बिहीबार, चैत १५, २०८०

टर्की र सिरियाको भूकम्पमा किन भयो यतिबिघ्न क्षती ?

मिरयाम नाद्दाफ / द नेचर२०७९ माघ २५ गते ०:४८

फोटो-उमित बेक्तास / रोयटर्स

टर्की र सिरियाका भवनहरू सधैं भूकम्पको चपेटामा रहँदै आएका हुन् । पहिले थिए र अहिलेपनि छन् । तर युद्धले चीजहरूलाई अझ खराब बनाएको छ । त्यो भन्दा खराबमाथि अहिलेको भूकम्पले झनै खराब गराएको छ ।

फेब्रुअरी ६ को बिहानै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो, टर्की र सिरियामा । कम्तिमा ५,००० मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् । २० हजार भन्दा बढी घाइते भएको रिपोर्ट गरिएको छ । उद्दारमा २४ हजार भन्दा बढी स्वयंसेवी, चिकित्सक, उद्दारकर्मी खटिएका छन् । भूकम्प गएको झन्डै ९ घण्टापछि फेरि ७ दशमलव ५ म्याग्निच्युडको अर्को घटना भएको थियो । साथै २०० भन्दा बढी पराकम्पनहरू गएका थिए।

भूकम्प र त्यसका पराकम्पनहरूले भवनहरू समतल बनाएका छन् । उद्धारकर्ताहरूलाई कंक्रीटको भग्नावशेषमा खनेर बाँचेकाहरूलाई खोज्न पठाएका छन् । मृत्युको संख्या अझै बढ्ने अनुमान गरिएको छ। द नेचर पत्रिकाले यस क्षेत्रमा भूकम्पीय गतिविधि र आगामी केही दिनहरूले के ल्याउन सक्छ भन्ने बारे चार अनुसन्धानकर्ताहरूसँग कुरा गरेको थियो ।

टर्की अति सक्रिय भूकम्प क्षेत्रमा अवस्थित

टर्कीको धेरैजसो भाग (एनाटोलियन प्लेट) मा दुई ठूला चट्टान वा विशाल लप्काहरू बीच बसेको छ : उत्तर एनाटोलियन चट्टान (नर्थ एनाटोलियन फल्ट) र पूर्वी एनाटोलियन चट्टान (ईस्ट एनाटोलियन फल्ट) । सिरिया लगायत अरब क्षेत्र ओगट्ने टेक्टोनिक पर्वत श्रिंखला उत्तरतर्फ सर्दै युरेशियाको दक्षिणी किनारासँग ठोक्किरहेको छ, जसले टर्कीलाई पश्चिमतिर धकेलिरहेको छ ।

बेलायतको मिल्टन केन्सको खुला विश्वविद्यालयका भूवैज्ञानिक डेभिड रोथेरीले भने “टर्की पूर्वी एनाटोलियन चट्टान वा भूभागसँग प्रति वर्ष लगभग २ सेन्टिमिटर पश्चिम सर्दै छ । यस भूभाग वा चट्टानको आधा लम्बाइ अहिले भूकम्पले गाँजेको छ।”

इस्तानबुलमा रहेको टर्किस अर्थक्वेक फाउन्डेसनका भूकम्पबिद र संयोजक सेहुन पुस्कुल्कु भन्छन् “टर्कीका मानिसहरू भूकम्पको जोखिमबारे राम्ररी सचेत छन् । यो कुनै अचम्मको कुरा थिएन” । उनले गत हप्ता अडाना, टार्सस, मर्सिन सहरहरू र पश्चिमी टर्कीका क्षेत्रहरूमा भूकम्प जागरूकता कार्यशालाहरू आयोजना गर्दै थिए।

मुख्य भूकम्पको केन्द्रविन्दु टर्कीको गाजियन्टेप प्रान्तको नुरदागी सहरबाट २६ किलोमिटर पूर्वमा १७ दशमलव ९ किलोमिटर गहिराइमा थियो। ७ दशमलव ५ म्याग्निच्युडको घटना कहरामन्मारास प्रान्तको एकिनोजुबाट ४ किलोमिटर दक्षिणपूर्वमा भएको थियो (‘भूकम्प र पराकम्पनहरू’ हेर्नुहोस्)।

युद्धले पहिले नै कमजोर भवनहरू अस्थिर

भूकम्पमा मृत्यु प्रायः इँटा, काठ, रड, सिमेन्टीका कारण हुने गर्दछ। यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पबाट प्रभावित टर्कीका धेरै व्यक्तिहरू काँचो इँटा चाङ लगाएजसरि पर्खाल लगाएर बनेको र होचो उचाईका कंक्रीट फ्रेमहरू भएका संरचनाहरूमा बसोबास गर्छन् । त्यसरि बनेका घरलाई भूकम्पले हल्लाएर क्षति पुग्ने सम्भावना बढी हुन्छ।

गत मार्चमा सोईल डाईनामिक्स एण्ड अर्थक्वेक इन्जिनियरिङमा प्रकाशित एक अध्ययनमा मध्य पूर्व प्राविधिक विश्वविद्यालय, अंकाराका आरजु अर्सलान केलम र उनका सहकर्मीहरूले सुझाव दिएका थिए, गाजियनटेप शहरको केन्द्रमा साँढे छ म्याग्निच्युडबाट आउने भूकम्पले मध्यम देखि गम्भीर क्षति पुर्‍याउने छ । उनीहरुको सुझावमा के थियो भने धेरैजसो अवस्थित भवनहरू एकअर्काको धेरै नजिक निर्माण गरिएका थिए । तिनको उचाई कम थियो र कमशल थिए । समग्रमा भवनहरुको संरचना कमजोर थियो ।

सन् १९९९ मा टर्कीको इज्मिटबाट ११ किलोमिटर दक्षिणपूर्वमा आएको ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पले १७ हजार भन्दा बढी मानिसको ज्यान लियोएको थियो । र दुई लाख ५० हजार भन्दा बढी घरबारविहीन भएका थिए । यस त्रासदी पछि, टर्की सरकारले नयाँ भवन कोड र अनिवार्य भूकम्प बीमा प्रणाली लागू गर्यो । यद्यपि, यस हप्ताको भूकम्पबाट प्रभावित धेरै भवनहरू सन् २००० अघि निर्माण गरिएको टर्कीको बोगाजीसी विश्वविद्यालयका सिभिल इन्जिनियर मुस्तफा एर्दिक बताउँछन्।

सिरियाको अवस्थाहरू झनै खराब छन्, जहाँ ११ वर्ष भन्दा लामो द्वन्द्वले निर्माण मापदण्डहरू लागू गर्न असम्भव बनाएको छ । भूकम्पले सिरियाको उत्तरपश्चिमी क्षेत्रहरूमा प्रहार गरेको थियो । एलेप्पो र इडलिबमा भवनहरू भत्किएका थिए। सिरियाका केही युद्धले क्षतिग्रस्त भवनहरू कम गुणस्तरको सामग्री वा उपलब्ध जुनसुकै सामग्रीहरू प्रयोग गरेर पुनर्निर्माण गरिएको रोथेरी बताउँछन् ।

“तिनीहरू अलि बढी खर्चमा निर्माण गरिएका चीजहरू भन्दा धेरै सजिलै तल खसेका हुन सक्छन्। हामीले अझै पत्ता लगाउन सकेका छैनौं” उनले भने ।

अब के ?

अन्वेषकहरू मानिसहरूले टर्की र सिरियामा अझै धेरै भूकम्प र पराकम्पहरू सहन वा त्यसबिरुद्द तयारी गर्नुपर्ने बताउँछन् । साथै मौसम बिग्रँदै गएमा त्यसकालागि आफूलाई तयारीमा राख्न आवश्यक रहेको तिनको भनाई छ । युनिभर्सिटी कलेज लन्डनमा प्रकोप र स्वास्थ्य अध्ययन गर्ने इलान केल्म्यान भन्छन्, “ठूला परकम्पहरूले अझ बढी क्षति पुऱ्याउने सम्भावना आगामी हप्ता र महिनासम्म जारी रहनेछ।”

“आज राति (मंगलवार राती भन्न खोजिएको) को लागि यस क्षेत्रको मौसम पूर्वानुमान शुन्य भन्दा तल झर्दैछ । यसको मतलब भग्नावशेषमा फसेका मानिसहरू जसलाई बचाउन सकिन्छ, तिनीहरूको मृत्यु हुनसक्छ। त्यसैले यी खतराहरू जारी छन्” उनले थपे।

(टर्की-सिरिया अर्थक्वेक : ह्वाट साईन्टिस्ट नो शिर्षकमा मंगलवार ‘द नेचर’ मा प्रकाशित लेखको नेपाली भावानुवाद)

तपाइँको प्रतिक्रिया

फेसबुक