बुधबार, वैशाख १२, २०८१

एक पटकको नेपाली सधैंको नेपाली

शशि ढकाल / कोपनहेगन, डेनमार्क२०७९ मंसिर २५ गते १७:४९

शशि ढकाल

बिदेशी राहदानीबाहक नेपाली जसले आफ्नो नेपालको पुरानै बैंक एकाउन्ट प्रयोग गरिराखेका छन्, जसमा प्रत्येक पटक केवाईसी भर्दा उसले नेपाली सरहनै भर्छ । यातायात कार्यालय गई आफ्नो सवारीचालक अनुमति प्रमाण पत्रको नबिकरण गर्छ । मालपोत कार्यालयमा गएर नयाँ किनेको घर, जग्गाको दर्ता तथा अंशको बाँडफाँड गरी आफ्नो नाममा ल्याउँछ । यति गर्दासमेत उसले आफू बिदेशी राहदानीबाहक भएको घोषणा कहिँ गर्दैन । राति जब क्यासिनो छिर्छ त्यतिखेर सगौरव बिदेशी राहदानी देखाउँछ । स्यालुट खान्छ । यहि हो वास्तबिकता ।

विभिन्न कारणले चर्चामा आइरहने रवी लामिछाने अहिले राजनैतिक कारणले पनि चर्चाको केन्दविन्दुमा छन् । उनको निजि जीवन र सार्वजनिक जीवन यस्तरी जेलिएको भेटियो कि उनी कहिल्यैपनि यसबाट पूर्णरुपमा मुक्त हुनसक्ने छैनन् । भन्न त उनले भन्ने गरेका छन्, उनलाई पटक पटक विवादमा पार्दै चक्रब्युहमा फ़साइने गरेको छ । र यसबाट उनी आफैँ निक्लन सक्तैनन्, जनतालेनै निकाल्नुपर्छ । के उनी फ़साइएका हुन् वा उनले गल्तिनै गरेर विवादित बनेका हुन् ? यो चाहिँ निकै महत्वपूर्ण प्रश्न हो । यदि गल्तिनै गरेका भए सो छुट पाउनुपर्ने खालको गल्ती हो या होइन ? यस्तै गल्ति उनी जस्तै कति नेपालीले गरेका होलान् ?

टेलिभिजनमा कलाकारिता र पत्रकारिता गर्दागर्दै एउटा मानिस अमेरिका गयो । विश्वको सबैभन्दा शक्तिशाली देशमा काम गर्यो । केहि कमायो । काम गर्दा सहज हुने देखेर त्यहिँको नागरिकता लियो । पासपोर्ट लियो । केही समय पछि राष्ट्रप्रेमले घोच्यो र आफ्नै देशमा केही गरुँ जस्तो लाग्यो । र स्वदेश फर्कियो । तर देश फर्केपछी आफुले जानेको बिद्या मार्फत बेथिति, अन्याय बिरुद्ध चिच्याईरह्यो । राज्य भने मुकदर्शक भएर हेरिरह्यो । राज्य बनाउने ठेक्का पाएका नेताहरु कमाउ धन्दातिर लागे । तर उसले जनता उद्धार गर्ने, भुइँमान्छेहरुलाई न्याय दिलाउने कुरामा अडिग रहिरह्यो । केहि हदसम्म न्याय दिलायो । जनतालाई आफ्नो अधिकार बारे सुसुचित गरायो ।

उ त्यहि मानिस हो जो आज जताततै चर्चामा छ । विवादै विवादबिच घेरिएको छ । रवी लामिछाने जसले स्वदेशमा मात्र हैन बिदेशमा अलपत्र परेका धरैको उद्धार गरेको छ । सोहि सिलसिलामा नेपाली मजदुरको अवस्था हेर्न र उद्धार गर्न खाडीका मुलुकहरुमा आफैँ पुगी त्यहाँका सरकारी निकायसम्म आफ्ना कुरा राखे, त्यहिँबाट उनले प्रमाणित गरेकी महिलाको चर्का कुराका साथै ‘एक्सन’ मा समेत उत्रने काम गरे । एउटा पत्रकार भएर पनि आफैं एक्सनमा आए उनी । उनले सिनेमाको नायक शैलीमा नेता, अदालत, प्रहरी, अख्तियार सबैको भूमिका खेले । राज्य मुकदर्शक भईरहेका बेला उनले हस्तक्षेप गरे । उनको बुताले जे सक्थ्यो त्यो गरे जुन राज्यले गर्नुपर्थ्यो । तर गरिरहेको थिएन ।

जनताले अन्याय र अत्याचारमाथि राज्यका तर्फबाट जुन हस्तक्षेप चाहिरहेका थिए, जुन न्याय मागिरहेका थिए त्यसैलाई रवीले एक्सन मार्फत पुरा गरे । उनी गुप्त क्यामेरा बोकेर अनेकौं स्ट्रिंग अपरेसनमा सामेल भए । ट्याक्सी ड्राइभर बनेर अनावश्यक टोल उठाउनेको स्ट्रिंग अपरेसन गरे भने शिक्षकबाटै लुटिएकी चेलीलाई स्ट्रिंग अपरेसन मार्फत् नै न्याय दिलाउन सफल भए । यसले जनतामा आशा, भरोसा र विश्वाश जगायो जसले गर्दा एउटा टेलिभिजन कार्यक्रमले उनलाई केही वर्षमा नै शक्तिशाली बनायो र निर्वाचनमा नसोचेको सफलता समेत दिलायो । उनले पत्रकारिताका हरेक आचारसंहितालाइ मिच्दै पिडितलाइ न्याय दिलाए । जो प्रहरी अड्डा अदालत र सरकारी निकायबाट न्याय नपाएर वा गुनासोको सुनुवाई नभएर दिक्क भैरहेका भूइँका मानिसलाई न्याय दिलाएर चर्चामा आए ।

उनले गरेको पत्रकारिता यहाँका स्थापित पत्रकारहरुलाई पटक्कै मनपरेको थिएन । त्यसैले उनी बिरुद्ध प्रेस काउन्सिल समेतलाई उचालेर उनको पत्रकारिता ब्यवसायिक मूल्य, मान्यता र आचार संहिताबिपरित भएको लबिङ्ग गरिरहे । होला उनले गरेको पत्रकारिता त्यो मन्यता भित्र नपर्ला । तर उनले जे गरे, जसबाट अन्यायमा परेका केहिले न्याय चाहिँ पाए जसलेगर्दा अनेक निती नियम मिचिएपनि न्याय सबैभन्दा ठूलो कुरो हो भन्ने मान्यता स्थापित गराए । यसै सिलसिलामा हिजो प्रश्न सोध्ने मानिस आज उत्तर दिने ठाउँमा पुगे । बिदेशी नागरिकताबाट पुन स्वदेशी नागरिक बन्ने क्रममा केहि विवाद भए । केहिले प्रायोजित विवाद गरिरहेका छन् ।

शुरुमा त पार्टीको नाम र चिन्हमा केहि ब्यक्ति तथा संस्थाले विवाद निकाले । पार्टीको नाम स्वतन्त्र हुन नसक्ने भन्दै उजुरीहरु पर्यो । त्यसमा निर्वाचन आयोगबाट ग्रीन सिग्नल पाएका उनको चुनाव चिन्ह घण्टीमा समेत विवाद भयो । यो हरेक मन्दिरमा हुने र हिन्दूहरुको आस्था घण्टीसँग भएकोले सो चुनाव चिन्ह बदर हुनुपर्ने माग सामाजिक संजालमा उठ्यो । तर त्यो पानीको फोकासँगै बिलायो । तैपनि उनको पार्टीको नाम स्वतन्त्र भएकोमा चुनाव अघिसम्म पनि सामाजिक संजालमा खिशिट्युरि भैरह्यो । ति मध्ये धेरैले आजकल राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाइ परिवर्तनबाहक पार्टीको रुपमा अर्थ्याउँदै आफ्ना फेसबुक भरिरहेका छन् ।

चुनाव शुरु भएपछि उनको पनि उनको पार्टीका उमेद्वार डा तोसीमा कार्कीले उमेद्वार हुनबाट झण्डै झण्डै बन्चित हुनपर्यो । उनलाई उमेद्वार कायम गराउन अदालत नै जानुपर्यो । अदालतबाट उमेद्वारी कायम भैसकेपछि पनि उनलाई घण्टी बजाएर प्रचार गर्न रोक लागाइयो । यहि पार्टी चुनाव प्रचारको सिसिलामा चितवनमा बिपक्षीहरुको आक्रमणको सिकार हुनुपर्यो जसले उनको प्रचारमा रहेको गाडीको सिसानै फुटाइदिए । ‘नाम होस् वा बदनाम होस् तर गुमनाम नहोस’ भने जसरी रवी नेपाल प्रवेशसँगै राम्रो गरेर वा विवादै विवादबिच पनि सधैँ चर्चामा रहिरहे । यतिसम्मकि उनलाई आफ्नै सहकर्मी पत्रकारलाइ आत्महत्या गर्न उक्साएको अभियोग समेत लाग्यो । यहि विवाद र अभियोगपनि उनको किङ्ग मेकर बन्ने अभियानका सुत्रधार भए ।

उनी विवादको पर्यायबाची नै भए । चुनाव शुरु हुनु अगाडी उनी पुन नेपाली नागरिकताको विवादमा फसेका छन्। उनी अमेरिकी नागरिक भएको प्रमाणित भएसँगै खारेज भएको नागरिकता नै प्रयोग गरिरहेको भनेर उनि बिरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले निर्णय गर्नु नपर्ने निष्कर्ष निकालेको छ । सरकारी निकायको अवस्था त अहिले होइन पहिले देखिनै यस्तै हो, निर्णय नै गर्नु नपर्ने पनि निर्णय हुन्छ त ? हिम्मत छ भने हो या होइन भन । तर निर्णयनै नदिने भन्ने चाहिँ हुँदैन नै ।

सरकारी निकायबाट यस्तो पहिलो पटक मात्र भएको भने होइन । सरकारी निकाय वा न्याय दिने निकायहरु जहिले पनि आफू अनुकुल नहुने निर्णय दिन अस्विकार गर्छन । तात्कालिन प्रधान न्यायधिशले समेत न्याय कुर्दाकुर्दै न्याय नपाउने, निबर्तमान १४ जना संसदको खारेजीको चर्चित मुद्दामा समेत ढिलो गरि समय गुजारेको छ न्यायलयले । अब रवीको मुद्दानै परेपनि ५ वर्ष बिताउँछ ।

यसपटक रवीको नागरिकता प्रसंगमा स्थानिय प्रहरीका साथै गृह मन्त्रालयमा दिएको नागरिकता सम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले छानबिन गरिरहेको छ। त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयमा पत्र पठाएर छानबिन गर्न निर्देशन समेत दिएको छ र पछिल्लो अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी समेत परेको छ । वैध नेपाली नागरिकता नभएका व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन र अध्यक्ष वा सभापति हुन नमिल्ने दाबी सहित निर्वाचन आयोगमा उजुरी परेको हो ।

यी सबै विवाद जे जस्ता कुरा आए पनि मुख्य कुरा नागरिकता नै हो । नेपालको कानुनमा विदेशी नागरिकता त्यागेको जानकारी गराएलगत्तै पुरानो नागरिकता ब्युँतने उल्लेख छ। ऐनमा कसरी नागरिकता ब्युँतन्छ भन्ने उल्लेख छैन। तर नागरिकता नियमावलीमा भने यसबारे उल्लेख गरिएको छ।

नियमावली अनुसार विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता लिन चाहनेले जहाँबाट नागरिकता लिएको हो सोही कार्यालयमा गएर निवेदनसाथ नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने सबै प्रक्रिया अपनाएपछि नयाँ प्रमाण पत्र जारी हुने उल्लेख छ। यसरी बिदेशी राहदानीनै त्यागेर नेपाली बन्ने कुरा नेपाली समाजमा नौलो र अड्डा अदालतमा समेत खासै प्रयोगमा नआएकोले अलि अलमल जताततै देखिएको हो।

एकातिर कानुनमा विदेशी नागरिकता त्यागेको जानकारी गराएलगत्तै पुरानो नागरिकता ब्युँतने उल्लेख हुनु र नयाँ नागरिकता कति समय भित्र लिनुपर्ने सो उल्लेख नहुनुले विदेशी नागरिकता त्यागेको जानकारी गराएलगत्तै पुरानो नागरिकता ब्युँतने हुनाले सो अनुसार रवीको नागरिकता ब्युँतिएको उनको दलिल छ । उनको दलिललाइ मान्ने प्रशस्त आधारहरु उनले पेश गरेका छन् । उनले नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकको हैसियत खारेज गर्न निवेदन दिए । खारेज गराए । त्यो जानकारी नेपालको सम्बधित निकायमा गराए । र सो कुरा टेलिभिजन मार्फत् चिच्याई चिच्याई बताए जसलेगर्दा पुरा नेपाली नागरिकले थाहा पाए भने उनले ढाँटे कहाँ ? अथवा झुक्याए चाहिँ कहाँ ?

उनले पुरानै नागरिकताबाट राहदानी लिए । सरकार बादी मुद्दा लडे । जेल गए । यी सबै गर्दा कानुनि हैसियतमा उनी नेपाली नै भएर गरे । यतिखेर सरकारी निकायले उनलाई नेपाली नागरिक सरहको नै ब्यवहार गरिराखेको छ भने उनले ढाँटे कहाँ ? छले कसरी ?

रवी लामिछानेले विश्वको शक्तिशाली देशको नागरिकता र राहदानी त्यागे । स्वदेशमै काम गरे । यस्तो उदाहरण निकै कम पाइन्छ । उनीजस्तै युवाहरुलाई स्वदेश फर्कन सक्ने वातावरण राज्यले बनाउनै पर्छ । रवीजस्तै धेरै नेपाली युवा स्वदेश फर्किए भने देशको विकास र समृद्धिमा, बिग्रँदै गएको राजनिती सफा गर्न र समाज बदल्न मद्दत पुग्छ ।

एक पटकको नेपाली सधैंको नेपाली

लामो समयदेखि विभिन्न काम तथा रोजगारीको सिलसिलामा नेपालीहरु बिदेशमा छन् । उनीहरुलाई चलनचल्तीमा गैर आवासीय नेपाली भन्ने गरिन्छ। उनीहरुले नेपालको अर्थव्यवस्थामा वित्तीय योगदानका साथसाथै नेपालको विकासमा साझेदारी र देशको प्रगतिमा रचनात्मक हातेमालो गरिरहेका छन् । यी गैरआवासीय नेपाली मध्ये कतिपय अमेरिका, क्यानडा, न्युजिल्याण्ड, बेलायत, फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, पोर्चुगल लगायत अन्य युरोपेली धनी र शक्तिशाली मुलुका धेरै नेपालीहरूले यी देशको नागरिकता प्राप्त गरेका छन् ।

विश्वका विभिन्न देशमा ८० लाख नेपाली रहेको अनुमान छ । तीमध्ये आधाभन्दा बढी खाडीलगायतका मुलुकमा रोजगारीका लागि गएका छन् । झण्डै १५ लाख नेपाली युरोप, अमेरिकालगायतका मुलुकमा ती देशको समेत नागरिकता लिएर बसेका छन् ।

नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकता बारे व्यवस्था गरेको छ । यसै सन्दर्भमा करिब ८० लाख बिदेशिएका नेपालीहरुको नेतृत्व गरिरहेको गैरआवासीय नेपाली संघ आफ्नो स्थापनाको दिन देखिनै एक पटकको नेपाली सधैंको नेपाली भन्ने माग सहित लबिङ्ग गर्दै आइरहेको छ । यो माग सम्बोधन हुने आस्वासन हरेक नेताले दिँदै आइरहेका छन् । यी र यस्ता देशका नागरिकता प्राप्त गर्दा प्राय: दुइ कुरा लागु हुन्छ ।

पहिलो, दोहोरो नागरिकताको व्यवस्था भएका मुलुकहरु र दोश्रोमा एउटा मात्र नागरिकता स्वीकार गर्ने मुलुकहरु ।

जुन मुलुकले दोहोरो नागरिकता स्वीकार गरेका छन् ति मुलुकको नागरिकता लिंदा आफ्नो पहिलेको मुलुकको नागरिकता त्याग गर्ने तिर धेरैको ध्यान गएको देखिंदैन । त्यसैले उसले कानुनी वा गैर कानुनी रुपमा दुवै देशको नागरिकता राखेको हुन्छ र आफ्नो अनुकुल प्रयोग गरिरहेको हुन्छ ।

यसै मामिलालाइ प्रस्ट्याउँदै बर्तमान गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले भनेजस्तो बिदेशी नागरिकता र राहदानी बोक्नेहरु नेपालको विमानस्थलमा उत्रनासाथ उनीहरुको नेपाली नागरिकता जानी वा नजानी प्रयोग हुन थालिहाल्छ । त्यस्तो ब्यक्ति विमानस्थलबाट अन्यत्र जाँदा नेपालीले तिर्ने अन्तरिक हवाई यात्रा अनुसार टिकट किन्छ वा उसलाई सो टिकट थमाईन्छ । उसले नेपालमा गरेका कतिपय उत्पादनमुखी परियोजनाहरू र वित्तीय लगानीमा उसको नेपाली नागरिकतानै प्रयोग भएको हुन्छ । अरुकुरा त छोडौं, भक्तपुर वा पशुपति जाँदा समेत बिदेशी राहदानी बाहकले अतिरिक्त शुल्क तिर्नुपर्ने नियम छ । के हामी कसैले यो नियम पालना गरेका छौं त ?

त्यसबाहेक नेपालमा रहेको पैत्रिक सम्पत्ति, अंश, अपुताली, दान एवं बकसबाट प्राप्त सम्पत्ती पनि नेपाली नागरिक सरह भोगचलन नै गरिआएका छन् । यी र यस्ता कुराको जानकारी एनआरएनएले गृहमन्त्रि, प्रधानमन्त्रीसम्मलाइ दिएको बताउने गरेका छन् । अझ आफ्नो कार्यकारी कार्यकालमा त कुल आचार्यले यस विषयमा ३२ पटक सरकारका विभिन्न मन्त्रि, बिपक्षि दलका नेता, सबैजसो पार्टीका सभापति र तीन पटक प्रधानमन्त्रिलाइ समेत अवगत गराईसकेको दाबी गरेका थिए । सरकारले वा राज्यले यस्ता केहि कुरामा आँखा चिम्लेर व्यवस्थापन गर्नुपर्ने मागपनि गरेको बताउँदै आएका छन् ।

यसै विषयमा पंक्तिकारले गैरआवासीय नेपाली सङ्घका संस्थापक नेता देखि सबैजसो बर्तमान पदाधिकारीसँग कुरा गर्दा सबैले बास्तबिकतामा प्रयोग भैराखेको स्वीकार गरे । र अहिले सरकार वा राज्यले व्यवहारिक रुपमा समाधान गर्नुपर्ने आशय ब्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घका संस्थापक नेता देखि सबैजसो बर्तमान पधाधिकारी पनि दुइ खण्डमा विभाजित छन् । जो बिदेशी राहदानी बाहक छन् उनीहरु सरकारले ब्यवहारिक रुपमा आफ्ना नागरिकको व्यवस्थापन गर्नुपर्ने बताउँछन भने नेपाली राहदानी बाहक गैरआवासीय नेपाली नेता तथा ब्यापारीहरु चाहिँ उनीहरु माथि व्यक्तिगत रिसइबी भनै बिदेशी राहदानी बाहकले नेपाली नागरिकता प्रयोग गरेको प्रमाण संकलन गरेर बसिराखेको र समय आएपछि यसको उजागर गर्ने बताउँछन् । तर अहिले आफू यस विषयमा मिडिया मार्फत् विवादमा आउन नचाहेकोले परिचय नखुलाई दिन आग्रह गर्नेपनि छन् ।

बिदेशी राहदानी लिए पछि कतिपय नेपालीहरुले गैरआवासीय नेपाली प्रमाण पत्र लिने समयमा नेपालको नागरिकता बुझाउन पर्छ। धेरैजसोले यो बुझाए पछि सरकारी निकायमा रेकर्ड रहन्छ भनेर गैरआवासीय नेपाली प्रमाण पत्रनै लिँदैनन । त्यसैले यो प्रमाण पत्र लिनेको संख्या निकै कम छ ।

चलिरहेको व्यवहारमा के छ भने नेपाली नागरिकता स्वतः खारेजीमा परेको वा आफैंले छाडेकाहरुले पनि विभिन्न प्रयोजनमा पुरानो नागरिकता प्रयोग गर्ने गरेका छन् । नागरिकता प्रयोग गर्नुपर्ने काम भएका सबैमा प्रयोग गर्छन । नेपाली नागरिकता लिएर आउने अन्जान ब्यक्तिलाई तिमी अर्को देशको नागरिक हो भनेर अड्डा अदालतका कर्मचारीले सोध्ने कुरा पनि भएन । तर जब क्यासिनो पुग्छ त्यहाँ तिमी नेपाली नागरिक हो भन्दा उसले सगौरव बिदेशी राहदानी पेश गर्दै भित्र जान्छ ।

बिदेशी नागरिकता बाहक नेपाली जसले गैर आवासीय नेपाली प्रमाणपत्र बनाएको छ उसले नेपाल भित्र सम्पत्ती खरिद गर्न पाउने अधिकार भित्रको सम्पत्ती किन्दा नीलो पूर्जा बनाउनुपर्छ । कुनै एनआरएनले नीलो लालपूर्जा बनाएको छैन भने त्यसमा हक पुग्दैन (गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम ११ (८) । यस नियमावली बमोजिम अचल सम्पत्तिको जग्गाधनी प्रमाण पत्र प्रदान गर्दा सम्बन्धित मालपोत कार्यालयले नीलो रङको प्रमाणपत्र प्रदान गर्नु पर्नेछ । यो विषयमा कसैलाई पनि जानकारीनै छैन । अब यो गल्तीको व्यवथापन कसरी हुन्छ ?

यस विषयमा न्यायलयमा के भै राखेको छ त ?

विदेशको नागरिकता भएको ब्यक्तिले नेपालमा कामगर्दा कामको स्विकृति लिनुपर्ने हुन्छ । रवीको मामिलामा पनि केहि वर्ष पहले यो कुरा उठेकै हो । यसै सन्दर्भमा सर्वोच्चमा विचाराधीन रहेको एउटा मुद्दा यहाँ उल्लेख गर्नु सान्दर्भिक हुने छ । बिदेशी राहदानी बाहक गैर आवासीय नेपाली अधिबक्ता सुरेन्द्र नेपाल श्रेष्ठले आफ्नो अधिवक्ताको प्रमाणपत्र नवीकरण गर्न जाँदा शुल्क समेत बुझाएर गैर आवासीय नेपालीको हैसियतमा नवीकरण गरि पाउँ भनी कानुन व्यवसायी परिषदमा निवेदन लेखे । तर उनको प्रमाण पत्र कानुन व्यवसायी परिषदले नबिकरण गर्न नसक्ने व्यहोरा जनाएपछि उनले त्यसैलाई आधार बनाएर सर्वोच्चमा रिट दर्ता गरे । त्यसको पनि पाँच वर्ष बितीसकेको छ र अझै फैसला भएको छैन ।

तर उनका अनुसार उनका कतिपय बिदेशी राहदानी बाहक नेपालीहरु नेपालको पुरानै नागरिकताको आधारमा नेपालको वकिलको प्रमाणपत्र नवीकरण गरी काम गरिरहेका छन् । न्यायलय र न्यायमूर्ती समेत यसको जानकार छन् । न्यायलयमा नै यस्तो भै राखेको छ भने अन्यत्रको त के कुरा ? अब यो पुरानो नागरिकता प्रयोग गर्ने विषय घरघरको समस्या हो । करिब १५ लाख बिदेशी राहदानी बाहक नेपाली मध्ये आधाले मात्र यसको प्रयोग गरेको भए पनि अबको सरकारले यसलाई कसरी व्यवस्थापन गर्छ ? कि सबैलाई जेल हाल्छ वा बिदेश नै पठाइदिन्छ कहिल्यै फर्किन नपाउने गरि ?

