मंगलबार, वैशाख ११, २०८१

रुस र युक्रेनबिच ५० बन्दी साटासाट

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ पुष २५ गते २०:१८

Image Credit-Reuters via atlanticcouncil.org

रुस र युक्रेनले पूर्वी युक्रेनमा एकअर्कासँग लडाइँ जारि रहेकै बेला ५० बन्दी सैनिकहरू आदानप्रदान गरेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविरामका लागि आग्रह गरेलगत्तै रुस र युक्रेनबिच बन्दी साटासाट भएको छ ।

रुसको रक्षा मन्त्रालयले आइतबार युक्रेनले वार्तापछि पक्राउ परेका ५० रुसी सैनिकलाई फिर्ता गरेको जनाएको छ । युक्रेनले उक्त जानकारीको पुष्टि गर्दै रसियाले सोही सम्झौताको एक भागको रूपमा ५० युक्रेनी सैनिकहरूलाई मुक्त गरेको बताएको छ।

रुसले रिहा गरिएका सैनिकहरूलाई मेडिकल र मनोवैज्ञानिक जाँच र स्वास्थ्यका लागि मस्को पठाइने उल्लेख गरेको छ ।

“जनवरी ८ मा, वार्ताको परिणाम स्वरूप, ५० रूसी सैनिकहरू जो कैदमा रहँदा घातक खतरामा थिए तिनलाई किभ शासनद्वारा नियन्त्रित क्षेत्रबाट फिर्ता गरियो” रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

मस्कोले पूर्वी युक्रेनी सहर क्रामाटोर्स्कमा घातक मिसाइल हमला गरेको बताएको छ जसमा “६०० भन्दा बढी युक्रेनी सैनिकहरू” मारिएको दाबी गरिएको छ । तर युक्रेनले उक्त दावीलाई अस्वीकार गर्योरेको छ । समाचार एजेन्सी रोयटर्सले पनि हताहतको कुनै स्पष्ट संकेत नभएको बताएको छ।

रुसले युक्रेनी सहर क्रामाटोर्स्कमा रकेट हमला गरेको र त्यसबाट ६०० युक्रेनी सैनिक मारेको दाबी गरेको केही घण्टापछि रोयटर्सका एक पत्रकारले आइतबार भनेका छन् ‘त्यसले क्षति पुर्याएको छ। तर भवनहरू ध्वस्त पारेको छैन र हताहतको कुनै स्पष्ट संकेत छैन।’

युक्रेनको सशस्त्र सेनाले रुसको दाबीलाई अस्वीकार गर्दै भनेको छ ‘उसको सेनाले युक्रेनी सहर क्रामतोर्स्कमा हमला गरेको थियो । उसले ६०० भन्दा बढी युक्रेनी सैनिकहरू मारेको छ भन्ने भनाई झुटा हो ।”

एर्दोगानले मस्को र किभ दुवैसँगको आफ्नो राम्रो सम्बन्धलाई युद्ध अन्त्यका लागि मध्यस्थताका लागि प्रयास गर्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया