मंगलबार, वैशाख ११, २०८१

किन गरे अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको अचानक भ्रमण ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ फागुन ८ गते २१:५७

Photo Credit-BRENDAN SMIALOWSKI/AFP via Getty Images)

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको अचानक र अघोषित भ्रमण गरेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् । भेटका क्रममा बाईडेनले एकताको संकेत र युद्दकाकालागि थप सहयोग घोषणा गरेका छन् ।

बाइडेनले मारिन्स्की प्यालेसमा जेलेन्स्कीसँगको भेटमा पहिले नै उपलब्ध गर्ने बचन दिएको ५० अर्ब डलरमा ५० करोड डलर थप घोषणा गरेका छन् । अमेरिकाले होइट्जरहरू, एन्टि-ट्याङ्क मिसाइलहरू, हवाई गस्तीकालागि गोलाहरूसहित सहयोग गरेको छ । अमेरिकाले निगरानी रडार र अन्य सहायता थप गरेपनि अन्य कुनै नयाँ उन्नत हतियार भने नथपेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

युक्रेनले युद्धक्षेत्र प्रणालीको लागि पनि सहयोगका लागि जोड दिइरहेको छ । त्यो प्राप्त गरेमा आफ्नो सेनालाई पहिले नै उपलब्ध गराइसकिएको हिमार्स क्षेप्यास्त्रहरूको दायरा भन्दा बाहिर लडाईको अघिल्लो पंक्तिका क्षेत्रहरूबाट फर्किएका रूसी लक्ष्यहरूमा प्रहार गर्न अनुमति दिनेछ। जेलेन्स्कीले आफू जोन बाइडेनले लामो दूरीका हतियारहरू र युक्रेनलाई अझै पनि आपूर्ति गर्न सकिने हतियारहरूको बारेमा कुरा गरे तापनि यो पहिले आपूर्ति नगरिएको बताएका छन् । जेलेन्सीले अमेरिकी राष्ट्रपतीका तर्फबाट ति उपलब्ध गराउने बारे नयाँ प्रतिबद्धताको विस्तृत विवरण भने दिएनन् ।

“हाम्रो वार्ता धेरै फलदायी थियो,” जेलेन्स्कीले यति मात्रै भनेका छन् ।

जेलेन्स्कीले भने यस अघि प्रतिज्ञा गरिएको हतियार प्रणालीको आपूर्ति छिटो गराइदिन सहयोगीहरूलाई दबाब दिइरहेका छन् । युक्रेनमा लडाकु विमानहरू पुर्‍याउन पश्चिमलाई आह्वान गरिरहेका छन् । तर जेलेन्स्कीले माग गरेबमोजिम उपलब्ध गराउन जो बाईडेनले आजसम्म अस्वीकार गर्दै आएका हुन् ।

किभ र त्यसपछि वारसाको भ्रमण गरेका बाइडेनको उद्देश्य अमेरिका युक्रेनको जबसम्म साथ लाग्छ रुसी सेनालाई हटाउन तयार छ भन्ने कुरालाई रेखांकित गर्नु हो। तर अमेरिका हतियार र प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्ने कुरामा नरम हुन थालेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

जेलेन्स्कीका लागि रुससितको युद्दको वार्षिकी नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति युक्रेनी भूमिमा उनीसँगै उभिनु चानचुने कुरो होइन । यो प्रतीकात्मक रुपमा निकै महत्वपूर्ण छ किनभने बाईडेनले अमेरिकी र युरोपेली सहयोगीहरूलाई थप उन्नत हतियारहरू उपलब्ध गराउन र आपूर्तिको गति बढाउन प्रोत्साहित गर्नसक्छन् ।

यस भ्रमणले बिडेनलाई रुसी आक्रमणले युक्रेनमा निम्त्याएको विनाशलाई प्रत्यक्ष रूपमा हेर्ने अवसर पनि दिन्एको छ । हजारौं युक्रेनी सेना र नागरिकहरू मारिएका छन् । लाखौं शरणार्थीहरू युद्धबाट भागेका छन्, र युक्रेनले दशौं अर्ब डलरको पूर्वाधारमा क्षति बेहोरेको छ। रुसलेपनि युद्दको क्षती त ब्यहोरेको छ । तर उक्त क्षतिका बारेमा पस्चिमी मेडियामा बढाईचढाईकासाथ प्रसारित हुन्छ । अर्को तर्फ रुसले आफ्नो तर्फको क्षति लुकाउने प्रयास गर्दै आएको मेडिया र राजनितिक विश्लेषकहरुको भनाई छ ।

बाईडेनको यो यात्राले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध अवज्ञाको कार्यलाई पनि थप महत्व दिने छ । रुसी सेनाले युक्रेनको राजधानी किभमा हमला गरेको केहि घण्टामै कब्जामा लिने बाचा गरेको थियो । तर केहि समयभित्रै रुसी सेना छोडेर पछि हट्न बाध्य भयो । र किभ शहरमा सामान्यताको झलक फर्कियो । राजधानीबाट बाहिरिएपछि युद्ध देशको पूर्वमा केन्द्रित भएको छ ।

युक्रेनी पक्षलाई रुसले कम आँकलन गरेको देखिन्छ । पश्चिमी सतहबाट हावामा मार हान्ने मिसाइल प्रणालीहरूले युक्रेनको प्रतिरक्षालाई बलियो बनाएको छ । यो भ्रमणले अमेरिकी राष्ट्रपतिले द्वन्द्व क्षेत्रको यात्रा गरेको दुर्लभ अवसरलाई चिन्ह लगाएको दाबी युरोपेली मेडियाहरुले गरेका छन् । त्यो किनभने बाईडेनले भ्रमण गरेका क्षेत्रमा अमेरिका वा यसका सहयोगीहरूको हवाई क्षेत्रमाथि नियन्त्रण छैन।

आफ्नो हवाई नियन्त्रण नभएको क्षेत्रमा बाईडेन अकस्मात पुग्नु के सामान्य हो ? रुस र अमेरिका जस्ता दुई आणविक-सशस्त्र राष्ट्रहरूलाई प्रत्यक्ष द्वन्द्वमा ल्याउन सक्ने हुनाले कुनै अप्रिय घटना नहोस् भनेर रुस र अमेरिकाबिच बाईडेनको भ्रमण बारे पूर्व सूचना आदानप्रदान भएको पो थियो कि ? दुबै देशले यसबारे बोलेका छैनन् ।

युक्रेनको कीभमा आफ्नो दूतावासको सुरक्षा गर्ने केहि जलसेनाहरूको सानो टुकडी बाहेक अमेरिकी सेनाको उपस्थिति छैन युक्रेनमा ।

रुसी आक्रमणको वार्षिकी फेब्रुअरी २४ मा बाइडेनले युक्रेनको भ्रमण गर्नेछन् भन्ने अड्कलबाजी हप्तौंदेखि भइरहेको थियो। तर ह्वाइट हाउसले यस महिनाको सुरुमा पोल्याण्ड भ्रमणको घोषणा गरिसकेपछि पनि युक्रेनमा राष्ट्रपतिको कुनै पनि भ्रमणको योजना नभएको बारम्बार उल्लेख गर्दै आएको थियो।

ह्वाइट हाउसमा बाईडेनको कीभ भ्रमणको लागि योजना कडाईका साथ तय गरिएको थियो । राष्ट्रपतीका सहयोगीहरूको अपेक्षाकृत सानो समूहले बाईडेनका योजनाहरूको बारेमा जानकारी दिएका थिए । यो सबै सुरक्षा चिन्ताको कारण भएको युरोन्युजले उल्लेख गरेको छ ।

युक्रेनमा प्रवेश गर्नु अघि जर्मनीको रामस्टेन एयर बेसमा रोकिएका थिए बाईडेन । उनी आइतबार बिहान वाशिंगटन नजिकको संयुक्त बेस एन्ड्रयूजबाट चुपचाप प्रस्थान गरेका थिए।

राष्ट्रपतिका रूपमा बाइडेनको यो युद्ध क्षेत्रको पहिलो भ्रमण हो। उनका पूर्ववर्तीहरू, डोनाल्ड ट्रम्प, बराक ओबामा र जर्ज डब्लु बुशले आफ्नो राष्ट्रपतिको कार्यकालमा अफगानिस्तान र इराकको अमेरिकी सेना र ती देशका नेताहरूसँग भेट्न अचानक भ्रमण गरेका थिए ।

तपाइँको प्रतिक्रिया