शनिबार, वैशाख ८, २०८१

मेरो मित्रको आत्महत्याले उठाएका अनुत्तरित प्रश्न

डा. हेम राज शर्मा२०७९ चैत १४ गते १५:५८

बुधबार बिहानै निद्राले छाड्यो । सदाझैँ आँखा मोबाइलमा गए । फेसबुकका भित्ताहरु अमेरिकाबासी एक मित्रको आत्महत्याको खबरले भरिएका थिए । मन बेचैन भयो । अमेरिकातिर राती भइसकेकोले समाचारको पुस्टि गर्न लण्डन र जापान तिरका साथीहरुलाई फोन घुमाएँ । तर मनले चाहेर मात्रै समाचार असत्य के हुन्थ्यो र ? ५३ वर्षको उमेरमा आफ्नै घरको बार्दलीमा झुण्डिएर मित्रले देहलिला अन्त्य गरेछन् ।

त्यस दिन देखि मेरो मन अझै तरङ्गित छ । अनेक प्रश्नहरूले मन हुँडेलिएको छ । एउटा सरल, शालीन, शिक्षित, आध्यात्मिक साधनामा लागेको, धन र मनले पूर्ण, सामाजिक प्रतिष्ठा कमाएको अनि पूर्ण पारिवारिक मानिसले कसरी आत्महत्या गर्न सक्छ ? भौतिक विज्ञानको विधार्थी भएकोले मैले समाज विज्ञान बुझ्दिँन । अध्यात्मवादमा पनि म विश्वास गर्दिन । मनमा हुँडेलिएका प्रश्नहरुको गहिराइमा पुग्ने औकात सायद म राख्दिँन । त्यसैले मेरा यी प्रश्नहरु अनुत्तरित नै रहनेछन्, रहस्यको गर्भमा ।

उनी पहाडको सानो गाउँबाट विद्यालय शिक्षा सकाएर अवसरको लागि काठमाडौ हानिन्छन् । उच्च शिक्षा सकाएर पर्यटन व्यवसायमा राम्रै सफल हुन्छन् । जिवन संगिनी पाउँछन् । तर त्यति सफलताले उनलाई सन्तुष्टि मिल्दैन । एउटा सपनाको महल बुन्छ – अमेरिका जाउँ, अझ बढि पैसा कमाउ, परिवारलाई खुशी राखौँ, सन्तानलाई राम्रो शिक्षा दिउँ, परिवारबाट बचेको समय समाजलाई दिउँ, साथी भाइलाई दिउँ, शुखि रहूँ, खुशी रहूँ ।

मृत्युको खबर सुनेपछि नेपालमा भएकि आमाले भनिछन् – मरेर छोराले शान्ती पायो । उनका यी दुई शब्दले छोराले भोग्नु परेको सास्ती बोलि रहेको थियो ।

उनले बुनेका सबै सपनाहरू साकार हुन्छन । अमेरिकामा पत्नी र आफ्नो छुट्टाछुट्टै व्यवसाय हुन्छ, राम्रो पैसा कमाउँछन् । नेपाली राजनीतिकदेखि सामाजिक, व्यवसायिक संस्थाहरुमा सक्रिय हुन्छन, कुशल नेतृत्व सम्हाल्छन । अमेरिकामा बस्ने नेपालीहरु मात्र होइन – मातृभूमिमा नेपालीहरुलाई चोट लाग्दा पनि उनलाई दुख्छ । महाभूकम्प ताका उनी अमेरिकाबाट राहत सामाग्री बोकेर गाउँ नै पुग्छन । त्यति मात्रै होइन, त्यस्ता पात्र जो, लाखौँ खर्च गरेर गाउँमा स्कुल निर्माण गर्छन् । नेपालका पुर्व प्रधानमन्त्रीहरूसँग अमेरिकामा देश बनाउने बहस गर्छन् । नेपालबाट गुरुहरुलाई निमन्त्रणा गरेर जीवन विज्ञानमार्फत अध्यात्मवाद साधन गर्छन्, गराउँछन् । अमेरिकामा मन्दिर बनाउन अग्रणी भूमिका खेल्छन् । शाकाहारी उनी रक्सि चुरोटबाट सधैं टाढा बस्छन् । त्यस्तो मान्छेले कसरी आत्महत्या गर्न सक्छ ?

न उनले परिवारलाई दुखी देख्न चाहे, न छोरीहरुलाई कुनै कुराको अभाव हुन दिए । छोरीहरुको डाइपर फेर्नेदेखि उनीहरुलाई प्रतिष्ठित विश्व विद्यालयमा पुर्याउन एउटा बाबुले निर्वाह गर्ने भूमिकामा उनी कतै कमजोर भएनन् । तर, नियति पनि कति कठोर, आफैंले कमाएको पैसा, परिवार र प्रतिष्ठा नै उनको मृत्युको कारण बन्यो । जुन परिवारको लागि उनी जस्तोसुकै सम्झौता गर्न तयार हुन्थे त्यही परिवारमा बेमेल झ्यांगिँदा उनले जीवनसँगै सम्झौता गर्नुपर्यो ।

गैरआवासीय नेपाली अभियानले हामी दुईलाई जोडेको थियो । तर आत्मियता यति बढ्दै गयो कि हामी अभियानमा मात्रै होइन पारिवारिक रुपमा पनि सहजतापूर्वक गफिन्थ्यौँ । मेरो छोराको उमेरका उनका छोरीहरु थिए । हामी एकअर्काको सन्तानको प्रगतिप्रति गर्व गर्थ्यौं । उनीहरुको भविष्यबारे चिन्तन पनि ।

जनवरी २१ तारिख उनीसँग मेरो अन्तिम कुरा भएको थियो । त्यस दिन पनि उनले छोरीहरुकै कुरा गरेका थिएँ । छोरी प्रति उनी यती आशक्त थिए कि मृत्युवरण गर्न पनि उनले छोरीको जन्म दिनलाई रोजे । हरेक वर्ष आउने जन्म दिनमा छोरीले स्मरण गर्लिन भनेर त्यसो गरे होलान् । तर ती दिनमा छोरीले कति पिडा महसुस गर्लिन उनले ख्याल गरेनन् । उनको अन्त्येष्टिमा छोरीहरुको कारुण्य रोदनले पनि बाबा छोरी बिचको साँचो माया झल्किन्थौ ।

एउटा सरल, शालीन, शिक्षित, आध्यात्मिक साधनामा लागेको, धन र मनले पूर्ण, सामाजिक प्रतिष्ठा कमाएको अनि पूर्ण पारिवारिक मानिसले कसरी आत्महत्या गर्न सक्छ ?

त्यति माया थियो त, पारिवारिक वेमेलको सवाल किन आयो फेरी ? यति विघ्न माया पाएका, नेपाली संस्कारको ज्ञान भएका, सत्संगमा लागेका जिवन संगिनी र छोरीहरूबाट उनले किन साथ पाउन सकेनन् ? उनी प्रति किन घृणा जाग्यो ? उनीमाथि हिंसा किन भयो ? बिदेशमा जन्मे हुर्केका बच्चाहरु लागि ‘नैतिकशिक्षा’ को किताब लेख्ने र उनीहरुका लागि पाठशाला खोल्ने मेरा मित्रले आफ्नै सन्ततिलाई पारिवारिक र सामजिक दायित्व बारे दीक्षित गर्न सकेनन् भनेर म कसरी पत्याउँ ?

उनले आफ्नो व्यवसाय, समाजसेवा र परिवारबीच सन्तुलन ल्याउन सकेनन कि भनेर आशंका गर्ने ठाउँ पनि छैन । व्यवसायमा छोरीहरुको भावनात्मक सम्बन्ध रहोस भनेर उनीहरु कै नाममा कम्पनीको नामाकरण गरेका थिए । फुर्सदमा छोरीहरुले उनलाई व्यवसायमा सहयोग गर्थे । समाजसेवामा पनि उनीहरु साथ साथै हुन्थे । आध्यात्मिक सत्संगमा पनि सबै परिवारको संलग्न हुन्थ्यो । तर पनि किन उनीहरु बिच असझमदारी बढ्यो ?

मृत्युवरण हुनु भन्दा केही समय पहिले उनीमाथि भएका पारिवारिक हिंसाका तस्बिर र भिडिओहरु अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । भिडिओमा व्यक्त गरिएका शब्दका वाण सुनिसक्नु छैनन् । शरीरमा लागेको चोट देख्नेहरूको मुटु भक्कानिन्छ । सुन्न र देख्न नपाएका अरु घटनाहरु त कति भए होलान् ? यसरी पल पल मरिरहँदा पनि किन मेरा मित्रले आफ्नो पीडा बाहिर ल्याउन सकेनन् ? अनि आफ्नै साथीलाई दुखेको हामीले किन बुझ्न सकेनौ ? के उनले आफ्नो सामाजिक प्रतिष्ठा जोगाउनका लागि पिडा लुकाएका थिए ? कि समाजले जोइटिङ्ग्रे भन्ला कि भन्ने डरको लागि उनी मौन रहे ? या महिलाले पुरुषप्रति हिंसा गर्न सक्छ भन्ने कुरा हाम्रो समाजले नपत्याउला भन्ने डर थियो ? के उनले त्यस्तो कुनै अपराध गरेका थिए जसलाई लुकाउन उनी आफू माथी भएको अन्यायको बिरुद्द बोल्न चाहेनन् ?

नियति पनि कति कठोर, आफैंले कमाएको पैसा, परिवार र प्रतिष्ठा नै उनको मृत्युको कारण बन्यो । जुन परिवारको लागि उनी जस्तोसुकै सम्झौता गर्न तयार हुन्थे त्यही परिवारमा बेमेल झ्यांगिँदा उनले जीवनसँगै सम्झौता गर्नुपर्यो ।

घटना आफैँ स्रिजित हुन्न । त्यसका पछाडि कारणहरु हुन्छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पैसाको कारणले पारिवारिक झगडा निम्त्याएको भन्ने प्रष्ट सुन्न सकिन्छ । असम्बन्धित महिलालाई पैसा पठाएकोले उनी प्रति प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ । प्रेम सम्बन्ध नै भएपनि आपसी समझदारीले समस्या सुल्झाउन सकिन्थ्यो । फेरि विचारमा मतऐक्यता नभएपछि आजकालको जमानामा सँगै बस्नुपर्छ भन्ने पनि त थिएन । बिवाह इतरको प्रेम र बिछोड त जीवनका असामान्य तर स्वीकार्य परिघटना हुन् । तर प्रेमको सजाय मृत्यु हुन सक्दैन । उनको मृत्युले सम्बन्धमा रहेकी भनिएकी महिलाबाट त छुट्कारा दियो, धन सम्पत्ति पनि प्राप्त भयो तर कसैको जीवन नै अन्त्य गरेर पाएको धन सम्पत्ति र प्राप्तिले आजिवन चैन देला ? यस्तो परिणाम आउला भन्ने थोरै मात्र हेक्का भएको भए सायद उनी प्रति नरम व्यवहार गरिन्थ्यो होला? जानीजानी उनलाई मृत्युसम्म धकेलियो होला भन्ने म कल्पना गर्न सक्दिन ।

आफ्नो चाहनामा परिवार चल्नुपर्छ भन्ने पुरुषप्रधान सोच नेपाली समाजमा व्याप्त छ । मेरो मित्रमा यो लागू भयो भन्ने आधार पनि भेट्न सक्दिन । तर उनले परिवारका सदस्यहरुले पैसालाई प्राथमिकता राखेको समयमा नै बुझ्न सकेनन कि ? उनले सामाजिक दायित्व पुरा गर्दै गर्दा परिवारको खुशी बाढिँएको, खोसिएको पत्तो पाएनन कि ? उनका गतिविधीले सुसुप्त रुपमा परिवारमा मनोवैज्ञानिक असर गरेको ख्याल गरेनन कि ?

उनी गैरआवासीय अभियानमा सकृय थिए, नेतृत्व लिन चाहन्थे । गैरआवासीय नेपाली संघ भित्र भएको अस्वस्थ प्रतिष्पर्धाले उनलाई अप्रत्यक्ष असर गर्यौ कि ? लाखौं करोडौँ खर्च गरेर स्व:घोषित नेता बन्न तछाड मछाड गर्नेहरुको लाइन लामै छ संघमा । विशुद्द समाजसेवा गर्न चाहने मेरा मित्रले यस्ता व्यक्तिहरुको लहैलहैमा लागेर धनको क्षति त गरेनन् ? पारिवारिक झगडा निम्ताउने अनेक कारण मध्ये यो पनि एक थियो कि ?

बर्मा गए कर्म सँगै भने जस्तै, हामी संसारको जुनसुकै कुनामा पुगेपनि हाम्रो मन, सोच र संस्कार नेपाली पाराकै छ । तर हामी विकसित मुलुकको जिन्दगी बाँच्न कोशिस गर्दै छौं । हामी पछिको पुस्ता झन बढी अलमलमा छ, न उनीहरु पुरै नेपाली बन्न सकेका छन् न विदेशी । फरक संस्कार र संस्कृतिको द्वन्द उनीहरु भित्र छ । पुस्तान्तरको बिचको स्वार्थको द्वन्द त छँदै छ । यस्तो विरोधाभास परिस्थितिले निम्त्याउने परिणाम बारे हामी सचेत हुन जरुरी छ भन्ने सन्देश उनको मृत्युले दिएको छ ।

प्रेमको सजाय मृत्यु हुन सक्दैन । उनको मृत्युले सम्बन्धमा रहेकी भनिएकी महिलाबाट त छुट्कारा दियो, धन सम्पत्ति पनि प्राप्त भयो तर कसैको जीवन नै अन्त्य गरेर पाएको धन सम्पत्ति र प्राप्तिले आजिवन चैन देला ?

नेपाल बाहिर बस्ने मेरो पुस्ताका अधिकांश व्यक्तिहरुले बाल्यकालमा आर्थिक अभाव देखेका छन् । अझ अमेरिका यूरोप आउने कल्पना त सायदै थियो होला । के हामीले पृष्टभूमीलाई चटक्क बिर्सेर मानवीय समवेदनालाई मार्दै त छैनौँ ? के हामी आवश्यक भन्दा बढि महत्वआकांक्षी त बन्दै छैनौं ? भौतिक सुख र सुविधा र पैसाको लागि यान्त्रिक त बन्दै छैनौं ?

छोरीहरुलाई स्थापित गरेर नेपाल फर्किने र देशको सेवा गर्ने चाहना थियो उनको । त्यसैले उनले अमेरिकी नागरिकता लिएका थिएनन् । तर उनको त्यो चाहना पुरा हुनुको सट्टा जन्मभूमिबाट हजारौँ माइल टाढा छोरीहरुले दिएको दागबत्तीबाट जलेर खरानी भए । समाजमा मर्दा र पर्दाका सबैका साथी थिए उनी, तर उनी आफैंलाई पर्दा र पल पलमा मर्दा समाजले कति न्याय दिन सक्यो? अन्त्यष्टी हलमा खचाखच भरिएका मलामीको अनुहारले यही प्रश्न सोधिरहे जस्तो लाग्थ्यो ।

बृद्द बाबाआमाको छोराको पार्थिव शरीरलाई अन्तिम पटक हेर्ने ईच्छा पुरा हुन सकेन । केही वर्ष अघि एउटा छोरा गुमाएका तिनले अहिले फेरि अमेरिकामै अर्को छोरा गुमाउनुको पीडा शब्दमा उत्रार्न सक्दिँन म ।

मृत्युको खबर सुनेपछि नेपालमा भएकि आमाले भनिछन् – मरेर छोराले शान्ती पायो । उनका यी दुई शब्दले छोराले भोग्नु परेको सास्ती बोलि रहेको थियो ।

मेरा मित्र त, एउटा प्रतिनिधि मात्र हुन । तर अहिले उनका कथा र व्यथा विदेशमा बस्ने नेपालीहरुको घर घरको कहानी बन्न थालिसकेको छ । महत्वकांक्षा, मोह र असन्तुष्टीले डेरा जमाउँदै जाँदा पारिवारिक विखण्डन, सम्बन्धविच्छेद् सामान्य बन्दै गएको मात्रै होइन विदेशमा सामाजिक अपराध पनि सुक्ष्म रुपमा मौलाउँदै त छैन भन्ने पछिल्लो घटनाले सोच्न बाध्य बनाएको छ । समाजलाई भन्दा पहिले आफ्नै परिवारलाई खुशी बनाउँ । मित्र तिमीले आफूलाई मारेर हामी बाँच्नेहरुको आँखा खोली दियौ, तिम्रो बैकुण्ठबास होस ।

तपाइँको प्रतिक्रिया

फेसबुक