बुधबार, वैशाख १२, २०८१

फ्रान्सेली सांसदहरूद्वारा पेन्सन सुधारलाई लिएर संसदमा सरकार बिरुद्द अविश्वासको प्रस्ताव दर्ता

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत ४ गते १८:३४

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले मतदान बिना संसद मार्फत पेन्सन सुधारको प्रस्ताव गरेपछि सांसदहरुले उनको सरकार बिरुद्द अविश्वाशको प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वाशको प्रस्ताव शुक्रबार दर्ता गराएलगत्तै प्रदर्शनकारीहरूको पेरिस र अन्य शहरहरूमा लगातार दोस्रो रात प्रहरीसँग झडप परेको छ । जनताको आक्रोश बढ्दै गएपछि विपक्षी दलका सांसदले शुक्रबार सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

पेरिस र अन्य शहरहरूमा शुक्रबार साँझ प्रदर्शनकारीहरू र दंगा प्रहरी बिच झडप भएको थियो । फ्रान्सेली सरकारले देशको सेवानिवृत्तिको उमेर बढाउने कदमको बिरूद्ध नयाँ प्रदर्शन सुरु भएको छ ।

प्रतिपक्षी दलहरु सरकार बिरुद्दको अविश्वाश प्रस्ताब पास गराउने ध्याउन्नमा लागेका छन् भने मजदूर युनियनहरुले हरेक दिन आक्रमक ढंगमा बिभिन्न शहरमा सरकारबिरुद्द प्रदर्शन गरिरहेका छन् ।

फ्रान्सेली राजधानी पेरिसको मुटुमा रहेको प्लास दला कन्कर्डमा ठूलो उत्सव झैं शुक्रवार भएको विरोध प्रदर्शनमा हजारौं मानिसहरूले भाग लिएका थिए । उनीहरुले भजन, नाच र एक विशाल पटाका पड्काउँदै शुक्रवार जुलुस निकालेका थिए ।

आक्रोशित जुलुस बिरुद्द दंगा प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । राष्ट्रिय सभाको विशाल चोक खाली गर्नका लागि जब आन्दोलनकारीहरु मचानमा चढे तब प्रहरीले तिनलाई हटाउन अश्रु ग्याँस हानेका थिए । त्यसपछि झनै आक्रोशित बनेका आन्दोलनकारीहरुले प्रहरीमाथि आतिशबाजी र ढुंगा प्रहार गरेका थिए ।

६१ पक्राउ

मध्यमार्गी समूह लिओटले फ्रान्सको संसदको तल्लो सदन राष्ट्रिय सभामा बहुदलीय अविश्वासको प्रस्ताव पेश गरेको केही घण्टापछि झडप भएको थियो, जसमा बामपन्थी नुप्स (नयाँ पर्यावरण दल र सामाजिक लोकप्रिय राजनितिक दलहरु) को गठबन्धनले सह-हस्ताक्षर गरेको थियो ।

“यस प्रस्तावमा मतदानले हामीलाई गहिरो राजनीतिक संकटबाट बाहिर निस्कन अनुमति दिनेछ,” लिओट समूहका प्रमुख बर्ट्रान्ड पञ्चरले भनिन्।

त्यसको केही घण्टापछि, फ्रान्सको अति दक्षिणपन्थी राष्ट्रिय र्‍याली पार्टी, जसको राष्ट्रिय सभामा ८८ सदस्य छन्, लेपनि अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

“हामी प्रस्तुत गरिएका सबै अविश्वास प्रस्तावहरूमा मतदान गर्नेछौं,” राष्ट्रिय र्‍यालीका सांसद लाउरे लाभलेटले भनेकि छन् ।

“के महत्त्वपूर्ण छ भने यो दुष्ट, जनबिरोधी सुधार परियोजना पतन हुन्छ” उनले थपिन्।

फ्रान्सेली कानून अनुसार सांसदहरूले एक भन्दा बढी अविश्वास प्रस्तावमा मतदान गर्न सक्छन्। अविश्वासको मतका लागि बहुमत चाहिन्छ, जसको अर्थ राष्ट्रिय सभामा न्यूनतम २८७ मत हुनुपर्छ।

म्याक्रोनले संविधानको धारा ४९.३ लाई प्रयोग गरेर विवादास्पद पेन्सन सुधारलाई अगाडि बढाएपछि प्रदर्शनकारीहरूले पेरिस वरपरको मुख्य राजमार्ग अवरुद्ध गरेका थिए । ईन्धन प्रशोधन केन्द्रहरूमा हडताल बढाएपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो।

फ्रान्सेली संविधानको धारा ४९.३ ले सरकारको कार्यपालिकालाई संसदीय मत बिना नै विधेयक पारित गर्ने अधिकार दिएको छ । धारा ४९.३ ले विपक्षीलाई अविश्वासको प्रस्तावको बिपक्षमा मतदान गर्ने अधिकारपनि दिएको छ ।

फ्रान्सेली अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउन र पेन्सन प्रणालीलाई घाटामा डुब्नबाट जोगाउन आफ्नो अलोकप्रिय सुधार विधेयक आवश्यक रहेको तर्क गर्दै म्याक्रोनले देशको न्यूनतम सेवानिवृत्तिको उमेर ६२ वर्षबाट ६४ बनाउने विधेयकलाई आफ्नो दोस्रो कार्यकालको प्रमुख प्राथमिकतामा राखेका छन्।

संसदलाई बाइपास गर्ने उनको कदम बिरुद्द बिहीबार राति देशभर विरोध प्रदर्शन भएको थियो । ग्रिह मन्त्रालयका अनुसार देश भर सयौंलाई गिरफ्तार गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया