शुक्रबार, चैत १६, २०८०

किन भैरहेछ बेल्जियमको नेपाली घरहरुमा निरन्तर चोरी ?

मदन दवाडी / बेल्जियम२०७९ मंसिर २३ गते १५:१६

मदन दवाडी

चोरी शब्द आफैंमा एक अप्रिय शब्द हो । जो कसैलाइ पनि आफ्नो घरमा चोरी नभइदिओस वा यसको अनुभव गर्न नपरोस भन्नेनै हुन्छ । यदि एकचोटि परिसकेको छ भने फेरि अर्को चोटि ब्योहोर्न नपरोस भने अपेक्षा हुन्छ ।

बेल्जियममा घर चोरीको तथ्यांक हेर्ने हो भने घट्दो क्रममा देखिन्छ। २०१३ मा कुल ७५ हजार चार सय ७८ घर चोरी भएका थिए जसअनुसार प्रतिदिन २०६.७८ घर हुन्छ । २०२१ मा आउँदा झण्डै आधि भन्दा बढि घटेर ९३.५३ थियो ।

बेल्जियमको कुल चोरीको घट्ना हरेक वर्ष घट्दै गर्दा नेपाली समुदायको घरहरुमा चाहिँ हरेक वर्ष चोरीका घटना बढीरहेका छन् । पछिल्लो केहि समयमा त लगभग हप्तै पिच्छे नेपाली समुदायका घरहरु चोरिएको सार्वजनिक भैरहेको छ । तर खुलेर सार्वजनिक रुपमा भन्ने चाहिँ कम छन् ।

बेल्जियम प्रहरीको अत्याधुनिक प्रविधिमा पहुँच छ । प्रविधिमा असिमित स्रोत साधन भएता पनि यस्ता घट्नाहरुलाइ त्यति संवेदनशिल रुपमा नलिइदिँदा चोर पक्रने संभावना न्युन वा शुन्यनै हुन्छ भन्दा पनि फरक पर्दैन । पक्रिईहालेपनि यहाँको कानुनले मानव अधिकारलाइ अत्यन्तै संबेदनशिल रुपमा लिने भएकाले चोरसँग पिडित आमने सामने हुन पाउँदैन ।

अर्को भाषामा भन्नुपर्दा पिडितको पिडालाइ भन्दा चोरको मानवअधिकारले बढि प्रथामिकता पाउँछ। तपाइसँग घरमा सिसिटिभि छ र चोरी भएको घट्ना रेकर्ड छ भने प्रहरीलाइ दिन सक्नुहुन्छ तर त्यसलाइ सार्वजनिक गर्न भने पाइँदैन।

यसर्थ चोरीबाट बच्न सबैभन्दा उत्तम उपाय भनेकै चोरी हुनबाट रोक्नु हो। यहाँ चोरी मनोबिज्ञान र रोकथाम बारे थोरै चर्चा गर्ने प्रयास गरिएको छ।

चोरको विशेषता

• उ प्राय हतार हतारमा काम गर्छ : जति धेरै समय चोरीमा संलग्न रह्यो उति पक्रने संभावना रहन्छ।

•हल्ला खल्ला र उज्यालोसँग सचेत रहन्छ : कसैले नदेखोस वा कसैले नसुनोस भन्ने उसको चाहना रहन्छ।

•प्राय हलुका सामाग्रिको प्रयोग : चोरले हलुका स्क्रु, रिन्चीवा फलामका साना एंगल बनाइएका हतियारहरु प्रयोग गर्दछ।

•फरक खालको पहिरन: चोरले प्राय टोपी भएको ज्याकेट लगाउँछ । टोपी लगाइराख्ने, कालो चस्मा लगाउने र हातमा बाक्लो पञ्जा लगाउने गर्दछक्।

यो माथिको विशेषतालाइ सामान्यरुपमा उल्लेख गरिएको हो । यदि चोरसित आफूले चोर्ने घरका सूचना पर्याप्त मात्रामा छन् र घर मुली लामो समयकालागि बाहिर छ भन्ने भएमा त्यो तरिका अनुशरण गर्दैन ।

घर चोरी गर्ने बिधिहरु

ढोकाबाट : प्राय पछाडी करेसाबारीको ढोकाको चाबी तोडेर, कार्डको प्रयोग गरि धकेलर, शिसा तोडी भित्र भएको चाबी घुमाएर।

झ्यालबाट : बलपूर्बक धकेलेर, ह्यान्डलनेर ग्लास फुटाएर, छेउकुना (साइड) बाट प्वाल बनाएर, पुरै ग्लास फुटाएर (पुरै ग्लास फुटाउने बिरलै मात्र हुन्छ) । बरु धेरै जसो पछाडीबाट पहिलो तल्लाको बार्दलीबाट पस्ने गरेको पाइन्छ।

चोरलाइ तपाइको घरप्रति आकर्षण नगराउन अर्थात तपाइको घरमा मुल्यवान समान छ भन्ने जानकारी नदिनको लागि अपनाउनुपर्ने उपायहरु :

-कुनै मुल्यवान वा ब्रान्डेड सामानहरु झ्यालमा वा अन्य बाहिरबाट देखिने ठाउँमा नराख्ने ।

-ब्रान्डेड वा मुल्यवान सामानका खोलहरु वा कार्टुनहरु फाल्दा बाहिर खुला रुपमा नफाल्ने।

-बाहिर करेसाबारीमा भर्‍याङ वा अन्य कुनै चढेर माथिको तलामा जानसक्ने सामानहरु नराख्ने।

-बिदामा जाँदा चिठ्ठिको बक्स छिमेकिलाइ भनेर खालि गराउन लगाउने । झ्यालका सटरहरु बेला बेलामा खोल्न लगाउने जसले गर्दा लामो बिदामा गएको थाह नहोस ।

चोरलाइ घर भित्र छिर्न नदिनको लागि अपनाउनुपर्ने उपायहरु :

-घरका साना झ्यालहरु लगायत सबै झ्यालढोका राम्रोसँग बन्द गर्ने ।

-सिलिन्डर भएको चाबी लगाउने जसको नक्कल (कपी) गर्नको लागि विशेष कार्ड चाहिने हुन्छ र त्यसको पहुँच सहज हुन्न ।

-सिसा भएको ढोका छ भने चाबीलाइ ढोकामा नझुण्याउने जसलेगर्दा अलिकति छेउकुना (साईड) मा फोडेर चाबि घुमाएर भित्र छिर्न नसकोस।

-घरका सबैलाइ पुग्ने गरि चाबीको कपि बनाउने ताकि गमला मुनि, ढोका नजिकै कुनै अन्तर कुन्तरमा चाबी लुकाउन नपरोस । ढोका नजिक गमला वा अन्य ठाउँमा चाबी लुकाउनसक्ने कुरा चोरलाइ थाह हुन्छ।

-एकदमै विश्वसनिय व्यक्तिलाइ बाहेक अरुलाइ (आफ्नो घरमा आएर कुनै काम गर्नेलाइ) गमला मुनि चाबि छ खोलेर भित्र पस्न नभन्ने ।

-आफ्नो मुल्यवान सामान सुत्ने कोठा वा भान्सा कोठा वा बाथरुममा नलुकाउने। बिर्सिननहुने कुरा के भने हामी प्रायले ‘चोर एकै चोटि सुत्ने कोठामा पैसा वा गहना राखेको ठाउँमा गएछ, यो चिने जानेको मान्छेले हो’ भन्ने गरिन्छ । यो गलत पनि हुन सक्छ । किनभने चोरले तपाइहरुको मनोविज्ञान बुझेको हुन्छ । सबैले पैसा वा गहना राख्ने, सुत्ने कोठामा वा भान्सा कोठामा वा बाथरुममा राख्छ भन्ने बुझेको हुन्छ। त्यहि सुन्दै आएको हुन्छ । यसर्थ चोर पहिला सुत्ने कोठामा जान्छ र त्यहाँ नभेटे भान्छा कोठामा पस्छ । त्यसपछि बाथरुममा जान्छ र त्यहाँ पनि नभेटे फ्रिज र डिफ्रिज पनि हेर्छ । चोरले ख्याल गर्ने यस्ता ठाउँमा सामान नलुकाउनुहोस ।

-छोरा,छोरीको बिदेशी साथी वा आफ्नै बिदेशी साथी आउँदा मुल्यवान सामानहरु नदेखाउने।

-लामो बिदामा जाँदा गाडि लग्नुभएको छैन भने गाडीलाइ घर अगाडिनै पार्क गर्ने जसले गर्दा चोरले मान्छे घरमा रहेछ भन्ने सोच्छ । यदि घरधनी घर छैन भन्ने थाह पाएपनि घर चोर्न गाडीमै आउने चोरलाइ घर अगाडी पार्क गर्न सजिलो नहोस।

-सकिन्छ भने घर पछाडी करेसाबारी वा घर अगाडी सेन्सर भएको बत्ती जडान गर्ने जसले गर्दा केहि चहलपहल हुनासाथ बत्ती बलोस् ।

-सकेसम्म घरमा क्यामेरा जडान गर्ने। अहिले बजारमा सस्तोमै पाउने क्यामेराहरुपनि उच्च प्रबिधियुक्त हुन्छन् । मोबाइल अनुप्राग (एप्स) बाट अनुगमन र नियन्त्रण गर्न सकिने यस्ता क्यामेराहरुमा आफू घरमा नभएको बेला केहि चहलपहल भएमा एप्सबाट सूचना प्रदान हुन्छ।

-आफ्ना मुल्यवान सामान राख्नको लागि बैंकको लकर भाढामा लिने । आफूले बैंकमा लकर लिएको कुरा धेरैलाइ बताउने ताकि कोहि चिनेजानेकैबाट हुन सक्ने चोरिको संभावनापनि कम होस।

-घरमा कोहि अपरिचित ब्यक्ति निकट हुनासाथ वा पस्न खोज्नासाथ आवाज दिने पद्दती (अलार्म सिस्टम) जडान गर्ने । यो खर्चिलो बिधि भएतापनि यदि घरमा बहुमूल्य सामान राख्नुपर्ने छ वा आफ्नो कारोबारको कारणले नगद पनि राख्नुपर्ने छ भने यो सबैभन्दा भरपर्दो उपाय हो । चोर घर पस्नासाथ अलार्म बज्छ र त्यसले प्रहरी तथा अलार्म सेवा प्रदान गर्ने कार्यलयमा सूचना दिन्छ । र उनिहरुले भिडियो क्यामेरा मार्फत् अनुगमन गर्छन। यदि चोर हो र अटेरी गरेर भित्र बसेमा धुवाँयुक्त यन्त्र घरमा जोडिएको हुन्छ जसबाट धुवाँ फालिदिएपछि चोर भित्र रहिरहन सक्दैन।

-आफू लामो बिदामा जाँदा प्रहरिलाइ निगरानीको लागि अनुरोध गर्ने र छिमेकिलाइ पनि निगरानीको लागि अनुरोध गर्ने (कहिलेकाहिँ छिमेकीपनि विश्वासिलो नहुनसक्छ, विश्वासिलो छिमेकि भएमा मात्र खबर गर्ने)

सावधानी अपनाउँदा अपनाउँदै पनि चोरी भएमा के गर्ने ?

तपाइ घर भित्रनै हुनुहुन्छ र चोरसँग आँखा जुध्नेगरि भेट भयो भने :

-शान्त रहने ।

-चोरले जे भन्छ त्यो मान्ने ।

-रुने, कराउने वा चलमलाउने नगर्ने ।

-भाग्ने मौका दिने

-अप्रत्यक्ष रुपमानै उसको हुलिया याद गर्ने प्रयास गर्ने ।

(माथिको बिधि अपनाएमा चोरले तपाइलाइ भौतिक आक्रमण गर्ने संभावना कम रहन्छ)

तपाइ घरमानै हुनुहुन्छ र शंकास्पद गतिबिधि भएको थाह पाएमा :

• आफ्नो कोठाको ढोका बन्द गर्ने र आवाज आउनेगरि चहल पहल गर्ने।

• आफ्नो साथमा टेलेफोन छ भने प्रहरिलाइ फोन गर्ने।
• प्रहरि नआएसम्म प्रतिक्षा गर्ने ।

(कहिलेकाहिँ चोरले कोहिपनि छैन भनेर घरमा प्रवेश गरेको हुनसक्छ । यस्तो अवस्थामा आवाज दिँदा, चहलपहल गर्दा भाग्न सक्छ)

यदि तपाइ घर नभएको बेलामा चोरी भएको कुरा घर आउँदा थाह भएमा प्रहरिलाइ खबर गर्नुहोस । सकभर घरको कुनैपनि सामान हातले नछुनुहोस ताकि प्रहरिलाइ चोरको औँलाको छाप पत्ता लगाउन सजिलो होस ।

अन्तमा आफ्नो ताल्चा राम्रोसँग लगाए अरुलाइ चोरको आरोप लगाउन पर्दैन भन्ने नेपाली सन्देशात्मक उखानको अनुशरण गरेर चोरि पछि के गर्ने भन्दा पनि चोरि हुनै नदिने उपाए अपनाउनुनै सबैभन्दा उत्तम हुन्छ।

तपाइँको प्रतिक्रिया

फेसबुक