शुक्रबार, चैत १६, २०८०

आरोपै आरोपकाबिच शेष घले एनआरएनए लगानी कोषको अध्यक्षमा नियुक्त

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ चैत ९ गते २३:१२

मुल गैर आवासीय नेपाली संघ (एन आर एन ए) सित पानी बाराबार र आरोप प्रत्यारोप चलिरहेकै बेला पूर्व अध्यक्ष शेष घले एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएनए लगानी कोष)’ कम्पनीको अध्यक्षमा नियुक्त भएका छन् । एनआरएनए फुटाएर अर्को त्यहि नामको संस्था खोलेर गएका घले अकस्मात एनआरएनएकै लगानी गर्ने कम्पनीको अध्यक्षमा अकस्मात नियुक्त हुँदा धेरैलाई चकित पारेको छ ।

घलेलाई उक्त बोर्डको अध्यक्षमा नियुक्त गर्नेबारे एनआरएनएमा खुला छलफलसमेत नभएको अधिकारीहरुले बताएका छन् ।

यो कम्पनी खुल्दा सन् २०१३ मा नेत्रित्वकर्ता एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने थिए ।

बेल्जियममा रहेको आफ्नो लगानीका लागि अष्ट्रेलियाबाट आएका भनिएका शेष घले जर्मनीपनि पुगेका थिए । अघिल्लो साता जर्मनीमा पूर्व अध्यक्षहरु जीवा लामिछाने र कुमार पन्तले सामुहिक फोटो खिचाएर सामाजिक सन्जालमा राखेका थिए । उक्त फोटोले धेरैलाई चकित बनाएको थियो ।

अघिल्लो साता जर्मनीमा शेष घले, कुमार पन्त, जीवा लामिछाने र दिल गुरुङसहितको टोली। फोटो स्रोत- कुमार पन्तको फेसबुक

खास कामले बेल्जियम आएका भनिएका शेष घले आफ्ना पक्षका अभियन्ताहरुलाईपनि खबर नगरि जर्मनी पुगेका थिए । त्यहाँ पूर्व अध्यक्ष कुमार पन्त र जीवा लामिछानेसँगै शेषका निकट दिल गुरुङ सँगै घुमेका थिए ।

तर स्रोतका अनुसार घलेलाई पूर्व अध्यक्ष कुमार पन्तको हरियो संकेतले जर्मनी पुर्‍याएको थियो । कुमार पन्तकै सहजीकरणमा शेष घले, कुमार र जीवा लामिछानेबिच कुराकानी भएको स्रोतको भनाई छ ।

उनीहरुले त्यति बेला ब्यक्तिगत भ्रमण भनेपछि त्यहाँ एनआरएनएका बारेमा छलफल भएको पुष्टि घले ‘एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड’ कम्पनीको अध्यक्षमा नियुक्त भएबाट बुझ्न सकिने एनआरएनए अभियन्ताहरुको भनाई छ ।

घलेले जर्मनीमा जीवा लामिछाने र कुमार पन्तलाई भेटेलगत्तै घले एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड’ कम्पनीको अध्यक्षमा नियुक्त भएका हुन् ।

यस अघि एनआरएनएका बिरुद्द मुद्दा हाल्नेहरुलेपनि घले एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड’ कम्पनीको अध्यक्षमा नियुक्त भएकामा बधाईको ओइराएका छन् ।

घले पक्षिय एनआरएनएले दिएको आधिकारिक बधाई

घले पक्षिय एनआरएनएको आधिकारिक रुपमै घलेलाई बधाई दिएको छ । तर संस्थापन पक्षको एन आर एन एका तर्फबाट भने कुनै प्रतिक्रिया देखिएको छैन ।

गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले यस विषयमा ब्यंगात्मक रुपको भनाई सामाजिक सन्जालमा राख्दै एन आर एन एका अभियन्ता र यस संघको उछित्तो काढ्नेहरुप्रति ब्यंग्य गरेका छन् ।

“गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड’ कम्पनीको अध्यक्षमा शेष घलेजी नियुक्त हुनु भएकोमा हार्दिक बधाई । उहाँको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछु । निवर्तमान अध्यक्ष जीवा लामिछानेले एनआरएनएको सञ्जाल प्रयोग गरेको मिथ्या आरोप खेप्दै आउनु भएको थियो । त्यस आरोपको बोझ शेष घलेजीले पनि लिन तयार हुनु भएकोमा उहाँ प्रति हार्दिक नमन । यद्दपि आरोप लगाउने साथीहरुबाटै बधाईको बाढी आएकोले आरोप स्वतः खण्डित भएको र भविष्यमा यस्तो आवाज निस्कने छैन भनेर आशा गरौं” शर्माले फेसबूकमा लेखेका छन् ।

घले अध्यक्षमा नियुक्त भए लगत्तै धेरैले शेष घले पक्षियसित एकता हुनसक्ने आँकलन पनि गर्न थालेका छन् । घलेलाई एनआरएनएमै फर्किएर एकता महाधिवेशन गर्न कुमार पन्तले आग्रह गरेको एनआरएनएका एक सचिवले नेपालप्लसलाई बताए । तर उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् ।

“शेष घलेलाई पद दिने, ब्यापारी-ब्यापारी मिल्ने र फेरि मिलाएर लान सकिन्छ कि भन्ने हो । ब्यापारीहरु फुटेमा घाटा हुने रैछ भन्नेपनि महसुस भयो होला । ” उनले भने “ब्यापारीहरु झगडा गरेजस्तो गरेर देखाउने मात्रै हुन् । खासमा तलकालाई लडाउँछन्, जुधाउँछन् र आफूहरु मुख्यरुपमा पद, पैसा, लगानीकालागि मिलिहाल्छन् “एनआरएनएका केन्द्रिय सचिवले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक