शनिबार, वैशाख ८, २०८१

फ्रान्समा जलाशय विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत १२ गते १५:५०

फ्रान्समा लामो समयकालागि पानी संचित गर्नकालागि निर्मित जलाशय विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुँदा दर्जनौं घाइते भएका छन् ।

पश्चिमी फ्रान्सको सँ-सोलिनको ग्रामीण समुदायमा सिँचाइका लागि निर्मित जलाशयहरू विरुद्ध प्रदर्शनको क्रममा शनिबार हजारौं वातावरणीय कार्यकर्ताहरूको प्रहरीसित झडप भएको थियो ।

स्थानीय सरकारी वकिलको कार्यालयले उपलब्ध गराएको पछिल्लो गणना अनुसार, सात घाइते प्रदर्शनकारीलाई आपतकालीन सेवाहरूले उपचार गरेका थिए । तिमध्ये तीनलाई पूर्ण आपतकालिन रूपमा उपचार गरी अस्पतालमा भर्ना गरिएको थियो । स्थानियसितको झडपमा २८ प्रहरी अधिकारीहरू घाइते भएका छन्, जसमध्ये दुई गम्भीर छन्। दुई पत्रकार पनि घाइते भएका छन् ।

प्रदर्शको आयोजना गर्नेहरुले २०० घाइते भएको बताएका छन् । प्रदर्शनकारीहरूको धेरै ठूलो संख्या घाइते भएको र ति मध्ये एक जना गम्भिर अवस्थामा कोमामा रहेको रिपोर्ट गरिएको छ । तर सरकारी अधिकारीहरूले पुष्टि गरेका छैनन् ।

ट्विटरमा गरिएको एक पोस्टमा, प्रधानमन्त्री एलिजाबेथ बोर्नले “यस्ता कार्यहरूलाई प्रोत्साहित गर्ने कट्टरपन्थी भाषणको गैरजिम्मेवारीपन” लाई दोष दिँदै “हिंसाको असहनीय प्रकोप” भन्दै निन्दा गरेकि छन् ।

दु सेब्र क्षेत्रको सँ सोलिनको ग्रामीण समुदायमा निर्माण भइरहेको जलाशय वरपर भएको झडपले जलवायु परिवर्तनले ल्याएको संकटका बिच त्यसलाई सामना गर्न पानी बाँडफाँडमा बढ्दो तनावलाई पुस्टि गरेको छ ।

फ्रान्सेली अधिकारीहरूले किसानहरूलाई खाद्यान्न बालीहरू उब्जाउन जारी राख्नको लागि विशाल सिँचाइ जलाशयहरू आवश्यक रहेको तर्क गरेका छन् । तर विपक्षीहरूले यस परियोजनालाई पानी आपूर्तिमा एकाधिकार गर्ने कृषि व्यवसायको प्रयास भन्दै आएका छन् ।

प्रहरी कार्यालयका अनुसार कम्तिमा ६,००० मानिसहरू, जलाशयको बिरोधमा उत्रिएका थिए भने आयोजकहरूका अनुसार ३०,००० को संख्या थियो । सँ-सोलिनमा एकजुट भएकाहरुले कृषि सिंचाईको लागि लक्षित खुला-एयर जलाशयको निर्माणलाई “रोक्ने” उद्देश्यले, बिरोध आयोजना गरेका हुन् जुन लामो समयदेखि विवादित छ ।

उनीहरूलाई नियन्त्रण गर्न ३,००० भन्दा बढी प्रहरी र नगरप्रहरी परिचालन गरिएको थियो । अधिकारीहरूले कम्तिमा एक हजार हिंसात्मक कार्यकर्ता प्रदर्शनकारीहरूसँग सामेल भएकाको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरू घटनास्थलमा पुगेपछि एक घण्टासम्म हिंसात्मक झडप भएको थियो । चर्को आवाज र सवारीसाधनमा आगजनीले ठाउँ युद्धको दृश्यमा परिणत भएको थियो।

आक्रमणकारीहरूले “आतिशबाजी मोर्टार, रोमन मैनबत्ती, ढुंगा, मुढा र ठूला मोलोटोभ ककटे लगायत अन्य प्रोजेक्टाइलहरू प्रयोग गरेका थिए । प्रहरीले ४,००० अश्रु ग्यास लगायत गैर-घातक प्रक्षेपणहरू प्रयोग गरेको बताएको छ ।

अधिकारी र आयोजकले झडपको लागि एकअर्कालाई दोष दिइरहेका छन्। गृहमन्त्री जेराल्ड डार्मानिनले “चरम बामपन्थी” को “अक्षम्य” हिंसा भन्दै त्यसको निन्दा गरेका छन् । तर आयोजकहरूले प्रहरीद्वारा “पूर्ण रूपमा आपराधिक हिंसा” लाभन्दै दोष दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक