बिहीबार, वैशाख १३, २०८१

पेरिसमापनि माघे संक्रान्तिको धुमधाम

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ माघ ३ गते ०:५९

मगर समाज फ्रान्सले मगरहरुको मुख्य चाडका रुपमा रहेको माघे संक्रान्ति पर्व धुमधामका साथ मनाएको छ । समाजले हरेक वर्ष यो पर्व मनाउँदै आएको हो ।

यस पटक पनि विशेष समारोह आयोजना गरी फ़्रान्सको राजधानी पेरिसमा बस्ने आम नेपालीहरुका साथ सामूहिक रुपमा आइतवार (१५ जनवरी) भव्यताका साथ मनायो ।

सो समारोह समाजका अध्यक्ष बिष्णु सारू मगर र मुख्य अतिथी फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारीले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । सोहि दिन विहान नेपालमा यति एयर लाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकहरु प्रति एक मिनट मौन धारण गरी दिवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्वान्जली अर्पण गरियो ।

समाजका यूबा सदस्य बिपिन सारु मगरले स्वागत मन्तब्य दिँदै मगर जाती र माघे संक्रान्तिको बारेमा प्रकाश पार्रेका थिए । माघे संक्रान्तिमा खाईने परिकारहरु तरुल, तिलको लड्डू, चाकु, सेल रोटी, अचार सहितको भोजन ब्यवस्था गरिएको थियो । मगर समाजको कला संयोजक साजन थापाले स्थानीय भाई बैनीहरुलाई संयोजन गरी तयार पारेको मौलिक नृत्यकला प्रस्तुत गर्दा आम दर्शकहरुले आफू स्वदेशमैं भएको अनुभूति गरेको बताएका थिए ।

समाजसेवी तप्त भण्डारी र समाजका संस्थापक अध्यक्ष रमेश थापालाई विशेष सम्मान !

यस पटक मगर समाज फ्रान्सले लामो समयदेखि फ्रान्सलाई कर्मभुमी बनाउँदै आएका तप्त भण्डारीले फ्रान्समा नेपाली समुदायलाई पुर्याएको अतुलनीय समाज सेवाको उच्च कदर गर्दै विशेष सम्मान गरेको थियो ।

साथै मगर समाज फ्रान्सको स्थापना काल देखि अनवरत खटिएर संस्थाका लागि विशेष योगदान पुर्याउने समाजका संस्थापक अध्यक्ष रमेश थापा र ऊनकी धर्मपत्नी भावना थापालाई विशेष सम्मान गरिएको थियो । सबै सम्मानित व्यक्तिहरुलाई राजदूत अधिकारीले सम्मानपत्र प्रदान गरेका थिए । एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापाले दोसल्ला ओढाउनुका साथै समाजका अध्यक्षले मगर संस्कृती अनुरूप फेटा लगाई पुष्प गुच्छाले सम्मान गरेका थिए ।

कार्यक्रममा भावबिह्वल बनेका तप्त भण्डारीले जीवनको यो मोडमा आइपुग्दा आफूले गरेको योगदानको कदर गर्दै सम्मान गरेकोमा मगर समाज फ्रान्सप्रति कृतज्ञता र हार्दिक आभार व्यक्त गरे ।

उक्त कार्यक्रममा स्थानीय सबै नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति थियो ।

समारोहमा मन्तब्य दिनेक्रममा राजदूत दिपक अधिकारीले यस्ता कार्यक्रमहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुको साथै यहिँ जन्मी हुर्केका पूस्ताहरुले आफ्नो मौलिक कला संस्कृतिको मूल्य मान्यता बारे जानकारी पाउने बताए ।

समाजसेवी तप्त भण्डारीले गरेको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई नागरिक सम्मान गरेकोमा आफूलाई सार्है ख़ुसी लागेको र यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जाने भन्दै प्रशंसा गरेका थिए ।

विशेष अतिथिका रुपमा रहेकी एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापाले मन्तब्यको क्रममा मगर समाजले आयोजना गर्ने यस माघे संक्रान्ति कार्यक्रम सधै नयाँपनका साथ भब्य रूपमा मनाऊने हुनाले आफू सधै सरीक हुनेगरेको बताइन् । साथै बिदेशमा यसरी मौलिक चाड पर्व सबै नेपालीका साथ सँगै मनाऊन पाएकोमा हर्ष लागेको र यसका लागि मगर समाज फ्रान्सलाई धन्यावाद ज्ञापन गरिन् ।

उक्त समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार सन्तु थापा मगरको बेजोड प्रस्तुतिले दर्शकहरुलाई नाच्न बाध्य बनाएको थियो । कार्यक्रम संचालन सुधीर राना र जीवन थापा मगरले गरेका थिए । कार्यक्रम संचालनकै क्रममा बीच बीचमा जीवन थापाको सायरीले दर्शकलाई रोमान्चित बनाएको थियो ।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष बिष्णु सारुले उपस्थित र समारोह सफल बनाउन दिनरात खटिने समाजका सबैलाई विशेष धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया