सोमबार, माघ २३, २०७९

दोर्जेको चौँरी गोठ: कठै किसानको जिन्दगी

कृष्ण तिमल्सिना२०७९ पुष १८ गते ६:३४

कृष्ण तिमल्सिना

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ खरिढुंगा माथिको विशाल पहाडी मैदानमा एउटा भव्य अन्तराष्ट्रिय चलचित्र ग्राम बनिरहेको छ। त्यही चलचित्र ग्रामसँगै जोडिएको एउटा खर्क। हिमाली कुहिरो र कुहिरोले गराइरहने झरी छल्दै, अनकन्टार अक्करे भीर तथा घनघोर जङ्गलमा वर्षौँदेखि व्यवसायिक चौँरी पालन गरिरहेका ४१ वर्षीय दोर्जे शेर्पा।

न मानव बस्ती, न भरपर्दो सडक, न विजुली, न सञ्चारको पहुँच…। अनकन्टार जङ्गलको बीचमा एकोहोरो भोटे कुकुर भुकेको आवाज मात्रै सुनिन्छ। नजिकै निर्माण भइरहेको फिल्मसिटीको पूर्वाधारले दोर्जे शेर्पालाई कुनै सुविस्ता दिएको छैन। चकमन्न जङ्गलको बीचमा ससाना छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क।

कलकल सुसाइरहेको हिमाली खोल्सो। हुस्सुले ढपक्क छोपिएको पहाडी चुचुरो। दोलखा र सिन्धुपाल्चोकको सिमा रेखामा रहेको यो खर्कमा मान्छेको आवाज निकै विरलै सुनिन्छ। दुई जिल्लाको सिमा दोभानसँगै चित्राले बारेको एउटा गोठ देखिन्छ। सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने यो सुनसान गोठ र विशाल खर्क, न दोलखाका मान्छे न सिन्धुपाल्चोकका मान्छे कै पहुँचमा छ। तर ४१ वर्षीय दोर्जे शेर्पाको ४ जनाको परिवार यही खर्कमा रमाइ रहेको छ।

सिमसिम परिरहेको झरिमा निथ्रुक्क भिजेको ससाना चौँरीको लैनो बाच्छा घिसारी रहनुभएका दोर्जे शेर्पा, अनकन्टार जङ्गलको बीचमा अकस्मात् यो स्तम्भकार पुग्दा झस्कनुहुन्छ– सोध्नुहुन्छ– भोट माग्न आएको हो ? यो पंक्तिकार पुग्दा मुलुक चुनावी रङ्गमा रङ्गिएको थियो।

दोर्जे शेर्पाका अनुसार– स्थानिय तह चुनावको समयमा केही नौला मान्छे– भोट माग्न गोठमा पुगेका थिए। त्यसपछि दोर्जेको गोठमा कसैले फर्किएर हेरेको छैन।

लस्करै चित्रा, त्रिपाल र सेउलाले बारेको ३ वटा छाप्रोमा दोर्जे शेर्पाको संसार अटाएको छ। जङ्गली जनावरबाट आफू र चौँरीलाई जोगाउन दोर्जेले ३ वटा हिमाली भोटे कुकुर पाल्नुभएको छ। दुई वटा कुकुर दिनभर जाग्छन्, अर्को एउटा भोटे कुकुर साँझ घाम अस्ताएपछि मात्र भुक्न थाल्छ।

बिहानबेलुकी आगो फुक्ने र ताप्ने, दिउँसो चौँरी चराउने शेर्पाको दैनिकी, विगत नौ वर्षदैखि चलिरहेको छ। “१३ वर्षको उमेरमै गोठालो भइयो। अहिले ४१ वर्ष पुगे। मेरो जीवन चौँरी र भेडासँगै बितेको छ,” कुहिरोले पारेको पानीमा निथ्रुक्क भिजेका दोर्जेसँग निकै पट्यारलाग्दो जीवन अनुभव रहेछ। तर कस्ल सुन्ने ?

बाबुको साथ लागेर गोठ मै हुर्किएका दोर्जेलाई कुनै चाडपर्वले छुदैन। दशैं यही गोठमा वित्यो। तिहार यही गोठमा बित्यो। दोर्जेको बाँकी तीन जनाको परिवार अहिले पनि यही चौँरी खर्क मै बस्छ। “एउटा छोरा काम खोज्न शहर पसेको छ। कान्छो छोरो १७ बर्षको भयो, फिटिक्कै काम गर्दैन, दिनभरी घुमेर हिंड्छ,” दोर्जेले पसिना पुछ्दै दु:ख सुनाउनुभयो।

“चौँरीहरू खोई त ? ” यो पंक्तिकार दोर्जेसँगको संवादलाई सहज बनाउन प्रयास गर्‍यो। दोर्जे, छोरालाई गाली गर्दै चौँरीको खोजीमा जङ्गल पस्ने हतारोमा हुनुहुन्छ।

हामी चौँरीको खोजीमा दोर्जेसँगै जङ्गल र खर्क चाहर्न थाल्यौं। मुटु कमाउने चिसो छ। हुस्सुले एकोहोरो पानी पारी रहेको छ। दोर्जे चौँरी धपाउने गुलेली र वर्षात छेल्ने पानीकागज च्यापेर उकालो लाग्नु भयो। हामी दोर्जेको पदचाप पच्छ्याइँदै छौं।

“मेरो हात मर्किएको छ, चौँरी पर परसम्म जङ्गलमा पुगेका हुन्छन्, त्यसैले गुलेलीले हानेर बोलाउनुपर्छ“, चौँरीखर्कबाट उकालो लम्किरहनु भएका दोर्जेले सुनाउनुभयो।

दोर्जे खेतीपातीको सिजनमा त्रिपुरासुन्दरी गाउँपालिका, ६ धुस्कुनमा रहेको घरमा जाने गर्नुभएको छ। धान, कोदो जे पाकेको छ त्यो बाली भित्र्याएर फेरि फर्केर यही गोठमै आउने हो, खेतीमा पुगेर गोठमा फर्किन ठ्याक्कै एक दिन लाग्छ। दोर्जेले भन्नुभयो– गोठमा यत्रा चौँरी छन्, लाखौं लगानी डुबेको छ, कसरी मन मान्छ र ? दोर्जेले, पशु रोगमा उपचारको सामान्य खालका तालिम पनि लिनुभएको रहेछ, चौँरी बिरामी पर्दा सामान्य उपचार आफैं गर्छु तर औषधी खोज्न चरिकोटसम्म पुग्नुपर्छ, उहाँको आफ्नै पीडा छ।

“चित्राले बारेर गोठ बनाउने, भाँडाकुँडा बोकेरै हिँड्ने, पिठो र नुन डोकामा बोक्ने, ढिँडो पकाएर खाने यो गोठाले जिन्दगी त हो, ” उहाँले मलिन अनुहार पार्नुभयो। “पात्रो हेरेर गोठ सार्ने तिथि मिलाउनुपर्छ, लेकाली बस्तीबाट बेँसी झर्दा साइत हेराएन भने चौँरीहरू मर्न सक्छन्, गोठालाले गोठसँगै हिँड्नुपर्दा धेरै कुरा ख्याल गर्नुपर्छ सर, ” उहाँले थप्नुभयो, “मेरो आधा जीवन यसैगरी जङ्गल मै बित्यो, म सँग घरमा बस्ने समय नै भएन।”

जाडोयाम सुरु भैसक्यो। अब बेँसी झर्ने हतारो छ। फागुन लागेपछि फेरि बिस्तारै यही गोठमा फर्किनुपर्छ, अब बेँसी झर्ने बेला भयो, त्रिपुरासुन्दरी गाउँपालिका कै तौथली नजिक दोर्जेले चौँरी गोठ सार्ने तयारी गरिरहनुभएको छ। “चित्राले बारेर गोठ बनाउने, भाँडाकुँडा बोकेरै हिँड्ने, पिठो र नुन डोकामा बोक्ने, ढिँडो पकाएर खाने यो गोठाले जिन्दगी त हो, “ उहाँले मलिन अनुहार पार्नुभयो। “पात्रो हेरेर गोठ सार्ने तिथि मिलाउनुपर्छ, लेकाली बस्तीबाट बेँसी झर्दा साइत हेराएन भने चौँरीहरू मर्न सक्छन्, गोठालाले गोठसँगै हिँड्नुपर्दा धेरै कुरा ख्याल गर्नुपर्छ सर, “ उहाँले थप्नुभयो, “मेरो आधा जीवन यसैगरी जङ्गल मै बित्यो, म सँग घरमा बस्ने समय नै भएन।“

पशुपालन व्यवसायिक अथवा कृषि कर्ममा सक्रिय दोर्जेले वर्षमा थुप्रै बाच्छो बेच्नुहुन्छ। “बाच्छा जोगाउनै कठिन पर्छ, “ दोर्जेले सुनाउनुभयो– “गोठमा चितुवाको जोखिम छ। त्यसैले भोटे कुकुर पालेको छ। गोठमा चौँरी र बाच्छा सँगै हिँड्ने ३ वटा भोटे कुकुर छन्। यिनै कुकुरले राति गोठलाई पहरा दिन्छन्। नचिनेको मानिस समेत गोठमा छिर्न दिँदैनन्, चर्न गएका चौँरी हराएमा यिनै कुकुरले खोजेर ल्याउँछन्, कुकुरकै सहायताले वर्षौंदेखि आफ्ना चौँरी र बाच्छा जोगाएर बसेको छु।“

सुरुमा भेडा पाल्नकै लागि पढाई त्यागेका दोर्जे व्यवहारले थिचिएपछि चौँरी पालक बन्नुभयो। सुरुमा रहरै रहरमा भेडा चराउन जान्थे, पाँच कक्षामा पढ्दै गर्दा भेडा पाल्ने रुचि बढ्यो। विस्तारै विद्यालय छाडेर भेडिगोठमा बस्न थाल्नुभयो, १३ वर्षको कलिलो उमेरबाटै भेडा पालन सुरु गर्नुभएका दोर्जे त्यसपछि चौँरी गोठ थेगेर बस्नुभएको छ। पढाई पाँच कक्षामै सिमित हुन पुग्यो। रहर भन्दा बढी बाध्यताले पढाई छाड्नुभएका दोर्जे कृषि कर्ममा जोडिनुभयो र त्यसपछि गोठालो बन्नुभयो। अहिले दोर्जेको थाप्लोमा परिवार पाल्नुपर्ने दबाब छ। “रहरले रोजिएको पेशा अहिले आम्दानीको स्रोत त बनेको छ तर साहुको ऋण तिर्दा तिर्दै आजित छु। ” दोर्जेको यो सबैभन्दा ठूलो पीडा हो। “कोरोनाको महामारीमा १८ लाख भन्दा बढीको छुर्पी नष्ट भयो, त्यसैले साहुको सय कडा ३६ व्याज तिरेर बसेको छु“ , दोर्जेले भन्नुभयो “कुनै पनि सरकारले कृषि ऋण दिएनन्, साहुको १० लाख भन्दा बढी ऋणमा डुबेको छु।“

“हैन सर, पढेर पनि हामी जस्ता किसानका छोराले जागिर पाउने हैन, यही कर्म गर्ने हो नत्र विदेशिनु पर्छ, तीन पुस्ता देखिको चौँरी र भेडा पालन व्यवसाय थेगिरहनु भएका दोर्जेले थप्नुभयो, “घरमा बुबाले एक्लै नसक्ने भएपछि पढाई त्यागेर म गोठालो बनेको हो।“

दोर्जेले भन्नुभयो, “त्यसपछि यही पाटनमै भेडा बाख्रा र चौँरी चराउन थाले, हिउँदमा बेँसीका फाँट र गर्मी याममा यही गौरीशंकर हिमालको काखको बुकीमा रमाउँछु।” चाडपर्व, झरी, बादल, हिमपात जस्तो अवस्थामा पनि उनीहरू यही गोठमा दिन काटिरहेका हुन्छन्। दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने यो प्रस्तावीत फिल्म सिटीको पाटन देखि कालिन्चोक मन्दिरको फेदिसम्म चौँरी चराउन पुग्नुपर्छ। त्यसैले उनीहरूको जीवनशैली अरु भन्दा भिन्न छ।

चौँरीलाई गोठमा फर्काउन गुलेलीले मट्याङ्ग्रा हानी रहनुभएका दोर्जेले थप्नुभयो– “घुमन्ते जीवन बिताउने हामी गोठालाहरूको जिन्दगी नै यही हो। चरण क्षेत्रमा घाँस पाउन्जेल सम्म हामी यहीं बस्छौं। “ तल खोँचमा भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको दोर्जेको गोठबाट धुवाँको मुस्लो निस्कि रहेको छ। यस्तो चिसो छ, मुढा बालेन भने त रात कटाउनै सकिन्न नि, दोर्जेले गोठ तिर देखाउँदै एउटा सुकेको गुराँसको मुढो पल्टाउनुभयो। चौँरीहरू विस्तारै गोठ तिर फर्किए, हामी दोर्जेको गोठमा फर्कियौ।

“हातले बनाएको सुद्ध दूधको छुर्पी हो”, दोर्जेले भन्नुभयो– “अहिले सहकारी समुह के के को नाममा मेशिनबाट छुर्पी बनाउनेहरूले बजार सुकाएका छन्। पहिले पहिले बिदेशसम्म पठाउने भन्दै व्यापारीहरूले अर्डर गर्थे तर अहिले हामी जस्ता साना किसानले उत्पादनले बजार नै पाउंदैन। व्यापारीले सामानको पैसा ६ महिना सम्म दिंदैनन्, यता साहुको ऋणले च्यापी रहेको हुन्छ।”

चौँरीको दूध, मकैको आँटो, ढिँडो, जङ्गलमा पाइने च्याउ, निगालाका टुसा, निउरो, इस्कुस जस्ता तरकारी दोर्जेको गोठमा देखिन्थ्यो। भेडाको ऊनले बुनेको राडीपाखी ओढ्ने, ओछ्‌याउने थिए। “यो राडीपाखीले जमिनको पानी जीउमा पर्न दिदैँन सर“, दोर्जेले सुनाउनुभयो, “यसले रोग लाग्दैन। हिमपात भएको बेला न्यानो हुन्छ।“ दोर्जे गोठमा ठूला मुडा जोडेर गोठमा आगो बाल्नुभयो– “छिटो छिटो सर्नु पर्छ, कतिन्जेल बस्ने भन्ने टुंगो हुँदैन त्यसैले यो गोठ व्यवस्थित छैन।“ दोर्जे आगो बालेर चौँरीको दूधको चियाले यो पङ्तिकारलाई सत्कार गर्न आतुर देखिनुहुन्छ। गोठ भरि चौँरीको दूधबाट बनाएको छुर्पी देखिन्छ। “हातले बनाएको सुद्ध दूधको छुर्पी हो“, दोर्जेले भन्नुभयो– “अहिले सहकारी समुह के के को नाममा मेशिनबाट छुर्पी बनाउनेहरूले बजार सुकाएका छन्। पहिले पहिले बिदेशसम्म पठाउने भन्दै व्यापारीहरूले अर्डर गर्थे तर अहिले हामी जस्ता साना किसानले उत्पादनले बजार नै पाउंदैन। व्यापारीले सामानको पैसा ६ महिना सम्म दिंदैनन्, यता साहुको ऋणले च्यापी रहेको हुन्छ।“

दोर्जेको गोठ बिजुलीको पहुंचबाट पर छ। मोवाई अथवा ईन्टरनेटले काम गर्दैन। गोठमा बालेको मुढा र टुकीको उज्यालोको भरमा गुजारा चलाई रहेकी दोर्जेकी श्रीमती मोवाईल चार्ज गर्न ४ घण्टा पैदल हिंडेर आज खरिढुंगा झर्नुभएको रहेछ। हाम्रो भलाकुसारी चल्दै गर्दा दोर्जेकी श्रीमती पासाङ पिठ्युमा पिठो र नुन बोकेर गोठमा पुग्दा झमक्क साँझ परिसकेको छ। दोर्जेको गोठका सबै चौँरी एक हाते रहेछन्। आफ्नै भाषामा दोर्जे दम्पत्तिले संवाद भयो। पासाङ हातमा सानो डोरी र ढुंग्रो बोकेर हतार हतार चौँरी दुहुन थाल्नुभयो।

“यी चौँरी सबैले मलाई दहुन दिंदैनन्,” दोर्जेले श्रीमतीलाई देखाएर भन्नुभयो, “सबै सँधै उहाँले मात्रै दुहुने हो।“ सबै लैना बाच्छा पालै पालो आफ्नो माऊसँग गए। पासाङले पालै पाले दुध दुहुनु भयो। “सर दुध घटेको छ,” झण्डै ५० लिटर दुध ठूलो सिलावरको डेक्चीमा खन्याउंदै दोर्जेले भन्नुभयो– “यही दूधको पनि बजार छैन। दुध बिक्दैन–छुर्पी बिक्दैन, एउटै चौँरीको एक लाख भन्दा बढी पर्छ झन् चौँरी कसले किन्छ? “

ऋण नै ऋणको दवावमा कृषि कर्म थेगी रहनुभएका दोर्जेको अघिल्तिर डेक्ची भरी दुध थियो–गोठ भरि दुहुना चौँरी थिए तर आँखाका डिलमा आँशु टिलटिल रसाई रहेको प्रष्ट देखिन्थ्यो। यति लामो कुरा पछि मनमा पीडा भयो– कठै किसानको जिन्दगी।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक