि अन्तिमसम्म एक ठाउँ पनि अनुच्छेद नछुट्याइकन लेखिएको आफ्नो ‘सर्बजा’ कृति प्रयोगशील र एक मात्र विशिष्टतम् अभ्याससहितको औपन्यासिक रचना भएको तर्क दिइरहे । साथै तेराखले क्रिश्चियन धर्मावलम्बीको महत्वपूर्ण ‘वल्र्ड टेक्स्टामेन्ट’ पनि यही स्वरुप र शैलीको भएको धारणा पोखिरहे । तर मैले पाठकलाई उपेक्षा गरिएको, पाठकलाई बेवास्ता गरिएको र पाठकको भावनालाई सम्बोधन नगरिएको कृति अर्थात् पाठकमैत्री नभएका कुनै पनि पुस्तकहरु लोकप्रिय हुन नसक्ने आफ्नो तर्क राखिरहेँ ।

तीन वर्ष अगाडि एक दिन बिहानै तेराखको फोन आयो । म त्यो बेला कालो चिया खाँदै बिहानको कान्तिपुर पल्टाइरहेको थिएँ । उनले आफू अमेरिकाबाट भर्खरै फर्केको र त्यहाँका अनुभूतिलाई यात्राजन्य स्वरुपमा लेखिसकेको कुरा बताए । त्यसका लागि एक शुभेच्छापूर्ण लेखका लागि आग्रह पनि गरे । मैले उनलाई लेखौटको केही नमूना मेलमा पठाइदिन अनुरोध पनि गरेँ । तर केहीपछि कृति आएको समाचार पढ्ने मौका मिल्यो ।

त्यसो त तेराखसँग झापाका चन्द्रगढी, बिर्तामोड, धुलाबारी, दमक लगायतका ठाउँमा हुने साहित्यिक कार्यक्रमहरुमा धेरै पटक भेटघाट नभएको होइन । एक दिन उनी कताबाट कानेपोखरीमा ओर्लिन पुगेका रहेछन् । म पनि बिराटनगर जाने गाडी बिग्रेर त्यहीँ कुरिरहेको थिएँ । हामीले थपी–थपी कानेपोखरीको खीर खाँदै साहित्यिक गफगाफ गर्‍यौँ ।

उनले भनेको अहिले पनि मलाई सम्झना छ । ‘नेपाली साहित्यमा यस्तै स्वादिला परिकारहरु कम पाकेका छन् । पकाउनेहरुले खीर भनेर पकाए पनि धेरैजसो ती कि डढेका छन्, कि काँचै छन् ।’

अहिले पनि म पूर्वतिर जाँदा कानेपोखरीको खीर प्रसंग र उनका कुराहरुको सम्झना गरिरहन्छु ।

तेराखले लामो समय शिक्षण पेशामा आफ्नो जीवन अर्पण गरे । तिनका परिवारका सदस्यहरु अमेरिका भएका कारणले गर्दा ती पटक–पटक पातालतिर पनि गइरहन्थे । अमेरिकामै रहँदा एक–दुई पटक मसँग च्याटमा कुराकानी भएको र म्यासेन्जरमा बोलचाल पनि भएकै थियो । नेपाल आएपछि आफ्ना केही कृतिहरु अंग्रेजीमा अनुवाद गर्ने उनको सपना मैले उनी उहीँ छँदै सुनेको थिएँ । त्यो सपना कहाँ पुग्यो, त्यसको साक्षी समय मात्रै भयो कि अरु कसैले त्यसलाई अगाडि बढाइदिएको छ मैले जानकारी पाएको छैन ।

तिनी दिवंगत हुनुभन्दा करिब दुई महिना अघितिर हुनु पर्छ ।

‘म त रोगको खानी नै हुँ नि !’उनले मलाई फोनमा यसै भनेर काठमाडौं चाँडै आउन लागेको र भेट्न साह्रै मन गरेको कुरा बताएका थिए ।

तर मैले पनि उनलाई ठट्टा गर्दै भनेको थिएँ– ‘अग्ला मान्छेहरुले सबै खालका रोगहरु जित्न सक्छन् । तपाईं त त्यत्तिकै बलियो र टठिलो हुनुहुन्छ । तपाईंको अग्लाइ देखेर नै रोग भाग्छ नि ।’

यो कुरा नै अन्तिम रहेछ । उनी बितेको दुःखद खबर लेखिका लक्ष्मी अच्युत ढुंगानाले सामाजिक सञ्जालमा पोस्ट गरिन् । अनि पो मैले थाहा पाएँ । वास्तवमा तेराख साँच्चै नै भित्र–भित्र रोगले थलिएका बिरामी नै रहेछन् । नत्र त मसँगको भेटमा उनी सधैँ उही क्रान्तिकारी, उही जोसिला, उही गर्विला र उही टठिला बोलीका लेखक हुन्थे ।

इलामकै प्रतिभा भएको कारणले तेराखसँग मेरो एउटा भिन्नै खालको आत्मीयता र श्रद्धा भाव रह्यो । उनले पनि मलाई भाइ, साथी वा आफ्नै भेगको स्नेहीपन देखाइरहे । मेरो पनि आदर, सम्मान र प्रेम त्यही रुपमै रहिरह्यो ।

एक साँझ भक्तपुरको बस स्टपमा उनी अकस्मात् एक झोला किताब लिएर उभिइरहेको मैले देखेँ । म नगरकोटमा भएको एक साहित्यिक कार्यक्रमबाट फर्किरहेको थिएँ । उनलाई बाटो किनारमा देखेपछि म त्यहीँ ओर्लिएँ ।

उनले आज यतै बसौं भनेर मलाई निकै कर, बल गरेका थिए । तर मैले ‘देखेपछि भेटौँ’ भनेर मात्र टुप्लुकिएको व्यहोरा सुनाएँ । भोलिपल्ट उनीसँग बागबजारतिर भेट्ने सल्लाहले फेरि म काठमाडौंतिरै आएँ । नभन्दै अर्को दिन उनी काठमाडौंमा आए र आफूले एउटा निबन्ध संग्रहको तयारी गरिरहेको बताएका थिए ।

थाहा छैन, त्यो निबन्ध संग्रह प्रकाशन गरे कि गरेनन् ।

तेराख बिरामी भएको र स्वास्थ्यलाभको कामना गर्दै मैले पनि लक्ष्मी अच्युतको पोस्टमा बेला–बेलामा केही प्रार्थनापूर्ण शब्दहरु लेखेकै थिएँ । तर यसरी हठात् उनको निधन होला भनेर कल्पना पनि गरेको थिइनँ । किनभने उनको आत्मबल र आवाजमा कहिल्यै पनि कमजोर अथवा शिथिलताको संकेत मैले भेटेको थिइनँ । उनको निधन मेरा लागि एक अर्थमा स्तब्धपूर्ण अवस्था थियो ।

२०६२-६३ को आन्दोलनपछि उनलाई मैले धेरै पटक काठमाडौंमै भेट्ने मौका पाएँ । एउटा अनुसन्धानको क्रममा म त्रिभुवन विश्वविद्यालयको पुस्तकालय जाँदा उनी पनि प्रायः त्यतैतिर हुने गर्थे । हामी बेलुकी सँगसँगै जस्तो फर्कन्थ्यौँ– पुस्तकालयबाट ।

लेखन, अध्यात्म, चित्रकला र सांस्कृतिक विषयहरुले हामीसँग पटक–पटक गफ गर्ने प्रसंग पाए पनि परिवार, कमाइधमाइ, सन्तान वा घरायसी सुसेधन्दा बारे उनले पनि मलाई सोधेनन् । मैले पनि यस बारेमा उनी समक्ष कुनै खुल्दुली पोखिनँ । त्यसै कारणले पनि होला उनको जन्म मितिबारे म बेखबर छु । तर लक्ष्मीले नै सामाजिक सञ्जालमा पोस्ट गरेको मितिबाट थाहा हुन्छ– २०७८ साल असार १६ गते उनको देहावसानको समय क्रम हो ।

लेखक बाँच्नु भनेको उसको कृति हो । मानिस बाँच्नु भनेको उसको व्यवहार पनि हो । तेराखका केही भावनागत व्यवहारले ती मेरो मनमा सधैँ रहिरहने छन् । हार्दिक शब्द श्रद्धा सुमन साहित्यकार तेराखलाई !

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

पानीको चुल्ठो मैलुङमा !

रात रुङ्न राङरुङमा

सुरमुचेको एक्लो घर !

टोपीटाले भेट्न खोल्सी !

निबन्ध : गौचरनको स्वर

रोड्याइँ !

एक जोर नाङ्ला

हिउँको बाढी रातनाङ्गेमा !

कविता खोज्न ओलङ्गङतिर !

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक