बिहीबार, चैत १५, २०८०

युरोपेली उपभोक्ताहरूलाई सेवा गर्न १२ लाख आधुनिक दास

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत ३ गते ०:०८

प्रत्येक वर्ष, युरोपेलीहरूको उन्मादपूर्ण खपतलाई पूर्ति गर्न करिब १२ लाख आधुनिक दासत्वको प्रयोग गरिने र त्यो चार हजार दुई सय मृत्युहरूसँग सम्बन्धित रहेको एक अध्ययनले उल्लेख गरेको छ । यो माग विशेष गरी खनिजहरूको लागि रहेकाले यसले मानव जिवन र ग्रहलाई नष्ट गरिरहेको मानव कल्याणकारी संस्था र मेडियाले सार्वजनिक गरेका हुन् ।

स्विजरल्याण्डको जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार आधुनिक दासत्वको पछिल्लो विश्वव्यापी अनुमानअनुसार सन् २०२१ मा पचास करोड मानिस आधुनिक दासत्वमा बाँचिरहेका छन् । यीमध्ये २ करोड ८० लाख जबरजस्ती श्रम र दुई करोड २० लाख जबर्जस्ती विवाहमा फसेका थिए। सन् २०२२ को रिपोर्ट सार्वजनिक भएको छैन ।

ब्ल्याक फ्राइडे भन्दा दुई दिन अघि उपभोगको ठूलो माग हुनाले त्यसमा दासत्वका रुपमा मानव श्रम ज्यादै बढी दुरुपयोग हुने गरेको रिपोर्टर पत्रीकाले उल्लेख गरेको छ । हाल अमेरिका, युरोप लगायतका बिभिन्न क्षेत्रमा ब्ल्याक फ्राईडे चलिरहेको छ ।

फेब्रुअरी २०२१ मा, संयुक्त राष्ट्र संघको लागूऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार पश्चिमी र दक्षिणी युरोपमा २०१८ मा ११ हजार आठ सय ३९ पीडितहरू पहिचान गरिएको थियो। तिनमा ४४ प्रतिशत यौन शोषणको सिकार भएका थिए । ३२ प्रतिशत जबरजस्ती श्रमबाट गुज्रिरहेका थिए । बाँकीलाई भिख माग्न लगाउने लागयतका अन्य तरिकाले शोषण गरेर आधुनिक दासका रुपमा प्रयोग गरिएको थियो ।

मध्य र दक्षिण-पूर्वी युरोपमा, २०१८ मा एक हजार सात सय ३२ आधुनिक दासहरु पत्तालगाइएका थिए, जुन अन्य क्षेत्रहरूको तथ्याङ्कको तुलनामा उल्लेखनीय रूपमा कम हो। यस क्षेत्रमा दर्ता भएका पीडितहरूमध्ये ६४ प्रतिशतले यौन शोषण गरेको, १८ प्रतिशतले जबर्जस्ती श्रममा लागएको र बाँकि १८ प्रतिशत अन्य प्रकारका शोषणको शिकार भएका थिए ।

आधुनिक दासका रुपमा प्रयोग भएका ४९ प्रतिशत पीडितहरू ईयु नागरिक थिए । अर्को ३४ प्रतिशत पीडितहरू आफ्नै ईयुका देश भित्र बेचबिखन भएका थिए । युरोपमा सबैभन्दा कमजोर नागरिकहरू प्रायः रोमानिया, हंगेरी, नेदरल्याण्ड्स, पोल्याण्ड र बुल्गेरियाबाट आउने गरेका छन् । तथ्याङ्कले पीडितहरूमध्ये ७२ प्रतिशत महिला र केटीहरू भएको देखाएको छ । प्रत्येक चार मध्ये एक (२२ प्रतिशत) तस्करीका सिकार बालबालिका भएका छन्।

आइएलओका अनुसार पछिल्लो पाँच वर्षमा आधुनिक दासत्वमा रहेका मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१६ को विश्वव्यापी अनुमानको तुलनामा २०२१ मा एक करोड भन्दा बढी मानिसहरू आधुनिक दासत्वमा थिए। महिला र बालबालिकाहरू असमान रूपमा असुरक्षित छन् ।

“आधुनिक दासत्व संसारको लगभग सबै देशहरूमा हुन्छ । र त्यसले जातीय, सांस्कृतिक र धार्मिक रेखाहरू पार गर्दछ। सबै जबरजस्ती श्रमको आधाभन्दा बढी ५२ प्रतिशत र सबै जबरजस्ती विवाहको एक चौथाइ उच्च-मध्यम आय वा उच्च आय भएका देशहरूमा पाइन्छ” आइएलओले भनेको छ ।

त्यसैगरि बेलायतमा करिब एक लाख आधुनिक दास रहेको तर धेरैजसो पत्ता नलागेको अध्ययनले उल्लेख गरेको छ ।

बेलायतको दासत्व विरोधी परोपकार न्याय र हेरचाह संवन्धि संस्था ‘द सेन्टर फर सोसियल जस्टिस’ ले सन् २०२० मा सार्वजनिक गरेको तथ्यांक अनुसार बेलायतमा कम्तिमा एक लाख आधुनिक दासहरूको घर छ । त्यो आधिकारिक अनुमान भन्दा १० गुणा बढी हो । यस्ता आधुनिक दासहरुमा ९० प्रतिशत पीडितहरू पत्ता लाग्न नसक्ने उल्लेख छ । त्यो संख्या अझ निकै बढी हुनसक्ने उक्त संस्थाले उल्लेख गरेको छ ।

बेलायतमा सन् २०१९ मा १० हजार छ सय २७ संदिग्ध पीडितहरू पहिचान गरिएको थियो । त्यो संख्या २०१८ को तुलनामा ५२ प्रतिशतले बढी हो । ति मध्ये धेरैजसो श्रम दुर्व्यवहारको सिकार भएका थिए र अधिकांश अल्बानिया, नाइजेरिया र भियतनाम जस्ता राष्ट्रहरूबाट आएका थिए।

“ब्ल्याक फ्राईडे जस्ता अकस्मात अवस्थामा हुने खरिदहरूले आधुनिक दासत्वको लुकेको अँध्यारो अनुहार दस्तावेज गरेको छ जसमा प्रयोग गरिने स्मार्टफोन, कार, घरायसी उपकरण । यी सबै दैनिक उपभोग्य वस्तुहरू साना जलवायु र मानव बम हुन्” रिपोटरले भनेको छ ।

प्रत्येक वर्ष युरोपेलीहरू द्वारा खपत आधुनिक दासत्वको १२ लाख घटनाहरू संवन्धित हुनेगरेको छ । विश्वव्यापी रूपमा चार हजार दुई सय घातक काम दुर्घटनाहरूसँग सम्बन्धित छन् ।

युरोपियन युनियनका २७ देशहरू बिभिन्न वस्तुहरुको आयातमा अत्यधिक निर्भर छन् । तिनले आधुनिक दासहरु प्रयोग गर्छन् । आधुनिक दासत्वले गर्दा प्रकृति बिनाश र जलवायुमा समेत गम्भिर खतरा निम्त्याएको छ । अध्ययनका अनुसार वस्तुहरु अत्यधिक खपत गर्नाले ईयुले सन् २०१९ मा आफ्नो सिमाना भित्र निकालिएको परिमाणको तुलनामा लगभग दुई दशमलव सात गुणा बढी धातु र दुई दशमलव नौ गुणा बढी जीवाश्म ऊर्जा खपत गरेको छ ।

रिपोर्टका अनुसार टर्कीमा प्रत्येक चार घण्टामा एक खानी कामदारको मृत्यु हुने गरेको छ । यी कच्चा पदार्थहरूको उत्पादन र ढुवानी, खानी, परिष्करण, जोडजाड, ढुवानी गर्दा आधुनिक दासहरुको प्रयोग हुने गरेको छ ।

“टर्कीमा प्रत्येक चार घण्टामा एक श्रमिकको काममा दुर्घटनामा परेर मृत्यु हुन्छ। ईयुको ब्यापारिक साझेदार चीनमापनि हुने गरेको छ । जबरजस्ती श्रमको लागि, उत्तर कोरिया, नाइजेरिया र अंगोलामा विशेष गरी खानीहरूमा घटनाहरू पहिचान गरिएको छ । त्यहाँबाट सामानहरु इयु मुलुक ल्याउने गरिन्छ” रिपोर्टमा उल्लेख छ ।

मानव बेचबिखन विरुद्धको लडाई ईयुको आधिकारिक संस्था युरोपोलले प्राथमिकताहरू मध्ये एकमा राखेको छ । तैपनि मानव बेचबिखन अपराधको सन्दर्भमा संदिग्धहरूको संख्या बढेको बढ्यै छ । २०१४ मा चार हजार एक सय २७ बाट बढेर २०१७-२०१८ मा ११ हजार सात सय ८८ मा पुगेको थियो । तर २०१७-२०१८ मा १४ हजार एक सय ४५ पिडितहरू आधिकारिक रूपमा दर्ता भएतापनि छ हजार एक सय ६३ जनाको अभियोजन र दुई हजार चार सय २६ जना दोषी ठहर भएको युरोपोलले उल्लेख गरेको छ ।

युरोन्युजका अनुसार जबर्जस्ती श्रम युरोप र मध्य एशियामा आधुनिक दासत्वको सबैभन्दा प्रचलित रूप हो । यि दुबै क्षेत्रमा जबरजस्ती श्रमको दर प्रति एक हजार जनामा तीन दशमलव ६ प्रतिशत छ । जबरजस्ती विवाहको दर प्रति एक हजारमा शुन्य दशमलव चार प्रतिशत मात्रै रहेकाले आधुनिक दासत्व बढी समस्याग्रस्त देखिएको छ ।

आइएलओका अनुसार आप्रवासी कामदारहरू गैर-आप्रवासी वयस्क कामदारहरूको तुलनामा जबरजस्ती श्रममा पर्ने सम्भावना तीन गुणा बढी हुन्छ। श्रम आप्रवासनले व्यक्ति, घरपरिवार, समुदाय र समाजमा धेरै हदसम्म सकारात्मक प्रभाव पारेतापनि विशेष गरी जबरजस्ती श्रम र ओसारपसारको जोखिममा पर्ने देखाउँछ । अनियमित वा खराब शासित आप्रवासन, वा अनुचित र अनैतिक भर्ती अभ्यासहरूका कारणले गर्दा पनि जोखिममा पर्ने गरेका हुन् ।

“आधुनिक दासत्वको रुपमा मानवअधिकारको यो मौलिक दुरुपयोगको निरन्तरतालाई कुनै पनि कुराले औचित्य दिन सक्दैन” आईएलओका महानिर्देशक गाइ राइडरले रिपोर्टमा भनेका छन् “तर सरकार एक्लैले गर्न सक्दैन। अन्तर्राष्ट्रिय मापदण्डहरूले ठोस आधार प्रदान गर्दछ, र सबै-हात एक ठाउँ हुनु आवश्यक छ। ट्रेड युनियन, रोजगारदाता संगठन, नागरिक समाज र आम जनता सबैको महत्वपूर्ण भूमिका हुन्छ ।”

आधुनिक दासत्वको अन्त्य गर्न कानून र श्रम निरीक्षण सुधार र लागू गरिनुपर्ने, राज्यद्वारा लगाइएको जबरजस्ती श्रमको अन्त्य; व्यापार र आपूर्ति श्रृंखलाहरूमा जबरजस्ती श्रम र बेचबिखन विरुद्ध लड्न बलियो उपायहरूको अवलम्बन; सामाजिक सुरक्षा विस्तार, कानुनी सुरक्षालाई सुदृढ गर्ने, विवाहको कानुनी उमेर १८ वर्ष सम्म बढाउने लगायत छन् । आईएलओका थप सुझावमा आप्रवासी कामदारहरूका लागि बेचबिखन र जबरजस्ती श्रमको बढ्दो जोखिमलाई सम्बोधन गर्ने, निष्पक्ष र नैतिक भर्तीलाई प्रवर्द्धन गर्ने र महिला, केटीहरू र जोखिममा परेका व्यक्तिहरूलाई थप सहयोग गर्ने समावेश छ।

सन् १५०० देखि १८०० मा ‘एटलान्टिक दास व्यापार’ को समयमा युरोपमा दासत्वको ब्यापार निकै भएको थियो । विशेष गरी बन्दरगाह सहर र तिनको भित्री भूभागहरुमा धेरै थियो ।

भूमध्यसागर र युरोपको वरिपरि व्यापक रूपमा दास राखिएका थिए । “एट्लान्टिक दास र अन्य भौगोलिक क्षेत्रका दासहरू मुख्य रूपमा ओटोम्यान साम्राज्य, हिन्द महासागरको उपनिवेशहरू र अफ्रिकी उप-सहारा मरुभूमी क्षेत्रबाट थिए। अरू धेरै मृत सागर र पूर्वी यूरोपबाट आएका थिए। अफ्रिकी उप-सहारा मरुभूमी क्षेत्रबाट आएकाहरू बार्बरी रिजेन्सी बन्दरगाह र इजिप्ट हुँदै युरोप आइपुगेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक