सोमबार, माघ २३, २०७९

सम्झनामा फुटबलका जादूगर पेले

आशुतोष अधिकारी२०७९ पुष १७ गते १५:२५

आशुतोष अधिकारी

आधुनिक फुटबलका एक सर्वकालीन महान् खेलाडी पेले अब हामी बीच छैनन्। विगत केही वर्षदेखि विभिन्नथरिका रोगहरूसँग संघर्ष गरिरहेका पेलेको ८२ वर्षको उमेरमा गत बिहीवार निधन भएसँगै आधुनिक फुटबलको ‘एउटा महान् युग’ को अन्त्य भएको छ। ‘ब्ल्याक पर्ल’ अर्थात् ‘कालो मोती’ को उपनामले चर्चित यी ब्राजिलियन लिजेण्डलाई २० औँ शताब्दीका सबैभन्दा सफल र लोकप्रिय खेल व्यक्तित्वमध्ये एक मानिन्छ। उनलाई सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ‘एथलिट अफ दी सेन्चुरी’ घोषित गरेको थियो भने सन् २००० मा टाइमद्वारा ‘शताब्दीका १०० सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू’ को सूचीमा समावेश गरेको थियो। तीनवटा विश्वकप उपाधि उचाल्ने संसारका एक मात्र खेलाडी पेलेलाई आफ्नो अद्भूत खेलकौशलको माध्यमद्वारा फुटबललाई केबल एउटा खेलबाट ‘दी ब्युटीफुल गेम’ को रूपमा रूपान्तरण गर्नेमात्र नभई यही खेलका माध्यमबाट ब्राजिलको ख्यातिलाई संसारभर फैलाउने श्रेय समेत दिने गरिएको छ। यस आलेख मार्फत हामी ‘फुटबलका जादुगर’ पेलेप्रति श्रद्धाञ्जलीस्वरुप यी महान खेलाडीको जीवनका विविध पक्षहरूको छोटो विवेचना गर्दैछौँ।

गरिबीमा बितेको बाल्यकाल

सन् १९४० अक्टोबर २३ का दिन ब्राजिलको स्टेट अफ मिनस एराइसको त्रेस कोरासोइसको एक गरिब परिवारमा पेलेको जन्म भएको थियो। पेलेका पिता जोओआ रामोस डो नासिमेन्टो स्वयम् एक व्यावसायिक फुटबल खेलाडी थिए जसले केही खेलमा ब्राजिलको राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गरेका थिए। ‘डनडिन्हो’ उपनामले चिनिएका पेलेका पिताले आक्रामक सेन्टर फरवार्डका रूपमा ब्राजिलको चर्चित क्लब फ्लेमिङ्गो र अन्य थुप्रै साना क्लबहरूबाट व्यावसायिक फुटबल खेलेका थिए। तिनै पिताले एक मेन्टरका रूपमा पेलेलाई सानै उमेरबाट फुटबल खेलका कौशल सिकाएका थिए।

त्यसबेला ब्राजिलमा फुटबल खेल एकदमै लोकप्रिय थियो तर यो खेल ‘गरिबहरूले खेल्ने खेल’ मा मात्र सीमित थियो। त्यसैले पेलेका पिता व्यावसायिक खेलाडी भए पनि उनीहरूको परिवारको आर्थिक अवस्था भने त्यति राम्रो थिएन। पेले सानै छँदा उनको परिवार मिनस एराइसबाट साओ पाओलो शहरमा बसाइँ सरेको थियो र यही शहरको बाउरू भन्ने ठाउँमा पेलेको बाल्यकाल बितेको थियो।

पेलेले सानै उमेरमा आफ्नो पिताबाट फुटबल खेल्न सिकेका थिए तर बल वा फुटबल बुट किनेर खेल्न सक्ने हैसियत त्यो परिवारसँग थिएन। त्यसैले पेलेले साओ पाओलोका सडकहरूमा थोत्रा मोजाहरूभित्र कागज कोचेर बनाइएको बल खेलेरै आफ्नो फुटबल खेल्ने कलालाई तिखारे। पेलेले आफ्नो किशोरावस्थामा फुटबल खेल्ने पैसा जोहो गर्नकै लागि होटलमा भाँडा माझ्नेदेखि जुत्ता पालिस गर्ने र सिनेमा हलबाहिर चना र बदाम बेच्नेसम्मका काम गर्न भ्याए। नयाँ फुटबल बुट किन्न सक्ने क्षमता नभएका कारण पेलेले आफ्नो किशोरावस्थाको अधिकांश समय खाली खुट्टा नै फुटबल खेलेका थिए।

इन्डोर फुटबल (फुटसल) बाट शुरू भएको खेलजीवन

सन् १९४०–५० को दशकमा ब्राजिलमा इन्डोर फुटबल (फुटसल) एकदमै लोकप्रिय थियो र आफ्नो किशोरावस्थामा पुग्दा–नपुग्दै पेले फुटसल खेलका माहिर खेलाडीका रूपमा चर्चित भइसकेका थिए। बाउरू क्षेत्रमै पहिलोपटक आयोजना गरिएको फुटसल प्रतियोगितामा पेलेले ‘रेडियम’ नामक स्थानीय फुटसल क्लवको तर्फबाट प्रतिनिधित्व गरेका थिए। पेलेको टोलीले सो प्रतियोगिताका साथै अन्य केही उपाधि समेत जित्न सफल भएको थियो।

आफूभित्र भएको आत्मविश्वासलाई बढाउँन र आफ्नो खेलको स्तरलाई माथि उठाउनमा फुटसलको अहम् भूमिका रहेको कुरा पेलेले कैयौँ अन्तर्वार्ताहरूमा बताएका छन्। फुटसल सानो क्षेत्रफल र कृत्रिम मैदानमा खेलिने भएकाले घाँसे मैदानमा भन्दा धेरै छिटो खेल्नुपर्ने, अनि तत्कालै सोचेर निर्णय पनि क्षणभरमै गरिहाल्नुपर्ने कारण फुटसल साधारण फुटबलभन्दा जटिल हुने पेलेको धारणा थियो।

पन्ध्र वर्षको उमेर पुग्दानपुग्दै पेलेले ब्राजिलका फरक–फरक स्थानीय क्लवहरूबाट खेल्न भ्याइसकेका थिए जसमध्ये सेते डे सेतेम्ब्रो, कान्टो डे रियो, साओ पाउलिन्हो र अमेरिकिन्हा मुख्य रहेका छन्। पेलेकै नेतृत्वदायी प्रदर्शनमा बाउरू एथ्लेटिक क्लब साओ पाउलो स्टेट युथ च्याम्पियनशीपको दुई उपाधि जित्न सफल भएको थियो। सन् १९५६ मा बाउरू एथ्लेटिकका कोच वाल्देमार डे ब्रिटोले पेलेलाई साओ पाउलो शहर नजिकैको अर्को शहर सान्तोस पुर्‍याएका थिए जहाँ पेलेले ब्राजिलकै एक प्रमुख फुटबल क्लब ‘सान्तोस’ का लागि ट्रायल दिने अवसर प्राप्त गरे। ट्रायलमै पेलेको खेलबाट प्रभावित भएका सान्तोस फुटबल क्लवका कोच लुलाले तत्कालै उनलाई अनुवन्ध गर्ने निर्णय गरेका थिए। १९५६ को जुन महिनामा १६ वर्षको उमेरमा पेले ब्राजिलको चर्चित क्लब सान्तोषका लागि अनुवन्ध भएका थिए। ७ सेप्टेम्बर १९५६ का दिन कोरिन्थियन्स डे सान्तो आन्द्रेविरुद्ध खेल्दै पेलेले आफ्नो खेलजीवनको पहिलो व्यावसायिक खेल खेलेका थिए। सान्तोषले ७–१ ले जितेको सो खेलको पहिलो गोल पेलेले नै गरेका थिए।

कीर्तिमानी पेले

सन् १९५६ मा १६ वर्षको उमेरमा फुटबल क्लव सान्तोषले पेलेलाई अनुवन्ध गर्दा उनको पारिश्रमिक रहेको थियो– प्रतिमहिना १० डलर। वर्षौपछि सन् १९७५ मा जब पेलेले अमेरिकाको न्युयोर्क कसमस एफसीका लागि तीन वर्षे सम्झौता गरे, उनले सात मिलियन डलर पारिश्रमिक पाएका थिए जुन त्यस समयको किर्तिमानी रकम थियो। आफ्नो दुई दशक लामो खेलजीवनमा पेलेको नाममा कति किर्तिमान कायम भए, त्यसको कुनै लेखाजोखा नै छैन। पेलेले कायम गरेका केही प्रमुख किर्तिमानको यहाँ चर्चा गरिएको छ।

पेलेले आफ्नो खेलजीवनमा कुल १३६३ खेल खेल्दै १२७९ गोल गरेका छन् जुन सर्वाधिक व्यक्तिगत गोलसंख्याका रूपमा गिनिस बुक अफ वल्र्ड रेकर्डस्मा उल्लेख छ। यद्यपि यो संख्यामा केही अनौपचारिक र मैत्रीपूर्ण गोलहरू पनि समावेश छन् तर उनले जति गोल आजसम्म कुनै खेलाडीले पनि गर्न सकेका छैनन्। पेलेले ब्राजिलको राष्ट्रिय टोलीबाट ९२ खेल खेल्दै कायम गरेको ७७ गोलको रेकर्डलाई नेइमारले हालै सम्पन्न विश्वकपमा आफ्नो नाम गराएका छन्।

पेलेको नाममा विश्वकप फुटबल प्रतियोगिताको तीन संस्करण जित्ने संसारका एक मात्र खेलाडीको अभूतपूर्व किर्तिमान कायम छ। उनले सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधि जितेका थिए। सन् १९५८ मा १७ वर्ष २४९ दिनको उमेरमा विश्वकप खेल्दै सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको किर्तिमान बनाउन सफल पेलेले सोही विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी, कम उमेरमा ह्याट्रिक गर्ने खेलाडी र कम उमेरमा विश्वकपको फाइनलमा गोल गर्ने खेलाडीको किर्तिमान समेत कायम गरेका थिए। सन् १९६२ मा दोस्रोपटक विश्वकप उपाधि जित्दासमेत पेलेको उमेर केवल २१ वर्ष थियो।

पेले गोल गरेर कहिल्यै अघाउँदैनथे। खेलमा एक गोल गरेर मात्र पनि उनको चित्त बुझ्दैनथ्यो। उनले आफ्नो खेलजीवनमा कुल १२९ पटक ह्याट्रिक गरेको तथ्यांकमा उल्लेख छ जुन आफैँमा एउटा अद्भूत किर्तिमान हो। उनले आफूले खेलेको कुल खेलमध्ये ९२ खेलमा तीन गोल, ३१ खेलमा चार गोल, ६ खेलमा पाँच गोल र एउटा खेलमा ८ गोल गरेका छन्।

पेले : द नेसनल ट्रेजर अफ ब्राजिल

सन् १९५८ मा १७ वर्षको उमेरमा ब्राजिललाई विश्वकप फुटबल उपाधि दिलाउन अहम् भूमिका खेलेका पेलेमाथि सारा संसारको ध्यान केन्द्रित हुनपुग्यो। रियल म्याड्रिड, युभेन्टस्, इन्टर मिलान र म्यानचेष्टर युनाइटेड जस्ता युरोपका प्रमुख क्लबहरू पेलेलाई अनुवन्ध गर्ने प्रयासमा लागेपछि ब्राजिलका तत्कालीन राष्ट्रपति जानियो क्वाद्रियोस्ले सन् १९६१ मा पेलेलाई ‘नेशनल ट्रेजर’ (राष्ट्रको सम्पत्ति) घोषित गरेका थिए। पेलेलाई ब्राजिलबाट बाहिर जानबाट रोक्नकै लागि यो कदम चालिएको थियो। पेलेलाई ब्राजिलमा राष्ट्रिय नायकका रूपमा सम्मान गरिने गरिएको र उनी सान्तोष फुटबल क्लबमै खुसी रहेका कारण उनले कहिल्यै युरोपमा गएर खेल्ने इच्छा व्यक्त गरेनन्, आफ्नो पूरा खेलजीवन सान्तोसमै बिताए। आफ्नो खेलजीवनको अन्तिम केही वर्ष भने उनले अमेरिकामा गएर खेलेका थिए।

१९ नोभेम्वर, १९६९ का दिन पेलेले आफ्नो खेलजीवनको १००० गोल पूरा गरेका थिए। ब्राजिलमा आज पनि १९ नोभेम्बरलाई ‘पेले दिवस’ का रूपमा मनाइन्छ। पेलेको सम्मानमा ब्राजिलको रियो दि जेनेरियोमा संग्रहालय स्थापना गरिएको छ भने सन् २०१८ मा रियो मै पेलेको पूर्ण कदको सालिक प्रतिश्थापन गरिएको थियो।

आफ्नो देश ब्राजिलमा मात्र होइन, पूरा विश्वभर पेले एक सम्मानित नाउँ थियो। उनको ख्याति कतिसम्म थियो भन्ने कुराको उदाहरणका रूपमा सन् १९६७ को एउटा घटनालाई लिन सकिन्छ। पेलेको खेल हेर्नकै लागि भनेर अफ्रिकी मुलुक नाइजेरियामा चलिरहेको गृहयुद्धलाई रोेक्दै ४८ घण्टे ‘युद्धविराम’ गर्न सरकारी र विद्रोही दुवै पक्ष तयार भएका थिए। र, कालान्तरमा त्यस देशमा शान्ति स्थापना गर्न त्यही खेल प्रमुख कडी बन्न पुगेको थियो। त्यस्तै सन् १९९७ मा ब्रिटेनकी महारानी एलिजावेथ द्वितीयले पेलेलाई ‘अनररी नाइटहुड’ सम्मान प्रदान गरेकी थिइन् जुन राजकीय सम्मान साधारणतया गैरब्रिटिश नागरिकलाई दिइने गरिँदैन।

पेलेको अन्तिम खेल

सन् १९७७ को अक्टोवर महिनामा पेलेले आफ्नो व्यावसायिक जीवनको अन्तिम खेल खेलेका थिए। पेलेले आफ्नो पूरा करिअर बिताएका ब्राजिलको सान्तोष र अमेरिकाको न्यूयोर्क कसमस एफसीबीच अमेरिकाको न्यूजर्सीस्थित जायन्टस् स्टेडियममा खेलिएको सो खेलमा पेलेले खेलको पहिलो हाफ सान्तोसको तर्फबाट खेल्दै एक गोल समेत गरेका थिए। मध्यान्तर पछिको खेल उनले न्यूयोर्क कसमसको जर्सी लगाएर सान्तोषविरुद्ध खेलेका थिए। यो खेल न्यूयोर्क कसमसले २–१ ले जितेको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक