शुक्रबार, वैशाख १४, २०८१

आचार्यसहित एनआरएनए आइसीसीविरुद्ध उच्च अदालतमा मुद्दा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ चैत १२ गते १७:३५

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पदबाट आफूलाई विधान विपरित वर्खास्त गरिएको भन्दै अध्यक्ष प्रेम गाहामगरले केन्द्रिय अध्यक्ष कुल आचार्यसहित एनआरएनए आइसीसीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।

बेलायतका निर्वाचित अध्यक्षलाई गत १३ सेप्टेम्बरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पत्र पठाएर वर्खास्त गरिएको जनाएको थियो । एनआरएनएले बर्खास्त गरेको जानकारि दिएपछि गाहामगरले एनआरएनए अध्यक्ष कुल आचार्य, कार्यकारी अध्यक्ष रबिना थापा, अर्का अध्यक्ष बद्री केसी, महासचिवद्वय डा केशव पौडेल र गौरीराज जोशी तथा एनआरएनए आइसीसीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् ।

गाहागमरले आफू विधानसम्मत अध्यक्ष निर्वाचित भएको तर एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यको निर्देशनमा अवैधानिक रुपमा पदबाट वर्खास्त गरेको भन्ने पत्र पठाएर अपमानित, मानहानी गरेको आरोप लगाएका छन् । उनले निर्वाचित अध्यक्षलाई बर्खास्त गरेर बेलायतको नेपाली समुदाय विभाजित गरेको भनि गत ५ मार्चमा नेपालमा मुद्दा दायर गरेका थिए ।

आफ्नो पद पुनर्वहाली गर्न गाहामगरले माग गरेका छन् । पूर्वाग्रही ढंगले विधान विपरित काम गरेर एनआरएनए संस्थालाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गरिएपछि मुद्दा हाल्न वाध्य भएको गाहामगरको भनाई छ ।

गाहामगरले राष्ट्रिय समिति बेलायतको पब्लिक फण्डबाट संकलित झण्डै ४० हजार पाउण्ड एनआरएनए केन्द्रले खाएको, आर्थिक अनियमितता गरेको, अध्यक्ष कुल आचार्यको निर्देशनमा महासचिवद्धयले नक्कली प्रतिवेदन बनाएर आफूलाई अपमानित एवं समाजमा भ्रम फैलाएको एवं बेलायतको एकत्रित समाजलाई भाँडेको आरोप लगाएका छन् ।

निवदेकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सरोजकृष्ण घिमिरे, रामेश्वर न्यौपाने र रोशनी पौडेलले वहस गरेपछि उच्च अदालत पाटनले गत फागुन २३ मा विपक्षीका नाममा उत्प्रेषण परमादेश जारी गर्दै निवेदक गाहामगरको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने ? भनि प्रश्न गरेको थियो । यदि उक्त आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत राखी १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको एनआरएनए युके (गाहामगर पक्ष) ले जानकारि गराएको छ ।

केन्द्रमा मुद्दा दायर भएसँगै यसले गैर आवासीय नेपालीमाझ फेरि बहस, किचलो, छलफल र तरंग उत्पन्न गर्ने देखिएको छ । गाहामगरले आफू परिआए उच्च अदालतबाट सर्वोच्च अदालतसम्म जान पछि नहट्ने चेतावनी समेतदिएको एनआरएनए बेलायत गाहा मगर पक्षिय प्रवक्ता भरतमणी चोङबाङ लिम्बुले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया