सोमबार, माघ २३, २०७९

विद्रोहका प्रतीकः सांसद रणसिंह परियार

जितेन्द्र थापा/सुर्खेत २०७९ पुष १७ गते १४:१३

जितेन्द्र थापा

सरल बोलीचाली, सरल लवाइखुवाई। आफ्नो गृहजिल्लाबासीको तनमनमा हुनुहुन्छ हुम्लाको अदानचुलि गाउँपालिका गाउँपालिका–१ कल्खेका रणसिंह परियार। २०३३ सालमा जन्मिनु भएका रणसिंह परियार ४६ वर्षको हुनुभयो। क्रान्तिकारी स्वभावका रणसिंह समाजमा गरिने जातिय विभेद र थिचोमिचो सहनुहुँदैन भन्ने ब्यक्तिकारुपमा चिनिनुभयो।

हुम्लाको विकट भूमिको एउटा सामान्य परिवारमा जन्मिनुभयो। हुम्लाको विकटमा पनि विकट अदानचुली गाउँपालिकाको कल्खे गाउँबाट संघर्ष गरेर कर्णाली प्रदेशसभामा प्रत्यक्ष चुनाव जित्ने दलित समुदायका पहिलो व्यक्ति बन्नुभएको छ। तत्कालीन माओवादी पार्टीका लागि गाउँ घरबाट विद्रोह गरि जनयुद्धमा लामबद्ध हुनुभएका रणसिंहले झण्डै ३० वर्षको कठिन संघर्ष र धैर्यताबाट हुम्लामा दलित समुदायबाट राजनीतिज्ञका रूपमा इतिहास रच्नुभएको छ।

१० वर्ष कठिन जनयुद्ध, त्यसपछिको जनआन्दोलनमा सामेल भएपछि पनि माओवादी पार्टीभित्रैको विचलनमा पनि आफ्नो धैर्यता नछोडेर रणसिंहले २०७९ सालको प्रदेशसभा चुनावमा कर्णालीमा प्रत्यक्षतर्फ चुनाव जित्ने हुम्लाका लागि पहिलो र ऐतिहासिक सांसद बन्नुभयो।

रणसिंह प्रत्यक्ष चुनावका लागि माओवादीबाट टिकट पाउनु नै ऐतिहासिक मानिएको थियो। त्यसलाई उहाँले विजयी भएर इतिहास बनाइदिनुभयो। एमालेका दलबहादुर फडेरा र कांग्रेसका स्वतन्त्र उम्मेदवार मंगल शाहीलाई हराउँदै चुनाव जित्नुभयो। दसैँपछिको बाढी र पहिरोका कारण बाटो अस्तव्यस्त हुँदा धेरै कठिन संघर्ष गरेर चुनावी मैदानमा होमिनुभएका उहाँले ६ हजार ४ सय ८१ मत ल्याएर विजय हासिल गर्नुभएको हो।

बुवा जैबिरे परियार र आमा गडकलाका सुपुत्र रणसिंहले विद्यालयको केही शिक्षा बडो मुश्किक पाउनु भयो, उच्च शिक्षा त परको कुरा हो। राजनीतिका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आउन पनि ठूलै युद्ध लड्नुपर्ने कठिन संघर्ष पार गरेका व्यक्ति हुनुहुन्छ रणसिंह।

कर्णालीमा त्यसमाथि हुम्लाको पनि विकट क्षेत्रमा राजनीति गर्न जति कठिन छ, एक दलित समुदायका व्यक्तिले उचारचढावपूर्ण संघर्ष र सफलता पाउन त्यो भन्दा धेरै कठिन छ। त्यो कठिन समय पार गरेर हुम्लाबाट कर्णाली प्रदेशसभामा प्रत्यक्षमा चुनाव जित्ने कीर्तिमान राख्नुभएका रणसिंह परियारले अब हुम्लाका दलित समूदायको प्रतिनिधित्व गर्दै सिंगो कर्णालीमा झन कठिन राजनीति गर्नुपर्नेछ।

यसअघि पहिलो कर्णाली प्रदेशसभामा सीता नेपाली, राजु नेपाली, दानसिंह परियार, झोवा विश्वकर्मा र रातो कामी सांसद हुनुभएको हो । त्यसमध्ये सीता नेपाली र रातो कामी मन्त्री बन्नुभयो। तर उहाँहरूले कर्णालीका दलित समूदायका लागि उल्लेख्य काम गर्न सक्नुभएन।

त्यसमाथि पछिल्लो समय विभेदको जड अन्त्य गर्न भनेर जनयुद्ध गरेको माओवादीका सदस्यले नै दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा अत्याचार गर्दा त्यसको बचाउमा लागिरहेको परिदृश्य आँखै अगाडि भयानक बनिरहेको छ। यस्तो अवस्थामा जनताको मतले हुम्ला जस्तो जिल्लाबाट विजयी रणसिंहमाथि जिम्मेवारी थपिएको छ।

इतिहासमा पहिलोपटक दलित समूदायलाई सम्बोधन गरेको मननयोग्य समय पनि उहाँले सम्झिरहनुभएको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व र जिल्ला नेतृत्वको पहलमा पहिलोपटक टिकट प्रदान गरि ऐतिहासिक सर्वहारा वर्गप्रति गरेको सम्मानप्रति हार्दिक आभार प्रकट गर्दछु,’ हुम्लाबाट प्रदेशसभा सदस्यमा विजयी भएपछि सांसद बनेका परियारले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हुम्लाको प्रदेश (क) मा उम्मेदवारी दिदैँ गर्दा ठुलो चुनौती खेप्नु परेको थियो। यो चुनौतीलाई परास्त गर्न अध्यक्ष प्रचण्ड लगायत गठबन्धनका सम्पूर्ण नेता कार्यकर्ता र विजय गराउने मतदातालाई धन्यवाद दिन चाहन्छु।’

विद्यालयमा विभेद

विद्यालय स्थापना हुँदा रहरै रहरमा विद्यालय पुग्नुभएका रणसिंहले नत विद्यालयबाट राम्रो साथ पाउनुभयो, नत गाउँसमाज र परिवारबाट नै साथ दियो। आफ्नै बलबुत्याइमा विद्यालय गएपनि त्यहाँ दलित दमाई भएकै कारण एक्लै बस्नु पर्‍यो। एक्लै दु:ख कष्ट भोग्दै मनका पीडालाई मनको एक भागमा लुकाएर उहाँ चार कक्षासम्म निरन्तर अब्बल हुनुभयो। जनकल्याण प्रा विमा चार कक्षा पास गरेपछि माध्यामिक विद्यालयमा आधा घण्टा हिडेर सुर्योदय माध्यामिक विद्यालय श्रीनगरमा पाँच कक्षामा भर्ना हुनुभयो। त्यहाँ भर्ना भएपछि झन कडा संघर्ष सुरु भयो। विद्यालयमा भर्ना भइसक्दा पनि किताबसम्म दिइएन। सात दिनको पैदल यात्रा गरेर किताब किन्न बाजुराको मार्तडी पुग्नुभएको थियो।

घरको आर्थिक नाजुक थियो। विद्यालयमा छुवाछुत उत्तिकै थियो। छुवाछुत र अपहेलना र कसैको कुरा नसुनेर उहाँले पढाइमा मन लगाउनुभयो। एक देखि चार कक्षासम्म अध्ययन गर्दा परिवारबाट नै साथ सहयोग नपाएको उहाँको भनाई छ। घरबाट नै विद्यालय नजान भनेर भने पनि निरन्तर विद्यालय जानुभयो। “जिद्धि गरिहाल्यो पढोस पढेपनि” घरकाले भने। गाउँमा अरुको कुरा सुनेर र घरबाट आमाबुबाले विद्यालय नजानु भनेको कुरा सुनेको भए यहाँसम्म पुग्ने कल्पना थिएन,’उहाँ भन्नुहुन्छ, ‘निरन्तर आफ्नै संघर्ष र मेहनतले यहाँसम्म पुगेको हुँ।’

पहिलो दलित शिक्षक

२०५२ साल वैशाख २८ गते १८ वर्षको उमेरमा शिक्षकको जागिर पाउनुभयो। दलित परिवारबाट उहाँबाहेक अरु थिएनन्। उहाँले अध्ययन गर्दा हुम्लामा उहाँ मात्र हो दलित विद्यार्थी। सबैको हेपाइ चेपाइ सहँदै एक कक्षा देखि दश कक्षासम्म पढेर पहिलो एसएलसी दिनेमा उहाँ नै पर्नुहुन्छ। कक्षा १० मा एसएलसी दिएपछि उहाँले शिक्षक बन्ने अवसर पाउनुभयो। २०५२ वैशाख २४ गते हुम्लामै पहिलो दललित शिक्षक बन्नुभयो।

शिक्षक हुँदा समेत विद्यालयमा दलित भएकै कारण रणसिंहले गाउँमा नियुक्ति पाउनुभएन। विद्यालयमा पनि बस्ने ठाउँ थिएन। उहाँ ठकुरी गाउँ बस्नुहुन्थ्यो। छत्रपाल प्रावि विद्यालयमा नियुक्ति भएको थियो। साँझबिहान बालवालिका पढाउनुहुन्थ्यो। तर खाना दिँदा बाहिर अलग्गै राखेर दिन्थे । आफूले खाएका भाँडाकुँडा पनि बाहिर अलग्गै राख्नुपर्थ्यो।

विद्यालयबाट जिल्लास्तरीय कार्यक्रममा भाग लिँदा भान्छामा नपुगेर अलग्गै बसेर खाने गर्नुपर्थ्यो। अलग्गै बसेर पनि जिल्लास्तरीय कार्यक्रमबाट बिजय हासिल गरेर आउनुहुन्थ्यो। पिकनिक जाँदा घरबाटै छुट्टै थाली लिएर जानुपर्ने। चामल लिए तेल लिन नपाउने । बस्दा अरुभन्दा अलग्गै बस्ने जस्ता थुप्रै छुवाछुतका घटनाहरु भोग्नुभयो। जिल्लास्तीय कार्यक्रम हुँदा पनि भान्छामा नलगी अलग्गै बसेर कार्यक्रम हेर्ने गर्नुहुन्थ्यो । यति हुँदा पनि उहाँ कति पनि बिचल्लित हुनु भएन ।

शिक्षक भएकै बेला विद्यालयमा अध्ययन गर्दा होस् वा विद्यालयमा अध्यापन गराउँदा होस् रणसिहले जातिय विभेद भोग्नुभयो । ‘दमाइकै छोरा भएर होला माथिल्लो जातका विद्यार्थीबाट धेरै कुटाइ पनि खााएँ,’उहाँ भन्नुहुन्छ, ‘धेरै अपमान पाएँ । विभिन्न अपहेलना तिरस्कार हुँदा पनि मैले सम्मान ठानेँ। कत्ति पनि हार मानिन। सधै आफ्नै जीत ठानेँ। सकारात्मक रुपमा विद्रोह गर्दै गएँ ।’

शिक्षण त्यागेर विद्रोहमा

२०५९ साल फागुन २ गते २४ वर्षको उमेरमा जनयुद्धमा होमिनुभयो। जनयुद्धमा होमिदाका पीडा पनि उहाँसँग अथाह छन। परिर्वतन र सर्वहारा वर्गको पक्षमा न्यायको लडाइ लड्न युद्धमा होमिनुभएको हो रणसिंह।

गाउँगाउँमा पुगेर माओवादी पार्टी र माओवादी जनयुद्ध भनेको जनताको लागि हो। यस्ले अन्याएमा परेकालाई न्याए दिन्छ। सर्वहारा वर्गको अधिनायकत्व कायम गर्छ भन्ने बिचारले सबै शिक्षकहरुलाई संगठित  गराउनुभयो। त्यस अभियानबाटै उहाँ घर नपुगेर युद्धमा पुग्नुभयो। घरको आर्थिक अवस्था दयनीय थियो। तलबकै भरमा परिवार पालिएको थियो। परियार जनयुद्धमा होमिसके पनि उहाँको परिवार पुन आर्थिक संकटमा पर्‍यो।

रणसिंह परियारले यसबीचमा भोगेका जातीय विभेदको लामो श्रृङ्खला तोड्दै जुन इतिहास लेख्नुभएको छ, अब त्यसलाई कर्णाली प्रदेशसभाबाट विभेदको जड उखेल्ने जिम्मेवारी पूरा गर्नुपर्ने चुनौति छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक