बुधबार, वैशाख १२, २०८१

नेपाली भाषा, कला र संस्कृति सिकाउन डेनमार्कमा हाजिर जवाफ प्रतियोगिता


नेपालप्लस संवाददाता / कोपनहेगन२०७९ फागुन २३ गते २१:०९

नेपाली भाषा, कला र संस्कृति सिकाउन डेनमार्कका नेपालीले गज्जबको अक्किल निकालेका छन्, हाँजिरीजवाफ प्रतियोगिता ।

उनीहरुले डेनमार्कको राजधानी कोपनहेगनमा आइतवार हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेर आफ्नो भाषा, कला, संस्कृति र संस्कार सिकाउने प्रयासको थालनी गरेका हुन् ।

प्रतियोगितामा बालबालिका तथा अविभावकहरुको अभूतपूर्व सहभागिता देखेर धेरै ब्यक्ति चकित परेका थिए ।

प्रतियोगिता गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्क, नेपालीज साइन्टिफिक, अकाडेमिक एण्ड प्रोफेसनल प्यानल (नेपसाप), नेपाली पाठशाला तथा भाषा चौतारीको समन्वयमा भएको थियो ।

१२० भन्दा बढी बालबालिका सहभागि भएको उक्त प्रतियोगिता दुई चरणमा सन्चालन भएको थियो । नेपाली भाषा, धर्म, कला, संस्कृती तथा भूगोल समेटेर प्रश्नहरु तयार पारिएका थिए । प्रत्येक प्रश्नमा चित्र पनि समेटिएको हुनाले नेपाली पढ्न नसक्नेहरुका लागि पनि उत्तर भन्न सजिलो भएको थियो । सहभागि बालबालिकाहरुलाई सहज होस र धेरै भन्दा धेरै ज्ञान होस भन्ने उद्देश्यले पहिले नै प्रश्न पत्र अध्ययन गर्न उपलब्ध गराइएको आयोजकले जानकारी गराए ।

प्रतियोगितामा सहभागीहरूको सङ्ख्या पहिले नै थाहा भईसके पनि अभिभावकहरू अप्रत्याशित रूपमा धेरै आईदिएपछि कार्यक्रमको शुरुमा भने आयोजकमा केही अस्तव्यस्तता देखिएको थियो । डेनमार्कको एउटा मजदुर युनियनले उपलब्ध गराएको निःशुल्क हलमा आयोजित उक्त कार्यक्रममा हलको क्षमता भन्दा बढी सहभागि भए पछि आयोजकलाई ब्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।

प्रश्नावली बनाउने क्रममा धेरै नै मिहिनेत गर्नुपरेको नेपालीज साइन्टिफिक, अकाडेमिक एण्ड प्रोफेसनल प्यानल (नेपसाप) का नवराज धमलाले बताए ।

भाषा चौतारीका अभियन्ता तेज बस्नेतलाई शुरुको अस्तव्यस्त अवस्था प्रति चिन्ता रहेको भए पनि सहभागि तथा अभिभावकको सहयोगले कार्यक्रम आशा गरेजस्तै भएको बताए।

हाजिरी जवाफ प्रतियोगिताका संयोजक तथा एनआरएनए डेनमार्कका युवा प्रतिनिधि गुरुदत्त लामिछानेले बालबालिकाहरुले आशा नै नगरेको उत्कृष्टता प्रदर्शन गरेर देखाईदिएको भन्दै खुसी व्यक्त गरे ।

उनले भने “बाबुनानीहरुको तयारी तथा आत्मविश्वाशको स्तर अत्यन्त राम्रो देखियो। हामी जम्मा २५ प्रतिशत सही उत्तरहरूको प्रतीक्षामा थियौं जबकि बालबालिकाले शतप्रतिशत उत्तर दिएका छन् ।”

सहभागीहरूलाई स्वस्थ प्रतिस्पर्धाको चेत पनि ल्याउने र यही नेपाल तथा नेपाली भाषा, धर्म, कला, संस्कृती, परम्परा आदिको बारेमा हाजिर जवाफको माध्यमले प्रभावकारी रूपमा सिकाइन सकिने यो कार्यक्रमले पुष्टी गरेको भनाई आयोजक र सहभागिहरुको थियो ।

तपाइँको प्रतिक्रिया