मंगलबार, वैशाख ११, २०८१

फ्रान्समा राष्ट्रपतीको पेन्सन सुधार बिधेयक बिरुद्द नयाँ हड्ताल, विरोध प्रदर्शन सुरु

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत १४ गते २१:४६

राष्ट्रपतीको पेन्सन सुधार बिधेयक बिरुद्द मजदूर युनियन र कर्मचारीहरुले फ्रान्समा मंगलवारदेखि तेस्रो चरणको हडताल र आन्दोलन शुरु गरेका छन् ।

संसदलाई छलेर विशेष संवैधानिक अधिकार प्रयोग गर्दै पेनसन सुधार बिधेयक पास गरेका राष्ट्रपती उक्त बिधेयकको पक्षमा अडिग देखिएपछि मजदुर युनियन र कर्मचारीहरुले तेस्रो चरणको हडताल र आन्दोलन घोषणा गरेका हुन् ।

राष्ट्रपती एमानुयल माख्रोंले देशमा बिधेयक मार्फत् अशान्ति फैलाएको आरोप मेडियाहरुले समेत लागएका छन् ।

सेवानिवृत्तिको उमेर ६२ बाट बढाएर ६४ वर्षमा पुर्‍याउने कानुनको विरुद्धमा जनवरीको मध्यदेखि आन्दोलन सुरु भएयता युनियनहरूले आह्वान गरेको यो दशौं आन्दोलन हो ।

गत बिहीबार हडताल र विरोध प्रदर्शनको अन्तिम दिनमा प्रदर्शनकारी र सुरक्षा बलहरू बीच अहिलेसम्मकै सबैभन्दा हिंसक झडपहरू भएको थियो । किनभने आन्दोलनकर्मी र सुरक्षाकर्मीबिच राजधानी पेरिस शहरको खुला सडकहरुमै झडप भएको थियो । दिनभरिजसो तनाबपूर्ण देखिएको थियो ।

हप्तौंसम्म छलफल र संसदमा प्रस्तुत गर्ने बाचा गरेका राष्ट्रपती माख्रोंले लगभग दुई हप्ता पछि संसद मार्फत नयाँ पेन्सन कानूनलाई कुनै पनि मतदान नगराईकनै सांसादहरुलाई बेवास्ता गर्दै विशेष प्रावधान प्रयोग गरेर पास गरेको घोषणा गरेका थिए । संसदलाई छलेर बिधेयक पास गरेपछि फ्रान्सभरितिब्र बिरोध शुरु भएको थियो ।

युनियनहरूले सरकारलाई यो बिधेयक फिर्ता लिनको लागि आव्हान गरेका थिए । तर सरकारले पछि नहट्ने अडान लिएपछि ठूलो विरोध शुरु भयो र युनियनहरुले नछोड्ने वाचा गरेका छन्।

बेलायतका राजा चार्ल्स तेसो द्वारा आइतवारबाट शुरु हुने भनेर तोकिएको फ्रान्सको राज्य भ्रमण युनियनहरुकै हडताल र अशान्तिको कारण स्थगित गरियो।

बेलायतका राजा चार्ल्स तेस्रोको भ्रमणमा चार्ल्सलाई भव्य तरिकाले आयोजना गर्ने भनिएको थियो । त्यो समारोहमा मेजबानी गर्नुको सट्टा स्थगित भएपछि माख्रोंले सोमबार प्रधानमन्त्री एलिजाबेथ बोर्न, अन्य क्याबिनेट मन्त्रीहरू र वरिष्ठ सांसदहरूलाई एलिजे प्यालेसमा संकट वार्ताका लागि भेटे ।

सरकारी संघसंस्थाले दिएका आदेश जारि गरेका बैधानिक परियोजनाहरुलाई अनादार गर्न आन्दोलन लक्षित गरेको आरोप माख्रोंले प्रमुख बिपक्षी दल ल फ्रंस आँसुमी (एल एफ आ इ ) लाई लगाएका थिए ।

प्रधानमन्त्री एलिजाबेथ बोर्नले सहमति खोज्न र मेलमिलापकालागि संसदका सदस्यहरू, राजनीतिक दलहरू, स्थानीय अधिकारीहरू र युनियनहरू सहित तीन हप्ता लामो वार्ताको तालिका बनाएकि छन् ।

यदि युनियनहरूले वार्ताको लागि उनको प्रस्ताव स्वीकार गरे भने, बोर्नले शारीरिक रूपमा कडा काम गर्ने श्रमिक, कर्मचारीको काम, वृद्ध कामदारहरूको अवस्था र पुन: तालिम लिन पाउने अधिकार र सेवालाई लक्षित गर्ने पेन्सन कानूनको प्रभावलाई कम गर्न डिजाइन गरिएको टेबलमा नयाँ उपायहरू प्रस्ताव गर्ने अपेक्षा गरिएको छ।

तर प्रधानमन्त्रीका तर्फबाट राखिएका प्रारम्भिक प्रतिक्रियाहरू आशाजनक नभएको भनाई फ्रान्सेली मेडियाहरुको छ ।

पेन्सन सुधार विरुद्धको आन्दोलन माख्रोंको दोस्रो जनादेशको सबैभन्दा ठूलो घरेलु संकटमा परिणत भएको छ ।

गत बिहीबारको हडतालका दिन फ्रान्समा ४५७ आन्दोलनकर्मी गिरफ्तार र ४४१ प्रहरी अधिकारी घाईते भएको प्रहरीले बताएको थियो ।

गृह मन्त्री जेराल्ड डार्मानिनले मंगलबार आयोजित प्रदर्शनका लागि पेरिसमा मात्रै ५,५०० सहित देशव्यापी रूपमा १३ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

प्रहरीले मंगलवारको प्रदर्शनमा पेरिसमा १२ हजार मानिस बिरोधमा उत्रिएको बताएको छ । तर आन्दोलन आयोजकहरुले दुई लाख उत्रिएको दाबी गरेका छन् ।

मंगलवारको बिरोधको कार्यक्रम बोर्दो, लिल, मार्सेई, आभिनियों, मोपलिए लगायतका प्रमुख शहरहरुमा भएको छ ।

बोर्दो, मार्सेई, पेरिस लगायतका केहि शहरमा प्रहरी र आन्दोलनकर्मीबिच झडप भएको छ । आन्दोलनकर्मीहरुले सडक, यातायात, रेल मार्ग लगायत अवरुद्द गरिदिएका छन् ।

प्रहरीले, बस र रेलवे लगायतका कार्यालय र साईनबोर्डहरु आन्दोलनकर्मीले तोडफोड र आगजनी गरेको आरोप लगाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक