शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा राष्ट्रपतीको पेन्सन सुधार योजनाको विरोधमा १० लाखभन्दा बढीको प्रदर्शन

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ माघ ५ गते २३:४९

Image credit-hksar.org

राष्ट्रपती एमानुयल माख्रोंले अगाडि सारेको पेन्सन परिमार्जन कार्यक्रमका बिरुद्द मजदूर युनियनहरुले बिहिवार आयोजना गरेको बिरोध प्रदर्शनमा १० लाखभन्दा बढीले सहभागिता जनाएका छन् ।

फ्रान्सको सबैभन्दा ठूलो मजदूर युनियन सिजिटी र अन्य युनियनसहितका आयोजकहरुले देशभरिमा २० लाखले भाग लिएको दाबी गरेका छन् । तर प्रहरीले भने १० लाख सहभागि भएको जनाएको छ ।

फ्रान्सेली मेडियाहरुले फ्रान्सका साना र ठूला गरि २०० शहर र नगरपालिकाहरुमा बिरोध प्रदर्शन भएको बताएका छन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच पेरिस लगायतका केहि शहरमा झडप भएको थियो । प्रदर्शनकारीले केहि पसल र यातायातका साधन तोडफोड गरेको प्रहरीको भनाई छ ।

राष्ट्रपति एमानुएल माख्रोंको अलोकप्रिय पेन्सन परिमार्जन प्रस्ताबलाई संसदबाट हटाउने प्रयासमा कामदारहरूले काम छोड्दा यातायात, विद्यालय, अस्पत्ताल र रिफाइनरी ढुवानी अवरुद्ध भएको छ । सरकारी कार्यालयहरुमा नागरिकले उचित सेवा पाएनन् ।

पेन्सन प्रणाली सुधार गर्ने म्याक्रोन सरकारको योजनाको विरुद्धमा मजदूर युनियनहरुले देशभरका कर्मचारीहरुलाई सडकमा उत्रिन आव्हान गरेका थिए ।

सेवानिवृत्तिको उमेर ६२ बाट ६४ मा बढाउने प्रस्ताव सबैभन्दा विवादास्पद भएकाले मजदुर र कर्मचारीहरुको त्यसको बिरुद्द सडकमा उत्रिएका हुन् ।

Image Credit-hksar.org

राष्ट्रपती माख्रोंले अहिलेको पेन्सन प्रणालीले गर्दा देशको ऋण बढ्दै गएको र देशले धान्न नसक्ने भन्दै हालको प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेकोमा जोड दिंदै आएका छन् । तर सरकारका आफ्नै विज्ञहरूले पनि पेन्सन प्रणाली अपेक्षाकृत राम्रो अवस्थामा रहेको र अन्ततः सुधार बिना पनि सन्तुलित बजेटमा फर्किनसक्ने बताएका छन् ।

आज भएको बिरोध प्रदर्शनमा गृह मन्त्रालयले फ्रान्समा करिब १२ लाख जनाले विरोध प्रदर्शन गरेको बताएको छ । त्यसमध्ये ८० हजार पेरिसको प्रदर्शनमा थिए । तर बिरोध प्रदर्शनका आयोजकहरूले पेरिसमा चार लाख सहभागि भएको र देशभरिमा २० लाखले प्रदर्शन गरेको दाबी गरेका छन् ।

राजधानी पेरिस बाहिरका लियोन, मासेई, मोंपलिए, नँत, लिल, रुवाँ र फ्रान्सेली टापु कोर्सिका लगायतका शहरहरूमा पनि व्यापक विरोधहरू देखिएका थिए ।

बिहीबार स्पेनको भ्रमणमा रहेका राष्ट्रपती माख्रोंले पत्रकार सम्मेलनमा सरकार आफूले अघि सारेको पेन्सन सुधार अगाडि बढाउन कटिबद्ध रहेको बताएका छन् ।

प्रदर्शनमा अराजकतावादी उछ्रिङखलहरुले प्रहरीमाथि फोहोरको डिब्बा, बोतल र स्मोक बम फ्याँकेपछि प्रदर्शनस्थलबाट प्रहरीले झण्डै एक सयलाई प्रक्राउ गरेको थियो ।

फ्रान्सेली युनियनहरूले राष्ट्रपति एमानुएल माख्रोंको सेवानिवृत्तिको उमेर बढाउने योजनाको बिरूद्ध जनवरी ३१ मा नयाँ राष्ट्रव्यापी हडताल र विरोधको घोषणा गरेका छन्।

त्यस दिन अझ बढी मजदुर र कर्मचारीको सहभागिता रहने दाबी आयोजकको छ ।

आठ प्रमुख युनियनहरूले राष्ट्रपतीको योजनाको बिरूद्ध आफ्नो पहिलो दिनको व्यापक विरोध पछि बिहीबार बैठक गरेका थिए । सरकारलाई फिर्ता लिन आव्हान गर्दै आफ्नो बिरोध र हडताललाई अगाडि बढाउने वाचा गरेका छन् ।

तपाइँको प्रतिक्रिया