बिहीबार, वैशाख १३, २०८१

कथा : ३ पात्र

रामचन्द्र सापकोटा२०७९ पुष ६ गते ७:४७

रामचन्द्र सापकोटा

एकदिन अचानक म बिनाआवाजको एक चट्यांगको प्रकाश सँगसँगै अनायास हावामा तैरिँदै उडिरहेको थिएँ। एकछिन पछि आफुलाई एक अँध्यारो बन्द कोठामा पाएँ। अचम्म लाग्यो। एकछिन पछि उक्त कोठाबाट बाहिर निस्किएँ। सदा झैं आज मौसम अचानक फेरिएको रहेछ। कस्तो बसन्त ऋतुमा झैं हावा सिर् र सिर् र बहिरहेको। बाहिर मौसम कति सफा । लाग्थ्यो, स्वर्गको कुनै टुक्रा पो हो कि ! यस्तो लाग्यो, म त अर्को दुनियाँमा आएको रहेछु। मेरी बास्सै ! हो त रैछ। म अर्कै दुनियाँमा आएको रहेछु।

हिजो विभिन्न आयामहरु र समानान्तर ब्रह्माण्डको बारेमा पढेको थिएँ । आज यात्रा गर्न पाइयो । म त दङ्ग । सबै उस्तै ठाऊँ, उही मौसम, उही वातावरण, उही समय तिथि मिती, सबै उही । तर केहि फरक भने पाएँ। फरक त केवल तीन जना पात्र र तिनका असरहरु।

…………….

उग्रचण्ड

उग्रचण्ड एक विद्रोही कम्युनिष्ट नेता रहेछन । उनले १० वर्ष सशस्त्र आन्दोलन गरेर देशलाई सहि ट्रयाकमा लिएर आएका रहेछन् । २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु जस्तै गणतन्त्र, संघियता, धर्म निरपेक्षिता, समानुपातीक व्यवस्था, समाबेशी लोकतन्त्रलाई संस्थागत गर्न र प्रतिगमन हुन नदिन वाचडगको रुपमा रहेर कार्य गर्न उनले कहिल्यै मन्त्री, सभामुख, प्रधानमन्त्री जस्ता राजनीतिक पदको लोभ गरेका रहेनछन्। आफुले नेतृत्व गरेको पार्टी दोश्रो नेतालाई जिम्मा लगाई उनी रोल्पामा बसेर देश विकासको मार्ग-निर्देशक भई काम गरेका रहेछन् । देशभित्रका दिनदु:खीहरुका लागि साँच्चिकै उनले सशस्त्र आन्दोलन गरेका रहेछन भन्ने पारेका रहेछन।

उनि त आजकल रोल्पाबाट बेलाबेलामा नेताहरु गलत ट्रयाकमा गए भने कुर्लदा रहेछन। उग्रचण्ड भने पछि सबै नेताहरु थुरुरु हुँदा रैछन। उनि त राजनेता भैसकेका रहेछन । त्यसैले त आजकलको नोटमा उनको फोटो छापिएको रहेछ। देशमा महान क्रान्तिबाट धेरै परिवर्तन आएको जस उनलाई जाँदो रहेछ।

बेलाबेलाममा मन्त्रि प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सबै जसो ठुलाबडा उनलाई भेट्न प्राय रोल्पा जाँदा रहेछन। उनिसँग सल्लाह लिँदा रहेछन। उनको सादगीपन र राजनीतिक बिद्धवता देखेर ठूलाबडाहरु कायल हुँदारहेछन। अरु पार्टीका नेता पनि उनलाई भेट्न जाँदा रहेछन। आजभोली त उनि गणेशमान पछिका जिउँदा सर्वमान्य नेता पो भएका रहेछन्। कसरि सशस्त्र आन्दोलनबाट कुनै पार्टी राजनीतिक मुलधारमा शान्तिपूर्वक अवतरण भयो सो कुराको अनुसन्धान गर्न राजनीति शास्त्रका विद्यार्थीहरु विश्वभरबाट उग्रचण्ड कहाँ आउँदा रहेछन। उनि नेपालमा मात्र नभएर सारा बिश्वमा एक राजनीतिक मोडल पनि भएका रहेछ्न।

…………….

बाग बहादुर देउजा

राजनीति गर्ने हरेक नेताले समाजवाद आफू र आफ्नो घर परिवारबाट शुरु गर्नुपर्छ भन्ने आदर्शका हिमायती बाग बहादुर देउजा रहेछन्। राजनीति गर्नेले कहिल्यै पदको लोभ धेरै गर्नु हुँदैन भन्दै आफ्नो उत्तराधिकारी गनगन कुमार थापालाई घोषणा गरेका रहेछन् । उसलाई राजनीतिमा अघि लगाउदै आफु नेपाली कांग्रेसको बरिष्ट सल्लाहकार भई बसेका रहेछन ।

नेपाली कांग्रेसका जिवित नेताहरुमा बाग बहादुर निकै प्रतिष्ठित मानिन्छन। उनमा बर्तमान राजनैतिक चातुर्यता अलि बढी नै ब्याप्त रहेछ। पार्टी भित्रका कसलाई अगाडी लगाउने, कसलाई पाखा लगाउने उनि खप्पिस रहेछन् । तर सरकारको नेतृत्व भने ६२/६३ साल पछि कहिल्यै आफूले गरेका रहेनछन्।

……………………

जेपी जोली

२०७४ सालमा जब उनको नेतृत्वमा दुइ तिहाई बहुमतको सरकार गठन भयो तब उनले थुप्रै सपनाहरु बोकेर देश बनाउन कम्मर कसे । त्यो बेला उनमा फेरी किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने स्थिति आयो। उनले सहजै प्रधानमन्त्री पदबाट राजिनामा दिँदै म बुढो, रोगी मान्छे ४ वटा किड्नी बोकेर आफ्नो शरीरको ख्याल गरौं कि देशको, अब म सक्दिन तपाईहरु नै सम्हाल्नुहोस भन्दै दोश्रो पुस्ताका कुनै नेतालाई नेतृत्व हस्तान्तरण गरेका रहेछन। उनको त्यो बढप्पन देखेर उनलाई पार्टीले बरिष्ट नेताको पदवी प्रदान गरी उनको फोटो पार्टीको हरेक कार्यालयमा राख्ने निर्णय गर्दै ससम्मान बिदाई गरेछ। उनले शुरु गरेका तर अपुरा योजनाहरु जस्तै पाइप लाइन, रेल मार्ग, पानी जहाज आदी कार्यहरु पुरा गर्न त्यसपछिको सरकारले काम धेरै अगाडी बढाएको रहेछ।

…………………..

जब यी ३ नेताहरुको बारेमा कोहि अपरिचित व्यक्तिबाट जानकारी लिएर अगाडी बढ्दै थिएँ मेरो पाइन्टमा फट्यांग्रा आएर बस्यो । फट्यांग्रा झार्न खुट्टा झट्कार्दा नजिकैको झ्यालमा खुट्टा बेसरी बजारियो । म झसंग निन्द्राबाट ब्युँझिएँ ।

तपाइँको प्रतिक्रिया