बिहीबार, वैशाख १३, २०८१

अवैध शिकारले गैँडाका सिङ साना हुँदै

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ फागुन ७ गते १५:३२

गैंडाको अवैध शिकारका कारण तिनको खाग (सिङ) को आकार घट्दै गएको खुलासा अनुसन्धानकर्मीहरुले गरेका छन् ।

१३५ वर्षमा खिचिएका तस्बिरहरूले अवैध शिकारका कारण गैँडाका सिङ साना हुँदै गएको खुलासा गरेको हो ।

सिकारीहरुले अत्यशिक शिकार गर्दा विश्वका अधिकांश भागमा गैंडाको संख्यामा तीव्र गिरावट ल्याएको छ । सिकारीले समयसँगै लामो सिङ्ग भएका गैँडाको शिकार गर्न थाले । छोटो सिङ्ग भएका गैंडाहरू छोड्न थालियो । लामा सिङ महँगोमा बिक्रि हुने भएकाले छोटा सिङ भएका छोड्न थालिएको हो ।

पछिल्ला केही दशकदेखि जसरी गैँडाको शिकार भइरहेको छ त्यसका कारण उनीहरुको सिङ साना हुँदै गएको छ । युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धानकर्ताहरूले गरेको यस अध्ययनमा गैँडाको ठूलो मात्रामा शिकारका कारण समयसँगै तिनीहरूको सिङ सानो हुँदै गएको खुलासा भएको छ । पिपल एन्ड नेचर जर्नलमा यसबारे विस्तृत प्रतिवेदन प्रकाशित छ ।

उल्लेखनीय कुरा के छ भने गैँडाका सिङ्ग विश्व बजारमा निकै महँगो मूल्यमा बिक्री हुने गरेको छ । साथै, चीन र भियतनाममा परम्परागत औषधिमा प्रयोग हुने भएकाले यसको ठूलो माग छ, जसका कारण तिनीहरूको अवैध व्यापार द्रुत गतिमा फस्टाएको हो।

सन् १८६७ मा बनाइएको कालो गैंडाको तस्विर । फोटो- सामुवल बेकर / राईनो रिसर्च सेन्टर

अनुसन्धानकर्ताहरूका अनुसार शिकारले गैँडाको संख्यामा ह्रास आएको मात्र होइन, समयसँगै लामो सिङ्ग भएका गैँडाको अत्यधिक शिकार हुन थालेपछि छोटो सिङ्ग भएका गैंडा बाँच्न थाले । जब यी गैंडाहरूले आफ्नो प्रजाति विस्तार गरे, तिनीहरूका साना सीङहरूको विशेषता पनि भावी पुस्ताहरूमा हस्तान्तरण हुँदै गयो । यस प्रकारको लक्षणहरूको स्थानान्तरण पहिले अन्य प्रजातिहरूमा उल्लेखनिय रुपमा रिपोर्ट गरिएको छ ।

यसलाई बुझ्न वैज्ञानिकहरूले एक शताब्दीभन्दा बढी समयदेखि भण्डारण गरिएका तस्विरहरूको विश्लेषण गरेका छन्। यस अध्ययनमा उनीहरुले सन् १८८६ देखि २०१८ सम्म करिब ८० गैँडाका सिङ नापेका छन् । यी तस्बिरहरू राइनो रिसोर्स सेन्टरले अनलाइन रिपोजिटरी मार्फत संग्रहित गरेको छ ।

यसमा सेतो, कालो, इन्डियन, जाभान र सुमात्रान गैंडालगायत पाँचै प्रजातिका गैंडा समावेश छन्। गत शताब्दीमा यी सबै प्रजातिका गैंडाको सिङको लम्बाइ निकै घटेको पाइएको छ ।

यी सिङहरूका बारेमा अनुसन्धानकर्ता ओस्कर विल्सनले गैँडाले धेरै कारणले आफ्नो सिङहरू विकास गरेको जानकारी दिएका छन् । विभिन्न प्रजातिहरूले खाना भण्डारण गर्न वा सिकारीहरूबाट बच्न, लड्न, भिड्न, सुरक्षित रहन, पोथीकालागि आकर्षक देखिन, शत्रुकालागि हत्यारकारुपमा जस्ता विभिन्न तरिकामा सीङहरू प्रयोग गर्छन् । यस्तो अवस्थामा अनुसन्धानकर्ता विल्सनले सानो सिङ आफ्नो अस्तित्वका लागि खतरा हुनसक्ने बताएका छन् ।

सन् १९११ मा कालो गैंडा शिकार गरेर तस्विर खिचाएका अमेरिकी राष्ट्रपती थियोदोर रुजबेल्ट / फोटो-राईनो रिसर्च सेन्टर

१९५० को दशक देखि शिकार र संरक्षण बारे धारणाहरु परिवर्तन भए । यस अनुसन्धानमा शोधकर्ताहरूले सिङसँगै शरीर र टाउकोको लम्बाइ पनि नापेका थिए, जसले गर्दा शरीरको आकारको अनुपातमा सिङको लम्बाइ सही मापन गर्न सकिन्छ। उनीहरूले विगत ५०० वर्षमा बनेका हजारौं चित्र र तस्बिरहरूको पनि विश्लेषण गरेका छन्। यो विश्लेषणले सन् १९५० को आसपास परिवर्तन देखापर्यो जब जनावरहरू शिकारको सट्टा संरक्षण प्रयासको केन्द्रबिन्दु बने ।

अन्वेषकहरू भन्छन्- यो परिवर्तन युरोपेली साम्राज्यहरूको पतनसँग पनि मेल खायो, जब अफ्रिकी देशहरू स्वतन्त्र भए र युरोपेली शिकारीहरूलाई शिकारका लागि अफ्रिकामा सहज पहुँच हुन छाड्यो ।

तस्बिरहरूमार्फत् १९ औं शताब्दीको उत्तरार्ध र २० औं शताब्दीको प्रारम्भमा शिकारीहरूद्वारा मारिएका गैँडाका सयौं तस्बिरहरू सार्वजनिक गरेका छन् ।

अनुसन्धनाकर्मीले सन् १९११ मा लिइएको फोटो पनि समावेश गरेका छन् जसमा कालो गैंडा मार्ने प्रयास गर्दैगर्दाको अमेरिकी पूर्व राष्ट्रपति थिओडोर रुजवेल्टको तस्बिर समावेश छ।

सबैभन्दा पछिल्ला छविहरूले प्राकृतिक संसारको सामना गरिरहेका खतराहरूको बढ्दो जनचेतनालाई प्रतिबिम्बित गरेका छन् । कम्तिमा पछिल्ला केही दशकहरूमा गैँडा संरक्षणमा धेरै ध्यान केन्द्रित गरिएको छ । त्यो हालसालैका ताजा तस्विरहरूमा स्पष्ट रूपमा देख्न सकिन्छ।

तपाइँको प्रतिक्रिया