बिहीबार, वैशाख १३, २०८१

‘राजनीतिमा सहभागिता त बढ्यो तर नेतृत्व गर्ने पदमा महिला उपस्थिति खासै छैन’

सोविता गौतम२०७९ फागुन २९ गते २:२६

नेपालको राजनीतिमा पाइला राख्दै गर्दा म योगमायाको कथाबाट प्रेरित बनेकी थिएँ । उहाँको कथा मैले स्कूल देखिनै सुनेकी थिएँ । म आज जे छु र जस्तो छु यसको श्रेय मेरो अघिल्लो पुस्तालाई दिन चाहन्छु । उहाँहरुले नलडिदिएको भए र उहाँहरुले आफ्नो बिचार व्यक्त नगरिदिएको भए आज हामीले यति अधिकार पनि पाउँदैनथ्यौँ होला । म पनि यत्तिको बन्न सक्ने थिइन होला ।

नेजीवन भनेको संघर्ष रहेछ । कहिल्यै पनि नसकिने । हिजो अर्कै खालको चुनौती थियो आज अर्कै खालको समस्या छ र भोली अर्कै खालको कुरा आउनेछ । त्यसैले यो संघर्ष भन्ने चिज निरन्तर भैरहने रहेछ । यो निरन्तर भैरहने संघर्षको लागि हौसला लिएर अगाडी बढिरहनुपर्छ ।

नेपाली महिलाका धेरै खालका संघर्षका कुरा गर्दै गर्दा म केहि मात्र कुरा यहाँ राख्न चाहन्छु । नेपालले महिला बिरुद्द हुने सबै खालको बिभेद रोक्नकालागि बनेको संयुक्त राष्ट्रसंघिय महासन्धि र बेइजिंग घोषणापत्रमा हस्ताक्षर गरेको छ र ति कुराहरुलाई व्यवहारमा लागू गर्ने प्रतिबद्दता पनि व्यक्त गरेको छ ।

नेपालको परिप्रेक्ष्यमा हेर्दा संविधानले पनि प्रार्थमिकता दिएर महिलाहरुलाई अगाडी बढ्ने स्थान दिएको छ । भर्खर पनि नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावी महौल छ । देखिरहेका छौँ । संबिधानले महिला राष्ट्रपति भए उपराष्ट्रपति पुरुष बनाउनु भनेको छ । पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनु भनेको छ र अर्कै वर्गबाट लिनु भनेको छ ।

यसैगरी प्रतिनिधिसभा र राष्ट्रिय सभामा पनि सभामुख र उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्षको हकमा पनि यस्तै खालको संबैधानिक व्यवस्था गरिएको छ । तल्लो निकाय वडामा पनि यस्तै खालको व्यवस्था छ । सविधानमा जसरी पनि महिलाहरुलाई प्रार्थमिकता दिने प्रावधान देखिन्छ । यो ब्यवस्थाले नेपाली राजनीतिमा महिलाहरुलाई प्रवेश गर्न थोरै भएपनि सहजता प्रदान गरेको मैले महशुस गरेकी छु ।

कानूनले संरक्षण गर्दागर्दै पनि व्यवहारिक रुपमा भने हाम्रो देश र संसारका अन्य मुलुकमा महिलाहरुलाई अगाडी बढ्न बिभिन्न कठिनाइहरु छन् । महिलाहरुको संघर्षको इतिहास लामो भैसक्दा पनि बिभेदको अन्त्य भएको छैन । कानून बनेर आएपनि महिलाहरु आफै ति कानूनहरुको प्रयोग गर्न सक्षम छन् कि छैनन भनेर हामीले पुन: खोतल्नुपर्ने अवस्था आएको छ । महिलालाई शसक्त बनाउनुपर्छ भन्दा भन्दै पनि महिला शसक्त हुन उनी आफैँले कति मेहनत गरिन् त्यो पनि हेर्नुपर्छ । महिलाहरुलाई अगाडि बढाउन के के गरियो त्यो पनि हेर्नुपर्छ । किनभने उनीहरु आफैं सक्षम भएनन भने नियम कानुनहरु सहि तरिकाले लागू हुँदैनन।

हो नेपालमा बिभिन्न चरणमा बिभिन्न खालका महिला आन्दोलनहरु भए । जसमा महिला सहभागिता भयो । तर ति सहभागिताहरु अर्थपूर्ण भए कि भएनन भनेर हेर्नुपर्ने भएको छ । हो राजनीतिमा सहभागिता त बढ्यो तर नेतृत्व गर्ने पदमा उहाँहरुको उपस्थिति खासै छैन । हो उहाँहरुलाई कार्यक्रममा सहभागि गराइन्छ, देखाइन्छ तर नेतृत्व गर्ने ठाउँमा लगिँदैन र निर्णय गर्ने पदपनि खासै दिइएको देखिँदैन । यसले गर्दा ए विभेद गरिने ठाउँ त राखिएकै रहेछ भनेर हामीले महशुस गर्न सक्छौँ ।

म एउटा सानो उदाहरण दिन चाहन्छु, कता कता महिलाहरु आफ्नो हक लिन तयार नभएको जस्तो । म एउटा निर्वाचनमा पर्यबेक्षक भएर एउटा गाउँमा गएकी थिएँ । त्यहाँ भोट हाल्नकोलागि तीन या चार जना महिला आफैँ आउनुभयो । अनि बाँकीले चाहीँ पुरुष सदस्य लिएर आउनु भयो । कसैले आँखा देख्दिन त कसैले हात काम्छ अनि म बिरामी छु भन्ने बहाना बनाउनुभयो । हेर्दा राम्री, हट्टकट्टा र च्याट्ट मेकअप पनि गरेर आउने तर भोट चाहि पुरुषलाई हाल्न लगाउनुभयो र आफ्नो हक अधिकार प्रयोग गर्न पुरुषलाई दिनुभयो ।

संबिधानले दिएको अधिकार प्रयोग गरेर महिलाहरु निर्वाचित त भए । तर ति निर्वाचित महिला सदस्यलाई पछाडीबाट चलाउने त पुरुष भएको देखिन्छ र यो बारेमा सबालहरुपनि उठेका छन् । यस्तो तरिकाले जनप्रतिनिधिहरु चल्न थालेभने के उनीहरुबाट शसक्तिकरणको आशा गर्न सकिन्छ त ? भन्ने प्रश्न पनि उठेको छ ।

शसक्तिकरणका कुरा गर्दा छुटाउनै नहुने कुरा के हो भने महिलाहरुले आफ्नो हक अधिकार उपयोग गर्न पनि ज्ञान आर्जन गरेको हुनुपर्ने रहेछ । यो ज्ञान दिन या बाँड्न पनि महिलालाई तयार पार्नुपर्छ ।

अहिले भर्खर मन्त्रीपरिषद बिस्तार भयो । संबिधानले ससदमा ३३ प्रतिशत महिला सहभागिता गर्नेपर्ने भन्ने व्यवस्था गरेको छ । नेपालको एक शय ६५ निर्वाचन क्षेत्रबाट केवल नौ जना महिला मात्र प्रत्यक्ष चुनावमा चुनिएर आउनुभयो । बाँकी सबैलाई समानुपातिकमा राखियो र यसरी समानुपातीकमा राख्ने प्रचलन हावी हुँदै गइरहेको छ । यस्तो किन भयो ? किन प्रत्यक्षमा लडाइएन भनेर बहस पनि भए ।

यसमा कुरो के रहेछ भने महिलालाई बिश्वास नगरिएको रहेछ । सकेसम्म महिलाका हातमा टीकट नदिउँ भन्ने रहेछ । प्रत्यक्ष चुनाब भनेको पुरुषलाई लडाउने हो भने जित्ने संभावना बढी हुन्छ भन्ने पारिएको रहेछ र गठबन्धन हुँदा महिलाका हातमा टिकट नपुग्दो रहेछ । यसले गर्दा प्रत्यक्ष चुनाब लड्ने क्षमता घट्यो । हामी जस्ता केहि युवतीहरुले आँट गरेर चुनाव जित्यौँ । तर यो घमन्ड गरेको होइन ।

निर्वाचनमा पैसालाई पर राखेर आफ्नो बिचार र देशलाई हेर्ने दृष्टिकोणको मात्रै प्रचार गरेर मतदातालाई संझाएर बुझाएर यो चुनाब जितेँ र हामी केहि महिलाले जित्यौँ । यो अवस्थाले के प्रमाणित गर्छ भने हामीले ह्दयमा एउट दृढ बिश्वास लियौँ भने कुनै पनि शक्तिले हामीलाई अगाडि बढ्नबाट रोक्दोरहेनछ । म जस्ता महिलाहरुलाई देखाउनु भएको बिश्वासले के देखाउँछ भने नेपाली समाज पनि बिस्तारै अब महिलालाई बिश्वास गर्न तयार भएको रहेछ ।

यो बिचमा मलाइ जनताले पत्याएको तर सरकारले नपात्याएको जस्तो महशुस भएको छ । मैले यो के सन्दर्भमा भनेको भने मन्त्रीमन्डलमा एक तिहाइ पनि महिला हुनुहुन्न । महिलाहरुलाई मन्त्री बनाउँ भन्ने धारणा पाइन । मन्त्री भनेको एउटा कार्यकारी अधिकार बोक्ने ठाउँ हो नि । महिला त्यहाँ पुगे भने त उनीहरुले जानेको कुरा प्रयोग गर्न पाउँथे नि । जनताले चाहि महिला सांसद चुनेर पठाउने तर सरकारले भने महिलाको क्षमता माथि प्रश्न गरिरहेको देखेँ ।

म पदको लोभी भएर भनेको होइन । तर हामी जस्ता युवा सांसदहरुलाई मन्त्री मन्डलमा लैजाने कि नलैजाने भन्ने सवालमा पनि ‘हैन यिनिहरु त बच्चै छन्, नलगौँ’ भन्ने बहस गरेको धेरै पटक सुनेकी छु । जनताले चाहीँ पठाउने तर सरकारका तर्फबाट चाहीँ हाम्रो क्षमतामा प्रश्न उठाएर ‘यिनिहरु बच्चै छन्’ भनेर हाम्रो क्षमतामा प्रश्न उठाउँदा नराम्रो लाग्दो रहेछ ।

हालसालै म सुर्खेतबाट दैलेख हुँदै कालिकोट जुम्ला अनि मुगु भ्रमण गर्ने मौका पाएकी थिएँ । त्यो बेलामा मैले त्यहाँका स्थानिय महिलाहरुसँग आफ्नो अनुभव साट्ने मौका पाएँ । त्यहाँ जाँदा कसो भयो भने त्यहाँको मानिसलाई सांसद भनेको निकै सम्मानित पद जस्तो लाग्दो रहेछ । किनभने त्यहाँबाट चुनाब जितेर काठमाण्डौं गएपछि उतै बस्ने चलन हुने रहेछ । उहाँहरु जिल्ला जाँदा उत्सब हुने रहेछ । रमाइलो माहौल हुने रहेछ । म जाँदा चाहिँ यस्तो सानो मानिसले पनि चुनाब जित्दो रहेछ भन्ने छाप पर्यो । यस्तो सानो मानिसलाई पनि भोट हाल्ने रहेछन् भन्ने ब्याख्या पनि सुनियो ।

शहरबजारमा त यो कुरा सामान्य हो भन्ने स्थापित गर्यौँ । तर त्यता चाहिँ नौलो हुने रहेछ । यो नौलो कुरालाई सामान्य बनाउनुपर्ने रहेछ । यस्तो कुरालाई सामान्य बनाउँदै लग्यौँ भने भोलीका दिनमा निकै सहज हुन्छ । महिला शसक्तिकरण चाहिएको हो भने कुन ठाउँमा कस्तो खालको कार्यक्रम हुनुपर्छ त्यसमा ध्यान दिनुपर्छ ।  यस्तो शसक्त भैसकेका महिलाहरुबिच छलफल र भेटघाट हुनुपर्छ ।

मेरो राजनीतिक अभ्यास र राजनीतिक यात्राबाट सबै आमाहरु खुसी हुनुभएको छ जस्तो लाग्छ । म सबै आमाहरुको छोरी त अबस्य होइन तर मैले उहाँका छोराछोरिको सपनाको दायरा ठूलो पारे जस्तो लाग्छ ।  त्यसैले मलाइ लाग्छ, म पछिका भाइबहिनीहरुका लागि मैले एक मानक स्थापना गरेँ । नातिनी पुस्ताका महिलाहरु पनि राष्ट्र निर्माणमा जुट्ने अवसर पाएका छन् भनेर गर्व गर्नुहुन्छ जस्तो लाग्छ ।

यहाँ एक जना आमाले पनि अघी चासो राखेर हाम्रो कार्यक्रम हेरिरहनु भएको थियो । मलाइ लाग्छ, नयाँ प्रविधीको प्रयोगले पनि महिलाहरुलाई कुरा बुझ्न सक्ने बनाउँछ ।

यति भन्दै गर्दा मैले केहि कुरा चाहिँ थप्नै पर्छ । नेपालमा अझैपनि महिलाको क्षमतामा बिश्वास नगर्ने परम्परा छ । तर के हुन्छ भने कतिपय बेला महिलाहरु नेतृत्वदायी भुमिकामा हुन्छौँ या काम गर्न जान्छौँ  । तर हामी गएका ठाउँमा प्रायजसो हिंसाको शिकार हुने या हेपाइको सिकार हुने हुन्छ । यस्तो वातारणमा पर्दा महिलाहरुले आत्मविश्वास गुमाउने रहेछन् । यस्तोमा पुरुष दाजुभाइले सम्मानजनक ब्यवहार गर्ने वातावरण निर्माण गरिदिनुभयो, इमान्दार व्यहार गर्न सक्नुभयो भने महिलाको हौसला बढ्छ । अर्को महत्वपूर्ण कुरा भनेको सहयोग पनि हो । परिवारले साथ दिँदा सफल भइन्छ, साथ नदिँदा एक्लै भइन्छ । हौसला मिल्दैन र फ्रस्टेशन हुन्छ । अनि कुनैबेला नमिठा घटनाहरु पनि सुन्नुपर्ने हुन्छ । नेपाली परिप्रेक्ष्यमा यो कुरा बिस्तारै परिवर्तन हुँदैछ ।

यहाँहरु बिदेशमा हुनुहुन्छ । बिदेशमा जानु पनि बिद्रोह हो । परिवारलाई सहयोग गरिरहनु भएको छ । तपाइहरुलाई हार्दिक नमन छ । महिलाको जीवनमा बिवाह, बच्चा, परिवार भन्दाभन्दै उनीहरुलाई अगाडी बढ्न बाधा परिरहेको हुन्छ । घरको श्रीमानले अलिकति सहज गरिदिए भनेदेखि सफल हुन सक्थे ।

महिलालाई अगाडि बढ्नमा बाधा मिल्ने अर्को कुरा भनेको लैंगिक समानताका हिसाबले काम गर्ने ठाउँहरु र सार्वजनिक निकायहरु लैंगिक रुपले सुरक्षित नुहुनु र बालमैत्री जस्ता कुराहरु पनि पर्छन् । प्रबिधि मैत्री बनाउन सक्न पाए महिला दिदी बहिनीलाई बाहिरका कुरा सिक्ने र आफूले जानेका कुरा बाँड्थे । र ज्ञान आर्जनमा केहि भएपनि समानता ल्याउन सकिन्थ्यो ।

पुरुषलाई गलत देखाएर मात्रै महिलाहरुले अधिकार प्राप्त गर्न सक्छन् भन्ने भाष्य नेपाली समाजमा सुनिन्छ । यो सहि होइन । महिला र पुरुषको भूमिका बराबर भयो भने देखि परिवार पनि अगाडि बढ्छ र समाज पनि । महिला नहुँदा पनि परिवार अपुरो हुन्छ र पुरुष नहुँदा पनि परिवार अपुरो हुन्छ ।

परिवर्तन बिस्तारै हुन्छ तर हामीले परिवर्तन संबाहक बन्नुपर्छ । नेपाली समाजमा महिला नेतृहरुको उदय भैरहेको छ । हामीले प्रमाणित गर्न सकेको अवस्थामा अरु पनि महिलाहरुको लागि पनि ठाउँ रहन्छ र सहज रुपमा आउनुहुन्छ ।

मलाइ लाग्छ मैले पाएको जिम्मेवारी गहन छ । यो जिम्मेवारी मैले बहन गर्नुछ । आज म मेरो निर्वाचन क्षेत्रमा पुगेकी थिएँ । त्यहाँ बुबा आमाहरु योगा गर्ने र भलाकुसारी गर्ने ठाम रहेछ । मलाइ ‘एउटा टिभी ल्याइदिनु नानी’ भन्नुभएको थियो । नेपालीहरुको अपेक्षा सारै ठूलो रहनेछ भन्ने लागेको छ । तर कुरा यो मात्र, मेरो ठाउँ भनेको नियम कानुन बन्ने ठाममा छ । तैपनि मतदाताहरुको भावना बुझ्ने मानिस हामी जस्ता युवा पुस्ताको खाँचो छ ।

सबै भेटहरु अर्थपूर्ण हुन्छन् । भर्चुल रुपमै भएपनि भेटिने मौका पाइयो । हामी सबै मिलेर समाज बनाउने हो । तपाइहरुले दिनुभएको जिम्मेवारी निभाउन सकुँ भन्ने मेरो चाहना छ ।

(नेपाली महिला समाज पोर्चुगलद्वार आयोजित अन्तराष्ट्रिय नारी दीवसका उपलक्ष्यमा काठमान्डौ क्षेत्र नम्बर दुइकि प्रतिनिधि सभा सांसद गौतमद्वारा व्यक्त बिचार)

तपाइँको प्रतिक्रिया