कुनै नेपालीले आफूले काम गरिराखेको देशमा नागरिकता लिनुपर्दा उक्त देशमा दोहोरो नागरिकताको व्यवस्था छैन भने नेपालको नागरिकता छाडेको प्रमाण बुझाउनुपर्ने हुन्छ । त्यस्तो देशमा बस्ने अधिकांश नेपालीले बिदेशी नागरिकता लिँदा नेपालको राहदानी नेपाली राजदुताबासमा बुझाएर सो को प्रमाण पेश गरी नागरिकता लिएका छन् । दोहोरो नागरिकता स्वीकार गर्ने देशको नागरिकता पाएका मध्ये धेरै देशका नेपालीहरुले नेपालको नागरिकता रद्द गरिपाउँ भन्ने निवेदन राजदुतावासमा दिँदैनन जसले गर्दा उसको मतदाता नामावलीमा नाम समेत काटिएको हुँदैन ।

गत स्थानीय चुनावमा बेलायती राहदानीबाहक गाबिसको चुनाबमा चुपचाप उठे । पराजित भए । र बेलायत फर्केको चर्चा समेत बजारमा अझै छ । बिदेशी राहदानी बाहक त सबैजसो जो चुनावमा नेपालमा थिए सबैले भोट हाले । अब यसलाई कुन रुपमा हेर्ने ? यतिखेर राज्य के हेरिराखेको हुन्छ ? बिदेशी राहदानी बाहकले यसरी देशको सबै अधिकार प्रयोग गरेकोमा राज्यका सबै निकाय जानकार छन्, तर मौन ।

र अन्त्यमा,

सामाजिक सन्जालमा रवीलाई भगवान मान्नेहरुको कुनै कमी छैन । यो उनले गरेको कर्मले व्यक्तिगत रुपमानै प्राप्त गरेका हुन् । यसपटक निर्वाचनको केहि महिना अघि मात्र देखापरेको उनको राष्ट्रिय स्वतन्त्र पार्टी यस पटकनै संसदमा राष्ट्रिय पार्टी भई उनको हैसियत एकाएक सामान्य नागरिकबाट सत्ताको चलखेल गर्ने खेलाडी समेत हुन पुगेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सर्बमान्य अध्यक्ष समेत हुन् । उनी बाहेक उनको पार्टीमा कसको के भूमिका छ भन्ने समेत खासै जानकारी कसैलाई छैन । उनले उठाएका उमेद्वार वा उनको पार्टीबाट उठेका उमेद्वारले समेत यसपाली राम्रै सिट हासिल गरे ।

चुनाव अघिसम्म यस पार्टीमा रबिलाइ मात्र चिन्थे । अब भने उनको पार्टीका केहि ब्यक्ति समेत राष्ट्रिय व्यक्तित्व भैसकेका छन् जसले यस अघि दिग्गज भनिएकाहरुलाई समेत चुनावमा हावा खुवाइदिए । अर्थात अहिले चलेको सामाजिक संजालको भाइरल भाषामा भन्दा उनीहरुलाई घण्टी बजाई दिए । सधैं विवादमाझ घेरिईरहने उनी यो चुनावमा पनि विवादै विवादका बीच सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी भन्दा झण्डै तीन दोब्बर मतले बिजयी भए । अब उनलाई संसद नै प्रवेश गर्न नदिने गरि मुद्दा मामिलाहरु गरिंदै छ । यस विषयमा सामाजिक संजालमा ठूलो बहस छेडिएको छ । रवीको मामिलामा बिदेशमा बस्ने हरुको एक मत जस्तै छ ‘एकपटक को नेपाली सधै को नेपाली’। त्यसमाथि उनले आफ्नो बिदेशी नागरिकता त्यागिसकेको र समाजसेवा मार्फत् राजनीतिमा समेत सर्बस्विकार्य भईसकेकोले यो विषय त्यति उचाल्नुपर्ने नै होइन ।

उनको विषयमा विभिन्न सरकारी निकायमा बिगत देखिनै पुरानो नागरिकता प्रयोग भएको सबन्धमा उनले लुकाएको केहि देखिएन । उनको नियत समेत बिदेशी नगरिकता त्यागेर समाज सेवा गर्ने देखिएकोले अहिले उनको राजनैतिक उदय देखि झस्केकाले बखेडा गर्नु नै असान्दर्भिक छ । राज्यले बर्तमान नियम कानुनका यस्ता कमजोरी हटाई उचित ब्यवस्थापन गर्नु नै राम्रो देखिन्छ । अरु सबै कुराहरु तपसिलका हुन् । ‘एकपटकको नेपाली सधैको नेपाली’ हुन् र हुनु पनि पर्छ।

तपाइँको प्रतिक्रिया